Friday, 27 March 2020

युरोपको एकमात्र देश जसलाई छैन कोरोनाको डर

१५ चैत, काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमणको केन्द्र अहिले युरोप बनेको छ । युरोपका धेरै देशहरुले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि भरमग्दुर प्रयास गरिरहेका छन् । ती देशका सरकारले मानिसहरुलाई घर बाहिर ननिस्किन सूचना जारी गर्दै सम्भव भएसम्मका सबै उपायहरु अपनाइरहेका छन् ।

तर युरोपमा एक देश यस्तो पनि छ जहाँ कोरोना भाइरसलाई रोकथामका लागि दैनिक जनजीवनमा कुनै रोकतोक छैन । त्यो देश हो बेलारुस । बेलारुसले आफ्ना निकट छिमेकी देशहरु युक्रेन र रुसमा जस्तै कोरोना संक्रमण रोक्नका लागि कडा कदम चालेको देखिँदैन ।

युक्रेनले भने कोरोना संक्रमण रोक्नका लागि आपतकाल घोषणा गर्ने तयारीमा छ । रुसले सबै स्कुलहरु बन्द गराएको छ । सार्वजनिक कार्यक्रममा रोक लगाइएको छ । देशमा आउने–जाने सबै उडानहरु रद्द गरिएको छ । तर, बेलारुसका जनताहरुको दैनिकी अन्य दिनको जस्तै सामान्य अवस्थामा चलिरहेको छ ।

सीमा नाका पनि खुल्ला छन् । मानिसहरु काममा जाने–आउने गरिरहेका छन् । बेलारुसका जनतालाई अत्यावश्क सामान किन्ने र भण्डारण गर्ने हतारो पनि छैन ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले कोरोना भाइरसलाई रोकथाम गर्न सावधानीका कदम चाल्न अहिले जरुरी नभएको बताएका छन् ।

बेलारुसमा हालसम्म ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ

मंगलबार मिस्कमा चीनका राजदूतसँग कुराकानी गरेपछि उनले भने, ‘घटनाहरु त भइरहन्छन् । त्यसबाट जनतामा आतंकित नहोउन् भन्ने कुरा महत्वपूर्ण हो ।’

राष्ट्रपति भन्छन्– कोरोनालाई ट्याक्टरले रोक्ने छ

बेलारुसमा न त सिनेमाघर र नाटकघर बन्द गरिएको छ न सार्वजनिक कार्यक्रममा बन्देज गरिएको छ । बेलारुस विश्वमा का थ यस्तो देश हो जसले यहाँ हुने फुटबल च्याम्पियनसिप स्थगित गरेको छैन । फुटबल प्रतियोगिताहरु पहिलेका दिनहरुमा जस्तै भइरहेकै छन् । रुसका फुटबल फ्यानहरुका लागि टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था पनि मिलाइएको छ ।

राष्ट्रपति लुकाशेन्कोले हालै ‘कोरोना भाइरसलाई एक ट्याक्टरले रोक्ने छ’ भनेका थिए । उनको यो अभिव्यक्तिले खुबै चर्चा पायो । धेरैले यो भनाइलाई मजाकमा उडाए ।

यद्यपि उनको यो भनाइ खेतबारीमा काम गर्नेहरुका लागि थियो । राष्ट्रपति लुकाशेन्कोले आफूले मदिरा सेवन नगर्ने र कोरोनालाई रोक्नका लागि एक घुट्की भोड्का पिउन सक्ने पनि बताएका थिए ।

आफैं सावधानी अपनाइरहेका छन् जनताले

यद्यपि बेलारुसका जनता विश्वभर फैलिएको कोरोनाको महामारीको खबरबाट सचेत छन् र चिन्तामा छन् ।

मिस्कमा धेरै युवा र स्कुलका विद्यार्थीहरु बिरामी भएको बहानामा कक्षा कोठामा गएका छैनन् । उनीहरुको चिन्ता हटाउनका लागि विश्वद्यालय र कलेजहरुले आफ्ना कक्षा सञ्चालन पहिलेको भन्दा केही घण्टा अगाडि नै गर्दै आएका छन् ताकि विद्यार्थीहरु सार्वजनिक गाडीहरुमा हुने भिडभाडबाट जोगिउन् ।

शहरहरुमा मानिसहरुको भिड घट्दै गएको छ । उनीहरु भन्छन् कोरोना भाइरसबाट पाका व्यक्तिहरु बढी जोखिममा हुन्छन् । तर कोरोनालाई लिएर जागरण अभियान चलाइएको भने छैन । राष्ट्रपति लुकाशेन्कोका अनुसार कोरोनाबारे जागरण अभियान चलाइएन भनेर चिन्ता लिनु पर्दैन किनभने विदेशबाट बेलारुस आउने सबै व्यक्तिहरुको कोरोना भाइरसको जाँच गराइँदैछ ।

उनी दाबीका साथ भन्छन्, ‘एक दिनमा दुई वा तीन जना व्यक्तिको नमूना परीक्षण रिपोर्ट पोजेटिभ भएको छ । त्यसैले उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको छ र डेढ वा दुई हप्ताभित्रै छोडिएको छ ।

आतंक फैलाउनेलाई पक्रन आदेश

लुकाशेन्कोका अनुसार चिन्ता वा मानसिक तनाव भाइरसभन्दा पनि खतरनाक हुन्छ । त्यसैले उनले गुप्तचरी निकाय बेलारुसी केजीबीलाई आम मानिसमा अफवाह र आतंक फैलाउनेहरुलाई पक्राउ गर्न आदेश दिएका छन् ।

बेलारुसमा हालसम्म ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । यद्यपि बेलारुसका अधिकारीहरुले मृत्युको कारण कोरोना नै हो भनेर पुष्टि गरेका छैनन् । यद्यपि उनीहरुको मृत्यु कोराना भाइरस संक्रमणबाट भएको बताइन्छ ।

बेलारुस धेरै कुराले पूरोपका अन्य देशहरुभन्दा फरक छ । यो यूरोपको यस्तो अन्तिम देश हो जहाँ अहिले पनि मृत्युदण्डको सजायँ छ ।

विपक्षी नेता भन्छन्– अरु देशहरु पागल

बेलारुसका विपक्षी नेता एन्ड्रे किम सरकारको कडा आलोचक हुन् । तर उनी यस मामलामा राष्ट्रपति लुकाशेन्कोको कुरामा सहमत छन् ।

किमले आफ्नो फेसबुक पेजमा लुकाशेन्कोले सही कुरा गरिरहेको बताउँदै लेखेका छन्, ‘यदि सबै जनतालाई बाहिर निस्किन प्रतिबन्ध लगाइयो भने बेलारुसको अर्थव्यवस्था धरमराउँछ । यहाँ कुरा नै अलग छ र बेलारुस विश्वको यस्तो एकमात्र देश हो जहाँ सरकारले जनताको भलाइ सोचेर काम गर्दछ न कि जनकल्याणकारी योजनामा निर्भर रहन्छ ।’

उनी भन्छन्, ‘मलाई थाहा छ, यस्तो भन्दा मैले कडा आलोचना सामना गर्नुपर्छ । तर जताततै पागलपन हुन्छ भने तपाईं चुप लाग्न सक्नु हुन्न ।’

किम थप्छन्, ‘पागलपन भनेर मैले कोरोना भाइरसलाई लिएर विश्वभर चालिएका कदमहरुलाई भनेको हुँ । केही नगरेरै बेलारुसलाई कोरोनाको आतंकबाट जोगाइनेछ ।’



source https://www.onlinekhabar.com/2020/03/848356

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More