Saturday 24 December 2022

सत्ता गठबन्धनको बैठक अघि कांग्रेस शीर्ष नेताहरुको छुट्टै छलफल

१० पुस, काठमाडौं । नयाँ सरकार गठनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्नु अघि नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

आज बिहान १० बजे बोलाइएको सत्ता गठबन्धनको बैठकमा पार्टीको एकीकृत धारणासहित प्रस्तुत हुन कांग्रेस शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारको नेतृत्व र शक्ति बाँडफाँटका विषयमा कांग्रेसको अडानबारे छलफल भएको एक नेताले जानकारी दिए ।

सरकारको पहिलो चरणको नेतृत्व कांग्रेसले लिने कि माओवादीले भन्ने विषयमा सत्ता गठबन्धनमा एकमत हुन सकेको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ५ बजेभित्र बहुमतसहित सरकारका नेतृत्वमा दाबी प्रस्तुत गर्न दलहरुलाई समयसीमा दिएकी छन् । सोही समयभित्रै सहमति जुटाउने प्रयासमा नेताहरु सक्रिय छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनकै सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहमत छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा पनि छलफल भइरहेको छ । यद्यपि देउवा र प्रचण्डमध्ये पहिले को प्रधानमन्त्री हुने भन्ने विषयमा एकमत हुन सकेको छैन ।



source https://www.onlinekhabar.com/2022/12/1237303

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More