१७ चैत, रौतहट । लकडाउनलाई प्रभावकारी बनाउन रौतहट प्रशासनले खाद्यान्न पसल समेत बन्द गराएपछि गौरमा होम डेलिभरी अर्थात घरमै सामान पुर्याउने सेवा सुरु भएको छ ।
उद्योग वाणिज्य संघ गौरको पहलमा ११ वटा खाद्य पसलमार्फत सर्वसाधरणलाई होम डेलिभरीको व्यवस्था मिलाइएको संघका अध्यक्ष पंडीत जयसवालले बताए । कोभिड-१९ को जोखिम कम गर्न होम डेलिभरी सेवा सुरु गरेको उनले बताए । गौर नगरपालिका क्षेत्रभित्र खाद्यान्न पुर्याएबापत बिल अनुसार भुक्तानी गर्न समेत उनले सर्वसाधरणसँग आग्रह गरेका छन् । खाद्यान्न आवश्यक पर्ने उपभोक्ताहरुका लागि पसलको नाम र मोबाइल नम्बर सार्वजनिक गरिएको उनले बताए ।
कोरोना भाइरस (कोभिड-१९) को जोखिमबाट बच्नका लागि स्थानीय प्रशासनले १६ चैत्रदेखि अर्को आदेश नभएसम्मको लागि सट डाउन गरेको छ । जसका कारण अन्य दिन जसरी बिहान र बेलुका हुने मानिसको भिड बन्द भएको छ । खाद्यान्न पसलहरु सञ्चालन गर्न दिँदा बजारमा स्थानीयको भिड बढ्न थालेपछि प्रशासनले सट डाउन गरेको हो ।
अत्यावश्यक औषधि खरीदका लागि भने रोक नलगाएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।
source https://www.onlinekhabar.com/2020/03/849159
0 comments:
Post a Comment