Thursday, 20 January 2022

‘यस्तो पीडा कुनै सुत्केरीलाई नदेऊ भगवान भनेर प्रार्थना गरें’

मेरो नाम शीतला शाही हो । म दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिका वडा नंं. १ सिराडी निवासी हुँ । म २२ वर्षकी भएँ । मैले अहिलेसम्म तीन सन्तानलाई जन्म दिएँ । पहिलो सन्तान छोरो थियो तर जन्मिने वित्तिकै बित्यो । त्यो बेला हामी भारतको मुम्बईमा बस्थ्यौं ।

मैले १६ वर्षकै उमेरमा विवाह गरेकी हुँ । श्रीमान्को नोकरी (जागिर) त्यहीं थियो । पहिलो सन्तान बितेपछि एक वर्षपछि हामी नेपाल फर्कियौं । हाम्रो दोस्रो बच्चा यहीं जन्मिएको थियो । निकै अप्ठ्यारो समस्याका बीचमा दोस्रो सन्तान हुर्काउन सफल भयौं ।

तेस्रो सन्तान पनि छोरो नै जन्मियो । भगवानको दशा भनौं कि के भनौं, बाँचेन । के गर्नु नौ महीना कोखमा राखेर निकै पीडा भोगेर जन्मदिएको छोरो बचाउन नसक्दा बैराग (चिन्ता) लागेर आउँछ ।

१६ साउन २०७८ मा बाबु जन्मिएको हो । त्यसको ठीक चार दिन पहिला मलाई सुत्केरी व्यथा लागेको थियो । हातखुट्टा निकै गल्थे (दुख्थे) । १६ गते दिउँसो १ बजेतिर घरकै गोठमा बाबुलाई जन्म दिएकी हुँ । घरमै सुत्केरी भएपछि धेरै रगत बग्यो । साल निस्किएन । गाह्रो भएपछि स्ट्रेचरमा राखेर मलाई अस्पताल लगे । अस्पतालमा साल निस्कियो । रगत बग्न पनि कम भयो । त्यसपछि साँझ घर फर्कियौं ।

एक हजार रुपैयाँ दिएर गाडी निकालिदिन भन्यौं । तर यतिबेलासम्म बच्चाको मृत्यु भइसकेछ । बाहिर पानी परिरहेको थियो । आफ्नै काखमा सन्तानको मृत्यु हुँदा यो आमालाई कस्तो भयो होला ?

अनि बाबु बिराम भयो । रातभरि गोठको चिसोले होला बाबुको अवस्था झन् जटिल बन्दै गयो । १७ गते बिहानै बाबुलाई अस्पताल लग्यौं । साथमा श्रीमान् पनि हुनुहुन्थ्यो । तर ठाँटीकाँध स्वास्थ्य केन्द्रमा उपचार सम्भव भएन । अवस्था थप जटिल बनेपछि त्यहाँबाट सुर्खेत लैजान भनियो । मलाई छाँगाबाट खसे जस्तो भयो । सुर्खेत जान गाडी खोज्यौं तर कतै पाएनौं । अस्पतालको एम्बुलेन्स भन्दा त्यहाँका मान्छे (कर्मचारी) ले बिग्रिएको छ भने । बिहान १० बजेदेखि गाडी खोज्दा खोज्दै दिउँसो ३ बज्यो । हिंडेर सुर्खेत जान सम्भव थिएन ।

पछि थाहा भयो एम्बुलेन्स बिग्रिएको रहेनछ । एम्बुलेन्स चालक किशोर हाम्रै गाउँका थिए । त्यही एम्बुलेन्समा सुर्खेततिर लाग्यौं । साउनको महीना ठाउँठाउँमा सडक बिग्रिएको थियो । एकातिर भर्खर सुत्केरी भएको शरीर झनै दुखिरहेको थियो । अर्कातिर छोराको चिन्ताले पिरोलेको थियो । पटक–पटक एम्बुलेन्स हिलोमा धसिन्थ्यो । पातल खोलामा गाडी ननिस्किने गरी फस्यो । त्यो बेला रातिको नौ बजिसकेको थियो ।

एक हजार रुपैयाँ दिएर गाडी निकालिदिन भन्यौं । तर यतिबेलासम्म बच्चाको मृत्यु भइसकेछ । बाहिर पानी परिरहेको थियो । आफ्नै काखमा सन्तानको मृत्यु हुँदा यो आमालाई कस्तो भयो होला ? त्यो म के भनुँ । रातिको ११ बजिसकेको थियो । नजिकैको एउटा होटलमा बस्यौं । एकातिर बाबु वितेको छ, अर्कातिर भर्खरै सुत्केरी भएकी मलाई झनै असह्य पीडा भइरहेको थियो ।

भोलिपल्ट बिहानै किशोर र श्रीमान् गएर बाबुलाई कर्णालीको किनारमा गाडेर आउनुभयो । होटलको बार्दलीमा बसेर रुनु बाहेक मसँग केही उपाय थिएन । जिन्दगीमा यस्तो पीडा कसैले भोग्नु नपरोस् भनेर भगवानसँग प्रार्थना गरें । अनि विरक्तिएको भारी मन बोकेर घर फर्कियौं । घर जाँदा पनि पाउनुसम्म दुःख पायौं । तीन दिनको सुत्केरी म गाडी नपाइएपछि चार घण्टाको पैदल बाटो हिंड्नु पर्‍यो । १०० भन्दा बढी ठाउँमा बस्दै जाँदा रातिको ९ बजे घर पुगें ।

अनि उही गोठमै बसें । हाम्रो गाउँमा सुत्केरी भएका बेलामा घरमा बस्न पाइँदैन । चुलो छुन पाइँदैन । सुत्केरी भएको १२ दिनसम्म घरमा बसे, चुलो छोए, देवी/देउता रिसाउँछन् । बिसन्चो हुन्छ, काम सफल हुँदैन । घरपरिवारका मान्छेहरू बिरामी पर्छन् । घरमा आगलागी हुन्छ, वनमा गएका गाईबस्तु बाघले खाइदिन्छ, भैंसीले दूध दिंदैन, घरमा सर्प आउँछ भन्ने मान्यता छ ।

गोठमा एक्लै बस्दा निकै पीडा हुन्छ । मनले इच्छाएको खान पाइँदैन । तातो कपडा ओढ्न पाइँदैन । कसैले हात समेत लगाउँदैन, सहयोग त परको कुरा । अत्यासलाग्दो रात, गोठको चिसो । छोरो बितेको चिन्ताले छट्पटिन्थें । १२ दिनपछि चोखिएँ, (ब्राह्मणबाट शुद्धिकार्य गरेर) गहुँत खाएँ अनि सुनपानी छर्किएर घर गएँ ।

दैवको लीला हामी गरीबलाई त भगवानले पनि हेर्ने रहेनछ । गाउँमै राम्रो अस्पताल र बाटो बनेको भए मेरो बाबु बित्ने थिएन । यो मेरो मात्रै समस्या हैन, हाम्रा गाउँका सबैले यस्तै अवस्था भोग्नु परेको छ ।

(दैलेख ठाँटीकाँध गाउँपालिकाकी शीतला शाहीसँग अनलाइनखबरकर्मी यज्ञ खत्रीले गरेको कुराकानीमा आधारित ।)



source https://www.onlinekhabar.com/2022/01/1068312

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More