Saturday 28 March 2020

‘म नेपाल फर्किनँ, बेइजिङमै दुई महिनादेखि सेल्फ क्वारेन्टाइनमा छु’

म २०१९ सेप्टेम्बर १ तारिखका दिन बेइजिङमा विधावारिधि पढ्न आइपुगेकी थिएँ । दुई महिनायता यहीँ सेल्फ क्वारेन्टाइनमा बिताइरहेकी छु ।

यो वर्ष चिनियाँ नयाँ बर्ष अर्थात बसन्त चाड जनवरी २५ मा परेको थियो । बसन्त चाड र जाडो बिदाको १ महिनाभन्दा बढी छुट्टी थियो । साथीहरु आ-आफ्नो देश फर्किए ।

म भने कोरिया घुम्न जाने सोच बनाएर भिसाका लागि कोरियन दुतावास जाँदा थाहा भयो, नेपाली विद्यार्थीहरू चाइनाबाट कोरिया घुम्न जाँदा दुई बर्षभन्दा बढी चाइनामा बसेको हुनुपर्ने रहेछ ।

त्यसपछि म यहीँ बेइजिङमै पढेर बस्ने कि नेपाल फर्कने भइरहेको थियो, त्यही समयमा एकजना चिनियाँ शिक्षिकाले फोन गर्नुभयो र भन्नुभयो, बसन्त चाड उहाँको घरमा गएर मनाउने र छुट्टी समयभरि उहाँकै घरमा बस्ने ।

मैले पनि सहर्ष स्वीकार गरें । जनवरी १५ मा हामी बेइजिङबाट उहाँको घर सान्सी प्रान्तको पाव ची शहरमा गयौँ । त्यसको केही दिनपछि कोरोना भाइरसको समाचार आयो ।

सुरुमा मलेरिया, डेंगु जस्तै त होला भन्ने लागेको थियो । तर, दिनदिनै भाइरसका बिरामी र मर्नेको संख्या हृवात्तै बढ्दै गयो । प्रत्येक दिन विभिन्न प्रान्तमा यो रोग देखिन थाल्यो । चीन सरकारले सूचना जारी गरेर सचेत रहन आग्रह गरेको गर्‍यै थियो । विदेशी विद्यार्थी विभागबाट पनि के गर्ने के नगर्ने भन्ने सूचना वी च्याट, क्यू क्यू जस्ता सामाजिक सञ्जालमा पठाएर सचेत गराएको गराएकै गर्न थाल्यो ।

यो संगै मनमा डर पैदा भयो । एकजना दाइ पनि हुनुहुन्थ्यो उहाँ जनवरी २५ तारिखमा सि आन शहर घुम्ने अनि भोलिपल्ट बेइजिङ र्फकने योजना थियो । २३ तारिखमा, शिक्षिकाले दाइसँगै सि आन घुम्न जाने भए घुमेर आऊ भन्नुभयो । त्यही मौका पारेर म पनि उहाँसँगै बेइजिङ फर्कन्छु भनेर शिक्षिकासँग आग्रह गरें ।

किनकि, मलाई डर थियो कि कथंकाल भाइरसले बिरामी भइहालियो भने के गर्ने ? पहिला त शिक्षिका मानिरहनुभएको थिएन । दाइले भाइरसका कारण ऊ डराइरहेकी छ भनेपछि बेइजिङमा बिरामी भइयो भने विश्वविद्यालयका गुरुहरुले हेर्नुहुन्छ, नेपाली दूतावास पनि बेइजिङमै छ जाउ न त भन्नुभयो ।

त्यो बेलासम्म कोरोनाको उद्गमस्थल वुहान बन्द भइसकेको थियो । अरु प्रान्तमा मान्छेको आवत-जावत, भिडभाड कम हुँदै थियो । सि आनको वातावरण र अवस्था हेरेर घुम्ने गरी २५ तारिखमा पाव ची शहरबाट हामी सि आन शहर गयौं ।

