२९ जेठ, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत कुवेतविरुद्धकाे खेलमा मैदानमै बेहोस भएर ढलेका नेपाली टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्ज भएका छन् ।
प्रशिक्षक अल्मुताइरीलाई थप उपचारका लागि उनलाई फारवानिया अस्पताल लगिएको थियो । डिस्चार्ज भएपछि उनले फेसबुकमा लेखेका छन्, ‘चिन्ता नगर्नुहोस्, म गोर्खाली हुँ । एक टिम, जय नेपाल !’
उनले भोलिबाट पुनः काममा फर्कने बताउँदै पराजयका लागि क्षमा मागेका छन् ।
दाेस्राे हाफकाे सुरु भएलगत्तै अल्मुताइरी नेपालकाे टेक्निकल एरियामा बेहाेस भएका थिए । लगत्तै मेडिकल टिमले उनलाइ स्ट्रेचरमा राखेर अस्पतालतर्फ लैजाँदै गरेकाे दृश्य प्रत्यक्ष प्रशारणमा देखाइएकाे थियाे । अस्पताल लैजाँदै गर्दा उनकाे मुखमा अक्सिजन मास्क लगाइएकाे थियाे ।
नेपालले कुवेतसँग पहिलाे हाफमा १ गाेल खाएकाे थियो । कुवेतकै नागरिक रहेका अल्मुताइरी पहिलाे हाफमा रेफ्री र फाेर्थ अफिसियलसँगकाे विवादमा तनावमा देखिएका थिए । त्यसबापत उनलाई पहेलाे कार्डसमेत देखाइएकाे थियाे ।
पहिलाे खेलमा जाेर्डनसँग २-० ले हारेकाे नेपालले कुवेतसँगकाे याे खेल ४-१ गाेलअन्तरले गुमाएकाे छ । लगातार दुई हारसँगै नेपालकाे एसियन कप छनोट सम्भावना समाप्त भएको छ ।
source https://www.onlinekhabar.com/2022/06/1140918
0 comments:
Post a Comment