Sunday, 27 December 2020

बुढानीलकण्ठ स्कुलले पायो डिजिटल एजुकेसन आइसिटी अवार्ड

१३ पुस, काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा रहेको ‘डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२०’ बुढानीलकण्ठ स्कुलले प्राप्त गरेको छ ।

नेपालकै सबैभन्दा ठूलो प्रविधि अवार्डका रुपमा रहेको यस विधामा जम्मा २७ ओटा शैक्षिक संस्थाको नोमिनेसन भएको थियो । शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिने उक्त अवार्डमा नेपालभित्र सञ्चालनमा रहेका सार्वजनिक शैक्षिक गुठीमा आबद्ध विद्यालयहरु, सामुदायिक विद्यालयहरु, क्याम्पस एवं विश्वविद्यालयहरु प्रतिस्पर्धीका रुपमा थिए ।

विभिन्न क्षेत्रका १४ जना विज्ञहरुको जुरी समूहले विभिन्न आधारमा गरेको मूल्याङ्कनका आधारमा बुढानीलकण्ठ स्कूललाई डिजिटल एजुकेसन आइसिटी अवार्ड प्रदान गर्ने निर्णय गरेका थिए । शनिबार सोल्टी होटल क्राउन प्लाजामा आयोजित पाँचौँ संस्करणको उक्त अवार्ड वितरण गरियो ।

पुरस्कृत भएपछि बुढानीलकण्ठ स्कुलका पि्रन्सिपल होमनाथ आचार्यले यो अवार्डले स्कुल परिवारलाई थप हौसला मिलेको र जिम्मेवारीवोध भएको बताए ।

कोभिड १९ को महामारीका कारण सिर्जित बन्दाबन्दीको समयमा २०७७ वैशाख महिनाको आरम्भदेखि नै बुढानीलकण्ठ स्कूलले अनलाइन कक्षा सञ्चालन गरेको थियो ।

स्कुलले विश्वप्रसिद्ध माइक्रोसफ्ट टिम्सको प्रयोग गरी करिब ९८ प्रतिशत विद्यार्थीलाई समेटी सबै विषयका कक्षा सञ्चालन गर्नुका साथै विभिन्न परीक्षासमेत सञ्चालन गरेको छ ।

नेपालका दूरदराजमा रहेका विद्यार्थीहरुलाई अनलाइन कक्षामा समस्या नआओस् भन्ने उद्देश्यले अभिभावकको साथ, सहयोग तथा नेपाल टेलिकमको सहकार्यमा डाटा प्याकेज प्रदान गरेको छ ।

प्रविधिको उच्चतम प्रयोग गरी अनलाइन कक्षालाई थप प्रभावकारी बनाउन स्कुलमा कार्यरत प्रत्येक शिक्षकलाई ल्यापटप र पेनट्याब प्रदान गर्नुका साथै स्कुल म्यानेजमेन्ट सफ्टवेयरको पूर्णरुपमा कार्यान्वयन गरी विद्यार्थीलाई नतिजा तथा मासिक शुल्कका बारेका जानकारी दिने मोबाइल एप्लिकेसनसमेत सञ्चालन गरेको छ ।



source https://www.onlinekhabar.com/2020/12/919211

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More