१९ चैत, वृन्दावन (भारत) । कोरोना भाइरसका कारण विश्व आक्रान्त छ । मानव जातिको अस्तित्वमै संकट आएको त होइन ? भन्ने अत्यन्त भयग्रस्त विचारहरू पनि आउन थालेका छन् । विश्वको सामाजिक र आर्थिक अवस्था डामाडोल उन्मूख छ । यस्तो अवस्थामा संसारभर छरिएर रहेका नेपाली साहित्यकारहरूको के अवस्था छ ? के भोग्दैछन् र के सोच्दैछन् त उनीहरू ? यो चाखलाग्दो प्रसंग हुन सक्छ ।
यो पंक्तिकार आफैं पनि मार्चको १३ देखि १५ सम्म सम्पन्न हुन लागेको दक्षिण एशियाली साहित्य उत्सवमा सहभागी भएर २० मार्चमा काठमाडौं पुग्ने टिकट लिई भारत आइपुगेकोमा चैत २५ सम्म नेपाल प्रवेश गर्न नमिल्ने नेपाल सरकारको निर्णयले भारतमै अड्किनु परेको अवस्था छ । म अहिले बृन्दावनमा रोकिएको छु ।
यहाँ रहँदा मैले संसारभर छरिएर रहेका र नेपालकै पनि केही साहित्यकारहरूको अवस्था, सोच र चिन्तन जान्न चाहें । कतिपय साहित्यकारहरूले जवाफ तत्कालै दिनुभयो, कतिले मैले पठाएको सन्देश नै नपढेको देखें । कतिपयले जवाफ पठाउँंछु भनेर पनि पठाउन सक्नुभएन । कतिले खासै चासो नराखेको पनि बुझें ।
अघिल्लो साता मैले पाएका केही प्रत्युत्तरहरू पाठकहरूका लागि प्रस्तुत छन्–
ज्ञानेन्द्र गदाल, कोलोराडो, अमेरिका
विश्वभर फैलिरहेको कोभिड १९ नामक कोरोना भाइरसले हरेक मानिसको दैनिकीमा प्रतिकूल प्रभाव पारेको छ । यो खÞतरनाक रोगबाट बच्न सतर्कता अपनाउनु बाहेक अरू उपचार पाइएको छैन । यसका लागि भिडबाट टाडा रहने, मानिसहरुको संसर्गबाट अलग बस्ने, तातोपानी बारम्बार पिउने, साबुन पानीले हात धोइरहने बानी परिसक्यो अब ।
अफिस जान बन्द, घरबाटै काम जारी छ । पसलहरूमा खाद्यपदार्थ, ट्वाइलेटपेपर, स्यानिटाइजर, साबुन आदिको अभाव बढ्दो छ । साथीभाइसँगको प्रत्यक्ष भेटघाट फोनमा सीमित छ । सडक सुनसान प्रायः छ । यो संकटपूर्ण अवस्था कतिसम्म लम्बिने हो, निश्चित छैन । हरेक मानिसका लागि सर्वप्रीय आफ्नो ज्यान रहेछ । यसको रक्षार्थ खाने कुराको जोहो नै मुख्य रहेछ भन्ने यथार्थ अमेरिकामा समेत आजको परिस्थितिले देखाएको छ ।
जीवा लामिछाने, जर्मनी
अहिले घरमै सेल्फ इम्पोज्ड क्वारेण्टाइनमा बसेकाले दैनिकीमा अलि फरक परेको छ । लेखपढ गर्ने समय केही बढी रहेको छ । म प्रत्येक दिनको कोभिड१९ डायरी ल्यापटपमा लेखिरहेको छु । विश्वभरि यो कसरी फैलिएर जाँदैछ भनेर, मेरो निजी रेकर्डका लागि ।
सुरेन उप्रेती, क्यानडा
कोरोनाले जीवन अस्तव्यस्त बनाएको छ । खाना संकलन र भण्डार गर्ने, सेनेटाइजर, मास्क, पञ्जा जुटाउने क्रम जारी छ । देश–विदेशबाट आएका समाचार र दुःखद घटनाले चिन्तित र विचलित बनाएको छ । आफ्नो दैनिक जीवनलाई धेरै प्रभाव पारेको छ ।
