१९ चैत, काठमाडौं । लकडाउनको अवधिमा साहित्यकारहरूले फुर्सद पाएका छन् । हामीले काठमाडौंका केही कविहरुलाई लकडाउनमा के गर्दै हुनुहुन्छ भनेर सोध्दा उनीहरुले रमाइला कुरा सुनाए ।
अरु समयमा कार्यालयको काम र कार्यक्रमको चटारोमा रहने साहित्यकारले पढ्ने, लेख्ने र केही नयाँ सोच्ने समय पाएको बताएका छन् । लकडाउनको अवधि लम्बिएपछि कतिपय साहित्यकारले सूची नै बनाएर पढ्ने र लेख्ने काम थालेका छन् ।
कतिले भने घरमा खानेकुरा पकाउने, चित्र बनाउने, संगीत सिक्ने गरिरहेका छन् । कोही भिडियो कवितातिर लागेका छन् त कोही ध्यान सिक्नतिर ।
प्रस्तुत छ केही साहित्यकारको लकडाउन अनुभव :
सिस्नो, आलु र पुदिनाको तरकारी बनाउँछु : विप्लव प्रतीक
म मैतीदेवीस्थित आफ्नै घरमा बसेको छु । दिनचर्यामा पहिलाको जे रुटिन हो त्यही चलिरहेको छ तर कार्यक्रमको लागि घर बाहिर जान नपरेकाले फुर्सदिलो छु ।
मलाइ के लाग्छ भने, भाइरस आफैं घरमा आउँदैन । अनि यो घडी घरिघरि आउँदैन । यो बाध्यतालाई सेलिब्रेट गर्न नजाने घाटा हुन्छ । तर, पृथ्वीमा योभन्दा भयानक दिन आउने संकेत म सोचिरहेको छु ।
अहिलेको परिवेशमा म एउटै कुरामा फोकस हुन सकेको छैन । हिन्दी सायरी र भियस नयपालको ‘अमङ दी विलिर्भस’ दोहोर्याएर पढिरहेको छु । मन पर्ने गीत सुनिरहेको छु ।
पहिला पहिला बाहिर एक दुई पेग खाइन्थ्यो तर अहिले घरमै पिइरहेको छु । करेसाबारीमा पाइने साग, पुदिना र सिस्नो खाइरहेको छु । तर, मलाई हरेक दिन काम गरेर खानेहरूका लागि केही गर्न नसक्दा आफू पनि निरीह लागेको छ ।
मजदुरहरुको चिन्ता लागिरहेछ : श्रवण मुकारुङ
लकडाउनले फुर्सदिलो भएकाले घरमा परिवारसँगै बस्न पाइएको छ । म विगत एक सातादेखि काठमाडौं सामाखुसीमा सुरक्षित तवरले परिवारसँगै बसिरहेको छु ।
सँगै अहिले म फेसकुकमा भिडियोमार्फत् अग्रज कविका कविता नियमित पढिरहेको/सुनिरहेको छु । पुराना नेपाली कवितामा ध्यान दिइरहेको छु ।
तर, यस्तो बेला गम्भीर अध्ययन गर्न नसकिने रहेछ । यद्यपि लेखकहरूलाई यो अनुकूल समय हो । लकडाउन लम्बिएकाले आफ्नै केही कवितालाई पनि पूर्णता दिन प्रयास गरिरहेको छु । नयाँ लेख्ने पनि कोसिस जारी छ ।
सबैतिर सन्त्रास हुँदा मन भाँडिदोरहेछ । तर, हामी विचलित हुनुहुन्न । मलाई अहिले मजदुर वर्गले कसरी खाद्यान्न जुटाएका होलान् भनेर बढी चिन्ता लागिरहेको छ । यसैले, सरकारले मजदुर वर्गको समस्यालाई गम्भीरतापूर्वक लेओस् भन्ने चाहन्छु ।
ध्यान गर्न सिक्दैछु : उपेन्द्र सुब्बा
म ललितपुर नखिपोटमा बसिरहेको छु । खोला किनारको एरियामा बिहान एकैछिन मर्निङवाक जानेबाहेक घरबाट अन्त निस्केको छैन ।
यो एक सातामा कविता खुबै पढेँ । समकालीन र अग्रज सबै कविका कविता मन लगाएर पढ्दा आफैंलाई पनि लेख्न जाँगर चल्छजस्तो लागेको छ ।
सिनेमा सधैं हेरिहने भएकाले अलि कम गरेको छु । बरु सद्गुरुको भाषण र ध्यान गर्ने कला हेरेँ । त्यसैबाट ध्यान गर्न सिक्दैछु ।
यो एक सातामा बाहिरी कामको तनाव नभएकाले बडो फ्रेस फिल गरेको छु । पहिला सिनेमाको रिलिज गर्ने चटारो थियो, अब त्यो सर्ने हुँदा मनमा केही बोझ छैन ।
आखिर घरै बसेर यति धेरै योगदान गर्न पाउँदा को दंग नहोस् त !
परिवारसँग रमाएकी छु : सरिता तिवारी
म आफूलाई सोकल्ड पढ्ने मानिस देखाउन चाहदिनँ । तर, पनि मुख्य काम लेख्ने–पढ्ने नै भएकाले पत्रिकाका लागि स्तम्भ लेखेँ । केही पुराना हिन्दी पत्रिका र फुटकर रुपमा भेटिएका कविता पढेँ ।
म चितवन कृष्णपुरस्थित घरमा परिवारसँग बसिरहेको छु । परिवारका सबैजना सँगै हुँदा मन रमाएको छ । सानो छोरालाई चिया, नास्ता पकाउनेदेखि घरायसी सानातिना काम सिकाइरहेको छु । अरु बेला कार्यालय र साहित्यिक कार्यक्रममा व्यस्त हुँदा छोरालाई धेरै समय दिन पाएको थिइनँ ।
अब लकडाउन बढेको हुँदा पढ्ने समय पर्याप्त मिलेको छ ।
source https://www.onlinekhabar.com/2020/04/849907
0 comments:
Post a Comment