Saturday 19 November 2022

४२०० मिटर उचाइमा मतदान केन्द्र, १०३ मतदाता

४ मङ्सिर, मनाङ । हिमाली जिल्ला मनाङमा पनि आज मतदान हुँदैछ । मतदानका लागि सबै मतदान केन्द्रमा तयारी पूरा भएको छ ।

उच्च हिमाली क्षेत्रमा रहेको मतदान केन्द्रमा पनि मतदान केन्द्र तयारी भएको निर्वाचन कार्यालय मनाङले जनाएको छ । ।

मुलुककै कम मतदाता रहेको मनाङको सबैभन्दा उचाइमा रहेको मतदान केन्द्र मतदानका लागि तयार भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए ।

‘मनाङको सबैभन्दा बढी उचाइ (४,२०० मिटर)मा रहेको नार गाउँको मतदान केन्द्र मतदानका लागि तयार भएको छ । सम्भवतः नेपालको सबैभन्दा बढी उचाइमा भएको मतदान केन्द्र पनि यही नै होला’, शर्माले भने ।

उनका अनुसार यस मतदान केन्द्रमा कुल एक सय तीन मतदाता रहेका छन् । हिउँ पर्ने समय भइसकेकाले उच्च हिमाली क्षेत्रमै मतदान केन्द्र तयार पारिएको उनी बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्था गरिएको बताए । ‘सुरक्षाका सम्पूर्ण व्यवस्थापन कडाइका साथ कार्यान्वयन हुनेगरी गरिएको छ । ढुक्क भएर मतदानमा सहभागी हुन सम्पूर्ण मतदातालाई आग्रह गर्दछु’, उनले भने ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा तीन हजार छ सय ८७, चामे गाउँपालिकामा सात सय ७७, नार्पाभूमि गाउँपालिकामा चार सय ६८ र नासों गाउँपालिकामा तीन हजार छ सय ४७ मतदाता रहेका छन् ।

प्रदेश (१)मा चामे गाउँपालिका र नासों गाउँपालिका पर्दछ । प्रदेश (१)मा दुई हजार छ सय २४ र प्रदेश (२) मा चार हजार एक सय ५५ गरी कूल छ हजार सात सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/11/1220287

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More