Wednesday 22 June 2022

तनहुँका पृथ्वी भण्डारीको स्विट्जरल्याण्डमै अत्येष्टि

ज्यूरिख । गत जुन ८ मा स्वीट्जरल्याण्डको ज्यूरिख युनिभर्सिटी अस्पतालमा उपाचारमा क्रममा मृत्यु भएका एक नेपालीको सोमबार अत्येष्टि गरिएको छ। तनहुँ  खैरेनीटार मूल घर भएका ४७ वर्षीय पृथ्वी भण्डारी क्षेत्रीको ज्यूरिखमा अत्येष्टि गरिएको हो।

विगत एक दशकदेखि ज्यूरिख क्यान्टोनको आफोल्टेनमा बस्दै आएका क्षेत्रीलाई पाँच सातादेखि आईसीयूमा राखेर उपचार गरिएको थियो।

एनआरएनए स्वीट्जरल्याण्डकी अध्यक्ष शुभ एल्मर लामाका अनुसार कलेजोमा समस्या देखिएपछि क्षेत्री अस्पताल भर्ना भएका थिए। ‘आईसीयूमा पुगेर मैले भेट्दा उहाँ अचेत नै हुनुहुन्थ्यो।उहाँको अवस्थाबारे हामीले पहिले नै परिवारलाई खबर गरिसकेका थियौं,’ अध्यक्ष लामाले भनिन्।

नेपाली समुदायमा खासै घुलमिल नभएका क्षेत्री अस्पताल भर्ना भएको जानकारी पाएपछि एनआरएनए स्विट्जरल्याण्डले चासो व्यक्त गरेको थियो।

अत्येष्टि कार्यमा सहभागी बन्न मृतकका भाइ महेन्द्र सिंह क्षेत्री गत साता जापानदेखि स्विट्जरल्याण्ड पुगेका थिए । उनलाई जापानदेखि स्विट्जरल्याण्ड ल्याउन कागाजी प्रक्रियामा सहयोग गरेको अध्यक्ष लामाले बताइन्। ‘परिवारको इच्छा अनुसार नै परिवारका सदस्यकै उपस्थितिमा स्विट्जरल्याण्डमा नै  अत्येष्टि भएको छ।अत्येष्टि प्रक्रिया नि:शुल्क गर्न एनआरएनले नै पहलकदमी चालेको हो,’ उनले भनिन्।

मृतक क्षेत्रीका दुई छोराहरू छन् । यूएईको दुबईमा कार्यरत दुवै छोराहरु अहिले नेपाल पुगेको मृतकका दाइ महेन्द्र भण्डारी क्षेत्रीले जानकारी दिए।

‘बसाई सरेर धरानमा बस्दै आएको भए पनि हाम्रो परिवार तनहुँमा नै पुगेर दाइको सम्पूर्ण प्रक्रिया सक्नेछौ,’ तीन दिनपछि दाइको अस्तु लिएर नेपाल फर्कने भन्दै उनले एनआरएनलगायत स्विट्जरल्याण्डको नेपाली समुदायप्रति आभार प्रकट गरे।



source https://www.onlinekhabar.com/2022/06/1146765

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More