१७ चैत, काठमाडौं । नौ सय १७ नमुना परीक्षण, ५ पोजेटिभ । जसमध्ये एक जना निको भएर घर फर्किए । ।
यो नेपालको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आइतबार साँझसम्मको आउटब्रेक तथ्यांक हो । तर, यो तथ्यांकसँग जनस्वास्थ्य विज्ञहरु सन्तुष्ट छैनन् ।
एकदमै थोरै परीक्षण भएकाले संक्रमण फैलिने डर बढेको उनीहरुको तर्क छ । एक जनस्वास्थ्य विज्ञ भन्छन्, ‘करिब तीन महिनामा यति थोरै नमुना परीक्षण हुनु लाजमर्दो हो । यसले प्रष्ट पार्छ कि कोरोना नियन्त्रण गर्न सरकार गम्भीर भएर लागेको छैन ।’
जनस्वास्थ्य विज्ञहरुकाअनुसार अन्य देशको अभ्यास र संक्रमण फैलिएको देशबाट नेपाल छिरेका मानिसको सङ्ख्या तुलना गर्दा अहिलेसम्म नेपालमा २५ सयदेखि तीन हजारसम्म नमुना परीक्षण भइसक्नुपर्ने थियो । तर, नेपालमा परीक्षणको संख्या नबढाएकाले कोरोनाको सम्भावित जोखिम पूर्वानुमान गर्न सकिएको छैन ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका एक जनस्वास्थ्य विज्ञ नाम उल्लेख नगर्ने सर्तमा भन्छन्, नेपालमा कोरोनाको भविष्य आगामी एक सातामा आउने परिणामले निर्धारण गर्छ ।’
उनकाअनुसार एक साताभित्रमा हुने कन्ट्याक ट्रेसिङ, नमुना परीक्षणको नतिजा र संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुको अवस्थाले नेपालमा कोरोनाको भविष्य बताउन सकिन्छ । उनी भन्छन्, ‘अबको एक हप्तामा धेरैभन्दा धेरै नमुना परीक्षण र त्यसअनुसार कन्ट्याक ट्रेसिङ नगरे भयावह अवस्था आउनसक्छ ।’
यद्यपि सरकारले काम नगरेको भने होइन । एकपछि अर्को मिटिङ भइरहेको छ, एकपछि अर्को निर्णय गरिरहेको छ । विभिन्न समिति बनाएर काम गरिरहेको सरकार र स्वास्थ्य मन्त्रालयले ‘परीक्षण पुगेको छैन’ भनेर गुनासो गरिरहेको जनस्वास्थ्य विज्ञहरुलाई ‘हामी गम्भीर भएर लागिरहेका छौंं’ पनि भनिरहेको छ । तर, काममा भने त्यो गम्भीरता देखिएको छैन ।
त्यसको पछिल्लो उदाहरण हो– सुस्त कन्ट्याक ट्रेसिङ ।
४ चैतमा फ्रान्सबाट दुबई हुँदै १९ वर्षीया किशोरी नेपाल आइन् । फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामी साथीलाई त्यहाँ पुगेको दोस्रो दिनमै कोरोना संक्रमण भएको पुष्टि भयो । त्यही खबरले ७ गते टेकु अस्पताल पुगेकी उनले आफूमा कोरोना संक्रमण भएको थाहा पाउन थप तीन दिन कुर्नुपर्यो ।
दोस्रो, केस भेटिएको दुई दिनपछि धादिङका ३२ वर्षका पुरुषमा कोरोना संक्रमण देखियो । उनी चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए । त्यहाँबाट गएर होटलमा बसे, उनी परीक्षणअघि नै धादिङसम्म पुगे । यो अवधिमा उनले क–कसलाई भेटे भन्ने पत्तो छैन ।
त्यसैगरी, चैत ६ गते नै दुबईबाट इमिरेट्स एयरको विमानमार्फत् भारतको राजधानी नयाँदिल्ली र भोलिपल्ट काठमाडौं आएका धनगढीका एक पुरुषमा १३ चैतमा कोरोना संक्रमण देखियो । धनगढीको प्रादेशिक अस्पतालमा उपचाररत उनी काठमाडौं आएको भोलिपल्ट बुद्ध एयरबाट नेपालगञ्ज पुगेका थिए । त्यहाँबाट सार्वजनिक बस चढेर धनगढी पुगेका उनी ११ गते अस्पताल पुगे । उनलाई कोरोना संक्रमण भएको रिपोर्ट दुई दिनपछि आयो ।