एक त मौसम धुम्म थियो, अर्को कोरोनाको त्रासले घुम्ने खालको वातावरण थिएन । साँझपख सार्वजनिक बगैंचा (पार्क) तिर घुम्न निस्कियौं । अरु समयमा साँझतिर पार्कमा मान्छेको भिड हुन्थ्यो । तर, त्यो दिन मानिसहरु निकै कम थिए । सबैले मास्कले मुख छोपेको देख्दा मनमा त्यहीँबाट कारोना सर्ने हो कि भन्ने लाग्यो ।

भोलिपल्ट बेलुकी ८ः५५ मा सि आनबाट बेइजिङकोे उडान थियो २ घण्टा ढिलो भयो । कतिपय उडान रद्द भइसकेका थिए, धन्न ढिला भए पनि बेइजिङ उडान भने भयो ।

अहिले म लगायत केही विदेशी विद्यार्थीलाई होटेलमा राखिएको छ । बाहिर ननिस्नु भनेकाले केही दिन पुग्ने सामान किन्न नजिकैको पसलमा गएँ । पसलमा सामान पहिलेको जस्तो भरिभराउ थिएन । भाइरसका बिरामीको संख्या बढेको देख्दा र चाइनाको जनसंख्या हेर्दा मलाई लाग्यो, साँच्चै भाइरसले गर्दा भोकमरी नै निम्त्याउँछ कि क्या हो ।

भनिन्छ नि, मानिस डर र त्रासपूर्ण जीवन बिताइरहेको छ । मेरो पनि कोरोना भाइरसले मनमा डर पैदा गरायो । एक मनमा नेपाल जाउँ कि भन्ने लागिरहेको थियो । तर, मलाई विश्वास पनि लागेको थियो चाइनाले चाँडै समाधान गर्छ भनेर । वरिपरिको वातावरण शुन्य भइसकेको थियो ।

जनवरी २७ तारिखदेखि म कोठाभित्रै थुनिएर बसिरहेकी छु । यो दिनदेखि आजसम्म सधैंजसो मेरो खुवाइ बसाई तथा गृहकार्य एउटै भइरहेको छ । मैले प्रायः चाउचाउ, बिस्कुट र फलफूल खाँदै दिन बिताइरहेकी छु । किनकि, होटेल अर्थात मेरो होस्टेलमा आफैंले खाना पकाएर खाने किचेनको व्यवस्था छैन ।

यहाँ आफूलाई चाहिने सामग्री फलफूल, सब्जी, रेडीमेट खानेकुरा अनलाइनबाट मगाउन सकिन्छ । त्यसैले कहिलेकाहीँ आफै्रले तातो पारेर (ट्राभलमा जाँदा बोक्ने) खाने खाना सेट अनलाइनबाट मगाउने गरेकी छु । कोरोना उग्र भएको समयमा हप्ता/दश दिनमा आइपुग्थ्यो तर अहिले २/३ दिनमै आइपुग्छ ।

केही प्रान्तमा पूर्णरुपमा भाइरस नियन्त्रणमा  आए पनि बेइजिङमा भने अझै पनि पूर्ण रुपमा नियन्त्रण भइसकेको छैन । त्यसैले केही क्यान्टिन त निरन्तर खुला भए पनि त्यहाँ जान मन लाग्दैन ।

धेरै बिस्कुट, चाउचाउ खान स्वास्थ्यका लागि राम्रो होइन । तर, बाध्यतावश मेरो मुख्य खाना यही भइरहेको छ । केही सामान लिन म पसलमा गइरहनु पर्दैन आफूलाई चाहिने सबै सामान अनलाइनबाट मगाउने गरेकी छु । सामान ल्याउनेले सामान लिएर गेटको पालेलाई दिन्छ । पालेले भाइरस मार्ने स्प्रे हानेपछि मात्र कोठामा ल्याउन पाइन्छ । सामान लिएपछि खोलेर राख्छु अनि डिटोल पानीले हात धुन्छु ।

कोठामा बसिराख्दा पनि म छिनछिनमा सेनिटाइजर लगाइरहन्छु, डिटोलले हात धुने, बेला-बेलामा अनुहार धुने गरिरहन्छु । यहाँको सरकार, विश्वविद्यालय, डाक्टरले भनेको कुरालाई पालना गर्दै आएकी छु ।