आफू स्वास्थ क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी भएकाले अझ बढी होशियारी र सम्वेदनशील भएर बन्नु परेकाले लेखन कार्य लगभग शून्यको अवस्थामा झरेको छ ।
कृष्ण बजगाईं, बेलायत
कोरानाको महामारीले मेरो दैनिकीमा अलिकति परिवर्तन ल्याएको छ । बेलायत सरकारले दिएको सूचना र स्वास्थ्यसम्बन्धी चेतनालाई ध्यानमा राखेर भेटघाट र घुमघामको कार्य हाललाई स्थगित गरेको छु ।
पहिले नै तय भएका लन्डनका विभिन्न साहित्यिक र अन्य कार्यक्रमहरु समेत रद्द भएकाले लेखपढमा अलि समय मिलेको छ । समाचारले कसरी मानिसको जीवनमा तनाव निम्त्याउँछ, समाचार पढ्न छाडेपछि प्राप्त हुने खुसी र शान्त जीवनका बारेमा लेखिएको रोल्फ डोबेल्लीको ‘स्टप रिडिङ दि न्युज’ भन्ने पुस्तक पढिरहेको छु । एउटा नियात्रा पनि लेखिरहेको छु । अहिले कोरोनाको विषयमा कुनै सिर्जना गरेको छैन ।
हिक्मत थापा, नाइजेरिया
म नाइजेरियामा बस्छु । यहाँ कोरोनाको प्रभाव त्यति परिसकेको छैन । कार्यालय र जनजीवन अहिलेसम्म सामान्य नै छन् । तर, सरकार र नागरिकले नियन्त्रणका प्रारम्भिक प्रयास थालेका छन् ।
वसन्त श्रेष्ठ, भर्जिनिया, अमेरिका
कोरोनाको आतंकले कैदी बनाउन सुरू गरेको छ । अध्ययन र लेखन नै आफ्नो रूचि भएका कारणले त्यसैमा समय खर्चिने विचार गरेको छु ! ‘प्रयास’ का लागि एउटा लेख भर्खर लेखेर सकेको छु । घरदेशमा साहित्यिक मन्थन नेपाल भ्रमणको सन्दर्भमा लेखिएका कारणले फेरि नेपाल झलझली सम्झें । दुई÷चार पुस्तक छन्, समय पर्खेर बसेका, सक्ने विचारमा छु ।
विमल अधिकारी, कोलोराडो, अमेरिका
म कोलोराडोको अरोरामा बस्छु । बजारमा सामान पाउन छोड्यो । बिहान गए पाइने । अरू सामानमध्ये सेनिटाइजर, ट्वाइलेट पेपर छैन । जताततै सुनसान छ । ग्यास स्टेशन, मल सब सुनसान । रेस्टुरेण्ट बन्द प्रायः छन् । जनता त्रसित छन् । सबैको मुखबाट क्रेजी कोरोना भाइरस भन्ने सुनिन्छ । यही ताल हो भने निकै जटिल हुनेछ संसार । स्कुलहरू बन्द छन् । जनता अन्योलमा छन् । भगवान भरोसा भन्ने पनि छन् ।
सुनिल संगम, पोर्चुगल
निश्चय नै केही परिवर्तन भएको छ । घरबाहिर निस्किन, भेटघाटहरु र कामकाज सबै छोडिएको अवस्था छ । मार्केटतिर अति आवश्यक सामान लिन जानेबाहेक आउन–जान सबै रोकिएको छ । सकेसम्मको सावधानी अपनाइएको छ । तर, पनि त्रास छँदैछ ।
यो त्रास र महामारीमा जबरजस्ती घर बस्ने फुर्सद भने मिलेकै छ । परिवारसँग बस्ने र लेख्ने समय प्रशस्त मिलेको छ । यतिबेला केही मुक्तक र गीतहरु तयार गर्दैछु । निश्चय नै ती रचनाहरुलाई विश्वभरि फैलिएको महामारी कोरोनाले धेरैथोरै छोएको छ ।
नीलम कार्की (निहारिका), अमेरिका
