Tuesday 29 November 2022

‘एमालेलाई बाहेक गरेर माओवादीसँग मिल्ने निर्णयमा सहमति छैन’

१३ मंसिर, काठमाडौं । चुनावी नतिजा सार्वजनिक भइरहँदा सत्तारुढ गठबन्धनमा रहेको माओवादी केन्द्र र एकीकृत समाजवादीले फेरि पार्टी एकताको सम्वाद थालेका छन् । सोमबार मात्र दुई दलका शीर्ष नेताहरुबीच पूर्व सहमतिअनुसार पार्टी एकता प्रक्रिया अघि बढाउन छलफल भएको छ ।

तर माओवादीसँग पार्टी एकता गर्ने नेतृत्वको तयारीप्रति एकीकृत समाजवादीमा असन्तुष्टि देखिएको छ ।

पार्टीमा तेस्रो वरियतामा रहको नेता मुकुन्द न्यौपाने, एमालेलाई बाहेक गरेर माओवादीसँग मिल्न नहुने बताउँछन् । देशमा एउटा कम्युनिस्ट पार्टी हुनुपर्छ भन्ने आफ्नो मत रहेको भन्दै उनले भने, ‘त्यसरी (एकता) गर्ने हो भने ठिकै छ, नत्र एमालेलाई किन बाहेक गर्ने ?’

यदि आफूहरुको मतलाई नसुनि एकता गरे आफू चाहिँ माओवादीसँग नजाने न्यौपानेले बताएका छन् ।

प्रस्तुत छ, एकीकृत समाजवादीका नेता न्यौपानेसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं आजको पार्टी बैठकमा किन नजानुभएको ?

एकदमै छोटो समयको अन्तर पारेर मोबाइलमा म्यासेज पठाइयो । त्यसरी त मिटिङमा जाने समय नै पुग्दैन । हेटौंडा आउनुपर्ने भएकाले म पनि हिँडे ।

तपाईं केही समयदेखि पार्टी नेतृत्वभित्र असन्तुष्ट हो ?

निर्णय गर्दाखेरि नेतृत्वले धेरै कुरा विचार पुर्‍याउनुपर्छ । अहिले जुन गठबन्धनमा बस्ने काम भइरहेको छ, यसलाई मैले ठगबन्धन भन्ने गरेको छु । किनभने कांग्रेसमाथि भरोसा गर्न सकिँदैन भनेर मैले पहिल्यै भनेको थिएँ । माओवादीको पनि एउटा पक्षमाथि भरोसा गर्न सकिँदैन ।

मेरो कुरा सुन्ने काम भएन । उल्टै स्थानीय चुनाव सकिएपछि एकीकृत समाजवादीले एमाले बाहेकका कम्युनिस्टहरुसँग एकता गर्ने निर्णय भयो । जुन पार्टीमा मनमोहन अधिकारीदेखि मदन भण्डारीसम्म एक ठाउँ आएर पार्टी चलाए, त्यो पार्टीलाई बाहेक गरेर कम्युनिस्ट एकता कसरी हुन्छ ? मेरो भनाइ एमाले, माओवादीसहित सबै कम्युनिस्टसँग एकताको लागि कुरा गरौं । तर मलाई मिटिङको थाहै नदिई खुसुक्क एमालेबाहेक मिलाएर एकता गर्ने भन्ने पास गरेछन् साथीहरुले । आम कार्यकर्ताको गुनासो थियो, स्थानीय चुनावमै हामीलाई माओवादीबाट असहयोग भयो । अहिले आम कार्यकर्तालाई थाहै नभई पार्टी एकता भन्दै हिँड्न हुन्छ ?

त्यसैले तपाईँ बैठकमा नजानुभएको ?

खबरै ढिलो आउँछ भन्या । कसरी मिटिङ भ्याउन सकिन्छ ? पार्टीको बैठक भन्ने कुरा पनि अकस्मात् बस्ने कुरो हो र !

तपाईंका अरु असन्तुष्टि के हुन् ?

समानुपातिकको सूची बनाउँदा पनि ध्यान पुर्‍याइएको छैन । घनेन्द्र बस्नेत, केदार न्यौपानेजस्ता तीसको दशकमा नेता भइसकेकाहरुको नाम समानुपातिकको दुई र तीनमा पठाइयो, प्रमेश हमालजीलाई अगाडि राख्ने काम हुन्छ यहाँ । त्यो पनि मलाई जानकारी नगराई भएको हो । अनि स्थायी कमिटीका कतिपय मान्छे र प्रदेश इन्चार्जलाई नै थाहा नदिई यस्तो काम गर्ने हो साथीहरुले ?

कम्युनिस्ट पार्टीमा यस्तो चलिरहन्छ नि, होइन ?

झापामा सीपी मैनालीले यस्तै अपारदर्शी गरे, व्यक्तिवादी भयो भनेर यो बाटो छाडौं भनियो । केपी ओलीजीहरुले समेत साथ छाडेकै हो नि ! व्यक्तिवादी हुन भएन भन्दाभन्दै फेरि ओलीजीको विरोध गर्नुपर्ने स्थिति आयो । तर ओली हुन नपाएर पो पार्टी फुटाएका हुन् कि हाम्रा साथीहरुले ? आजभोलिको परिस्थिति हेर्दा त्यस्तै लाग्छ । एकीकृत समाजवादी भित्रको विधि पद्दति के हो ? एमालेको २७ लाखजति भोट नाघ्न आँटिसक्यो, हाम्रो तीन लाख पुर्‍याउनै यत्रो धौ धौ छ । खोई हाम्रो समीक्षा ?

यस्तै कारणले गर्दा माओवादीसँग एकता गर्ने छलफल चलिरहेको हो ?

त्यही दुईवटा अध्यक्ष बनाउने, अनि चलाउने भन्ने होला । त्यो चल्दैन । नेकपा बनेकै बेला दुईवटा अध्यक्ष बनाउने भनेपछि स्थायी कमिटी बैठकमा मैले पन्चतन्त्रको भारुण्ड पंछीको कथा सुनाइदिएको थिएँ ओली र प्रचण्डलाई । टाउका दुईटा, जीउ एउटा गर्दा हामी समेतको पखेटा सबै झर्नेछ भनेको थिएँ । अहिले त्यस्तै भयो । त्समाथि माओवादीसँगको एकता पब्लिकले समेत रुचाउँदैनन् । मैले पहिल्यै पार्टीमा यो कुरा राखेको थिएँ । तर चुनावपछि माओवादीसँग एकता गर्ने भनेर सकुर्लर पठाएछन् । हुन त जसको बुद्धि जति छ, त्यसले त्यति नै गर्ने हो ।

माओवादीसँग पहिले मिल्दा हुने, अहिले मिल्न किन नहुने हुन्छ र ?

एउटा देश, एउटा कम्युनिस्ट पार्टी हुनुपर्छ भन्छु म । त्यसरी गर्ने हो भने ठिकै छ । नत्र एमालेलाई किन बाहेक गर्ने ? उसलाई एकतामा ल्याउने हो भने मेरो समर्थन हुन्छ ।

तपाईंको फरक मत हुँदाहुँदै एकता भयो भने ?

साथीहरु कसरी जान्छन्, हेरौं न । म चाहिँ माओवादीसँग जानेवाला छैन ।



source https://www.onlinekhabar.com/2022/11/1226387

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More