कोठामा थुनिएपछि कसैसँग भेटघाट बोलचाल नहुने, आफन्त साथीभाइसँग सामाजिक सञ्जालमा कुरा एकदम कम हुन्थ्यो । दिनका दिन कोरोनाको संख्या बढिरहेको समाचार सुन्नुपर्दा निकै डर, तनाव बढेको थियो । सुरु-सुरुमा किताब पढ्ने, टीभी हेर्ने, फिल्म हेर्ने गर्थें त्यसैले त्यस्तो केही भएन । तर, यसरी एक्लै कोठामा थुनिँदा, लामो समय एउटैखालको क्रियाकलाप गरिरहँदा दिमाग धुम्म हुने, पढेको कुरा बिर्सने, छट्पटी हुने, निन्ऽा नलाग्ने हुँदाहुँदै बिस्तारै डिप्रेशनको लक्षण पनि देखिएला जस्तो हुन थाल्यो ।

त्यसपछि डिप्रेशन नहोस् भनेर दिनमा के-कस्ता क्रियाकलाप गर्ने भन्ने लिस्ट तयार गरेँ । झ्याल खोलेर बस्ने, शारीरिक व्यायाम गर्ने, चित्र कोर्ने, साथीहरुलाई फोन गर्ने, आˆनो कोर्षको किताब भन्दा पनि अन्य आफूलाई पढ्न मन लागेको किताब पढ्ने, आधिकारिक स्रोत भएको समाचार मात्र पढ्ने ⁄ हेर्ने ⁄ सुन्ने, केही पढ्नुपर्दा ठूलो आवाज निकालेर पढ्ने, टीभीमा आफूलाई रुची लागेको प्रोग्राम हेर्ने, गीत सुन्ने गाउने गर्न थालेपछि त्यस्तो केही भएन ।

यहाँ हामी विद्यार्थीलाई अझै एक अर्कासँग भेट गर्न अनुमति दिएको छैन । कोठामा म एक्लै बोल्ने साथी नहुँदा कहिलेकाहीँ न्यास्रो लाग्छ । दिनदिनै कोठा सफा गर्न होटेलको स्टाफ आउँछन् म भने उनीहरूलाई जर्बजस्ती आफैंले बोलाउँछु । हामी हाँस्छौँ बोल्छौँ । आजकल मेरो दिनदिनै बोल्ने साथी बनेका छन् उनीहरु ।

यहीँबाट मलाई यो अनुभव भयो कि हामी यस्तो संकटको समयमा नआत्तिकन आफूलाई रुची लागेको कार्य गर्ने, पानी धेरै पिउने, अनलाइनबाट अरूसंग कुरा गरिरहने गर्यौँ भने मानसिक स्वास्थ्यमा खासै गम्भीर असर पर्दैन । हाम्रो स्वास्थ्यलाई तन्दुरूस्त राख्न प्रयास गर्ने पहिलो डाक्टर नै हामी स्वयं हौँ । जनवरी २९ तारिखदेखि अहिलेसम्म बिहान बेलुकी शारीरिक तापक्रम जाँच्न होटलका कर्मचारी आउने, स्वास्थ्य के कसो छ सोध्ने अनि हामी विदेशी विद्यार्थीलाई कस्तो छ भनी विश्वविधालयबाट सोधपुछ गर्न आउने, फलफूल दिने, मास्क दिने हुँदा पनि मन शान्त हुँदै आयो । तर जबदेखि तापक्रम जाँच्न सुरु गर्‍यो त्यो दिनदेखि अहिलेसम्म मलाई एउटै डरले सताइरहेको छ कि रुघाखोकी लाग्यो भने पनि अस्पताल पुग्नुपर्ने हो कि ? त्यसैले रुघाखोकीसम्म पनि नलागोस् भनेर गुलियो कम खाने, तातो पानी धेरै पिउने, तातो सुप पिउने गरेको छु ।

