सेनामा यौन उत्पीडनको विषयमा अमेरिकी रक्षा मन्त्रालयले गरेको एक अध्ययनबाट महिलाकै अनुपातमा पुरुषहरु समेत पीडित रहेको विवरण सार्वजनिक पाइएको छ । पेन्टागनलाई उद्दृत गर्दे न्युयोर्क टाईम्सले तयार पारेको रिपोर्ट अनुसार अमेरिकी सेनामा महिला जस्तै पुरुषहरु समेत यौन उत्पीडनको शिकार बन्ने गरेको भेटिएको हो । यस्तो अवस्था झनै द्वन्द्वग्रस्त मुलुकमा धेरै देखिएको छ ।
पेन्टागनले महिलाहरुको यौन हिंसाको विषयमा अध्ययन गर्नको लागि एउटा टोली गठन गरेको थियो । सो टोलीले महिला र पुरुषहरुमा यौन हिंसाको घटना बराबर रहेको देखाएको छ । सो रिपोर्ट अनुसार प्रत्येक वर्ष अमेरिकी सेनामा करिब १० हजार पुरुषहरु नै यौन शोषणमा पर्ने गरेका छन् । सोही संख्यामा नै महिलाहरु समेत यौन हिंसामा पर्ने गरेका छन् । त्यस्ता पीडित युवाहरु निम्न-श्रेणीका धेरै छन् । उनीहरु हिंसाबारे आवाज बाहिर ल्याउन नसकिरहेको समेत रिपोर्टमा उल्लेख छ । जसका कारण यो कुरा सेना भित्र नै गुपचुप रहन्छ ।
जुनसुकै सेनाको क्याम्प भित्र पनि सामान्य मानिसहरुको मात्रै होइन, सरकारी अधिकारीहरुको समेत सहज प्रवेश हुँदैन । सुरक्षाको सवाल उठाएर भित्र भएका मानिसहरुको शोषणको बारेमा बाहिर ल्याउनको लागि या त कुनै साक्षीहरुको आवश्यकता पर्दछ । अन्यथा पीडितले नै बिद्रोह गर्न सक्नुपर्छ । जसमध्ये दोस्रो विकल्प कठिन छ । संगठन कमजोर हुने भयले त्यस्ता व्यक्तिका आवाजहरु भित्रै दबाउने गरिन्छ । आफूभन्दा माथिल्लो पदमा रहेका मानिसहरुले गरेको यौन हिंसाको बारेमा तल्लो दर्जाका सेनाहरु बोल्न पनि सक्दैनन् । जसका कारण यी घटनाहरु त्यसै गुपचुप हुने गर्दछ ।
युद्धको बेलामा सेनाहरु कत्तिका उन्मत्त हुन्छन् ? त्यसैमाथि अन्तर्राष्ट्रिय युद्धको समयमा पराजीत देशका मानिसमाथि विजयी देशका सेनाहरुले कस्तो व्यवहार गर्लान् ? त्यसको वास्तविक अनुमान यातना भोगेका मानिसबाहेक अरुले गर्न सक्दैनन् । दोस्रो विश्वयुद्धको समयमा युरोपमा रोमा र सिन्ती जातिका मानिसहरुमाथि सेनाले गरेको दुव्र्यवहारको फोटो कथा लन्डनको वियनर होलोकास्ट लाइब्रेरीमा यतिबेला प्रदर्शनमा छ । सो फोटो कथामा त्यो घटना भोगेर आएका साक्षीहरुको अनुभव समेटिएको छ ।
युद्धका सेना यौन पिपासु
मार्गरेट क्रस एक त्यस्तै पात्र हुन्, जसले विश्वयुद्धको समयमा सेनाको क्याम्प भित्र त्यस्तै आततायी घटनाको सामना गर्नुपरेको थियो । सन् १९४३ मा उनी १७ वर्ष पनि पुगेकी थिइनन् । त्योे समयमा उनी पूर्ण रुपमा यौनको लागि सक्षम थिइनन् । त्यसमाथि यौन पिपासु सेनाका जवानहरुको शिकार बन्न झनै उनको क्षमताले नै धान्ने थिएन ।
त्यतिबेला उनी चेकोस्लोभाकियाको घरबाट औश्विट्स पुर्याइएकी थिइन् । त्यति बेला उनी आफूलाई किन त्यहाँ पुर्याइएयो ? भन्ने बारेमा अपरिचित थिइन् । जब उनी त्यहाँ एक किसिमको यौन औजारको रुपमा काम गर्न बाध्य भईन् । त्यहीँबाट फर्किएपछि उनले भोगेको पीडा पनि त्यो फोटो कथामा समेटिएको छ ।
त्यो समयलाई उनले भोगेको नारकीय जीवनको बारेमा लन्डनको वियनर होलोकास्ट लाइब्रेरीमा फोटो कथा प्रदर्शन गरिएको छ । उनको त्यही कथा आफ्नो घरमा ठूलो प्रलयबाट बचेपनि यौन पिपासु युद्धका सैनिकहरुबाट बच्न नसकेको कथा । उनलाई दैनिक ती सेनाहरुको यौन प्यास मेटाउने काममा लगाईएको थियो ।
को हुन् रोमा र सिन्ती जाति ?
