Monday, 10 January 2022

एकीकरणको नाममा भिराइएको बिल्ला

अनेकौं स–साना राज्यमा विभाजित भएको तत्कालीन भूगोललाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकरण गरेर आधुनिक नेपाल निर्माण गरेको ‘इतिहास’ विद्यालयदेखि विश्वविद्यालयसम्म रटाउने, घोकाउने क्रम यथावत् चलिरहेकै छ । तर राज्यले संस्थागत तवरमा पृथ्वीनारायण नेतृत्वको अभियान नेपाल एकीकरण थियो कि गोरखा राज्य विस्तार भन्ने विषयमा भने बहस गराउन चाहेको पाइँदैन । आजसम्म ‘एकीकरण’को एकोहोरो रटान बाहेक इतिहासको यथोचित समीक्षा भएको छैन । गर्न चाहेको पनि देखिंदैन ।

त्यही बनिबनाउ भाष्यलाई विस्तारित गर्दै अहिलेसम्म पनि जबर्जस्त भनाइएको छ, पृथ्वीनारायण शाह राष्ट्रनिर्माता हुन् । पाठ्यपुस्तक र इतिहासमा अझै पनि लेखन–पठन चलिरहेकै छ– पृथ्वीनारायण शाहले भुरे–टाकुरे राज्यलाई मिलाएर विशाल र एकीकृत नेपालको निर्माण गरे ।

इतिहासले किन कहिल्यै भुरे–टाकुरे राज्यको संस्कार, संस्कृति लगायत विविध सकारात्मक पाटोहरूको खोजी गरेन ? गोरखा राज्य विस्तारको क्रममा भएका अनेकन् इतिहास, भाषा, संस्कृतिमाथिको बलमिच्याइँ, उत्पीडन र अत्याचारबारे इतिहास किन मौन छ ? त्यसका साथै निश्चित जाति र समुदायमाथि सधैं राज्यले अक्षमताको बिल्ला भिराउने भाष्यको वितरण किन गरिरह्यो ? यसरी प्रश्न गर्नु पनि आजको दिनमा अपराध जस्तो भएको छ । तर के आजको दिनमा यस विषयमा गम्भीरतापूर्वक समीक्षा गर्ने समय आएन र ? इतिहासमा जातकै कारण, भिन्न संस्कृति र परिचयका कारण भएको अनेकौं भेदभाव, विभेद र दोहोरो व्यवहार बारेको बहसलाई फेरि पनि निषेध गर्न मिल्छ र ?

इतिहासलाई हेरेर कसैले बदला लिने भाव राख्दछ भने त्यो गलत सावित हुन्छ, तर इतिहासको पुनरावलोकन हुन जरूरी छ । आजको समयमा इतिहासका विभिन्न कालखण्डमा शासकहरूले गरेको अन्याय र अत्याचारको बहस गर्न पाउनुपर्छ । त्यो दायित्व राज्यले लिनुपर्छ ।

०००

विरुदावली जसरी लेख्ने, लेखाउने गरिएको इतिहासको पानाहरूमा उल्लेख भए अनुसार वि.सं. १७९४ मा गोरखाका राजा नरभूपाल शाहले काजी महेश्वर पन्थ र सरदार जयन्त रानामगरको नेतृत्वमा नुवाकोटमाथि आक्रमण गर्न पठाए । उक्त युद्धमा मौलो गाड्ने जिम्मा काजी महेश्वर पन्थको थियो । महेश्वर पन्थले मौलो गाड्न नसकेपछि गोरखाली फौज नुवाकोटबाट गोरखा फर्कियो । फर्किने क्रममा जयन्त राना आफ्ना मगर सैनिकहरूको सहायताले त्रिशूली नदीमाथिको काठको पुल भत्काउन लागे, नुवाकोटले गोरखालीमाथि आक्रमण नगरून् भनेर ।

गोरखाली फौजलाई छाडेर एक्लै गोरखा पुगेका महेश्वर पन्थले जयन्त विरुद्ध गोरखा दरबारमा चुक्ली लगाए । मगरहरूको ढिलासुस्तीको कारणले नुवाकोटमा गोरखाली सेनाको हार भएको पोल लगाए । नरभूपालले विना पुर्पक्ष जयन्त रानालाई गोरखा नपुग्दै पदच्यूत गरिदिए । नगरेको अपराधको सजाय पाएपछि जयन्त राना आफ्ना मगर सहकर्मीहरूसँग नुवाकोट गई बस्न थाले, कान्तिपुरे राजा जयप्रकाशसँग मिलेर ।

