२७ पुस, पोखरा । शाहवंशीय राजा पृथ्वीनारायण शाहको ३ सयऔं जन्मजयन्तीका अवसरमा मंगलबार साँझ पोखरामा दीप प्रज्वलन गरिएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले शाहको नाममा गरिएको दीप प्रज्वलन त गर्यो तर, नेपालका प्रथम शहीद लखन थापाको शालिकमुनि !
शहीद लखन थापाको शालिकमुनि किन पृथ्वीनारायण शाहको नाममा दियो बालियो त ? यसको कारण थाहा पाउन झण्डै डेढ दशकअघिको समयमा फर्किनुपर्छ ।
पृथ्वीराजमार्ग अन्तर्गत पर्ने उक्त ठाउँमा हाल लखन थापाको शालिक ठड्याइएको भए पनि यो चोक पृथ्वीचोककै नामले परिचित छ ।
जनआन्दोलन ०६२/६३ मा तत्कालिन माओवादीले पृथ्वीनारायण शाहको शालिक ढाल्दै लखन थापा चोक नामाकरण गरेको थियो ।
तर, स्थानीय चुनावपछि पोखरा महानगरले ०७४ असोज ९ गते रातारात डोजर चलाएर थापाको शालिक ढाल्यो । चोकले ठूलो भूभाग ओगटेको र ट्राफिक जाम बढेको भन्दै शालिक भत्काएको मेयर मानबहादुर जिसीले तर्क गरेका थिए ।
तर, नेपाल मगर संघसहितका विभिन्न जनजाति समुदाय महानगरले शालिक ढालेर आफूहरुको अपमान गरेको भन्दै विरोध जनाएका थिए । उनीहरुले महानगरले पुनः लखनको शालिक नठढ्याए आफैं निर्माण गर्ने चेतावनी दिएपछि महानगर पछि हटेको थियो ।
भत्काएको २४ घन्टाभित्रै त्यहाँ शहीद लखन थापाकै शालिक राख्ने सहमति भयो । तर, क्षत्री समाजले भने उक्त सहमतिको विरोध गरेको थियो । महानगरमै अनसन बस्न पुगेका आन्दोलित क्षत्री समाजका प्रतिनिधिसँग मेयर जिसीले फेरि त्यहाँ कुनै शालिक नराख्ने सहमति गरे ।
एकै पटक दुईथरि सहमति गरेपछि विवाद झन् चर्किएको थियो । दुवै पक्षको मन बुझाउन महानगरले अर्को उपाय निकाल्यो, पोखराकै सराङकोट, जामुनबोटमा शहीद पार्क निर्माण गर्ने र पोखरा उपत्यकामा भएका सबै शालिक त्यहाँ लगेर राख्ने ।
महानगरको उक्त निर्णय पनि लामो समय कार्यान्वयनमा आउन सकेन । फलस्वरुप मगर समुदायको अगुवाइमा पुनः ०७५ फागुन १ गते राति पृथ्वीचोकमै लखन थापाको शालिक उभ्याइयो । हाल महानगरको योजना अनुसार सराङकोटमा शहीद पार्क पनि बनिसकेको छ । तर, जनजाति समुदायबाट विरोध हुने भएकाले पृथ्वी/लखन थापा चोकबाट शालिक हटाउन भने सकेको छैन ।
मंगलबार सोही चोकमा रहेको लखन थापाको शालिकमुनि राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको नेतृत्वमा पृथ्नीनारायण शाहको जन्मजयन्तीका अवसरमा दीप प्रज्वलन गरिएको हो । संगठनका कास्की उपाध्यक्ष मनिष केसीले आफूहरु पृथ्वीचोकमा पृथ्वीनारायणकै शालिक राख्ने विषयमा कुराकानी भइरहेको बताएका छन् । उनले हाल रहेको लखन थापाको शालिकलाई हटाउनुपर्ने जिकिर गरे ।
‘यो चोकमा पृथ्वीनारायणकै शालिक राख्नुपर्छ । उहाँकै सम्झनामा हामीले दीप प्रज्वलन गरेका हौं,’ उनले भने, ‘बरु त्यहाँबाट लखन थापाको शालिक ससम्मान शहीद पार्कमा लैजानुपर्छ ।’
पोखरा महानगरपालिका-१८ सराङकोट, जामुनबोटमा बनाइएको शहीद पार्कले ५६ रोपनी जग्गा ओगटेको छ । हाल उक्त पार्कमा पृथ्वीनारायण शाह र दिवंगत पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीको पूर्णकद, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, जनआन्दोलन ०६२/६३ का प्रथम शहीद भीमसेन दाहाल, योगेन्द्रमान शेरचनलगायतको अर्धकदको शालिक स्थापना गरिएको छ ।
शहीद पार्क बनाउन हालसम्म २ करोड रुपैयाँ खर्च भइसकेको पार्क संरक्षण, व्यवस्थापन समितिका सदस्य सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । योजना अनुसार पोखराका अन्य शालिकहरु किन स्थानान्तरण नगरिएको भन्ने प्रश्नमा उनी भन्छन्, ‘सोचेरमात्रै पनि नहुँदो रहेछ । यसमा सम्बन्धित निकायले नै अग्रसर हुनुपर्ने रहेछ ।’
सदस्य सचिव तिमिल्सिनाले यस वर्ष महानगरले बजेट नछुट्याएका कारण पनि शालिकहरु स्थानान्तरण गर्न ढिलाइ भइरहेको जानकारी दिए । ‘अहिले पार्कको टिकटका लागि २ करोडको ठेक्का गएको छ । त्यसको आम्दानीले अरु काम गर्न सहज हुने विश्वास लिएका छौं,’ उनले भने । पृथ्वीचोकमा रहेको लखन थापाको शालिक स्थानान्तरण गर्न पनि महानगर कार्यपालिका बैठकबाटै निर्णय भए सहज हुने उनको भनाइ छ ।
source https://www.onlinekhabar.com/2022/01/1064696
0 comments:
Post a Comment