हर पल समाचारमा जान मन लाग्छ । पढ्न खोज्छु । ४२५ पृष्ठको किताब सुरू गरेको धेरै दिन भयो, २०० पुग्दैछु । ट्राभल गरी आएकाले १४ दिनको सेल्फ क्वारेनटाइन बल्ल सकियो । लेखन छैन । अब कोसिसमा भने छु ।
भक्त घिमिरे, पेन्सिलभेनिया, अमेरिका
कोरोनाले परिवर्तन अवश्य ल्याएको छ । बढी अनलाइनमा काम गर्ने भएकाले कामै ठप्प त भएको छैन । तर, खानेकुरा लिन बजार जाने हिम्मत छैन । लेखनमा अन्य बाधा नभए पनि आँखाले नदेखेको कोरोना भाइरस दिमागमा भने घुमेको घुमेकै छ । कोरोनाकै सम्बन्धमा कुनै लेख लेख्न भ्याएको छैन । एउटा ‘धन्यवाद कोरोना’ भन्ने शीर्षकको भावना यही फेसबुकको स्टाटसमा पोखेको छु । स्टाटसमा भेट्नु हुने छ ।
जीवन खत्री, दक्षिण कोरिया
कोरोना महामारीले विश्व नै तर्सिरहेका बेला हामीलाई प्रभाव नपर्ने भन्नै कुरा नै छैन । हरेक क्षेत्रमा असर परिरहेको छ । संक्रमितहरूमा त उसै पनि असर परेकै छ । संक्रमण नभएकाहरूमा पनि कतिबेला के हुने हो भन्ने पिरै पिर छ । देशमा के हुने हो ? समाज र आफन्तहरू के हुने हुन् ? संक्रमण भैहालेमा कसरी उपचार होला । आर्थिक कुराहरू कसरी सहज होला ? यही पिरले सताइरहँदा लेखनमा असर पर्नु अस्वाभाविक हैन । केही लेख्न खोज्दा पनि यही पिरले दिमाग एकत्रित हुन सकिरहेको छैन ।
प्रकाश पौडेल (माइला), जापान
आकस्मिकरुपमा विश्वव्यापी संक्रमण फैलिएको ‘कोरोना’ को कारणले केही फुर्सद मिलेको छ । दैनिक गरिने काम र कार्यतालिकामा फेरबदल भएको छ । कोरोनाकै विषयमा केही नलेखेता पनि यो समयमा केही सामाजिक कथा लेख्नको निम्ति केन्द्रित भएको छु । जापानमा हुने साना तथा ठूला जमघटहरु हुनै छाडेका छन् । पारिवारिक भेटघाट र स्थानीय भ्रमण पनि शुन्य प्रायः छ । त्यसैले बाँकी समय सामाजिक सञ्जाल, न्युज साइट टहल्ने र केही पुस्तक पल्टाउँदै बितिरहेको छ ।
नीरू त्रिपाठी, अष्ट्रेलिया
यहाँको सरकारले यात्रा कम गर्न र सामाजिक गतिविधिमा सरिक नहुन सचेत तुल्याइसकेको अवस्था छ । मेरो अफिसले पनि अर्को सूचना जारी नहुन्जेल घरबाटै काम गर्न भनेको छ । यसले निश्चितरूपमा मेरो दैनिकीमा फरक पारेको छ । तर, यसले मेरो लेखनमा असर पारेको छैन । अहिलेको वर्तमान अवस्थाका बारेमा छिट्टै केही लेख्ने सोच बनाएकी छु ।
विश्वासदीप तिगेला, बेलायत
कोरोनाको महामारीले मेरो दैनिकीमा परिवर्तन अवश्य ल्याएको छ । अध्ययनमा छु । कक्षाका लेक्चरहरु बन्द भए । शोधपत्रमा मात्र ब्यस्त छु । कोरोनाले धेरै असर ग¥यो । लेखनमा भने खासै परेको छैन । समय अभावका कारण लेखेको छैन । तर, यो विकराल हेरेर लेख्न सक्छु ।
डेन्जोम साम्पाङ, टेक्सास, अमेरिका
