११ माघ, काठमाडौं । खाना पकाउने ग्यास आयातमा नयाँ रेकर्ड कायम भएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट गत अंग्रेजी वर्षको अन्तिम डिसेम्बर महिना आयात भएको ग्यास हालसम्मकै धेरै भएको निगमका सहायक निर्केशक एवम् प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
सन् २०२१ को डिसेम्बर महिनामा निगमले भारतीय आयल कर्पोरेसनबाट ४९ हजार ८०४ मेट्रिकटन खाना पकाउने ग्यास आयात गरेको उनले बताए । जुन गत वर्षको समीक्षा अवधिको तुलनामा ८ हजार ९९५ मेट्रिकटनले धेरै हो भने अघिल्लो महिनाको तुलनामा ४ हजार १५५ मेट्रिकटनले बढी हो ।
सिलिण्डरमा हिसाब गर्दा यो महिना ३५ लाख ७ हजार १९७ सिलिण्डर ग्यास आयात भएको उपाध्यायले बताए । जुन गत वर्षभन्दा ६ लाख ३३ हजार ४२७ सिलिण्डरले बढी हो । समीक्षा अवधिको थप खपतको लागत मात्रै एक अर्ब ४० करोढ ६९ लाख रुपैयाँभन्दा धेरै हुने निगमले जनाएको छ । ‘मासिक औसत ४४ हजार मेट्रिकटन हाराहारीमा हुने आयात डिसेम्बरमा आएर आकासिएको छ । डिसेम्बरको आयात निगमको इतिहासमै अहलेसम्मकै उच्च हो,’ उपाध्यायले भने ।
यसअघि औसत मासिक २९ लाख सिलिण्डर हाराहारी ग्यासको खपत हुने गरेको थियो । कुल वाषिर्क खपतमा पनि अघिल्लो वर्षंको तुलनामा यस वर्ष ७३ हजार ४५१ मेट्रिकटन थप ग्यास आयात भएको निगमले जनाएको छ । सन् २०२० मा कुल चार लाख ४३ हजार १८७ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएकोमा सन् २०२१ मा कुल ५ लाख १६ हजार ६३८ मेट्रिकटन ग्यास आयात भएको छ ।
दुई वर्षको ग्यास आयात (हजार मेट्रिक टनमा)
वर्ष | जनवरी | फेब्रुअरी | मार्च | अप्रिल | मे | जुन | जुलाई | अगष्ट | सेप्टेम्बर | अक्टुबर | नोभेम्बर | डिसेम्बर | कुल आयात |
२०२० | ३९,१२७ | ४१,११६ | ४५,३०० | ३५,२१८ | ३१,६७७ | ३१,५७६ | ३०,८५३ | ३४,१४३ | ३८,५३० | ३६,१८४ | ३८,६५५ | ४०,८०९ | ४४३,१८७ |
२०२१ | ४६,०९० | ४१,२६७ | ४६,९८४ | ४२,१४३ | ४६,२६५ | ३५,९२५ | ३१,४५७ | ४२,६९१ | ४४,५४२ | ४३,८१९ | ४५,६४९ | ४९,८०४ | ५१६,६३८ |
यसअघि सन् २०२१ को मार्चमा अहिलेसम्मकै सबैभन्दा धेरै ४६ हजार ९८४ मेट्रिकटन खाना पकाउने ग्यास नेपाल भित्रिएको थियो । त्यसपछि सोही वर्षको मे महिनामा ४६ हजार २६५ मेट्रिकटन ग्यास आयात भएको निगमको वाषिर्क तथ्यांकमा देखिन्छ । सन् २०२० को मार्च महिनामा यसअघिकै उच्च ४५ हजार ३ सय मेट्रिकटन ग्यास आयात भएको थियो ।
भन्सार विभागले जारी गरेको चालु आर्थिक वर्षको ६ महिनाको वैदेशिक व्यापारको विवरणमा पनि धेरै आयात हुने तेस्रो वस्तुको रुपमा खाना पकाउने ग्यास परेको छ । चालु आवको पुस मसान्तसम्म नेपालले २९ अर्ब २३ करोडको ग्यास खरिद गरेको थियो ।
थपियो भार
अघिल्लो वर्षको तुलनामा खाना पकाउने ग्यासको मूल्यमा भएको वृद्धिसँगै खपत पनि बढ्दा अतिरिक्त आर्थिक भार बढेको निगमले जनाएको छ । एक सिलिण्डर ग्यास आयातका लागि अहिले निगमले दुई हजार २२१ रुपैयाँ १६ पैसा खर्च गर्नु परेको निगमका प्रवक्ता उपाध्यायले बताए । निगम अहिले पनि एक सिलिण्डरमा ६४६ रुपैयाँ १६ पैसा घाटामा रहेको भन्दै उनले बढ्दो आयातले निगमलाई पेट्रोल र डिजेलले भन्दा पनि ग्यासले ठूलो नोक्सानीमा पारेको बताए ।
