१३ कात्तिक, काठमाडौं । मुलुक द्वन्द्वग्रस्त अवस्थाबाट भर्खरै शान्ति प्रक्रियामा आएका थियो । सशस्त्र द्वन्द्वका क्रममा विदेशी पर्यटकहरुले भौतिकरुपमा खासै क्षति व्यहोर्न परेन । तर, लगानीकर्ताहरु हतोत्साही भएका कारण आतिथ्य उद्योगमा लगानी आउन सकेको थिएन । ठीक त्यहीबेला नेपाल भ्रमण वर्ष २०११ को एक महत्वपूर्ण उपहार बनेर आयो होम स्टे अर्थात घरबास ।
सशस्त्र द्वन्द्वबा बेला भएकै होटेलहरु बन्द भइरहेका थिए । तत्कालीन भ्रमण वर्ष अभियानका दौरान आतिथ्य सेवालाई पर्यटक आकर्षित गर्ने माध्यमका रुपमा विकास गर्ने अवधारणा अगाडि बढ्यो । फलस्वरुप सरकारले देशमा होम स्टे प्रवर्द्धनको नीति लियो । होम स्टे सञ्चालनको कार्यविधि बन्यो । मापदण्ड तोकियो ।
फलस्वरुप अहिले देशका ५५ भन्दा बढी जिल्लामा होम स्टे सञ्जाल विस्तार भइसकेको होम स्टे एशोसिएशनका अध्यक्ष केशव बडाल बताउँछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०१८ सम्म विभागको दर्ता प्रक्रियामा ३२४ घरका ५९७ कोठामा होम स्टे संचालनमा आइसकेका छन् । यी कोठामा १ हजार ६ बेड पाहुनाका लागि तयार छन् । त्यसपछि भने होम स्टेको दर्ता स्थानीय सरकारको जिम्मामा पुगेको छ ।
पछिल्लो समय होम स्टेतर्फ आकर्षण बढेका कारण होम स्टेको संख्या पनि बढेको अध्यक्ष बडालले उल्लेख गरे । बडालका अनुसार अहिले देशभर ६ सय निजी तथा सामुदायिक होम स्टे खुलेका छन् । कूल १८ सय घरधुरीमा होम स्टे विस्तार भइसकेको उनले जानकारी दिए ।
नेपालको पहिलो होम स्टे स्याङ्जाको सिरुवारी हो । यहाँ २०५४ सालमै होम स्टे शुरु भएको हो ।
स्वरोजगार र संस्कृति संरक्षणको आन्दोलन
होम स्टे अभियन्ता यसलाई एक आन्दोलनका रुपमा ब्याख्या गर्छन् । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालका प्रथम उपाध्यक्ष दीपक दाहाल ग्रामिण पर्यटनले युवा स्वरोजगार वृद्धि र संस्कृति संरक्षणमा उल्लेख्य भूमिका खेलेको बताउँछन् ।
‘पैसा शहरबाट गाउँ जाने लैजाने माध्यम होम स्टे बनेको छ,’ उनी भन्छन्, ‘कपिय स्थानमा विदेशमा मनग्य कमाउने यूवा पनि गाउँ फर्केर होम स्टे प्रवर्द्धनमा लागेको देखिएको छ ।’ भिटोफ आफैले ग्रामिण गन्तब्य पहिचान गरी त्यसलाई बर्सेनि प्रवर्द्धन गर्न सक्रिय संस्था हो । यस संस्थामार्फत हरेक वर्ष तीन वटा नूमना गाउँ छनोट गरी त्यसलाई वर्षभर प्रवर्द्धनको सूचिमा राख्ने गरिन्छ ।
त्यसो त होम स्टेले संस्कृति, संरक्षणमा उत्तिकै ठूलो भूमिका खेलेको छ । ग्रामिण र शहरी इलाकाबाट लोप भइसकेका मौलिक गीत संस्कृति, झाँकी, लत्ता कपडा होम स्टेले संरक्षण गरेको छ । युवापुस्ताले परम्परागत भाषा, संस्कृति, सिकेका छन् । उनीहरु हरेक साँझ पाहुनालाई मौलिक संस्कृति र रमझम देखाउने गर्छन् । त्यसैका माध्यमबाट होम स्टेले एकातर्फ राम्रो आम्दानी गरिरहेको छ भने अर्कोतर्फ मौलिकता समेत बाचिरहेको छ । उपाध्यक्ष दाहाल भन्छन्, ‘तपाईले अब मेला पर्वमा समेत नभेट्ने मौलिकता होम स्टेमा भेटाउनु हुन्छ, यो भन्दा ठूलो योगदान के हुन सक्छ ।’
