काठमाडौंबाट मालबहाक कन्टेनरभित्र कोचिएर ५२ जना सर्वसाधरण वीरगन्ज पुगे । बर्तमान संवेदनशिल परिस्थितीको अवज्ञा गरेको निहुँमा उनीहरुलाई प्रहरीले पक्राउ ग¥यो । अहिलेको अवस्थामा त्यसरी यात्रा गर्नु एक गल्ती थियो । तर, यो गल्ती उनीहरुले नजानेर वा जानीबुझी गरेका थिए होलान् ?
संभवत उनीहरुले शहर यसकारण छाडेका थिए कि, गाउँमा पुगेपछि ऐचोपैचो गरेर भएपनि प्राण धान्न सकिनेछ ।
भारतमा मजदुरी गरिरहेकाहरु सुदूरपश्चिमेली सर्वसाधरण हतार–हतार घर फर्कन चाहे । तर, उनीहरुलाई भारतिय प्रहरीद्वारा बनबासा जंगलबाट धपाइए । घण्टौंसम्म उनीहरु त्यही अलपत्र परे । अटेर गरेर वा अबुझ भएर उनीहरुले सरकारको आह्वान उल्लघंन गरेका थिए होलान् ?
संभवत रोजीरोटीको मेलोमेसो गुम्ने स्थितीमा पुगेपछि उनीहरु गाउँघरमै बनिबुतो गरेर पेट पाल्ने आशाले फर्किएका थिए ।
कोरोनाको जोखिम एकातिर छ । साथसाथै यसले जन–जीविकामा ठूलो उथलपुथल ल्याइदिएको छ । सरकारले आह्वान गरेको छ, ‘घरभित्रै बस्नुहोस् । घरभित्र सुरक्षा छ ।’ तर, जगेडा खानेकुरा नहुनेहरु घरभित्र पनि सुरक्षित छैनन् । यस्ता ठूला जमात छन्, जो बिहान कमाएर साँझको छाक टार्छन् । दैनिक ज्यालादारी नगरे भोकै रात कटाउनुपर्ने बाध्यता छ ।
हामीकहाँ श्रमजीविहरु हरेक विहान अभाव र दुःख लिएर ब्युँझन्छन् । दिनभर पसिना बेच्छन् । साँझ त्यसैबाट उनीहरुको छाक टर्छ ।
एक दिन काम नपाउँदा वा श्रम गर्ने ठाउँ नपाउँदा उनीहरुको चुल्हो बल्दैन । आफु मात्र होइन, लालाबाला र रोगी बुवाआमा समेत भोकै सुत्नुपर्ने अवस्था हुन्छ । उनीहरु कोरोनाले जति भयभित छन्, त्यो भन्दा बढी त साँझ–बिहान छाक टार्ने समस्याले पिरोलिएका छन् । घरबाहिर निस्कौ, रोगले मरिने । घरभित्रै बसौं, भोकले मरिन जटिलता छ ।
त्यही जटिलताले लखेट्दै उनीहरुलाई देश फर्काएको हो । गाउँ फर्काएको हो । पटमूर्ख भएर होइन, असमझदार भएर होइन ।
कोरोना नियन्त्रणको उपाय खोजिरहँदा, सुरक्षात्मक अवस्थाबारे सचेत गराईरहदाँ, संभावित जोखिमको प्रतिरक्षा गर्ने तयारी गरिरहँदा छुटेको एउटा पाटो हो, गरिखानेको दुरावस्था ।
शहरमा दैनिक ज्यालादारी गरेर जीविका धान्नेहरु यतिबेला कसरी आफ्नो भोक मेटिरहेका होलान् ? कसरी बालबच्चाको भोक शान्त गरिरहेका होलान् ? कसरी दाल–चामल, ग्याँस आदिको जोहो गरिरहेका होलान् ? औषधि–उपचार कसरी गरिरहेका होलान् ?
न उनीहरु गाउँ फर्कन पाएका छन्, न शहरमै आयआर्जन । कति विरक्तलाग्दो होला उनीहरुको दिनचर्या ?
भारतका कतिपय स्थानमा यस्तै समस्यामा परेकाहरुलाई निशुल्क भोजनको व्यवस्था गर्न थालिएछ । तर, हामीकहाँ यस्ता कुबेरहरु देखा परेका छैनन्, जो मौकामा हिरा फोर्ने हिम्मत गर्छन् ।
महाभारतको कथामा जब पाँच पाण्डव आर्थिक समस्यामा पर्छन्, कुबेरकहाँ ऋण माग्ने सल्लाह हुन्छ । कुबेर त्यसताकाका सबैभन्दा धन–ऐश्वर्यले पुगिसरी व्यक्ति । सल्लाह अनुसार जसै भीम कुबेरकहाँ पुग्छ, उनले उदेगलाग्दो दृश्य देख्छ ।
कुबेर त आँगनमा पोखिएका तोरीका गेड एक–एक गर्दै टिपिरहेका छन् । त्यतीका तोरीका गेडा कहिले टिपिसक्ने ? भीमको मनमा यस्तो प्रश्न उठ्नु स्वभाविक हो कि, ‘कुबेर धनाड्य मात्र होइन, महा–कञ्जुस पनि हुन् ।’ उनले मनमनै निर्णय गर्छन्, यस्ता कञ्जसले पक्कैपनि ऋण दिनेछैन ।
तर, भीमले मागे बमोजिम ऋण दिन कतिपनि कञ्जुस्याँई गर्दैनन् कुबेर । धनमालले भरिएको रथ लिएर हिँड्ने क्रममा रथको पाङ्ग्रा जमिनमा भाँसिन पुग्छ । रथ मरिगए अगाडि बढ्दैन । त्यही बखत कुबेरले रथको पाङ्ग्रामा ति सबै तोरीका गेडा पोखाउँछन्, जो उनले एक–एक गेडा बटुलेका थिए । तब पाङ्ग्रा गुड्छ । भीमको मनमा भने अर्कै प्रश्न गुड्न थाल्छ, त्यती दुःखले टिपेको तोरीका दाना किन यति बेपर्वाहसाथ पोखाए ?
कुबेरले भीमको जिज्ञासा शान्त बनाइदिन्छन्, ‘मौकामा हिरा फोर्नु, बेमौकामा कौडी पनि नछाड्नु ।’
यतिबेला समाजलाई खाँचो छ, मनकारी कुबेरहरुको । आफ्नो श्रम, मेहनत, सीपले आर्जन गरेको धनले हजारौं–लाखौंको भोक एवं अभाव मेट्ने । तर, पृथ्वी नै संकटमा परेको यो घडीमा हाम्रा कुबेरहरुको मन किन पग्लिदैन ? गरिब, असाह्य, अशक्त, रोगीहरुको खातिर हार्दिकतासाथ सहयोग गर्नेहरु किन निस्किएनन् ?
गाउँ–गाउँबाट मान्छे ओसारेर आमसभा गराउने, आन्दोलनमा भिड उतार्ने ‘राजनीतिक दल र उनका कार्यकर्ता’, ‘हामी राष्ट्रका गहाना हौं’ भन्दै फुर्ती लगाउने कलाकर्मीहरु यतिबेला किन निमुखा एवं असाह्यको आवाज उठाउन सक्दैनन् ? धन र मन हुनेहरुलाई ब्युँझ्याउनका लागि उनीहरुले रचनात्मक भूमिका खेल्न सक्दैनन् ?
source https://www.onlinekhabar.com/2020/03/848029
0 comments:
Post a Comment