Friday 28 May 2021

कुन खोपको मूल्य कति पर्छ ? यस्तो छ संसारमा चलेका कोरोना खोपको नालीबेली

१५ जेठ, काठमाडौं । नेपालले गत फागुन महिनामा भारतको सेरम इन्स्टिच्यूटबाट कोभिड १९ विरुद्धको अक्सफोर्ड एन्स्ट्राजेनिका (कोभिशिल्ड) खोपको २० लाख डोज खरीद गर्ने निर्णय गर्यो । प्रति डोज ४ अमेरिकी डलरका दरले नेपालले उक्त कम्पनीलाई रकम भुक्तानी गरेकोमा १० लाख डोज आउनै बाँकी छ ।

भारत सरकारले खोप निर्यातमा रोक लगाएसँगै तत्काल नेपालले भारतीय कम्पनीबाट नयाँ खोप प्राप्त गर्ने सम्भावना देखिँदैन । बिहिबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले चिनिया समकक्षीसँग टेलिफोन संवाद गरी चीनमा उत्पादित खोप सहयोग गर्न तथा खरीदका लागि समेत सहजीकरण गरिदिन अनुरोध गरिन् ।

उसो त नेपालले रुसी खोप स्पुतनिक भी, भारतको कोभ्याक्सिन, अमेरिकाको जोन्सन एण्ड जोन्सन लगायतलाई स्वीकृति प्रदान गरिसकेको छ । त्यस्तै निकै प्रभावकारी मानिएका फाइजर, मोर्डेना लगायतका खोप खरीदको विकल्प पनि नेपालसँग छ । तथापि ती खोपहरुको मूल्य चाहीँ निकै चर्को पर्ने देखिन्छ । नेपालले खरीद गरिसकेको कोभिशिल्डको मूल्यमा अन्य खोपहरु प्राप्त हुन मुस्किल मात्र होइन असम्भव नै देखिएको छ ।

विश्व बजारमा कुन खोपको मूल्य कति ?

ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित रिपोर्ट अनुसार विश्वमा हालसम्म प्रयोगमा आएका कोभिड १९ विरुद्धका खोपको मूल्य समान त छैन नै एउटै खोपको मूल्य पनि देश अनुसार फरक रहेको छ । युरोपेली युनियनले प्रतिडोज २.१५ अमेरिकी डलरमा खरीद गरेको बेलायतमा उत्पादित अक्सफोर्ड एण्ड एस्ट्राजेनिकाको खोपलाई दक्षिण अफ्रिकाले ५.२५ अमेरिकी डलर तिर्यो भने बंगलादेशले ५ अमेरिकी डलर । अमेरिकाले चाहीँ उक्त खोपलाई प्रतिडोज ४ डलर तिर्ने गरेको छ । जबकी बेलायतमै उत्पादन हुने उक्त खोपको लागत नै ३ अमेरिकी डलर पर्ने बताइएको छ ।

भारतमा सेरम इन्स्टिच्यूटले उत्पादन गर्ने एस्ट्राजेनिका खोप भारतको केन्द्रीय सरकारलाई प्रतिडोज झण्डै २ डलर, राज्य सरकारहरुलाई प्रतिडोज झण्डै ४ डलर सम्ममा बिक्रि गरिरहेको छ । कम्पनीले यो खोपको २ डलर देखि ८ डलरसम्ममा बिक्रि गर्ने गरेको छ। नेपालले यसअघि प्रतिडोज ४ डलरमा यहीँ खोप किनेको थियो ।

अक्सफोर्ड एस्ट्राजेनिका खोपको प्रभावकारीता झण्डै ७० प्रतिशत हुने बताइएको छ । यो खोप कोरोना भाइरसको बेलायती तथा ब्राजिलियन भेरिएन्ट विरुद्ध प्रभावकारी भएतापनि दक्षिण अफ्रिकी भेरिएन्ट विरुद्ध खासै प्रभावकारी नहुने बताइन्छ ।

त्यस्तै अमेरिकामा उत्पादित भ्याक्सिन फाइजर बायो एनटेकको अमेरिकामै प्रतिडोज १९.५० अमेरिकी डलर पर्ने गरेको छ । उक्त भ्याक्सिनलाई युरोपेली युनियन सम्बद्ध मुलुकहरुले प्रतिडोज १४.५० युरो तिरिरहेका छन् । खोपको विकासमा लगानी गरेका कारण इयूका लागि फाइजर खोपको मूल्य कम पर्न गएको बताइएको छ ।

त्यस्तै बेलायतले फाइजरको खोपको प्रतिडोज १५ पाउण्ड तथा इजरायलले २२ पाउण्डसम्म तिरिरहेको बेलायती पत्रिका द विकमा उल्लेख छ । फाइजर खोप सबैभन्दा धेरै अर्थात् ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ । यो खोप लगाएका मानिसहरुमा कोभिड १९ बाट संक्रमित भई अस्पताल भर्ना हुने वा मृत्यु हुने सम्भावना लगभग शून्यप्रायः हुने दाबी गरिएको छ ।