दिल्लीबाट काठमाडौं आएको विस्तारा एयरको फ्लाइट यूके १५५ मा उनीसहित एक सय ३० यात्रु थिए । यस्तै, काठमाडौंबाट नेपालगञ्ज जान उनले चढेको बुद्ध एयरको विमानमा कुल ६५ जना यात्रु थिए । नेपालगञ्जबाट उनी धनगढी जान चढेको सार्वजनिक बस र त्यसपछि भएको भेटघाटको पनि कुनै हिसाब छैन ।
पाँचौं केस, बेल्जियमबाट आएकी बागलुङकी युवतीमा संक्रमण देखियो । उनी दोहा हुँदै आएको त्यही विमानमा थिइन्, जुन विमानमा भएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो । काठमाडौंबाट यती एयरलाइन्सको विमान चढेर उनी पोखरा पुगेकी थिइन् । पोखरामा पुगेर उनी आफन्तकहाँ बसिन् र माइक्रोबस चढेर बागलुङ पुगिन् । घरमा पुगेर पनि उनी क्वारेन्टाइनमा बसिनन्, गाउँबजार आउजाउ गरिरहिन् ।
माथि उल्लेख गरिएका चार वटा केस नेपालमा पछिल्लो ६ दिनमा देखिएको संक्रमित व्यक्तिहरुको गतिविधि हो ।
तर, उनीहरुले विदेशबाट नेपाल आउँदा कुन विमानमा आएका थिए र त्यो विमानमा कति यात्रु थिए भन्नेबाहेक अरु सम्पर्कबारे स्वास्थ्य मन्त्रालय बेखबर छ ।
जबकी यो अवधिमा संक्रमित व्यक्तिहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको सम्पूर्ण विवरण सरकारसँग भइसक्नुपर्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।
उनीहरुलाई मापदण्ड पुगेको क्वारेन्टाइन स्थलमा राखेर कोरोना परीक्षण गर्न नमुना लिइसक्नुपर्ने थियो । कसैको पोजेटिभ रिपोर्ट आए यसरी नै उसको सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा राख्ने, परीक्षण गर्ने काम गर्नुपर्ने हो ।
तर, अहिलेसम्म स्वास्थ्य मन्त्रालयका अधिकारीले विदेशबाट नेपाल आउने क्रममा विमानमा रहेकामध्ये अधिकतमसँग सम्पर्क भयो, उनीहरुलाई होम क्वारेन्टाइनमा बस भनेका छौं मात्र भनिरहेको छ ।
एक जनस्वास्थ्य विज्ञ भन्छन्, ‘यही लापरवाहीको कारण गम्भीर अवस्था सिर्जना हुनसक्छ ।’
हुन पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाको महामारी फैलिन नदिने उपाय भनेर ‘परीक्षण, परीक्षण र परीक्षण’को नारा दिएको थियो । अहिले त्यसलाई परिमार्जन गर्दै थपेको छ, टेस्ट एण्ड कन्ट्याक ट्रेसिङ ।’
नेपालमा भने न टेस्ट अर्थात् परीक्षणमा जोड दिइएको छ, न कन्ट्याक ट्रेसिङ चित्तबुझ्दो छ ।
किन ढिलो भइरहेको छ कन्ट्याक ट्रेसिङ ?
संक्रमित देशबाट आएकाहरुको कन्ट्याक ट्रेसिङको जिम्मा स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई दिइएको छ । महाशाखाले कुनै व्यक्तिमा कोरोनाको संक्रमण भएको रिपोर्ट आएपछि उनी कहाँबाट आएका थिए, को–कोसँग सम्पर्कमा आए भन्ने सम्पूर्ण विवरण मन्त्रालयलाई बुझाउनुपर्छ । यस्तै, क्वारेन्टाइन स्थलमा राख्नेदेखि नमुना परीक्षणसम्मको काम पनि महाशाखा अन्तर्गत पर्छ ।
महाशाखाका निर्देशक वासुदेव पाण्डेकाअनुसार कन्ट्याक ट्रेसिङका लागि विज्ञसहित ११ वटा टिम बनेको छ । टिममा चिकित्सक, ल्याब टेक्निसियन, जनस्वास्थ्य विज्ञहरुलाई राखिएको छ । पाण्डे भन्छन्, ‘हाम्रो टिमले सरकारले बनाएको प्रोटोकलअनुसार द्रुत गतिमा कन्ट्याक ट्रेसिङ गरिरहेको छ ।’
त्यसोभए पछिल्लो चार जना संक्रमितको प्रत्यक्ष सम्पर्कमा कति जना आएका रहेछन् ? उनीहरुमध्ये कति सम्पर्कमा आए ? उनीहरुको परीक्षण भयो कि भएन ?
