३० जेठ, काठमाडौं । बाँच्नुमात्रै पर्छ, जिन्दगीले परीक्षा बारम्बार लिन्छ, जसरी ४३ वर्षकी लक्ष्मी बानियाँसँग लिइरहेको छ । बानियाँ १३ वर्षकी छँदै बुवाआमाले बिहे गरेर पठाइदिए । ३५ वर्षको हुँदा श्रीमानको मृत्यु भयो ।
उनकै मनको कुरा गर्ने हो भने, लक्ष्मी न १३ वर्षमा कसैको जोडी बन्न तयार थिइन, न ३५ वर्षमा एकल बन्न । तर जिन्दगी उनको तयारीले चलेन कान्छी छोरी १२ वर्षकी हुँदा ७ वर्षअघि उनको श्रीमानको मृत्यु भयो । दुई छोरीको पूरै जिम्मेवारी लक्ष्मीको काँधमा आयो ।
जिम्मेवारीले थिचेको त थियो नै, लक्ष्मीको काँध भने गलिसकेको थिएन, उनी बिरामी भइन् मुटु दुख्न थाल्यो, काम गर्न नसक्ने भइन् । त्यसपछि लक्ष्मी र उनका दुई छोरीहरुको भूमिका साटियो । आमाले चलाएको घर, छोरीहरुले चलाउन थाले । लक्ष्मीको सहारा छोरीहरु बन्न थाले । आफूले भोगेको दुखहरुको सागर एकातिर थन्क्याएर लक्ष्मी छोरीहरुले दिएको सुखको बुँदमा रमाइरहेकी छिन् ।
‘१३ वर्षको हुँदा नै बुवाआमाले बिहे गरिदिनुभयो । जसोतसो चलिरहेको थियो, भुइँचालोपछि मुटुको रोगी पनि भएँ । काम गर्न सक्दिन,’ लक्ष्मीले भनिन्, ‘छोरीहरुले हेर्छन्, उनीहरुको बिहे भएपछि के हुने हो थाहा छैन ।’ लक्ष्मीका दुई छोरीमध्ये २६ वर्षकी जेठी छोरी कामको सिलसिलामा नेपालगञ्जमा छिन् । कान्छी छोरी काठमाडौंको बालाजुमा रहेको जागृत टोलमा उनीसँगै बस्छिन् ।
छोरीहरुको बिहे भएपछि के हुने हो थाहा छैन भन्ने अभिव्यक्तिभित्र लक्ष्मीलाई अनिश्चित भविष्यको पिर लागेको हो, तर छोरीहरुले आफूलाई एक्लै छोड्लान भन्ने चाहिँ उनलाई लागेको छैन, किनभने अहिले उनलाई पाल्न छोरीहरुले जति संघर्ष गरेका छन्, यो संघर्षसँग छोरीहरु हुर्काउन लक्ष्मीले गरेको त्यो संघर्षको कुनै तुलना नै हुन्न ।
‘छोरीहरु हुर्काउन दुख भयो । अरुको भाँडा माझेँ, धेरै दुख गरेँ दुख सम्झिन मन लाग्दैन,’ भन्छिन्, ‘अहिले त केही गर्न सक्दिन झड्याङमड्याङ गर्दा दुख्छ ।’
छोरीहरुलाई पाल्न हुर्काउन के केमात्रै गरिनन् लक्ष्मीले ? रोजगारीका लागि साउदी अरेयिबा गइन्, घरघर घुमेर काम गरिन्, भारी बोकिन्, मजदुरी गरिन् । शरीरले उसबेला गरेको त्यही दुखको बदला लियो, छोरीहरुले गुन देखे ।
‘१९ महिना साउदी बसेर आएँ, भाडा माझ्ने काम गर्थेँ । त्यतिखेर कोही थिएन सहयोग गर्ने । अहिले सम्झिएँ भने पनि रुन मन लाग्छ,’ लक्ष्मीले भनिन्, ‘आफूले गरेर खाएको र अर्काले दिएको धेरै फरक पर्छ नि मिस हो कि हैन भन्नु न । अरुले कहिले देलान् र खाउँला भनेर पर्खेर बस्नुपर्छ । जिन्दगी भनेको यस्तै हो मिस ।’ छोरीहरुले दुख बुझेकोमा भने उनी निकै खुसी हुन्छिन् ।
‘आफ्नो भाग्यमा जे छ त्यही त हो नि । छोराले नि के नै गर्छ र ?’ केही फरक लाग्दैन । दुख पनि बुझ्छन् । अहिलेसम्म बुझेका पनि छन्,’ लक्ष्मीले भनिन् ।
****
गरिबीले उहिलेदेखि नै जरो गाडेको हो, आजसम्म पनि छोडेको छैन । गरिबीकै कारण घरकी जेठी छोरी मीरा माझीलाई उनको परिवारले साहुको घरमा काम गर्न पठाए । ७ वर्षको उमेरदेखि नै घरायसी काम गर्दै आएकी माझी अहिलेसम्म पनि उसैगरी घोटिइरहेकी छिन् ।
तर गरिबी छ भन्दैमा उनले जिम्मेवारी छोडिनन्, छोरी हुनुको अभिभारा पूरा गरिन् । बिहे गरेपछि आफ्नै घर, आफ्नै परिवारको पिरलो एकातिर हुँदा हुँदै पनि आमालाई एक्लै छोड्न नसकेर काठमाडौं लिएर आएकी माझी भन्छिन्, ‘म भइन भने त मेरी आमा टुहुरी हुनुहुन्छ ।’
