Thursday, 25 March 2021

संकटमा मुख्यमन्त्रीलाई साथ दिएकाहरुलाई मन्त्री

१३ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । साबिकको नेकपाको विवादमा प्रचण्ड-माधव समूह छाडेर ओलीतिर लागेका तथा एमाले ब्युँतिएपछि माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई समेटेर मुख्यमन्त्री राईले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुको सपथ शुक्रबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ । सपथग्रहण दिउँसो १ बजे हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका टंक आङबोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

साबिकको नेकपामा विवाद हुँदा माधवकुमार नेपाल समूह छाडेर ओलीतिर लागेकी प्रदेशसभा सदस्य उषाकला राई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनेछिन् ।

एमाले र साबिकको नेकपामा माधवकुमार नेपाल समूहमा रहेका शेरबहादुर तामाङ र उषाकला दम्पती अहिले ओली समूहमा छन् ।

यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानालाई मन्त्री बढाइएको छ । एमालेबाट सांसद बनेका उनी माधवकुमार नेपाल समूह निकट थिए । तर साबिकको नेकपा विभाजित हुँदा ओली समूहमा लागेका उनले प्रचण्ड-माधव समूहले ल्याएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिएनन् ।

यस्तै भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङलाई पनि मन्त्रीको जिम्मेवारी दिइएको छ ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर नाम फिर्ता लिएकी उदयपुरकी सांसद् कला घले र नेपाल समूह छाडेर ओलीतिर लागेका मोरङका राजकुमार ओझालाई राज्यमन्त्री जिम्मेवारी दिइएको छ । घलेलाई कृषि र ओझालाई वन तथा वातावरण राज्यमन्त्रीकाे जिम्मेवारी दिइएको छ ।



source https://www.onlinekhabar.com/2021/03/940794

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More