पृथ्वीनारायणको गोरखा विस्तार अभियानमा दलितहरू बिसे नगर्ची, जसवीर कामी, मणिराम गाइने, कालु सार्की, बाङ्गे सार्की आदिको भूमिका निकै महत्वपूर्ण थियो । गोरखा राज्य विस्तार अभियानमा बिसे दमाई पृथ्वीनारायणको सहयात्री मात्र थिएनन्, सल्लाहकार पनि थिए । बिसेले पृथ्वीनारायणलाई गोरखा राज्यमा सङ्कट पर्दा जनतासँग कर उठाउन र कालु पाण्डेलाई काजी तोक्न समेत सुझाव दिएका थिए । बिसे युद्धमा सैनिकहरूलाई हौसला दिन नगरा बजाउने र आइपरेको खण्डमा सैनिकको भूमिका समेत निर्वाह गर्दथे ।

वि.सं. १९६६ ताका बाङ्गे सार्की आफ्नो घरायसी सामग्री लिन भारतको शहर बेतिया पुगेको समयमा ब्रिटिश अफिसरले उनलाई ठूला आश्वासनहरू दिंदै नेपाल जाने बाटो देखाउन आग्रह गरे । उनले लोभको पछि नलागी आफ्नो मातृभूमिप्रति लगाव देखाउँदै ब्रिटिश अफिसरको आदेश अस्वीकार गर्दा मृत्युवरण नै गर्नुपर्‍यो । तर, सत्ताको भागेदारीमा दलितहरूले कहिल्यै स्थान पाएनन् । तर, धर्मशास्त्रको व्याख्या गर्नेहरू देशको महान् हस्तीका रूपमा इतिहासका पानामा स्थान ओगट्न सफल रहे ।

देशमा राणाशासनको उदय पश्चात, वि.सं. १९१० मा राणा प्रधानमन्त्री जंगबहादुरले मुलुकी ऐन निर्माण गरी कानून मार्फत नै जनजाति र दलित समुदायमाथि अक्षमताको बिल्ला लगाइदिए । ऐनले वर्णव्यवस्थामा नअटाउने छुट्टै भाषा, संस्कृति, धर्मका जनजातिहरूलाई समेत हिन्दू वर्णव्यवस्थाको नियम भित्र हालेर नियमन गर्‍यो । मुलुकी ऐनले जनजातिहरूलाई मासिन्या र नमासिन्या गरी दुई भागमा वर्गीकरण गर्‍यो ।

देवराज गुरुङ

पृथ्वीनारायणले बसालेको हिन्दू राज्यलाई बलियो बनाउन जंगबहादुरले जनजातिमाथि हिन्दू संस्कार नमानेको भन्दै मृत्युदण्ड समेत दिए । यसको ज्वलन्त उदाहरणको रूपमा दशंै नमानेको भन्दै, १९३३ सालमा धनकुटाका रामलिहाङ र रिदाम आठपहरिया राईलाई दिएको मृत्युदण्डलाई लिन सकिन्छ । त्यसका साथै जनजातिहरूलाई हिन्दू परम्परा अनुसार दशंै अनिवार्य गर्ने र प्रमाणस्वरूप बलि चढाएको पशुको रगतको पञ्जाछाप घरको ढोकामा अनिवार्य गराइयो ।

त्यस्तै दलितहरूमाथि पानी चल्ने र नचल्ने गरी तहगत रूपमै छुवाछूतलाई झन् बलियो रूप दियो । दण्ड–सजाय समेत जात अनुसार फरक–फरक थियो । बढी दण्ड सजाय तिर्नुपर्ने र भोग्नेहरूमा दलित र जनजातिहरू नै थिए । जंगबहादुरको समयमा काठमाडौं उपत्यकामा दलितहरू घाम अस्ताएपछि घाम नउदाउँदासम्म शहर पस्न पाउँदैनथे । मधेशीको अवस्था उस्तै थियो । इतिहासको कालखण्डहरूमा मधेशी समुदायको योगदान त्यति भेटिंदैन । किनभने मधेशीहरूलाई राज्यसत्ताले मानिसको दर्जा दिएको थिएन ।

२००७ सालमा स्थापना भएको प्रजातन्त्रले पनि जात व्यवस्था उन्मूलन गर्न सकेन । कारण सयौं वर्ष लगाएर वर्णव्यवस्थामा आधारित व्यवस्थित हिन्दू राज्य निर्माण गरिसकिएको थियो । उपल्लो जातका भनिएकाहरूले समेत बोल्न सक्ने अवस्था थिएन उनीहरूको मस्तिष्कमा राणाशासनको हाउगुजीले डेरा छाडिनसकेको कारण । प्रजातन्त्रको जग बलियो हुन नपाउँदै राजा महेन्द्रले पञ्चायती (२२ पुस, २०१७ – चैत २०४६) व्यवस्था लादे ।

