जीवनका ४० वर्ष प्रमोद प्रधानले दौडधूपमै विताए । राष्ट्रिय समाचार समितिको पत्रकारको हैसियतमा सधैं व्यस्त ‘सेड्युल’मा रहे । त्यही रफ्तारबीच आफ्नो सिर्जनशील लेखनलाई जारी राखे ।
सुन्दा अचम्म लाग्छ, त्यही सक्रिय पत्रकारिताका बीच प्रमोदको नाममा ३२ थान पुस्तक प्रकाशित भए । एक वर्षदेखि सक्रिय पत्रकारिता छाडेका उनी कोरोनाकालदेखि ‘नेपाली यात्रा साहित्यको इतिहास’ लेख्न जोडतोडले लागेका छन् । यसका लागि चाहिने नियात्राका पुस्तक तथा सन्दर्भ-सामग्री भेला पार्ने काम गरिरहेको उनले सुनाए ।
उमेरले ६२ कटेका प्रमोद सक्रियतालाई नै जीवनको अर्को नाम मान्छन् । साहित्य र पत्रकारितामा पाँच दशक अनवरत कलम खियाएका यी लेखक सुनाउँछन्, ‘बिरामी हुँदाबाहेक अरू समय एकदिन पनि यसै बसेको याद छैन ।’
फुर्तिलो तन र उत्साहित मनका प्रमोदको नाममा कविताका चार, अनुसन्धानका आठ तथा बाल साहित्यका २१ थान पुस्तक प्रकाशित छन् । आफ्नो सृजनाकै बलमा उनी एक अब्बल कवि, निबन्धकार र बाल साहित्यकारका रूपमा परिचित छन् ।
यसबाहेक आधा दर्जन साहित्यिक संस्था तथा पत्रकारको प्रशिक्षक भएर काम गरेको अनुभव छ, उनीसँग ।
विरासत विराटनगर !
आकाशवाणी अफिसमा जागिरे पिता डिगमप्रसाद प्रधान र आमा गंगादेवीका कान्छो सन्तान प्रमोद २०१५ असोज १५ गते विराटनगरमा जन्मिए । पत्रकारिताको सिलसिलामा २०६० देखि काठमाडौं बसे पनि मनले सधैं विराटनगर खोजिरहेको उनी सुनाउँछन् ।
सञ्चार क्षेत्रमै काम गर्ने पिता भएकाले प्रमोदको पढाइमा कुनै रोकटोक भएन । पाँच वर्ष पुग्दानपुग्दै उनलाई विद्यालय भर्ना गरियो । पिताको सरुवा हुँदा केही समय जलेश्वर बसे पनि उनी विराटनगरकै विद्यालयमा पढे ।
कक्षा ६ मा पढ्दा बालदिवसका दिन कविता सुनाउने भइसकेका प्रमोेद एसएलसी दिंदासम्म नियमित कविता, निबन्ध लेख्न थालिसकेका थिए ।
त्यसो त बाल्यकालदेखि अहिलेसम्म दुईवटा चिज समान रहेको उनी सुनाउँछन् । त्यो हो- ‘साहित्य’ र ‘जीउडाल’ ।
‘म केटाकेटीदेखि आजसम्म दुब्लो र छरितो ज्यानकै छु । आजसम्म शरीर भद्दा भएको थाहा छैन’, हलुङ्गो हुँदै प्रमोद सुनाउँछन् ।
२०२९ सालमा एसएलसी दिएपछि उनी व्यवस्थापन (तत्कालीन कमर्स) पढ्न थाले । कमर्समै स्नातक उत्तीर्ण गरेपछि ६ महिना जुट विकास तथा व्यापार संस्थानमा काम गरे । उनको मनले लेख्न-पढ्न पाउने जागिर खोजिरहेको थियो ।
त्यतिबेला नै राष्ट्रिय समाचार समिति (रासस) ले करार कर्मचारी खोजिरहेको थियो । लेख्न-पढ्न पाउने क्षेत्रमा काम खोजिरहेका प्रमोद राससमा आवद्ध भए ।
राससमा जागिरका लागि अन्तरवार्ता दिंदा जीवनका ३१ वर्ष त्यहीं विताउँला भन्ने नसोचेको उनी सुनाउँछन् । प्रशिक्षार्थी पत्रकार भएर २०३५ सालमा रासस प्रवेश गरेका उनले प्रधानसम्पादक भएर २०६५ फागुनमा अनिवार्य अवकाश लिए ।
राससमा रहँदा एक वर्ष जलेश्वर र डेढ वर्ष नेपालगञ्ज बसे । त्यसबाहेक विराटनगर नै बसेर पत्रकारिता गरे । अहिले भने कोटेश्वर महादेवस्थानमा रहेको ‘सृजना-सृष्टि’ मा बस्दै आएका छन् उनी ।
