Thursday, 26 January 2023

‘ऋणमा बनाएका परियोजना सेतो हात्ती बन्दैछन्’

देशको विकास अभियानमा सबैभन्दा ठूलो समस्या विधि र पद्धति मास्ने प्रवृत्ति भयो । दुई-चार जना अमूक व्यक्तिहरूको मनोमानीले देशको विकास अघि बढाउने परम्परा बस्यो । यो नै सबैभन्दा बढी त्रुटिपूर्ण भयो ।

खासगरी दक्षिणएशियामा राजनीतिज्ञले पत्याएका सीमित अर्थविज्ञहरूको सोचबाट मात्रै देशको आर्थिक विकास हुन्छ भन्ने ढंगबाट काम भइरहेका छन् । २०४८ सालदेखि नै हाम्रो आवश्यकता के हो र प्राथमिकता के हुन् भन्ने कुरामा अलमलको अवस्था रहृयो ।

केही राम्रो भएन भन्न खोजेको हैन, कैयौं राम्रा काम पनि भएका छन्, देशको राजस्व कहाँबाट कहाँ पुग्यो । तर, त्यसको आधार रेमिट्यान्स रहृयो, आयातमा रहृयो । देशभित्र हुने उत्पादन त बढेन । देशभित्र त उत्पादन नै छैन । यस्ता समस्या समाधान गर्न र आत्मनिर्भर अर्थतन्त्र बनाउन भन्दै अघि बढेका परियोजना पनि प्रतिफलमुखी भएनन् ।

एउटा पक्ष हेरौं, यातायात क्षेत्रको गुरुयोजना देशसँग छैन । हवाई, सडक, रेलका आ-आफ्ना योजना छन्, तर समग्रमा त्यसको ‘मास्टर प्लान’ छैन । यस्तो नहुँदा अहिले पूर्व-पश्चिम रेलमार्गसँगै ऋण लिएर पूर्वपश्चिम राजमार्ग चार लेन बनाउने काम हुँदैछ । भोलि रेल पनि ऋणकै पैसामा चल्ला । तर, एउटा पूर्वाधार बनाउँदा त्यसको आवश्यकता र औचित्य हेरेर समग्रतामा प्राथमिकता छुट्याएर ऋणका परियोजनाहरू बन्नुपर्छ ।

हाम्रो राष्ट्रिय विकासको दृष्टिकोणमा कहीं न कहीं त्रुटि छ । सुधारका लागि काम गर्नुपर्ने योजना आयोग नै राजनीतिको छायाँमा छ । योजना आयोगले नै विकासका मामिलामा आफ्नो अडानहरू राख्न सकेको छैन ।

हाम्रोमा आयोजनाको प्राथमिकीकरणमा जहिले पनि समस्या रहृयो । योजनाको प्राथमिकीकरण पूरै राज्यले गर्नुपर्छ र त्यसलाई सबैले स्वीकारेर काम गर्नुपर्छ । एउटा सरकारको मात्रै प्राथमिकता भन्ने हुनुहुँदैन ।

कसैलाई प्रष्ट रूपमा थाहा छैन कि पोखरा र भैरहवामा हाल सालै बनेका विमानस्थलहरू हाम्रो लागि कति आवश्यक हुन् । त्यत्रो ऋण लिएर ती परियोजना अहिले नै बनाउनुहुन्थ्यो कि हुँदैनथ्यो वा अन्यत्रै अर्को विमानस्थल बनाउनुपथ्र्यो ? अबको १० वर्षपछि बनाएको भए के फरक पथ्र्यो ? यस्ता प्रश्नको वस्तुपरक र तथ्यगत जवाफ सरकारसँग भएपछि मात्रै यी परियोजना बन्नुपर्ने थियो कि ?

हामीले हाम्रा योजनाहरूको प्राथमिकीकरण ठीकसँग गर्छौं कि गर्दैनौं, त्यसका आधारमा मात्रै ऋण लिने कि नलिने भन्ने कुराको समर्थन वा विरोध हुन्छ । ठीकसँग हामीले गर्‍यौं भने जोखिम कम हुन्छ, ठीकसँग गरेनौं भने जोखिम बढेर ऋणप्रतिको बुझाइ नै नकारात्मक हुन जान्छ

हाम्रो निजी क्षेत्र पनि पूर्वाधार बनेपछि त्यसबाट लाभ लिने पक्षमा जसरी आफ्नो शक्ति लगाएर लाग्नुपथ्र्यो, त्यो हुनसकेको छैन । यी विमानस्थल चलाउने वातावरणमा निजी क्षेत्र तयार छ त ?

