Friday 23 December 2022

बागमती प्रदेशमा ज्येष्ठ सांसदको शपथ पुस १३ गते

८ पुस, हेटौंडा । बागमती प्रदेशमा ज्येष्ठ सांसदको शपथ पुस १३ गते र बाँकी सांसदहरुको शपथ पुस १४ गते हुने भएको छ ।

बागमती प्रदेशका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको विषयमा आज बसेको सर्वदलीय बैठकले पुस १३ गते दिउँसो २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको शपथ ग्रहण कार्यक्रम राख्ने सहमति जुटेको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।

ढुंगाना नेकपा माओवादी केन्द्रका तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा शपथ गराउने कार्यक्रम तय गरिएको छ ।

प्रदेश सभामा निर्वाचित बाँकि प्रदेश सभा सदस्यहरुको शपथ ग्रहणको कार्यक्रम पुस १४ गते दिउँसो २ बजे प्रदेश सभा सचिवालय हेटौंडामा राखिएको छ । बाँकि सांसदहरुलाई ज्येष्ठ सदस्य ढुंगानाले शपथ गराउनेछन् ।

‘सर्वदलीय बैठकमा हामीले शपथका विषयमा सहमती जुटाएका छौं ।’ मुख्यमन्त्री पाण्डेले भने, ‘हामीले निर्णय गर्ने हैन । हामीले यो सहमती जुटायौं भनेर प्रदेश प्रमुखलाई सरकारको तर्फबाट जानकारी गराउनेछौं ।’

संविधानको धारा १८३ अनुसार प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको २० दिनभित्र बैठक आह्वान गरिसक्नुपर्ने र सो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने व्यवस्था रहको छ । सोहि अनुसार बागमती प्रदेश सभामा सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेलसम्मका लागि ढुंगानाले बैठकको अध्यक्षता गर्नेछन् ।

बागमती प्रदेश सभाको पहिलो बैठक यहि पुस १७ वा १८ गते राख्ने विषयमा प्रदेश प्रमुखसँग सल्लाह हुने मुख्यमन्त्री पाण्डेले बताए । निर्वाचन आयोगले गएको पुस २ गते प्रदेश प्रमुख शर्मा समक्ष निर्वाचन परिणाम पेश गरेको थियो । संवैधानिक व्यवस्था अनुसार २२ गतेभित्र पहिलो बैठक बसिसक्नुपर्ने हुन्छ ।

संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चुनिनुपर्ने संवैधानिक व्यवस्था रहेको हुँदा सरकारले त्यही अनुसारको तयारी गर्ने उनले बताए । पहिलो बैठक बसेपछि सरकार गठनको प्रकृयाले पूर्णता पाउने उनले बताए ।

मुख्यमन्त्रीबाट राजीनामा दिनुहुन्छ की हुन्न भन्ने प्रश्नमा उनले भने, ‘म संविधानमा भएको व्यवस्थाको अक्षरस पालना गर्दै अघि बढेको छु ।संविधानले भने अनुसार गर्नेछु ।’



source https://www.onlinekhabar.com/2022/12/1236770

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More