Monday, 26 April 2021

पूर्खाले डायनोसरसँग युद्ध गरेको कथा बोक्ने ल्होमी जाति

विविध जातिको अनेकतामा एकता रहेको नेपालमा अनेकौं जातिहरु रहेका छन् । ती सबै जातिका आआफ्नै कला संस्कृति र इतिहास रहेका छन् । त्यसमा कुनै न कुनै रोचक विषय त पाइन्छ नै । त्यही एउटा रोचक इतिहास बोकेको ल्होमी जाति आफ्नै मौलिक संस्कृतिका कारण अरुभन्दा भिन्न छ ।

कोशी प्रदेश क्षेत्रमा पर्ने संखुवासभाको उत्तरी भेगमा रहेको अरुण नदीको उद्गम स्थलमा बसोबास गर्ने जाति हो, ल्होमी । माथिल्लो अरुण उपत्यकामा पर्ने तत्कालीन थाङमुक्षी चेपुवा गाविसमा अरुण खोलाको वारिपारि बस्ने यो जाति सीमान्तकृत समूहमा पर्ने जाति हो ।

यसको इतिहासका बारेमा यकिन प्रमाण भेट्न गाह्रो छ । यो जातिको नाम ल्होमी भनेर पहिलोपटक इस्वीको १९५० तिर मानवशास्त्री डोरबहादुर विष्टले प्रयोगमा ल्याएका हुन् । यो जाति नेपालका अलावा भारतको दार्जिलिङ क्षेत्रमा पनि भेट्ने गरिन्छ ।

ल्होमी जातिसँग एउटा लामो इतिहास बोकेका केही किंवदन्तीहरु छन् । जसमध्ये एउटा किंवदन्तीले ल्होमी जातिलाई डायनोसरको पुस्तासँग युद्ध गरेको भन्ने देखाउँछ । त्यो किंवदन्ती आफैँमा रोचक खालको छ ।

अर्काेतर्फ योजातिले आफ्नो विवाह संस्कारमा चीनका राजा स्रङचङ गम्पोले भृकुटीलाई विवाह गरेको स्मरण आफ्नो विवार संस्कारमा देखाउने गर्छन् । यसबाट यसको इतिहास चिनियाँ इतिहाससँग पनि जोडिएको देख्न सकिन्छ ।

झण्डै २३ करोड वर्ष पहिले उत्पत्ति भएर अहिले संसारबाट लोप भइसकेको डाइनोसरसँग आफ्ना पुर्खाहरुले युद्ध गर्ने गरेको किंवदन्ती यो जातिमा रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका लागि साङबु नुप्पा ल्होमीले तयार पारेको पहिचानको सेरोफेरोमा ल्होमी जाति भन्ने अनुसन्धानमूलक पुस्तकमा उल्लेख छ ।

उक्त पुस्तकका अनुसार डायनोसरलाई उनीहरु नागम भनेर चिन्ने गर्छन् । ल्होमीहरु आफू बस्ने क्षेत्रमा रहेको भूमि तथा खोलाहरूमा पनि नागमको बसोबास रहेको उनीहरु बताउँछन् । उक्त तथ्यलाई पुष्टि गर्नको लागि उनीहरुसँग एउटा लोक कथा छ । जसमा चन्ज्युङ लुक्म भन्ने कुनै बलिया पुरुष पात्रकी श्रीमतीलाई नागम (डाइनोसर) ले यिनै खोलामा निलेको भन्ने जनविश्वास पाइन्छ ।

त्यहाँ एउटा भोम्बोम्म नामक झर्ना रहेको पाइन्छ । जुन झरना ऐतिहासिक महत्वको क्षेत्र भएपनि अहिले त्यसको नामनिशाना भेटिँदैन । यसको ऐतिहासिकता केवल ल्होमी जातिको इतिहाससँग मात्रै जोडिएकोले पनि अन्य सम्प्रदायको उपेक्षामा सो झरना परेको हुन सक्ने स्थानीय बताउँछन्।

स्थानीय ल्होमीहरुका अनुसार चिन्ज्युङलुक्मको समयमा यो झर्नामा एउटा ढुंगे धारो थियो । जुन अरूण नदीको बिचमा झर्ने/खस्ने गर्दथ्र्यो । झर्नाको तल फेदमा अरूण नदी बग्छ । यो झरनाको माथि एउटा ठूलो ढुंगे दह छ । त्यही ढुंगे दहमा एक पटक चिन्ज्युङलुक्मको जहान पौडी खेल्न गएकी थिइन् । त्यहाँ पौडी खेल्दा नागम (डाइनोसर) ले उनलाई खाइदियो ।

आफ्नी श्रीमतीमाथि डायनोसरले आक्रमण गरेको भेटेपछि चिन्ज्युङलुक्मले आफ्नो बहादुरी देखाएर डायोनसरलाई मार्ने योजना बनाए । चिन्ज्युङलुक्मले नागम (डाइनोसर) लाई मार्नको लागि थाङमुछ्यीको गोक्पच्योक्स भन्ने डाँडामा बसेर नागम (डाइनोसर)लाई कुरिरहे । एकदिन नागम (डाइनोसर) निस्केर ढुंगे धारोमाथि बसिरहेको थियो । यही मौका पारेर चिन्ज्युङलुक्मले गोक्पच्योक्स भन्ने ठाउँबाट हुर्दो (घुँयत्रो) मा ढुंगा राखी नागम माथि आक्रमण गर्यो ।

पहिलो ढुंगा छाछापुकतिर गयो, दोश्रो क्षुदामा र तेस्रो दोरिरिमा झर्‍यो । चौथो पटकको निशाना नागम (डाइनोसर) लाई लाग्यो र त्यो ठहरै भयो । यही आक्रमणमा उक्त ढुंगे धारो पनि भाँचिएको बताइन्छ ।

यसरी धारो भाँचिएपछि पानी जमिनमा नै खस्न गयो र हालको भोम्बोम झर्ना बन्न पुग्यो भन्ने जनविश्वास छ । चिन्ज्युङलुक्मले हानेको हुर्दो (घुँयत्रो) को ढुंगा अहिले पनि देख्न सकिने स्थानीय विश्वास छ। अन्तिम पटकको ढुंगा झर्नाको बायाँतर्फ (मनिटरको दृष्टिले) माथि अहिले पनि छ जुन ढुंगामाथि एउटा सुकेको स्युक्प (धुपी)को बोट छ । त्यही ढुंगालाई डायनोसर मारेको ढुंगाको रुपमा स्थानीयले आस्था राख्छन् भन्ने मान्यता छ ।



source https://www.onlinekhabar.com/2021/04/948918

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More