आफूलाई विराटनगरले सबैथोक दिएको बताउने प्रमोद भनिरहेका हुन्छन्, ‘जहाँ रहे पनि विराटनगरको माटो र आत्मीय सेरोफेरो बिर्सन सक्दिनँ ।’
साहित्य भर्सेस पत्रकारिता
१७ वर्षको उमेरमा आफैंलाई थाहा नभई प्रमोदको नाममा ‘रातभरिका सुस्केराहरू’ कवितासंग्रह प्रकाशित भएछ । कुमारबहादुर श्रेष्ठले काठमाडौं आएको बेला प्रमोदका डेढ दर्जन कविता र दीपक आलोकका गीत राखेर पत्तै नदिई संग्रह छापिदिएछन्
१७ वर्षको उमेरमा आफैंलाई थाहा नभई प्रमोदको नाममा ‘रातभरिका सुस्केराहरू’ कवितासंग्रह प्रकाशित भएछ । जिल्लाकै कुमारबहादुर श्रेष्ठले काठमाडौं आएको बेला प्रमोदका डेढ दर्जन कविता र दीपक आलोकका गीत राखेर पत्तै नदिई संग्रह छापिदिएछन् ।
यसभन्दा अगाडि २०२९ फागुन ७ गते विराटनगरमा आयोजित सार्वजनिक सभामा कविता सुनाएर उत्साही बनेका प्रमोदले यसपछि मञ्चमा कहिल्यै पछाडि बस्नुपरेन ।
‘विराटनगरमा कतिपटक कविता सुनाएँ कुनै हिसाब छैन’, उनी सम्झन्छन् ।
साहित्यमा निकै उत्साही भएर लागेका उनका रासस प्रवेशसँगै व्यस्त दिन शुरू भए । राससमा दिउँसोदेखि साँझसम्म कार्यालयमा बस्नुपथ्र्यो । ‘रासस विराटनगरले पूर्वी नेपालको लागि बुलेटिन निकाल्थ्यो’ उनी सुनाउँछन्, ‘त्यहाँ काठमाडौंबाट आएका समाचार छान्नेदेखि आफैं लेख्ने र सम्पादन गर्नेसम्म काम हुन्थ्यो ।’
२०५० पछि उनले पत्रकारिताको प्रशिक्षक भएर पनि बेलाबेला काम गरे । ‘मोरङमा पत्रकारिताको अर्धशताब्दी’ र ‘रासस समाचार आलेख’ सम्पादन गरे ।
तर, कवि मनका प्रमोद सूचनाको पुलिन्दा मात्र बोकेर बसिरहन सकेनन् । जुन गतिमा पत्रकारिता गरे, त्यही गतिमा साहित्य लेखे । सुरूमा कविता लेख्थे त्यसपछि निबन्ध र बाल साहित्यतर्फ उनको कलम फैलियो ।
कवितापछि २०३८ मा उनको समालोचना ‘नेपाली साहित्य : आजका सन्दर्भमा’ तथा २०४० मा ‘केही अध्ययनः केही अनुसन्धान’ प्रकाशित भयो ।
२०४४ सालमा प्रज्ञा प्रतिष्ठानमा भएको बाल साहित्यको कार्यशालामा भाग लिने अवसरले उनको जीवनमा अर्को मोड ल्यायो । तालिम लिएको समयदेखि उनले अहिलेसम्म निरन्तर बाल साहित्य लेख्दै आएका छन् । यसक्रममा बहुल विधाका दुई दर्जन बाल साहित्य पुस्तक प्रकाशित छन् ।
पत्रकारिता र साहित्यको सन्तुलन गर्नुपरे पनि पत्रकारिताले लेखनलाई जग दिएको उनी स्वीकार्छन् । ‘राससमा छापिएको समाचारको सबै जोखिम आफैं लिनुपथ्र्यो’ उनी सुनाउँछन्, ‘यही कारण कसिलो भाषामा सत्य-तथ्य समाचार लेख्ने बानी पर्यो ।’
राससमै रहँदा फ्रान्स, चीन, कतारको भ्रमण गर्ने अवसर पाए । त्यसले गर्दा ती देशको कला-साहित्य प्रत्यक्ष बुझ्न पाए । फ्रान्सको विश्वविख्यात समाचार एजेन्सी ‘एएफपी’मा एक महिने पत्रकारिता तालिम लिन पाए ।
राससबाट अवकाश लिएपछि काठमाडौंबाट प्रकाशित हुने आर्थिक अभियान दैनिकसँग एकदशक आबद्ध भए ।
साहित्यिक अन्वेषक !