कूल वाषिर्क ग्यास आयात अघिल्लो वर्षभन्दा थप ५१ लाख ७२ हजार ४१९ सिलिण्डर ग्यास थप हुँदा आयात लागत ११ अर्ब ४८ करोड भन्दा धेरै पुगेको प्रवक्ता उपाध्यायले बताए । ‘गत वर्षभन्दा यस वर्ष ग्यास खरिदमा थप साढे ११ अर्ब निगमले लगानी गरेको छ,’ प्रवक्ता उपाध्यायले भने, ‘अहिले चुलिएको ग्यासको मात्रै मासिक सवा दुई खर्बको घाटाले हामी थप दबाबमा परेका छौं ।’ देशमा बिजुली खेर जाने अवस्थाका बीच बढेको आयातित ऊर्जाको खपतले चिन्ता थपिएको उनको भनाइ छ ।
ग्यास खपत किन बढ्यो
ग्यासको खपत बढ्नुमा अलिकति औद्योगिक खपत वृद्धि र धेरै भने घरायशी खपत नै भएको निगमले जनाएको छ । गत वर्षभन्दा यो वर्ष थप ४२० मेट्रिकटन ग्यास औद्योगिक खपतमा जाने गरेको निगमले जनाएको छ ।
स्टिल उत्पादक कम्पनीहरु आरती र पञ्चकन्याले यो वर्षदेखि फलाम पगाल्ने भट्टी तताउन ग्यासको प्रयोग गर्न थालेको प्रवक्ता उपाध्यायले बताए । दुई कम्पनीले मासिक ३५ मेट्रिकटन ग्यास औद्योगिक प्रयोजनमा खर्च गर्ने गरेको निगमले जनाएको छ ।
यसबाहेक बाँकी घरायसी उपभोक्ता खपत पनि बढेको पाइएको निगमको भनाइ छ । ग्यास उद्योगीहरुका अनुसार बिजुली खपत बढाउने भनेर सरकारले जति नै चर्चा गरे पनि ग्यास प्रयोगको लोकपि्रयता उस्तै छ ।
शहरी क्षेत्रमा विद्युतीय चुल्होको प्रयोग बढे पनि ग्रामिण क्षेत्रमा ग्यासको खपत फराकिलो बन्दै गएको उद्योगी गोकुल भण्डारीले बताए । नेपालमा हरेक वर्ष औसत २० प्रतिशत ग्यासको खपतमा वृद्धि रहेको उनले दाबी गरे । ‘शहरमा पनि खपत उस्तै छ, गाउँ-गाउँमा ग्यासको बिक्री फैलिने क्रम पनि राम्रो भएको छ,’ उद्योगी भण्डारीले भने ।
पछिल्लो समय ग्रामिण क्षेत्रका ग्राहकका लागि ग्यास बिक्री गर्ने उद्योगहरुको प्रतिफल पनि बढ्दै गएको उनले बताए । नेपालमा कूल घर संख्याको २८ प्रतिशतले मात्रै ग्यास प्रयोग गर्ने गरेको र यो दायरा अझै फराकिलो हुँदै जाने विश्वास भण्डारीको छ ।
कमजोर विद्युतीय पूर्वाधार
स्वदेशमा उत्पादन भएको बिजुली खेर जाने समस्या बढ्दै जानु र ग्यास आयात बढ्नुको मुख्य कारण देशको नीति निर्माताको अल्प ज्ञान भएको विज्ञको आरोप छ ।
बिजुली उत्पादनमा लगानी गर्नुपर्छ भन्ने नीति निर्माताले बिजुलीको वितरणको पूर्वाधार चाहिन्छ भन्ने हेक्का नराख्नु दुर्भाग्य भएको ऊर्जाविद् प्राध्यापक डा. जगननाथ श्रेष्ठ बताउँछन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक अन्तर्गतको ऊर्जा अध्ययन केन्द्रको प्रमुखको रुपमा लामो समय ग्यासको सट्टा बिजुली चुल्हो प्रयोगमा आफूले पहल गरे पनि नीति निर्माताले चासो नदिएको उनले बताए ।
नेपालीले खाना बनाउने समयमा बिजुली जाने अहिलेको समस्याले उपभोक्ता अझै पनि ग्यासलाई पहिलो विकल्पमा राख्न बाध्य भएको उनको भनाइ छ । ‘बिहान ७ बजेदेखि ९ र बेलुकी ७ बजेदेखि ९ मा अहिले पनि कयौं पटक झ्याप्प झ्याप्प बिजुली जाने समस्या छ, यस्तो पूर्वाधार र व्यवस्थापनमा कसरी जनताले बिजुली बाल्छन् ?’ श्रेष्ठले प्रश्न गरे ।
ग्यासमा गरिएको लगानीको ठूलो हिस्सालाई बिजुली पूर्वाधार बलियो बनाउन खर्च नगर्ने हो भने ग्यासको लोकपि्रयता अझै बढ्न सक्ने उनको अनुमान छ । प्रयोगका लागि ग्यास जत्तिकै सरल र सहज बिजुली हुने पूर्वाधारमा लगानी अत्यावश्यक भए पनि नीति निर्माताको मौनता रहस्यमय भएको उनले बताए ।
source https://www.onlinekhabar.com/2022/01/1069760
0 comments:
Post a Comment