१३ चैत, काठमाडौं । स्टार सिटी युवा क्लब कैलालीले अपराजित यात्रालाई निरन्तरता दिने क्रममा बिहीबार कर्णाली प्रदेशको लेकाली युवा क्लबलाई ७-१ ले पराजित गरेको छ ।
नेपालगन्ज रंगशालमा भएको एकतर्फ खेलमा स्टारका लागि रुपबहादुर लामाले व्यक्तिगत सर्वाधिक ५ गोल गरे । म्यान अफ द म्याच रुपबहादुरले ३६, ५५,६५,८२ र ८६ औ मिनेटमा गोल गरे ।
टोपबहादुर विष्टले ६६औं र ऋतिक खड्काले ९१औं मिनेटमा गोल गरेका थिए । लेकालीका लागि रोशन रानामगरले ९औं मिनेटमा एक गोल गरेका थिए ।
खेलमा सर्वाधिक गोल गर्ने रुपबहादुर लामालाई लुम्बिनी प्रदेश फुटबल संघका वरिष्ट उपाध्यक्ष अजितराज भण्डारीले पुरस्कृत गरे । जितसँगै स्टार सिटी १३ अंकसहित लिग अंक तालिकको शीर्ष स्थानमा छ ।
स्टारले ५ खेलमा ४ मा जित र १ खेल बराबरी खेलेको छ । तालिकाको पुछारमा रहेको लेकालीले ५ खेलमा १ खेलमा बराबरी र ४ खेलमा हारको सामना गर्दै १ अंकमात्र जोड्न सकेको छ ।
चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन ।
अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गरिरहेका छन् ।
source https://www.onlinekhabar.com/2021/03/940746
0 comments:
Post a Comment