हाम्रो देशमा विकासलाई जनतासँग र आर्थिक/सामाजिक लाभसँग जोड्ने काममा हामी चुकिरहेका छौं । मानौं, कुनै सडक बन्यो भने त्यसले कृषि, उद्योग, खानी वा पर्यटनलाई कति असर/प्रभाव पार्‍यो भन्ने तथ्य/तथ्यांक हामीसँग छैन ।

अहिले पनि कृषकलाई गाउँबाट शहरमा उत्पादन ल्याउन सकस छ, तर हाम्रो सडकको लम्बाइ त बढेको बढ्यै छ । पूर्वाधारमा भएको लगानीले दिनुपर्ने प्रतिफल किन जनतासँग जोडिन सकेन ? यो पक्षलाई हामीले विचार-विश्लेषण नै गरेका छैनौं । उत्पादन भएका ठाउँलाई प्राथमिकता दिएर बाटो पुर्‍याउनुपर्ला, यात्रुको चाप भएका क्षेत्रमै विमानस्थलहरू बनाउनुपर्ला ।

हामीले प्राथमिकता पहिचान नगरी परियोजना बनाउँदैछौं । पोखरा विमानस्थल बनाउँदा नै हामीले यो कारणले यो पूर्वाधार चाहिन्छ र यसले यो-यो फाइदा दिन्छ भन्ने कानुनी दस्तावेज नै बनेको छैन जस्तो लाग्छ ।

हामीले विश्व बैंकको ऋण लिएर ढल्केबरदेखि लहानसम्म राजमार्ग चार लेन बनाउँदैछौं । अब त्यहींबाट रेलमार्ग पनि बन्दैछ, भोलि त्यो बाटोले प्रतिफल दिन्छ कि दिंदैन ? चार लेन आवश्यक छ कि छैन होला ?

त्यसभन्दा तल हुलाकी राजमार्ग छ, माथि चुरे क्षेत्रमा मदन भण्डारी राजमार्ग बनाइँदैछ । त्यसभन्दा माथि मध्यपहाडी राजमार्ग छ । अब हिमाली राजमार्गको चर्चा छ । यस्ता परियोजना आवश्यक पनि होलान्, तर परियोजनालाई छनोट गर्दा पर्याप्त आधार राखेर प्राथमिकता दिएर लगानी गर्नुपर्ने हो ।

कुनै अधिकारप्राप्त अधिकारीले हस्ताक्षर गरेलगत्तै त्यो आयोजना प्राथमिकतामा हुने र त्यसलाई नै प्राथमिकता प्राप्त मान्नुपर्ने अवस्था सही हैन । अध्ययन, छलफल, समन्वय र कार्यान्वयनको ढाँचाका आधारमा प्राथमिकता तोकेर मात्रै परियोजना अघि बढाउनुपर्छ ।

राष्ट्रिय गौरवका आयोजनाहरू त ठूला छलफलका विषय हुनुपर्छ । पर्यटन, कृषि, उद्योग, व्यापार, पर्यावरण, ऊर्जासहित सबै क्षेत्रमा त्यस्ता परियोजनाले दिनसक्ने सबै खालका लाभका आधारमा निष्कर्षमा पुग्नुपर्छ ।

कहिलेकाहीं राज्यले थोरै जोखिम लिएर पनि परियोजना विकास गर्ने निर्णय गर्न सक्छ । तर, त्यस्तो निर्णय गर्ने आधार भने औचित्यपूर्ण र विश्वसनीय हुनुपर्छ । हाम्रोमा राष्ट्रिय सोच र अठोटका आधारमा दस्तावेज बनाएर काम गर्ने परिपाटी नबस्दा ऋणका परियोजनामाथि जनताकै तहबाट प्रश्न गर्ने अवस्था आयो । व्यक्ति-विशेषका चाहना बनेका परियोजनाले भोग्ने नियति राम्रो हुँदैन ।

