Tuesday 22 November 2022

सुनसरी-४ मा झिनो मतान्तरले पछि परे मन्त्री कार्की

६ मंसिर, धरान । सुनसरी-४ मा सुरुवाती अग्रता लिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई मंगलबार साँझदेखि नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले उछिनेका छन् र झिनो अग्रतालाई कायम राखेका छन् ।

यो क्षेत्रमा जनता समाजवादी पार्टीको सहयोगमा उम्मेदवार रहेका कुसियैत २५० मतान्तरले काङ्ग्रेसका उम्मेदवार कार्कीभन्दा अगाडि छन् ।

कोसी गाउँपालिकाको वडा नं ८ बाट मत गणना सुरु गर्दा कार्कीले अग्रता कायम गरेका थिए । पहिलो १ सय मत गणना गर्दा कार्कीले ४५ र कुसियैतले ३८ मत प्राप्त गरेका थिए ।

कोसीको १ हजार ९७७ मत गणना गर्दा कार्कीले ८५९ र कुसियैतले ६५५ मत पाएका थिए । कोसी-८ पछि इनरुवा नगरपालिका-३ को मतगणना गर्दा कुसियैतले मतान्तर घटाउँदै लगेका थिए । कार्कीले ९३९ मत पाउँदा कुसियैतले १ हजार ३७ मत प्राप्त गरेका थिए ।

रामधुनी नगरपालिका ४ को मतगणना सुरु भएपछि पुनः मन्त्री कार्कीले अग्रता बढाएका थिए । कुसियैतले १ हजार १९१ मत प्राप्त गर्दा कार्कीले १ हजार ३८७ मत पाएका थिए ।

रामधुनी ४ मा खसेको मत भन्दा १० मत बढी भएपछि किचलो हुँदा मत गणना रोकिएको थियो । सोही क्रममा बदर मत १ सय ७२ भएकामा पुनः गणना गरी रुजु गर्दा बदर मत बढेर २ सय २९ पुगेको थियो । किचलो मिलाउन जिल्लाका मुख्य निर्वाचन अधिकृतले उम्मेदवारहरु कुसियैत र मन्त्री कार्कीको दुई पक्षीय छलफल राखी समस्या समाधान गरेका थिए । रामधुनी ४ को मतगणनापछि भोक्राहा नरसिंह १ को मतपेटिका खोलिएको थियो ।

यहाँ मन्त्री कार्कीले २ सय मत प्राप्त गर्दा कुसियैतले ३९८ मत प्राप्त गरेका थिए । प्रभाव क्षेत्रका रुपमा रहेको भोक्राहा नरसिंहमा कुसियैतले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पहिलो चरणमा १२२, दोस्रो चरणमा २२२ र पछिल्लो मत परिणामलाई हेर्दा मन्त्री कार्कीलाई कुसियैतले २५० मतले पछि पारेका छन् ।

चुनावी अङ्क गणित

सुनसरी-४ मा बराहक्षेत्र नगरपालिकाका ६-११ वडा, इनरुवा नगरपालिकाका ३,४ र ८ रामधुनी नगरपालिकाको वडा नम्बर ४, हरिनगर गाउँपालिकाका १-७ वडा, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिका पर्छन्। यो क्षेत्रमा जम्मा ३२ वडा छन् । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै कार्की यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

कांग्रेसका तर्फबाट उनले ३२ हजार ३४७ मत प्राप्त गरेका थिए। वाम गठबन्धनबाट उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रमेश श्रेष्ठले जम्मा २५ हजार ७५० मत प्राप्त गरेका थिए ।  गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मतअनुसार सुनसरी ४ कांग्रेसको पकड क्षेत्र हो ।

कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २९ हजार ८१९ मत ल्याएका थिए । सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादीको ४ हजार २४९ र माओवादी केन्द्रको ३ हजार ९२५ मत रहेको छ। एमालेको २० हजार ९४० मत छ। एमालेसँग तालमेलमा रहेको जसपाको ८ हजार ४०५ मत छ । चुनावी अङ्क गणितलाई हेर्दा उम्मेदवार कार्की अनुकुलताको अवस्थामा देखिन्छन् ।

सुनसरी ४ को संसदीय इतिहास सुनसरी क्षेत्र नं. ४ मा गिरिजाप्रसाद कोइरालाले २०४८ साल, ०५१ सालको मध्यावधि निर्वाचनमा र ०५६ सालको संसदीय निर्वाचनमा विजय हासिल गरेका थिए । ०५३ सालको उपनिर्वाचनमा भने एमालेका उम्मेदवार कुसियैतले नै जितेका थिए।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा गिरीजाप्रसाद कोइरालाकी छोरी सुजाता पराजित भएकी थिइन् । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव विजयी भएका थिए । ०७४ को निर्वाचनमा भने मन्त्री कार्की यसै क्षेत्रबाट विजयी भएका थिए ।



source https://www.onlinekhabar.com/2022/11/1222625

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More