Tuesday 31 March 2020

प्रदेश ५ मा कोरोना रोकथाम तथा उपचार कोष स्थापना

१९ चैत, बुटवल । प्रदेश ५ मा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा उपचार कोष स्थापना गरिएको छ ।

प्रदेश ५ सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा उपचार कोष सञ्चालनको निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याएपछि कोष स्थापना गरिएको हो ।

कोष सञ्चालनका लागि सामाजिक विकासमन्त्री सुदर्शन बरालको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको छ । सदस्यहरुमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालय सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका सचिव रहनेछन् ।

कोषमा जम्मा भएको रकम कोरोना भाइरस रोकथाम तथा उपचारको लागि आवश्यक आइसोलेसन अस्पताल स्थापना र सञ्चालनमा लाग्ने खर्चहरुको व्यवस्थापन गर्न, मानवीय क्षति नियन्त्रण र प्रकोपको कारणबाट प्रभावित व्यक्तिहरुको सहज परीक्षण तथा उपचारको व्यवस्था गर्न, उपचारमा आवश्यक पर्ने मेडिकल सामग्री औषधी उपकरणको लागि लाग्ने खर्चको प्रवन्ध गर्न खर्च गरिनेछ ।

निर्देशिकामा कोरोना भाइरसको नियन्त्रण तथा उपचार गर्न प्रदेश सरकारबाट निर्णय भए बमोजिमका अन्य खर्च गर्न र कोरोना भाइरसबाट ज्यान गुमाएका परिवारलाई दिने राहतको लागि खर्च गर्न सकिने व्यवस्था रहेको सामाजिक विकासमन्त्री बरालले जानकारी दिए ।

कोष सञ्चालक समितिको मंगलबार बसेको बैठकले ५ सदस्यीय प्राविधिक कार्यदल गठन गरेको छ । त्यस्तै स्वास्थ्य निर्देशक, प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका निर्देशक, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव, सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महशाखा प्रमुख, आयुर्वेद चिकित्सक, प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्र वायोमेडिकल इन्जिनियर सदस्य रहेको प्राविधिक कार्य टोली गठन गरिएको हो ।

बैठकले कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा सहयोग गर्न पनि अपिल गरेको छ ।



source https://www.onlinekhabar.com/2020/04/849918

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More