कोरोनाको महामारीमा काम चलिरहेकै छ । तर, आफू सर्वसाधारणसँगसँगै काम गर्नुपर्ने हुनाले रोग सर्ला कि भन्ने चिन्ताले निक्कै सोचनीय बनाएको छ । विद्यालय लगायत कार्यालयहरु सबै बन्द छन् । स्थानीय दोकानहरु बिक्रीका सामानविहीन छन् । लेखन भने कोरोनाको असरभन्दा पनि काम, व्यवसायको तनाव र व्यस्तताको कारण समय मिलाउन सकेको होइन । कोरोनाको विषयमा कुनै रचना लेखेको छैन ।
नवराज कार्की, क्यालिफोर्निया, अमेरिका
घरबन्दी छु । लेखनमा केही फरक पारेको छैन । मैले केही मुक्तक लेखेको छु । केही फेसबुकमा राखें, केही नोटबुकमै छन् ।
केदार सुनुवार, अफगानिस्तान
कोरोनाको महामारीले काम ठप्प । खाना सकिएको छ । लेखन भने निरन्तर चलेको छ । कोरोनाको विषयमा कुनै रचना लेखेको छैन ।
डा.कविता लामा, सिक्किम, भारत
सिक्किम हिमाली राज्यमा आजको मितिसम्म कोरोना भाइरसले संक्रमित एकैजना व्यक्तिको नाम समाचारमा नआएता पनि यसको प्रभाव मेरो दैनिक जीवनमा अत्यन्त गहिरोरूपले परेको छ । समाचारको माध्यमद्वारा अनि सामाजिक सञ्जालको माध्यमद्वारा यसबारे जेजति समाचारहरू सुन्नमा र जान्नमा आइरहेका छन्, त्यसले यहाँको शान्तिमय परिवेशमा एक प्रकारको आंतकको परिवेश सृष्टि भएको छ ।
मन र तन दुवै स्वस्थ नभएपछि यसले मेरो अध्ययन र लेखनमा प्रभाव पारिरहेको छ । कारण मन अस्थिर रÞ अधीर छ । मन सञ्च छैन । यद्यपि यसबारे मैले कुनै लेख वा रचना लेखेकी छैन ।
ज्ञानेन्द्र खतिवडा, सिलिगुडी, भारत
कोरोनाले नअत्याएको स्थिति कसलाई होला र ? इतिहासमा ठ्याक्कै सय वर्ष नाघेको स्पेनिस फ्लु यतिबेलै घरीघरी सेतो कात्रो ओडेर आइरहन्छ । विज्ञान पनि साह्रै ढिलो हिँडेको जस्तै लाग्छ । अझ पनि धामी र झाँक्री खोज्दै हिँड्ने साउथ इस्ट एसियाली मानिसहरू र उनीहरूको ढटुबारे नेतृत्वको अधीनमा रहनुपर्ने बाध्यता र परीक्षणको किट अमेरिकाजस्तो विकसित देशमा कम भएर चीनले पठाएको घटनाले त झन् ज्यादा आतंकित पार्दो रहेछ । आफंै आफ्नो सुरक्षाको जिम्मा लियो, घरै बस्यो ।
कृष्ण धरावासी, काठमाडौं
म प्रायः घरै बस्ने हुनाले बाहिरफेर निस्केको छैन । घरमा कोही अस्वस्थ छैनन् । खाद्य सामग्री पनि अनावश्यक संग्रह गरिएको छैन । वास्तवमा यस रोगबारे जति हल्ला गरिएको छ, नेपालमा त्यस्तो असर देखिएको छैन । लेख्ने कामभन्दा पनि केही महत्वपूर्ण कृतिहरूको सम्पादन गरिरहेको छु । नयाँ कृतिको खासै तयारी छैन । कोरोना बारेमा त्यस्तो केही लेखेको छैन । लेख्नुपर्ने विषय पनि नभेटिएर होला ।
अविनाश श्रेष्ठ, काठमाडौं
कोरोना भाइरसको महामारी तीन महिनाअघि चीनमा थालिँदा यसले यति भयावह स्वरूप ग्रहण गर्ला भन्ने मलाई लागेकै थिएन । दिनहरू बित्दै जाँदा कोरोना भाइरसले आफ्नो प्रभाव विस्तार गर्दै जान थाल्यो । मैले डायरीमा बेला–बेला कोरोनाको कहरबारे टिपोट गरिरहें र गरिरहेको छु ।