पञ्चायतकालमा राज्यको प्रत्यक्ष लगानीमा कथित नेपालीकरणको अभियान चलाइयो । राष्ट्रिय पोशाक, फूल, पन्छी, जनावर, भाषा, संस्कृतिको नाममा एकल पहाडे संस्कृतिलाई बलियो बनाउने काम भयो । संगीत, कविता समेत त्यस्तै किसिमको निर्माण गरियो । विद्यालयको पाठ्यक्रमहरूमा राजा–रानीको तस्वीर राख्ने । एकोहोरो इतिहास रटाइयो । बडामहाराज, एकीकरणको पिता (पृथ्वीनारायण), राष्ट्रपिता (त्रिभुवन) आदि । पञ्चायतकालमा ढाका टोपी लगाएको फोटो र नेपाली भाषा बोल्न नसक्नेलाई नागरिकता नदिने अघोषित नियम बनाइयो । राष्ट्रियता बलियो बनाउने नाममा गीत–संगीत र साहित्यको माध्यमबाट फेरि उत्पीडित समुदायमाथि चर्काे प्रहार शुरू भयो ।

महेन्द्रले २०२४ सालमा चलाएको गाउँ फर्क राष्ट्रिय अभियानले आदिवासी जनजाति, दलित, मधेशीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दबाउन भूमिका निर्वाह गरेको पाइन्छ । कर्मचारी लगाएर, गाउँलेलाई नेपालको महानता र गोरखाली वीर गाथा सिकाउने, नेपाली भाषा बोल्न र साहित्य पढ्न प्रोत्साहन गर्ने, राजतन्त्रको महिमा गाउन लगाउने । साहित्य दरबारबाट संरक्षण पाएका मानिसहरूले मात्र लेख्दथे । उनीहरू पनि पहाडी हिन्दू संस्कृति र शासकहरूको मनोविज्ञानबाट प्रभावित थियो । अनि भन्ने गरिन्थ्यो साहित्य हिमाल, पहाड, झरना हेर्दै लेख्ने कला हो ।

त्यति मात्र होइन विभिन्न कालखण्डमा सुन्दरताको भाष्य समेत आफू अनुकूल निर्माण गरियो । कस्तो मान्छे राम्रो ? नाक लामो भएको, दाह्रीवाला, आँखा खोपिल्टो परेको । कस्तो नराम्रो ? चिम्सो आँखा भएको, मधेशी जस्तो कालो, दमाई–कामी जस्तो आदि । आज पनि कुनै दलितको घरमा राम्रो छोरी वा छोराको जन्म भयो भने, कस्तो बाहुनी वा बाहुन जस्तो राम्रो भन्ने र बाहुनको घरमा नराम्रो जन्मियो भने कस्तो दमै–कामी जस्तो भन्ने प्रचलन समाजमा व्याप्त छ ।

०००

पृथ्वीनारायण शाहको क्रियाकलापलाई राज्य एकीकरणको नाम दिए तापनि खासमा तथ्यहरूले वर्णव्यवस्थामा आधारित हिन्दू राज्य निर्माण अभियान नै थियो भन्ने कुराको पुष्टि गराउँछ । त्यसको उत्कर्षमा जङ्गबहादुरले निर्माण गरेको मुलुकी ऐन त्यसैको नियमितताको अर्काे रूप थियो । कानूनी रूपमै छुवाछूत र विभेदलाई संस्थागत गर्नको लागि मुलुकी ऐन निर्माण गरेको पाइन्छ । महेन्द्रले पञ्चायती शासन मार्फत गरेको अर्काे अन्याय त्यसैको नयाँ रूप थियो ।

यसरी शताब्दीऔंदेखि राज्यले जनजाति, मधेशी, दलित समुदायमाथि चरम शासन गर्दै अक्षमताको बिल्लाहरू भिराउँदै आए । जनजातिहरूलाई राज्य र शासकहरूको नजिक राखे पनि कहिल्यै राज्यको प्रमुख पदमा अवसर दिइएन । दलितहरूले राज्यसत्तामा आफ्नो उपस्थिति राख्ने हैसियत नै पाएनन् । मधेशीहरूलाई त झन् चुरेको डाँडो समेत उक्लने अवसर थिएन ।

०००

राज्यले इतिहास पढाउने नाममा हालसम्म एकथरी विजेता, शासक समुदायको इतिहास मात्र जबर्जस्त रटाउने गरेको छ । आज पनि यस देशको उच्च जातका मानिस बाहेक अमूक जातका मानिसले इतिहास लेख्यो भने त्यो इतिहासले वैधानिकता पाउँदैन । इतिहासलाई हेरेर कसैले बदला लिने भाव राख्दछ भने त्यो गलत सावित हुन्छ, तर इतिहासको पुनरावलोकन हुन जरूरी छ । आजको समयमा इतिहासको विभिन्न कालखण्डमा शासकहरूले गरेको अन्याय र अत्याचारको बहस गर्न पाउनुपर्छ । त्यो दायित्व राज्यले लिनुपर्छ । त्यसैले इतिहासको समीक्षा गर्दैगर्दा साँच्चै पुस २७ राष्ट्रिय एकता दिवस हो कि राज्य विस्तार भन्ने विषयमा अबको पुस्ताले खुलेर बहस गर्नै पर्छ ।

(लेखक त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रमा एमफिल–पीएचडी  अध्ययनरत छन् ।)



source https://www.onlinekhabar.com/2022/01/1064230

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More