Tuesday 15 November 2022

विश्वप्रकाशविरुद्धको उजुरी तामेलीमा राख्ने निर्वाचन आयोगको निर्णय

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का उम्मेदवार विश्वप्रकाश शर्माले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी परेको उजुरी निर्वाचन आयोगले तामेलीमा राखेको छ ।

निर्वाचनको बेला अग्नि पीडितलाई आर्थिक सहयोग गरेको र यो निर्वाचन आचारसंहिता विपरीत भएको भन्ने आरोप शर्मामाथि लागेको थियो । तर उक्त आरोप पुष्टि हुन नसकेको भन्दै आयोगले तामेलीमा राख्ने निर्णय गरेको हो ।

शर्माले आगलागी पीडित केबल निरौला र उनका बुवालाई २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । त्यसबारे आयोगले स्पष्टीकरण सोधेको थियो ।

शर्माले गत जेठ ६ गते पीडितलाई ११ हजार रुपैयाँ सहयोग गरेको र त्यसकै निरन्तरता स्वरुप अमेरिकाबाट संकलित थप २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको बताएका थिए । साथै उनले उक्त सहयोग विपदकालीन सेवा र निर्वाचन घोषणा पूर्वदेखिकै कामको निरन्तरता अन्तरगत भएको भन्दै स्पष्टीकरण पेश गरेका थिए ।

त्यसैको आधारमा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन नभएको निष्कर्ष निकालेको हो ।

निर्वाचन आयोगका आयुक्त एवम् आचारसंहिता अनुगमन समिति संयोजक रामप्रसाद भण्डारीको आदेशमा लेखिएको छ, ‘मिसिल संलग्न कागजातहरु र निज विश्वप्रकाश शर्माबाट पेश भएको स्पष्टीकरण जवाफ समेतबाट निर्वाचन आचारसंहिता २०७९ विपरीतको कार्य गरेको पुष्टि हुन आएको नदेखिंदा प्रस्तुत उजुरी तामेलीमा राखिदिने ठहर्छ ।’



source https://www.onlinekhabar.com/2022/11/1218418

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More