४ हजार ४ सय रोजगारी
होम स्टेले गाउँमा पर्यटक मात्र लगेको छैन, साथमा विकास र समृद्धि पनि भित्राइहरेको छ । एक सामुदायिक होम स्टे स्थापना गर्न ५ वटा घरधुरी आवश्यक पर्छ । उक्त होम स्टेसम्म पुग्न बाटो आवश्यक पर्छ । बत्ति-विजुली, शौचालय, खानेपानी होम स्टेका अत्यावश्यक पूर्वाधार हुन् ।
जहाँ होम स्टे सञ्चालन गर्ने हो, ती घरले यी पूर्वाधार बनाउनैपर्छ । घरवरपर सरसफाइ राख्नुपर्छ । पाहुनालाई खुवाउने मासुदेखि तरकारी र खाद्यान्नसम्म स्थानीय तहमै उत्पादन हुन्छ । जसले गर्दा कृषि उपजले बजार पाएको छ । पशुपालन पुनः फस्टाउन पाएको छ ।
होम स्टे एशोसिएशनका अनुसार देशभर होम स्टेकै कारण करीव ४ हजार ४ सय रोजगारी सिर्जना भएको अनौपचारिक तथ्यांक छ । एक घरमा होम स्टे चल्दा त्यसले दिने बहुआयामिक रोजगारीको अवसरले ग्रामीण भेगमै आम्दानीका बाटोहरु खुल्न थालेका छन् ।
छुवाछुत विरोधी अभियान
होम स्टेमा छुवाछुत हुँदैन । दलित समुदायले चलाएको होम स्टेमा ब्राहृमण समुदायका रुपमा सहजै जाने गर्छन् । थकाली होम स्टेमा दलित समूदायका मानिस सहजै घरभित्र पसेर भान्सा गर्न सक्छन् । त्यसकारण होम स्टेले नेपाली समाजमा रहेको छुवाछुतको विकृति हटाउन समेत उल्लेख्य भूमिका खेलेको होम स्टे अभियन्ताहरु बताउँछन् ।
जब कमजोर आय भएका मानिसहरुको आम्दानी बढ्छ, त्यसले स्वतः ती समुदायको पनि पुनरुत्थान हुन थाल्छ । अहिले अधिकांश स्थानमा दलित र जनजाति समुदायले चलाएका होम स्टे बढी फस्टाएका छन् । लमजुङको घलेगाउँमा गुरुङ समुदायले होम स्टे चलाएका छन् भने बर्दियाको डल्ला होम स्टे थारु संस्कृतिका लागि चर्चित छ ।
यसकारण शुरु भयो होम स्टे
सरकारले २०६७ सालमा होम स्टे सञ्चालन कार्यविधि ल्याएर होम स्टेको अवधारणा शुरु गरेको छ । यस कार्यविधि अनुसार होम स्टे संचालनको मूख्य उद्देश्य पर्यटन क्षेत्रको प्रतिफल ग्रामीण समुदायसम्म पुर्याउनु हो ।
ग्रामीण समुदायको आयस्रोत वृद्धि गरी स्वरोजगार प्रवर्द्धन गर्न यो अभियान प्रारम्भ गरिएको हो । पर्यटकलाई ग्रामिण जनजीवनबारे जानकारी गराउने र संस्कृति, रीतिरिवाज, कला संस्कृति, र रहनसहनको उत्कृष्ट अनुभव हासिल गर्ने मौका प्रदान गर्ने गरी होम स्टे शुरु गरिएको हो । होम स्टेको अवधारणा शहरका लागि पनि ल्याइएको हो । शहरमा पर्यटकलाई सरल र सहज बसोबासको व्यवस्थाका लागि होम स्टे शुरु भएको हो ।
होम स्टेको मापदण्ड