मोडेर्ना खोप खरीदमा अमेरिकाले अनुदान दिएको हुँदा अमेरिकामा मोडेर्ना खोपको मूल्य केही सस्तो रहेको छ । अमेरिकामा प्रतिडोज करीब १५ डलर पर्ने मोडेर्नाको खोपका लागि युरोपेली युनियनका मुलुकहरुले १८ डलर तिरिरहेका छन् । अन्य विभिन्न मुलुकहरुमा यसको मूल्य २५ देखि ३७ अमेरिकी डलर पर्ने गरेको छ ।

यो खोपको प्रभावकारीता ९४.५ प्रतिशत रहेको र खोपले कोभिड १९ संक्रमित भई अस्पताल भर्ना तथा मृत्यु हुनबाट शतप्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ ।

अमेरिकी खोप जोन्सन एण्ड जोन्सन एउटामात्र डोज लगाउँदा पुग्ने खोप हो ।  अमेरिकामा यो खोपको मूल्य १४.५० डलर पर्ने रोयटर्सले उल्लेख गरेको छ । एक डोजमात्र लगाउँदा पुग्ने भएको हुनाले जोन्सन एण्ड जोन्सनको खोप अन्य अमेरिकी खोपहरु भन्दा सस्तो देखिएको छ । त्यस्तै अर्को अमेरिकी खोप नोभाभ्याक्सको अमेरिकामा प्रतिडोज १६ डलर तोकिएको छ । यो खोपको विश्वव्यापी क्लिनिकल ट्रायलबाट यसको प्रभावकारीता ६६ प्रतिशत देखिएको छ ।

यसबाहेक रुसी भ्याक्सिन स्पुतनिक भीको मूल्य पनि प्रतिडोज १० डलर तोकिएको छ । हंगेरीले प्रतिडोज ९.९५ मा किनेको स्पुतनिक भी खोप पाकिस्तानले चाहीँ दुई डोजको प्याकलाई ५४.३० डलरमा खरीद गरेको थियो। भारतले चाहिँ यो खोप प्रतिडोज ९९५ भारुमा खरीद गरेको छ ।  यो खोपको प्रभावकारीता ९१.४ प्रतिशत रहेको पाइएको छ ।

नेपालले प्रयोगका लागि अनुमति दिइसकेको भारतीय खोप कोभ्याक्सिनको मूल्य भारतीय बजारमा भारु १५० देखि १२०० सम्म पर्ने गरेको छ । विश्व स्वास्थ्य संगठनबाट स्विकृति पाइ नसकेको यो खोपको प्रभावकारता ७८ प्रतिशत हुने बताइएको छ ।

चिनियाँ खोपको विकल्प

विश्व स्वास्थ्य संगठनबाट स्विकृति पाउने पहिलो चिनिया खोप सिनोफार्मको मूल्य पनि देशगत रुपमा फरक फरक पाइएको छ । हालै बंगलादेशले प्रतिडोज १० डलरमा सिनोफार्म खोप खरीद गर्ने सम्झौता गरेको त्यहाँका सञ्चारमाध्यमहरुले बताएका छन् । सोही भ्याक्सिनलाई युरोपेली मुलुक हंगेरीले प्रतिडोज ३६ डलर तिरेको थियो । रोयटर्सका अनुसार अफ्रिकन मुलुक सेनेगलले प्रतिडोज १९ डलरमा सिनोफार्म खोप किनेको छ ।

यद्यपि सिनोफार्म खोप निर्माता कम्पनीले खोप खरीद गर्ने मुलुकसँग मूल्य लगायतका विषयमा गोपनियता शर्त सम्बन्धी सम्झौता गर्ने हुनाले सिनोफार्मको वास्तविक मूल्य एकिन गर्न कठीन हुने बताइन्छ । चीन सरकारले यसअघि नेपाललाई यो खोप ८ लाख डोज अनुदान दिइसकेको छ भने थप १० लाख डोज दिने घोषणा गरिसकेको छ । यो खोप ७९ प्रतिशत प्रभावकारी भएको बताइएको छ ।

चीनकै अर्को खोप सिनोभ्याकले कोरोना भ्याकको नामबाट खोप उत्पादन गरेको छ । यसलाई विश्व स्वास्थ्य संगठनले स्विकृति दिइसकेको छैन तथापि धेरै मुलुकहरुले यो खोप प्रयोग गरिसकेको छन् । यो खोपको मूल्य पनि प्रति डोज १० डलरकै हाराहारीमा पर्ने देखिएको छ । कम्बोडियाले उक्त खोप गत मार्च महिनामै प्रतिडोज १० डलरमा किनेको थियो भने ब्राजिलले सिनोभ्याक खोप १०.३० डलर प्रतिडोजमा किनेको छ । इण्डोनेसियाले भने प्रति डोज १४ अमेरिकी डलर तिरेको थियो । यो खोपको प्रभावकारीता ८३ प्रतिशत हुने क्लिनिकल ट्रायलबाट देखिएको छ ।

(बीबीसी, ब्रिटिस मेडिकल जर्नल, रोयटर्स, बायोस्पेस डटकम लगायतका एजेन्सीहरुको सहयोगमा)

यो पनि पढ्नुहोस नेपालमा कोरोना खोपः यी हुन् तपाईंले जान्नैपर्ने १० कुरा

source https://www.onlinekhabar.com/2021/05/961357

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More