साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन ? सबथोक छ ।
असंख्य रोग छ, अनन्त भोक छ,
असीम शोक छ, केवल हर्ष छैन, यहाँ त्यसमाथि रोक छ ।
साँघुरो गल्लीमा मेरो चोक छ ।
–भूपि शेरचन
२०१७ सालको परिवर्तित राजनीतिक परिस्थितिको समयमा भूपि शेरचनले एउटा साँघुरो गल्लीको बारेमा लेखेको एउटा कविताले त्यतिबेलाको विश्वको परिदृष्यलाई बोलेको थियो । भूपिले त्यतिबेला एउटा सीमित समुदायको मनलाई साँघुरो गल्लीसँग जोडेर कविता लेखे । तर, अहिले भूपिले भनेका सबै गल्लीहरु साँघुरा भएका छन् । बजारका सबै मनहरुको संकुचन धेरै हदसम्म भएको देखिन्छ ।
सृष्टिका परिचायक केवल मानिसहरु मात्रै होइन । तर, यही सृष्टिका परिचायकहरु माथि संकटको बादल मडारिएको छ । पलपल मरेर बाँचिरहेको छ काठमाडौंको एउटा मान्छे इतरका प्राणीहरुकाे समुदाय । बस्, मान्छेहरु घरमा आरामसँग बसिरहेको छ, एउटा पेट पाल्नकै लागि ठूलो संघर्षमा दिन गुजार्दै छन् काठमाडौंका जीव एवं पशुपंक्षीहरु।
माथि उल्लेख गरिए जीवहरुको दर्दनाक अवस्थालाई शव्दमा उतार्नको लागि अहिले भूपि जीवित छैनन् । तर, उनले देखाएको सानो गल्लीको पीडादायी कथाले उनको याद दिलाइरहेको छ । फरक प्रसंगमा उनले लेखेका थिए ‘मरेर शहीद हुनेहरू, जिएर त हेर, जिउन झन् गाह्रो छ !’ त्यही झनै गाह्रो परिस्थितिमा छन् यतिबेला काठमाडौंका मानिस इतरका जीवहरु ।
यही गाह्रो जिन्दगी जिएर बसेका जीवजन्तुहरु यतिबेला कोरोनाको कारण आफ्नो संघर्षपूर्ण जीवनलाई जेनतेन चलाइरहेका छन् । गल्ली झनै साँघुरिए छन् । घरहरु आकाशिए । तर, काठमाडौंबासीको मन झनै भूपिले भनेकोभन्दा साँघुरिँदै गएको छ ।
अहिले एक पुरिया बिस्कुट दिएर फोटो खिचाउने जमात समेत अहिले आउन छाडे । पहिले दैनिक आउने जानेहरुले दिने सीमित खानेकुराको समेत स्रोत अहिले टुटेको छ । एक जना मान्छे आयो भने ती सबै जनावरहरुमा आशाको किरण उदाउँछ । सबै गुरुरु त्यही मान्छे भएको तिर आउँछन् । जति दिन्छन् त्यसैमा चित्त बुझाउँछन् । यो काठमाडौंका सबै जीवहरुले भोगेको एउटा दुखद् घटनाको चरम सीमा हो ।
भोक लाग्छ । त्यही भुईंमा मुल्टो लडाउँछन् । अति नै भएपछि माटो खोस्रिन्छन् । त्यतिमा पनि केही नभेटिएपछि वागमती नदीमा कसैले फालेको कुरा बगाएर आएको छ कि ? भनेर हुल बाँधिएर नदीमा प्रवेश गर्छन्, यो दुखद् कथा पशुपतिका बाँदर र कुकुरहरुको हो ।
वागमतीको साथ पाएकाहरुले अरु केही नभएपनि भनेको बेलामा पानीसम्म त पिउन सकेका छन् । अति नै भएको बेलामा पानी पिएरै भएपनि संघर्षमा उत्रिएलान् । तर, त्यही पानी समेत भनेको बेलामा पिउन नपाउने जीवहरुको दर्दनाक कथा पनि यही काठमाडौंको गल्लीहरुमा भेटिन्छ । मानिसको लागि बरु केही नभएपनि सरकार छ । तर, यी जीवहरुको लागि त त्यही पनि छैन । कसले हेर्ने यिनीहरुलाई ।
कतै परेवाहरुको लागि फ्याँकेको चामलको दाना भेट्दा समेत खुशी हुन्छन् बाँदरहरु । खानेकुरा नपाएर निन्याउरो अनुहार लगाएका कुकुरहरुको क्यामरामा कैद गरिएको फोटोले समेत पक्कै पनि दुनियाँलाई भावुक बनाउन सक्ला । यिनै तश्वीरहरुले देखाएका छन् लकडाउनको समयमा भोगेका पीडाहरु ।
source https://www.onlinekhabar.com/2020/04/849824
0 comments:
Post a Comment