पाँच घर मिलेर सामुहिक रुपमा होम स्टे चलाउन सकिने या एकल रुपमा एक घरमा मात्र पनि मापदण्ड पूरा गरी होम स्टे चलाउन सकिने प्रावधान छ । खासगरी शहरी इलाकामा निजी र ग्रामिण इलाकामा सामुदायिक होम स्टेको अवधारणा ल्याइएको हो ।
होम स्टेले स्थानीय क्षेत्रमा सञ्चालन हुने सांस्कृतिक कार्यक्रम र क्रियाकलाप, परम्परागत खेलमा सहभागी गराउने, उपलब्ध हुने क्षेत्रमा जंगल ट्रेक, इको ट्रेक तथा दृश्यावलोकनको समेत व्यवस्था गर्नुपर्छ । पर्यटकलाई मौलिक मेला, जात्राजस्ता गतिविधिमा सहभागी गराउन समेत होम स्टेले भूमिका खेल्न सक्छन् ।
होम स्टे दर्ता भइसकेपछि हरेक होम स्टेले आचारसंहिता निर्माण गर्नुपर्छ । सामुदायिक होम स्टे सञ्चालन गर्न भिन्न-भिन्न स्वामित्वका कम्तिमा ५ घर आवश्यक हुन्छ । होम स्टेमा पाहुना सुत्ने कोठा भने अलग बनाइएको हुनुपर्छ । एक घरमा बढीमा ४ वटा मात्र कोठा होम स्टेका लागि छुट्याउन सकिने गरी मादपण्ड तोकिएको छ ।
सुत्ने कोठामा धुवाँ आउने नहुने, सफा हुनुपर्ने, भुईमा राडी पाखी तथा गुन्द्री भए पनि ओछ्याएको हुनुपर्ने भनी मापदण्ड राखिएको छ । सुविधायुक्त र सफा शौचालय, नुहाउने छुट्टै प्रवन्ध, भन्साघर नजिकै वस्तुभाउको गोठ नभएको र घरमा आवश्यक सबै सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ । मुसा, लामखुट्टे, उडुस, उपियाँजस्ता किराबाट पर्यटकले सास्ती भोग्नु नपर्ने गरी प्रवन्ध मिलाउनु पर्छ ।
होम स्टे तारे होटेललाई चुनौति हो ?
होटेल संघ नेपाल (हान) मा आवद्ध ठूला होटेल व्यवसायी शहरी इलाकामा खुलेका होम स्टेले ठूलो लगानीका तारे होटेलको बिजनेश प्रभावित पारेको गुनासो गर्छन् । हानका निवर्तमान अध्यक्ष अमरमान शाक्य शहरभित्रै होम स्टे खुल्दा ठूलो लगानी गरेका होटेल प्रभावित हुने बताउँछन् । तर, होम स्टे सञ्चालकहरुको तर्क भने बेग्लै छ ।
होम स्टे एशोसिएशनका अध्यक्ष बडाल होम स्टे र तारे होटेलमा बस्ने पर्यटकको प्याकेज नै छुट्टाछुट्टै हुने बताउँछन् । ‘होटेल बुक गरी नेपाल आएको पर्यटक होम स्टेमा बस्दैन,’ उनी भन्छन्, ‘होम स्टेमै बस्ने गरी विदेशबाटै प्याकेज किनेर आएको पर्यटकले ठूला होटेललाई प्रभावित नपार्ने उनले बताए ।
कतिपय होटेल आफैले होटेल र होम स्टे दुवै सञ्चालन गरी सबै विजनेश आफैं लिने गरी शहरमा होम स्टे चलाएको गुनासो समेत सुनिने भन्दै यसतर्फ भने स्थानीय सरकारहरुले मापदण्डमा कडाई गर्नुपर्ने उनले बताए ।
होम स्टेका कारण चम्किएका केही गाउँहरु यी हुन्-
सिरुबारी, सुन्तलाबारी समुदायिक होम स्टे- स्याङ्जा
घलेगाउँ, काउलेपानी – लमजुङ
अमलटारी- नवलपरासी
डल्ला होम स्टे- बर्दिया
नाम्जे- धनकुटा
चित्लाङ- मकवानपुर
भादा गाउँ- कैलाली
source https://www.onlinekhabar.com/2019/10/807194
0 comments:
Post a Comment