Monday 20 June 2022

एन्फाका दुई केन्द्रीय सदस्यको टुंगो अर्काे साधारण सभाबाट लाग्ने

७ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई जना केन्द्रीय सदस्यको टुंगो अर्को साधारण सभाबाट मात्र लाग्ने भएको छ ।

नयाँ नेतृत्व चयनका लागि भएको सोमबार निर्वाचनमा खुल्ला सदस्य पदमा चार जना उम्मेदवारले बराबर मत ल्याएपछि दुई जनाको टुंगो अर्को साधारण सभाले लगाउने भएको हो ।

१३ सदस्यीय खुल्लाका लागि ३२ जना प्रतिस्पर्धामा थिए । जसमध्ये केन्द्रीय सदस्यमा मनिष जोशी (४८), अनिल मल्ल (४७), रबिन्द्र चन्द (४६), विकास नारायण श्रेष्ठ (४४), भोजराज शाही (४४), महेन्द्र क्षेत्री (४४), पुरुषोत्तम थापा (४३), रमेश ब्यन्जनकार (४३), मनिराज विष्ट (४२), टिका लामा (४१), भरत बुढथापा ४० मत प्राप्त गर्दै निर्वाचित भए ।

त्यसपछि दीपक थापा क्षेत्री, दिपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरे । बराबर मत प्राप्त गरेका यी चार जना मध्ये दुई जना सदस्य बन्नेछन् । यसको टुंगो आसन्न साधारण सभाले लगाउने गरी निर्णय भएको एन्फाले जनाएको छ ।

एन्फामा १९ केन्द्रीय सदस्यहरुमध्ये नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङको प्यानलबाट १२ जना र कर्माछिरिङ शेर्पाको प्यानलको ७ जना छन् । बराबर भोट ल्याउने चार जनामध्ये तीन जना कर्मा प्यानलका छन् ।

निवर्तमान अध्यक्ष शेर्पालाई ६ मत अन्तरले हराउँदै नेम्वाङ आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् । नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत पाए । अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएनन् ।



source https://www.onlinekhabar.com/2022/06/1145631

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More