आफ्नो सामान्य लेखनकार्यलाई कोरोनाको त्रासले कुनै प्रभाव नपारेको उल्लेख गर्न चाहन्छु । म अहिले आफ्ना पूर्वप्रकाशित दुई कविता संग्र्रहलाई पुनः प्रकाशित गर्ने काममा जुटिरहेको छु र केही नयाँ काम थाल्ने योजना पनि बनाइरहेको छु, कुन विश्वासका साथ भने मानव समाज र संसार कोरोना भाइरसको सांघातिक प्रहार र कहरबाट छिट्टै नै मुक्त हुनेछ । हामी फेरि पहिलेजस्तै सामान्य जीवनमा फर्कन सफल हुने नै छौं ।
अशेष मल्ल, काठमाडौं
सर्वनाम थिएटरमा निरन्तर सञ्चालित अभिनय कक्षा रोक्नुपरेको छ । बिहान घरमै बित्ने गरेको छ । नयाँ गीति नाटकको तैयारी पनि रोकियो । मेरा विद्यार्थीहरुका रिहर्सल रोकिए । सर्वनामका सबै नियमित कार्यक्रमहरु रोकिएका छन् । एकाएक फुर्सदै फुर्सदको स्थिति सिर्जना भयो । तर, पनि गीति नाटकको सिर्जनात्मक कतिपय पक्षमाथि काम गर्दैछौँ । लेख्दालेख्दै रोकिएका सिर्जना अब पूरा गर्छु । चुप लागेर बस्न सक्दिनँ ।
देवेन्द्रप्रताप शाह, काठमाडौं
घरबाट निस्किन सरकारले बन्देज लगाएपछि हिँडडुल बन्द छ । सोसलाइजेसन छैन । साथीभाइसँग कुरा गर्दै रमाइलो मान्ने अवस्था भएन । नातेदारहरूसित फोनमा कति कुरा गर्नु ? टीभीले काम पाएको छ । पहिला टीभी हेर्दैनथें, अब शुरू भएको छ ।
पवन आलोक, काठमाडौं
कोरोनाका कारणले लेखन र सिर्जनामा मलाई परेको असरबारे भन्नु पर्दा कुनै साहित्यिक समारोह वा अन्य विभिन्न सामाजिक गतिविधिमा जानु नपर्दा साहित्य अध्ययन, सिर्जना र लेखनलाई समय मिलेको छ । समय व्यवस्थापन गर्न गाह्रो परिरहेको अवस्थामा निकै राहत मिलेको महसुस गरेको छु । यस अर्थमा खुसी पनि छु ।
यो महामारीले विश्व नै आक्रान्त भएको अवस्थामा खुसी हुने अवस्था त होइन नै । यो छिट्टै विश्वबाटै निर्मुल होस् भन्ने कामना गरिरहेको छु । म यो समयलाई सक्दो उपभोग गर्नेछु र मेरो नियात्रा संग्र्रहको बाँकी काम पूरा गर्ने योजनामा छु । कोरोनाकै बारेमा त लेखेको भने छैन ।
शैलेन्द्र साकार, काठमाडौं
अहिले आफैं हातखुट्टा र सम्पूर्ण अवयवप्रति ठूलो अविश्वास बढेको छ । कसरी भाइरस मुक्त हुने ? जो अदृश्य छ, तर छ भयानक ।
विवश पोखरेल, बिराटनगर
कोरोना सन्त्रासले मानसिक सिथिलता थपेको छ । कुनै उत्साह, ऊर्जा छैन सिर्जनामा । कोरोनासम्बन्धी के लेख्नु ? लेख्नेहरूको पढ्दै अघाइएको छ । कोरोनाको भयसँगै कोही–कोही यस विषयलाई ठट्टाको विषय पनि बनाउँछन् । सचेतना अहिलेको आवश्यकता हो । यस प्रकोपसँग कसरी सुरक्षित हुने, यसबारे सचेत रहन सकौँ ।
राम्जी तिमिल्सिना, इटहरी
घरमा बसेर सामाजिक सन्जालको प्रयोग बढाउँदै चेतना प्रवाहमा सरिक भइएको छ । बाँकी रहेका अनुसन्धानात्मक लेखनलाई गति दिइएको छ ।
source https://www.onlinekhabar.com/2020/04/849889
0 comments:
Post a Comment