महाशाखाका निर्देशक पाण्डे भन्छन्, ‘अहिलेसम्म थाहा भइसकेको अवस्था छैन ।’
साथै, उनी संक्रमित व्यक्तिहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई कोरोनो भाइरस संक्रमणको लक्षण नदेखिएसम्म टेस्ट गर्नु नपर्ने बताउँछन् । त्यस्ता व्यक्तिहरु क्वारेन्टाइनमा बसे पुग्ने भन्दै उनले थपे, ‘अहिले हाम्रो खोजी उनीहरुको नमुना परीक्षण गर्नुभन्दा पनि क्वारेन्टाइन बसे कि बसेनन् भन्ने हो ।’
तर, कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुमा लक्षण देखिए मात्र परीक्षण गर्ने डब्लुएचओले सुरुमा बनाएको प्रोटोकल हो । यसमा धेरै संशोधन भइरह्यो । र, जति धेरै सम्भावित संक्रमितको परीक्षण गर्यो, त्यति कोरोना नियन्त्रण गर्न सकिने दक्षिण कोरिया, जापानलगायतको मुलुकबाट प्रष्ट भइसक्यो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक अनुप बास्तोला दक्षिण कोरियाको अनुभवका आधारमा नेपाल सरकारले कोभिड–१९ परीक्षण अगाडि बढाउनुपर्ने बताउँछन् । दक्षिण कोरियामा संक्रमण फैलिएको सुरुवाती चरणमा दैनिक करिब १० हजार जनाको नमुना परीक्षण गर्ने गरिएको थियो ।
पाँच करोड १२ लाख ६९ हजार एक सय ८५ जनसंख्या रहेको दक्षिण कोरियाले ९ मार्चसम्ममा २ लाख १० हजार एक सय ४४ जनाको नमुना परीक्षण गरेको थियो । यही कारण लकडाउन नगर्दा पनि दक्षिण कोरियामा कोरोनाले ठूलो क्षति भएको छैन ।
२०१५ मा फैलिएको मार्स रोग परीक्षण गर्ने क्षमता नहुँदा संक्रमित बिरामी फेला पार्न गाह्रो भएको अनुभवका आधारमा कोरियाले अहिले ठूलो सुधार गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । यही कारण सुरुका दिनमा बढेका कोभिड–१९ को नयाँ संक्रमण दर पछिल्लो समय घटिरहेको छ ।
सुरुवातका दिनहरुमा एकै दिनमा एक हजार जनासम्म संक्रमित भेटिएको कोरियामा मार्चको अन्तिमतिर एक सयको हाराहारीमा संक्रमित भेटिएका छन् । जिवाणु वैज्ञानिक सुदीप खड्का भन्छन्, ‘दक्षिण कोरियाको उदाहरण हेर्दा कन्ट्याक ट्रेसिङ र परीक्षण नै महामारी रोक्ने अचुक उपाय रहेको प्रष्ट हुन्छ ।’
कन्ट्याक ट्रेसिङ किन गर्नुपर्छ ?
संक्रमित व्यक्तिको संक्रमण स्रोत पहिचान गरेर उसको सम्पर्क तथा व्यवहारको पूर्ण अध्ययन गर्ने र सम्भावित संक्रमितलाई चाँडोभन्दा चाँडो पहिचान गरेर उपचार गर्दै अन्य क्षेत्रमा संक्रमण फैलिन नदिने प्रक्रिया नै कन्ट्याक ट्रेसिङ हो ।
जिवाणु वैज्ञानिक खड्काकाअनुसार कुनै पनि रोगले महामारीको रुप लिन्छ भने सो रोगको उत्पत्ति र त्यसको सम्भाव्य असरप्रति पहिले नै जानकार हुनुपर्छ ।
त्यसको लागि रोग कहाँबाट, कसको माध्यम हुँदै र कसरी फैलियो भन्ने जान्न जरुरी हुन्छ । भन्छन्, ‘महामारी फैलिन सुरु हुनासाथ कन्ट्याक ट्रेसिङ गर्न सकियो भने यो महामारी रोक्ने अचुक औषधि हुन्छ ।’
source https://www.onlinekhabar.com/2020/03/849174
0 comments:
Post a Comment