Wednesday 21 December 2022

बैतडीमा शिक्षक हत्या प्रकरण : छात्रावासमा बस्ने युवती र उनका श्रीमान् पक्राउ

७ पुस, धनगढी । बैतडीको पाटनमा गत शनिबार मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सुर्नया गाउँपालिकाको ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कृष्ण माविमा कम्प्युटर डिप्लो अध्ययनरत पुर्चौडी नगरपालिकाकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरा छन् ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोला रावलले कृष्ण माविको छात्रावासमा बसेर अध्ययनरत युवती र उनका श्रीमानलाई पक्राउ गरिएको पुष्टि गरे ।

उनका अनुसार शिक्षक विष्ट पनि सोही छात्रावासको माथिल्लो तलामा बस्दै आएका थिए । ‘छात्रावासको माथिल्लो तलामा शिक्षक विष्ट र तल्लो तलामा भाइहरुसँगै बसेर पढ्दै आएकी युवती बस्ने गरेको देखिएको छ’ एसएसपी रावलले अनलाइनखबरसँग भने, ‘घटना भएको दिन विष्टले ती युवतीलाई बोलाएका रहेछन् । सोही क्रममा विवाद हुँदा हत्या भएको खुलेको छ ।’

शिक्षक धनबहादुरको शव फेला परेको ठाउँ ।

शिक्षक विष्ट पुस २ गते छात्रावासको पछाडि मृत अवस्थामा भेटिएका थिए । विष्टको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै सोही दिनदेखि पाटनमा आन्दोलन जारी छ ।

बुधबार पाटन नगरपालिकामा तालाबन्दी गर्दै नगर क्षेत्रका विद्यालयसमेत बन्द गरिएका छन् । न्यायका लागि गठित संघर्ष समितिले बिहीबार जिल्लाभरका विद्यालय बन्द गरेर आन्दोलनमा सहयोग गर्न अपील पनि गरेको छ । मृतकका परिवारले विष्टको शव पनि बुझेका छैनन् ।



source https://www.onlinekhabar.com/2022/12/1236014

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More