छेउमै बसेर कुरा सुनिरहेकी आमा पनि मीराको कुरा सुनेर पुलकित हुन्छिन् । ‘गाउँमा दुख गरेर छोराछोरी हुर्काएँ, अहिले जेठी छोरीले हुर्काइरहेकी छिन्, खुसी लाग्छ’, आमाले भनिन् ।
‘मलाई ७ वर्षको उमेरदेखि धनी महाजनको घरमा बाख्रा हेर्न राखिदिनुभयो । त्यसबेलादेखि अहिलेसम्म अरुको घरमा भाँडा नै माझिराखेँ । सहकारीमा बचत गरेर ऋण निकालेर घर बनाएँ । पसल थापेर बसेकी छु,’ मीराले भनिन् ।
यही पसलबाट हुने आम्दानीले उनले दुई छोरा र आमालाई पालिरहेकी छिन् । ‘मेरो त आमा भने पनि बाउ भने पनि माइती भनेपनि आमा नै हो’, मीराले भनिन्, ‘आमालाई केही भयो भने त यो संसारमा मेरो कोही छैन भन्ने लाग्छ मलाई त ।’
मीराले सानैदेखि आमालाई पाल्छु भन्ने योजना बनाएको सुनाइन् । किनभने आमा साथमा हुनुजत्तिको खुसी अरु कहीँ मिल्ला भनेर उनलाई लाग्दैन ।
‘आफ्नो आमा साथमा जतिखेर नि हुनुहुन्छ भन्ने कुराले मलाई हौसला नै दिन्छ’, मीराले भनिन्, ‘खाना नपाए पनि माया नै होस् भन्छु ।’
****
श्रीमानको उपाचार गर्दागर्दै नुवाकोटको घरखेत सकिएपछि समादेवी नेपाली बिरामी श्रीमान र छोराछोरीसहित काठमाडौं पसिन् । काठमाडौंमा दुखजिलो गरेर छोराछोरी हुकाईन्, श्रीमानको स्याहार गरिन् । १० वर्षअघि श्रीमानको मृत्यु भएपछि समादेवीलाई आफ्नै छोराहरुले हेरेनन् । भएभरको सम्पत्ति सकेको भनेर टोकस्न थाले । तर छोरीले भने उनलाई पालिन् ।
दुई जना छोरी जन्मिसकेपछि श्रीमान् बिना कारण टाढिँदा समादेवीकी छोरी गीता आफैं समस्यामा परिन् । उनीसँग त्यतिधेरै आर्थिक हैसियत छैन, जसले सजिलैसँग परिवार धान्न पुगोस् । तर एक छाकमात्रै खाएर भए पनि आमालाई भने टाढा नराख्ने गीताको प्रणप्रति भने समादेवी गर्व गर्छिन् ।
समादेवीकी छोरी गीता ज्यामी काम गर्न जाँदा आमा समादेवी साना नातिनी हेरेर बस्छिन् । घरमा आमा हुँदा गीताले दिनभरि ढुक्कले काम गर्न पाउँछिन्, छोरीको साहरामा आमा पनि सन्तुष्ट छिन् । ‘छोराहरुको म त मलाई आशै भएन,’ गीताले भनिन्, ‘जे गरे पनि यही छोरीले गर्ने हो ।’
****
१६० घरधुरी रहेको बालाजुको जागृति बस्ती, समग्रमा छोरीहरुले धानेको बस्ती हो । घर धान्न छोराभन्दा धेरै छोरीहरुको भूमिका त्यो बस्तीमा देखिन्छ । कतिले बुवाआमालाई घरमै लिएर पालेका छन् भने कति घर चलाउन विदेश गएका छन् ।
छोरीहरुको सुझबुझ र समझदारीले यो बस्तीका अभिभावक खुसी देखिन्छन् । गरिबी, बेरोजगारी र अभावको समस्या आफ्नो ठाउँमा छ तर त्यसको बीचबाट पनि छोरीहरुको यो सक्रियता र जिम्मेवारीबोध साँच्चिकै सह्राहनीय छ ।
(किनाराका बस्ती अनलाइनखबरको भिडियो श्रृंखला हो । यो श्रृंखलामा हामीले राज्यले सधैंभरि किनारामा पारेका बस्तीका कुराहरु उधिन्छौं, दुःख सुख–अप्ठ्यारा, सप्ठ्याराका कुरा गर्छाैं । दलहरुले चुनावमा भोट बढाउनुपर्दा, दलहरुकै आन्दोलनका बेला सडकमा नाराबाजी गर्नुपर्दा अहिले पनि अग्रपंक्तिमा देखिने नागरिकले आफू अप्ठ्यारोमा परेका बेला कहिल्यै राज्यको साथ पाउन्नन् । संविधानले नै प्रत्याभूत गरेको गाँस, बास, शिक्षा र स्वास्थ्यको सुविधाबाट समेत किनारामा पारिएका नागरिकका समस्यालाई कम्तीमा आफ्नो आँखाबाट ओझेल पर्न नदिने हाम्रो प्रयास हो । यही प्रयास अन्तर्गत तेस्रो श्रृंखलामा हामी काठमाडौंको बालाजुमा रहेको जागृत बस्तीमा पुगेका छौं ।)
क्यामेरा : शंकर गिरी र आर्यन धिमाल, सम्पादन : दिलीप तामाङ ‘गारब’
किनाराका बस्तीको अघिल्ला श्रृंखला हेर्नुहोस्
source https://www.onlinekhabar.com/2022/06/1141325
0 comments:
Post a Comment