दाताहरूले नेपालले तिर्न सक्छ भन्ने आधारमा हामीलाई ऋण दिएका हुन् । विश्व बैंक र एशियाली विकास बैंकलगायतका दातालाई सबैभन्दा राम्रोसँग ऋण तिर्ने देशको सूचीमा नेपाल अघि छ । ऋण तिर्न समस्या हुँदैन भन्दैमा आवश्यक नै नभएका परियोजनामा ऋण स्वीकार्ने काम गर्नुहुँदैन । दाताले ऋण दिन चाहेको क्षेत्र हैन, हामीलाई सबैभन्दा पहिला के आवश्यकता छ, त्यसको निष्कर्ष निकालेर ऋण लिने थिति बसाउनुपर्छ ।

तर, यसका लागि राष्ट्रिय योजना आयोग शक्तिसम्पन्न हुनुपर्छ । प्रधानमन्त्रीको मुख ताक्ने भन्दा पनि राष्ट्रिय आवश्यकता र क्षमताको आधारमा परियोजना अघि बढाउने बाटोमा आयोगले काम गर्नुपर्छ । योजना आयोगले नाम र उद्देश्यअनुसार काम गर्न नपाएसम्म यस्तो भइरहन्छ । योजना आयोग सीमित व्यक्तिले विश्वास गरेका सीमित व्यक्तिहरूको ‘थिंक ट्यांक’ भयो, मुलुकको ‘थिंक ट्यांक’ नै भएन ।

आयोगमा पार्टीका मान्छेहरू राख्ने काम भयो । तर, सक्षम व्यक्ति खोजेर ल्याएर जिम्मा दिने प्रचलन नै भएन । राजनीतिले प्रदूषित बनाएकाले देशभित्र त्यस्ता विज्ञहरू पाइँदैनन्, विदेशमा स्वच्छ भएर काम गर्न सक्ने नेपाली धेरै छन् । उनीहरूलाई अवसर नै दिन खोजिएन ।

अहिले ऋणका परियोजना नै सेतो हात्ती भए भनिन्छ । यो त जागिर र उद्यम नहुँदै बिहे भएर बच्चा पाए जस्तै हो । त्यसले त थप समस्या ल्याउँछ नै । यो शैलीबाट गयौं भने हामी जुनसुकै बेला अप्ठेरो अवस्थामा पुग्छौं । देशको अहिलेसम्मको आर्थिक, सामाजिक परिवेश र सम्भावना हेर्दा मुलुक ऋणमै डुब्ने स्थिति त नआउला । तर, यस्तो प्रवृत्तिले अप्ठेराहरू ल्याउँछन् ।

भोलि हामीले चीनको ऋण तिर्न सकेनौं भने उसले जे भन्यो त्यही गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्छ ? हामी टाट पल्टिन लाग्यौं भने त अन्तर्राष्ट्रिय दबावहरू पनि सहनुपर्ने हुनसक्छ । हामी कमजोर भयौं भने पश्चिमाहरूको दबाव र प्रभाव बढ्न सक्छ ।

त्यसैले त्यस्तो दिन आउन नदिन हाम्रो आन्तरिक गृहकार्य दह्रो हुनुपर्‍यो । हामीले पर्याप्त अध्ययन, तयारी र योजना विना गरिएको लगानीले काम दिंदैन । लगानी सही ठाउँमा परेन भने त जहिलेसुकै समस्या आउन सक्छ । योजनाहरूको प्राथमिकीकरणमै हाम्रो खोट छ, राजनीति प्रेरित छ, अरूको स्वार्थ प्रेरित मात्रै छ भने त्यसले समस्या सिर्जना गर्छ भन्नेमा के सन्देह रहन्छ र ?

हामीले हाम्रा योजनाहरूको प्राथमिकीकरण ठीकसँग गर्छौं कि गर्दैनौं, त्यसका आधारमा मात्रै ऋण लिने कि नलिने भन्ने कुराको समर्थन वा विरोध हुन्छ । ठीकसँग हामीले गर्‍यौं भने जोखिम कम हुन्छ, ठीकसँग गरेनौं भने जोखिम बढेर ऋणप्रतिको बुझाइ नै नकारात्मक हुन जान्छ । त्यसैले राष्ट्रिय आवश्यकताका आधारमा प्राथमिक ठहर भएका परियोजनामा ऋण लिऔं । व्यक्ति, पार्टी र समूहविशेषलाई ठीक लागेका भरमा ऋण लिने संस्कृति अन्त्य गरौं ।

(पूर्व भौतिक पूर्वाधार सचिव कडरियासँग अनलाइनखबरका रवीन्द्र घिमिरेले गरेको कुराकानीमा आधारित ।)

 



source https://www.onlinekhabar.com/2023/01/1253988

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More