रोमा र सिन्ती जाति युरोपमा रहेका मूल अल्पसंख्यक जनजाति हुन् । तत्कालीन समयमा कूल युरोपेलीहरुको २५ प्रतिशतभन्दा धेरै यस जातिका अल्पसंख्यकहरु थिए । अहिले उनीहरुको जनसंख्या मध्य र पूर्वी एशियामा मात्रै २ देखि ५ लाख छ । दोस्रो विश्व युद्धको समयमा नाजी र उनका सहयोगहरुले यी अल्पसंख्यकहरुमाथि धेरै ज्यादती गरेका थिए ।
प्रदर्शनीमा रोमा र सिन्ती नरसंहारको स्मरण गर्दै दोस्रो विश्वयुद्धको समयमा बेवास्ता गरिएका र बिर्साइएका पीडितहरुको पीडालाई उजागर गर्ने प्रयास गरिएको छ । यसमा युरोपमा रोमा समुदायमाथिको अत्याचार, नाजी शासनको समयमा उनीहरुमाथि लिएको नरसंहारको नीति, यसबारेमा सो समुदायको मान्यता र पुनस्र्थापनाको लागि चलिरहेको संघर्षको बारेमा अध्ययन गरेर फोटो कथा सार्वजनिक गरिएको छ ।
‘नाजीहरूले रोमा र यहूदीहरूलाई पनि लक्षित गरेको भन्ने कुराहरु धेरैलाई थाहा छ । ‘तर, यो लुकाइएको विषय हामीले खोजी गरेका हौं’ सो फोटो कथाकी परिकल्पनाकार क्युरेटर बारबरा वार्नोकलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ ‘यो जातीयसंहार सम्बन्धी घटना सम्पूर्ण युरोपेलीहरुले रोमा विरुद्धको नीतिबाट नै प्रेरित भएर गरिएको हो भन्ने कुरा सो समुदायको बुझाई छ ।’
लामो समयसम्म यो नरसंहारलाई जातीय विभेदबाट गराईएको कुरा सरकारी तवरबाट स्वीकारिएको थिएन । फोटो प्रदर्शनी भनिएपनि यसमा यातना भोगेका रोमा र सिन्तीमध्ये बचेका साक्षीहरू एवं अन्य साक्षीहरूको बयानको आधारमा तयार पारिएको तस्वीरहरुको प्रयोग गरिएको छ । साथमा युद्धको समयमा र पछि पनि बेपत्ता पारिएका आफन्तहरुको खोजी गर्नको लागि गरिएका प्रयासहरुको बारेमा समेत विभिन्न अभिलेख सामग्रीहरुको समावेश गरिएको छ ।
यसको क्रममा भेटिएका प्रमाणहरु आफैंमा डरलाग्दा छन् । युद्धपछि दिइएको बयान अनुसार होलोकास्टमा बचेका एक यहुदीले अगस्त १९४४ मा औशविट्समा रहेको जिप्सी शिविरको बारेमा उल्लेख गरेका छन् । त्यहाँ इंकित गरिए अनुसार त्यहाँ शोषण गरिएका सबै कैदीहरुलाई ग्यास चेम्बरमा हालेर जलाइएको थियो ।
सोही प्रदर्शनीमा समावेश गरिएकामध्ये रोमा महिलाले त्यतिबेला आफूले भोगेको यौन हिंसाको विवरण सार्वजनिक गरेका छन् । युरोपियन रोमा राइट्स सेन्टरका संचार संयोजक जोनाथन लीले भनिन्, ‘धेरैजसो समूहहरूलाई नाजीहरूलेे लक्षित गरेका थिए, तर जर्मन र जातीय शुद्धताको रक्षाको लागि अन्तिममा उनीहरुको तार्गेट यहूदी र रोमा समूहमाथि परेको थियो ।’ उनका अनुसार लामो समसम्म जातीय विभेदबाट त्यो नरसंहार भएको कुराले मान्यता पाएन । इतिहासकारहरुले पनि वास्तविकता खोज्न चाहेनन् । त्यसैले नाजी शब्दावलीलाई प्रयोग गरेर रोमाको नरसंहारलाई जनाउन थालियो ।
युरोपेली काउन्सिलका मानवअधिकार आयुक्तको २०१२ को रिपोर्टले ‘रोमालाई सामूहिक रूपमा अपराधीको रूपमा कलंकित गरिएको छ’ भन्ने कुरा पत्ता लगायो । यस मुद्दालाई सम्बोधन गर्ने अन्य उपायमध्ये ‘रोमाविरूद्ध विगतका अत्याचारको इतिहासलाई विद्यालयको पाठ्यक्रममा समावेश गरिनुपर्दछ’ भनी प्रतिवेदनले सिफारिस गर्यो । दोस्रो विश्वयुद्धको क्रममा रोमा र सिन्टीको उत्पीडनको कारण उनीहरुमाथि गम्भीर भौतिक प्रभाव पर्यो भन्ने प्रतिवेदन पनि सार्वजनिक गर्यो ।
‘दोस्रो दोस्रो विश्वयुद्धपश्चात १९५० को दशकमा, उनीहरूलाई जातीय कारणहरूले गर्दा जेलमा हालेको थिएन, तर उनीहरू अपराधी थिए भन्ने आधारमा धेरै बहसहरु चलाइयो ।’ क्युरेटरले वार्नोकले भने। ‘मान्यता र पुनस्र्थापनाको सवालमा त्यो ठूलो समस्या थियो।’
सन् १९८२ मा, जर्मनीले रोमाको बिरूद्ध नरसंहार भएको कुरा स्वीकार्यो । युद्द पछिको दशकौ त्यसै बित्यो। २०११ मा, पोल्याण्डले आधिकारिक रूपमा अगस्त २ लाई रोमानी नरसंहारको स्मरण गर्ने दिनका रूपमा मनाउन थाल्यो ।
source https://www.onlinekhabar.com/2019/11/807645
0 comments:
Post a Comment