Wednesday 21 December 2022

चीनमा कोरोनाको नयाँ लहर फैलिंदो, डब्ल्यूएचओबाट चिन्ता व्यक्त

७ पुस, काठमाडौं । चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै गएपछि विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ ।

डब्ल्यूएचओका इमरजेन्सी चिफ डाक्टर माइकल रायनले चिनियाँ अधिकारीहरुले बिरामीहरुको संख्या कम भने पनि अस्पतालका आईसीयू बेड भरिंदै जानु चिन्ताको विषय भएको बताएका छन् ।

जेनेभाको एक कार्यक्रममा उनले भनेका छन्, ‘निकै संक्रामक कोरोना भाइरसलाई सार्वजनिक स्वास्थ्य र सामाजिक नियमहरुबाट मात्रै रोक्न निकै मुस्किल छ । खोप अभियान यसबाट जोगिने उपाय हुनसक्छ ।’

चिनियाँ अधिकारीहरुले कोरोनाको पछिल्लो लहरका कारण मंगलबार ५ जना र सोमबार दुई जनाको मृत्यु भएको बताएका छन् । तर अहिलेको संक्रमणको प्रभावलाई हेर्दा यति थोरै संख्यामा शंका गर्न सकिने बीबीसीले जनाएको छ । बीबीसीका अनुसार चीनमा कोरोना महामारी बढेपछि राजधानी बेइजिङसहितका शहरहरुका अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या बढिरहेको छ ।

डब्ल्यूएचओका रायनले भनेका छन्, ‘चीनमा आईसीयूमा निकै थोरै संख्या भनिएको छ, तर आईसीयू भरिंदै गएका छन् ।’

सन् २०२० देखि चीनमा जिरो कोभिड नीति अनुसार तमाम स्वास्थ्य प्रतिबन्ध लगाइएको छ । यद्यपि अर्थव्यवस्थामा यसबाट नकारात्मक असर परेपछि केही हप्तायता प्रतिबन्ध केही खुकुलो पनि पारिएको छ ।



source https://www.onlinekhabar.com/2022/12/1235975

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More