साहित्यको शुरूआतदेखि नै प्रमोदमा नयाँ काम गर्ने हुटहुटी थियो । यही सोचिरहेका उनी एकदिन साहित्य लेखेर मात्र नेपाली साहित्यको उन्नयन नहुने निचोडमा पुगे ।
यसपछि नेपाली साहित्यको अभिलेखीकरण र इतिहास संकलन गर्न थाले । साहित्यिक अनुसन्धानका महत्वपूर्ण दस्तावेजका रूपमा उनका नेपाली यौनकथा, नेपाली निबन्धको इतिहास, नेपाली बाल साहित्यको इतिहास प्रकाशित भए । अहिले ‘नेपाली यात्रा साहित्यको इतिहास’ लेखनको अन्तिम चरणमा छन् ।
साहित्यिक खोजतलास गर्ने आफ्नो रुचिमाथि उनको सदाबहार कथन छ- ‘अपडेट लिन अल्छी मान्दिनँ ।’
युवावस्था विराटनगरमै रहँदा पनि अग्रज स्रष्टाहरूसँग हातेमालो गरेर हिंड्थे । त्यहाँ ‘युवा साहित्यिक परिवार’ गठनदेखि, देवकुमारी थापाका रचना सारिदिनेसम्म काम गरे ।
यसबाहेक केदारमान व्यथित, महानन्द सापकोटा, बीपी कोइरालाले दिएको अटोग्राफ सुरक्षित राखेका छन् उनले । यसैबाट साहित्यको अग्रज पुस्तालाई प्रमोदले गर्ने श्रद्धा झल्कन्छ ।
नेपालमा साहित्यिक अनुसन्धान सरकारी निकायले गर्ने परम्परा छ । व्यक्तिले गर्दा पनि कुनै निकायबाट विद्वत्वृत्ति लिने चलन छ । तर बाल साहित्य र निबन्धको इतिहास व्यक्तिगत प्रयासमा प्रकाशित गरेको उनी सुनाउँछन् ।
साहित्यकारबाहेक रसिलो, हँसिलो र फुर्तिलो रहनु प्रमोदको परिचय हो । नेवारी संस्कारमा हुर्किए पनि रक्सी र चुरोटको अम्मल छैन । परिचितहरू वर्षौंदेखि उनलाई उही सदाबहार ठाँटमा देखेको बताउँछन् ।
कवि शैलेन्द्र साकार प्रमोदलाई आफ्नो उत्तरदायित्व पूरा गर्ने वचनबद्ध स्रष्टा मान्छन् । यस्तै नाटककार अशेष मल्ल प्रमोदलाई शालीन व्यक्तित्वका अध्ययनशील स्रष्टा मान्छन् । अशेष भन्छन्, ‘सृजना गर्ने मात्र नभई नेपाली साहित्यलाई मिहिन अध्ययन गरी समीक्षा गर्ने क्षमता प्रमोदमा छ ।’
साहित्यिक ग्राफमा प्रमोदको रेखा कहिल्यै वक्र भएन । बरु प्रत्येक वर्ष पुस्तक सार्वजनिक गरेर उनी साहित्यवृत्तलाई चकित बनाइरहन्छन् ।
यी सबै काम गर्न कहाँबाट उत्साह आउँछ ? नयाँ पुस्ताले उनलाई सोधिरहेको हुन्छ ।
‘रुचिको काममा लाग्यो भने थकाइ नलाग्ने रहेछ’, जवाफमा प्रमोद यस्तै भनिरहेका हुन्छन् । अनि कहिल्यै निष्त्रिmय जीवन नबाँच्ने अठोटका साथ साहित्यिक कर्ममा होमिइरहन्छन् ।
उनले जीवन र कवितालाई दाँजेर दुई दशकअघि लेखेको कविता-
जीवन कविता जस्तो किन हुँदैन !
म फूललाई हेर्छु
र, फूलसँग जीवनलाई दाँज्छु
मभित्र एउटा प्रश्न उम्रन्छ-
जीवन फूल जस्तो सुन्दर किन छैन ?
नदी प्रवाहपूर्ण वेगमा बगिरहेको छ
म जीवनलाई त्यही नदी जस्तै बाँचेको हेर्न खोज्छुÙ
तर, मभित्र एउटा विरोध बोल्छ-
जीवन नदी जस्तै प्रवाहमय किन छैन ?
मानिसका अनुहारमा अनेक पीडा बोलिरहेछ
जीवन पीडित अनुहारझैं असहाय बाँचिरहेछ
हुन त जीवन उज्यालो दीपशिखा हुनुपर्ने हो
म आफैंसँग बहस गरिरहेछु-
जीवन दीपशिखा झैं उज्यालो किन छैन ?
साँच्चै,
म आफैँसँग प्रश्न गरिरहेछु-
जीवन फूल जस्तै सुन्दर किन छैन ?
जीवन नदी जस्तै प्रवाहमय किन छैन ?
जीवन दीपशिखा झैं उज्यालो किन छैन ?
म आफैंसँग बहस गरिरहेछु
जीवन यात्रा जस्तै रोमाञ्चकारी किन छैन !
जीवन संगीत जस्तै सुरिलो किन छैन !
जीवन कविता जस्तो किन हुँदैन !
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
source https://www.onlinekhabar.com/2021/03/941064
0 comments:
Post a Comment