कोरोना आतंक बढ्दै गएपछि विश्वविद्यालयले विदेशी विद्यार्थीलाई आफ्नो देश र्फकने वा चीनमै बस्ने विकल्प दिएको थियो । त्यो बेलासम्म कतिपय देशमा हवाई उडान बन्द भइसकेको थियो । त्यसैले केही विद्यार्थी भने उनीहरुको देश फर्कन पाएनन् । मलाई पनि देश फर्कन मन लागेको थियो । भाइरस कसरी अर्को व्यक्तिमा सर्छ थाहै नहुने र कोरोना भाइरस लागेको १४ दिन पश्चात् मात्र देखिने भएकोले नेपाल र्फकदैँ गर्दा भिडभाडमा कोरोना बिरामीबाट मलाई सर्‍यो भने नेपालमा पक्कै फैलन्छ ।

नेपालमा कोरोनाका बिरामी भए के गर्ने भन्ने सरकारको केही तयारी गरेको अवस्था थिएन । फेरि यो एकदम छिटो फैलन्छ र नेपालीहरु बिजोक हुन्छन्, नेपालमा कोरोना नछिरोस् नफैलियोस् भन्ने लागेर  म यतै बसेँ ।

आफन्त, साथीहरुले नेपाल फर्कन सुझाव दिए । तर, मैले भन्थेँ कि कोरोनाको कारणले मरें भने यहीँ मर्छु तर मेरो कारणले अरु नेपालीलाई कोरोना नलागोस् ।

अहिले बेइजिङमा कोरोना भाइरस पूर्णरुपमा निको नभए पनि निकै कम भइसकेको छ त्यसैले म विश्वविद्यालयको गार्डेनमा गएर घुम्ने, बस्ने गर्न थालेको छु । तर, कोठा बाहिर निस्कँदा भने मास्क अनिवार्य छ । यहाँको वरिपरिको वातावरण हेर्दा खुशी लाग्छ । फाट्टफूट्ट मान्छेको आवत जावत, सबैतिर फूल फुलेको निकै रमाइलो वातावरण छ अहिले यहाँ ।

तर, हामी विद्यार्थीलाई विद्यालय प्राङ्गणभन्दा बाहिर जाने अनुमति छैन । हामी बाहिर निस्किएको एक घण्टाभित्र कोठा फर्किसक्नुपर्छ । विश्वविद्यालयले कोरोना भाइरस महामारी सुरु भएदेखि अहिलेसम्म त्यही नियम लागू गरिरहेको छ । सूचना जारी गरेर सचेत गराइरहेको छ । विश्वविद्यालय कहिले खुल्ने हो, अझै निश्चित छैन ।

दुखको कुरा, चीनमा कोरोना नियन्त्रणमा आए पनि अहिले विश्वको अन्य देशमा विशेष गरी युरोप अमेरिकामा भयावहरूप लिँदै गइरहेको छ । सबै देशले आ-आफ्नो तरिकाले नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । नेपालमा पनि कोरोना संक्रमण सुरु भएको छ । त्यसैले नेपालमा हुनुहुने सम्पूर्ण जनताले नआत्तिकन बस्ने, जस्तो पायो त्यस्तो समाचारको तथा सामाजिक सञ्जालमा पोष्टिएको सूचनाको विश्वास नगर्ने, सरकारले भनेको कुरालाई पालना गर्ने, आधिकारिक सञ्चार माध्यमको मात्र समाचार पढ्ने गर्नुहोला ।

योबेला पहिलो प्राथमिकता भनेको जतिसक्दो आफूलाई सुरक्षित राख्ने र अरूलाई पनि सुरक्षित बनाउने हो । यस्तो संकटको बेला आफैँ सचेत बन्नुपर्छ ।

सर्वसाधरण जनताले यति गर्न सक्नु नै सभ्य नागरिकको पहिचान दिनु हो ।  सरकारलाई सहयोग गरेर देशलाई संकटमुक्त बनाउनु हामी नागरिकको दायित्व हो ।

(ज्ञानुमाया राई बेइजिङमा विधावारिधि गरिरहेकी नेपाली विद्यार्थी हुन्)



source https://www.onlinekhabar.com/2020/03/848759

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More