Monday 30 March 2020

लकडाउन उल्लंघन गरेका युवक कुट्ने सशस्त्र प्रहरी निलम्बित

१८ चैत, सप्तरी । औषधि किनेर सीमावर्ती क्षेत्र भारतबाट आइरहेको अवस्थामा सप्तरीका दुई युवकलाई निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरीका जवानलाई कारबाही गरिएको छ । कुटपिटमा संलग्न एक जवानलाई निलम्बन गरिएको छ भने अर्का एक जनालाई कारबाहीका लागि सदरमुकाम राजविराज तानिएको छ ।

दुई युवकलाई बलान बिहुल गाउँपालिकास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा निर्घात कुटपिट गर्नेमध्येका मनोज चौधरीलाई निलम्बन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । अर्का जवान केशव थापा मगरलाई सदरमुकाम राजविराज तानिएको छ ।

‘मगरलाई यहाँ तानेर अनुसन्धान सुरु गरेका छौं’ उद्धव न्यौपानेले भने, “उनलाई कारबाही हुन्छ ।”

यो पनि पढ्नुहोस सप्तरीमा सशस्त्र प्रहरीबाट कुटिए दुई युवक, कारबाहीको तयारी

सशस्त्र प्रहरीको कुटपिटबाट बलान बिहुल गाउपालिका ३ मौवाहाका हरेकृष्ण साह र चन्दर यादव घाइते भएका छन् । सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट रामनगर कोदरकट्टीबाट खटिएको टोलीले यी दुबैलाई कुटपिट गरेका थिए ।

गल्ती भएकै हो, तर दुबै तस्कर हुन् : न्यौपाने

सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले आफ्ना जवानले दुबैलाई कुटपिट गरेर गल्ती गरेको भएपनि दुबै जना तस्कर भएको बताएका छन् । ‘उनीहरु औषधि नभई दैनिक उपभोग्य सामान लिएर आइरहेका थिए’ न्यौपानेले भने, “यसअघि पनि धेरै पटक भारतबाट सामान ल्याउनेको सूचीमा दुबै जना छन् ।”

सामान नल्याउन पटक–पटक दुबैलाई सम्झाएपनि नमानेको र देश मानवको स्वास्थ्यका लागि लकडाउन भएको समयमा पनि सामान ल्याउन नछाडेको उनले बताए । ‘लकडाउन गरिएको दुई दिनसम्म पनि सीमामा खटिने सुरक्षाकर्मीले उनीहरुलाई सम्झाएको र नमान्दा आक्रोशित भएर कुटपिटमै उत्रनुपरेको गल्ती आफ्ना जबानबाट भएको छ’ उनले भने ।

‘यसरी कुट्नुहुँदैन्थ्यो । घट्नापछि उनीहरुले पनि ‘रियलाइज गरेका छन्,’ न्यौपानेले भने, “तर समाजका व्यक्तिले पनि लक डाउनको समयमा यस्तो गल्ती गर्नेबारे सोचिदिनु आवश्यक छ ।”



source https://www.onlinekhabar.com/2020/03/849526

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More