Monday, 27 January 2020

पाकिस्तान हुँदै नेपाल पस्यो पानी पार्ने प्रणाली, ३ दिन बदली, वर्षा र हिमपातको सम्भावना

१४ माघ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन बदली, वर्षा र हिमपातको सम्भावना औंल्याएको छ ।

देशको पश्चिम भेग भएर पश्चिम न्यून चापीय प्रणाली भित्रिएको र यसको प्रभावले आगामी ३ दिन बदली, वर्षा र हिमपात हुनसक्ने देखिएको मौसमविद् प्रतीभा मानन्धरले जानकारी दिइन् ।

मौसमविद् मानन्धरका अनुसार, अफगानिस्तान र पाकिस्तान हुँदै सोमबार बिहान भित्रिएको नयाँ प्रणालीको प्रभाव अहिले देशको पश्चिम भागमा परिरहेको छ । यसकै प्रभावस्वरूप हिमाली भेगमा हिमपात र पश्चिमकै पहाडी र तराईमा हल्का वर्षा भइहेको उनले जानकारी दिइन् ।

यो प्रणालीको प्रभाव अहिले देशको पूर्वी र मध्य भागमा भने सामान्य रूपमा परेको छ । त्यसैले यी क्षेत्रमा आज पानी पर्ने सम्भावना छैन । पानी नपरे पनि काठमाडौंलगायतका क्षेत्रमा आज दिनभर घाम र बादलको लुकामारी भने जारी रहने मानन्धरले जानकारी दिइन् ।

पश्चिम न्यून चापीय मौसमी प्रणाली भोलिदेखि भने देशको पश्चिमसँगै मध्य र पूर्वी भागसम्म फैलने छ । यसको फैलावटले भोलि हल्कादेखि सामान्य वर्षा हुने खतरा रहेको मौसमविद् मानन्धर बताउँछिन् । उनका अनुसार, हिमाली क्षेत्रमा भने हिमपात हुनसक्छ ।

पर्सि दिनभर यो श्रृंखला जारी रहे पनि बिहीबार साँझबाट भने मौसम सुधारिने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण छ । ‘आज, भोलि र पर्सि नयाँ प्रणालीले डिस्टर्व गरे पनि पर्सि साँझबाट भने मौसम सुधारिन्छ,’ मौसमविद् मानन्धरले अनलाइनखबरसँग भनिन् ।

शुक्रबारपछि तत्काल नयाँ मौसमी प्रणाली भित्रिने नदेखिएकाले त्यसपछिका दिन घमाइलाे हुने मौसमविद्को भनाइ छ ।

यसपटक हिउँदमा पानी पार्ने मौसमी प्रणाली विगतभन्दा केही बढी देखिएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार, विगत वर्षको तुलनामा यो हिउँदमा मौसमी प्रणाली छिटो छिटो अदल–बदल भइरहेको छ ।



source https://www.onlinekhabar.com/2020/01/831779

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More