कोरोना भाइरसबारे थाहा भए पनि कोभिड-१९ हाम्रालागि नितान्त नयाँ रोग हो । यसका क्लिनिकल पार्टहरु धेरै छन् । त्यसमा अहिले म जाँदिनँ । आज म पब्लिक हेल्थको पाटोबाट केही कुरा गर्छु ।
यसमा आजको दिनमा र एक महिनाअघि पनि हामीले जान्नुपर्ने तीनवटा प्रश्न महत्वपूर्ण थियो ।
पहिलो, हामीकहाँ संक्रमण कति छ या छैन ?
दोस्रो, हामी संक्रमणको जोखिममा कति छौं ?
इटली, युरोप वा अमेरिकामा देखिएको जस्तै हो कि कतिपय मानिसहरुले अन्दाजमा भने जस्तो नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता बढी छ र हामीमा जोखिम छैनौं । यो अलिक जटिल र बहुआयामिक प्रश्न हो । किनिकी यसको विज्ञानसम्मत र प्रमाणित उत्तर हामीसँग छैन ।
र तेस्रो, नेपालमा संक्रमण फैलिने नै हो भने त्यसको रोकथाम र नियन्त्रणको प्रभावकारी उपाय के हो ?
यिनै प्रश्नहरुको उत्तर खोज्न हामीले एउटा अध्ययन गरेका छौं । सामान्यतया विज्ञानमा यस्ता प्रश्नहरुको उत्तरहरु खोज्न सुरुमा एउटा थ्योरी बनाइन्छ । वस्तुनिष्ट पृष्ठभूमिमा राखेर यो यस्तो हुनुपर्ने, त्यस्तो हुनुपर्ने, यस्तो हुन्छ होला भनेर आफ्नो इन्फर्म ओपेनियन (सुसूचित विचार)का आधारमा एउटा थ्योरी बनाइन्छ । कतिपय अवस्थामा त्यसलाई कि त फिल्डमा, कि ल्याबमा एक्सपेरिमेन्ट (परीक्षण) गर्न लैजान्छौं । यो अध्ययनमा फिल्डमै गएर परीक्षण गर्न सक्ने अवस्था थिएन । किनकी यसका लागि देशको आधा भागलाई नियन्त्रणको उपाय लगाउने र आधामा नलगाउने, अनि कस्तो हुन्छ भनेर हेर्नुपर्छ ।
त्यसैले हामीले ‘म्याथम्याटिकल मोडिलिङ स्टडी’ गरेका छौं । हामीले काठमाडौं उपत्यकालाई एउटा मोडलमा राखेर संक्रमण रोकथाम र नियन्त्रणको उपाय अपनाउँदा के हुने रहेछ भनर हेर्यौं । यो म्याथम्याटिकले निर्धारण गर्छ । यो रोगबारे हामीले अहिलेसम्म थाहा पाएकाहरु कुरा लिन्छौं । जस्तो, चीनबाट के सिक्यौं, इटालीबाट के सिक्यौं ? अमेरिकाबाट के सिक्यौं ? यसको संक्रमण दर कति रहेछ ? एउटा व्यक्तिले अर्को व्यक्तिलाई कति फैलाउँदो रहेछ ? कति दिनमा फैलिँदो रहेछ ? सामान्यतया कति मानिसलाई लक्षण देखिँदोरहेछ ? कति मानिसलाई अस्पताल जानु पर्ने रहेछ ? यिनै विषयमा अहिलेसम्म भएका अनुसन्धानलाई लियौं र काठमाडौंको जनसंख्याअनुसार ढाल्यौं ।
चीनको जनसंख्या र नेपालको जनसंख्याको बनोट फरक छ । हाम्रो उमेर समूह पनि फरक छ । हामीले अहिलेसम्म जानेको पनि के हो भने समाजको बनोट कस्तो छ, त्यसले कति मान्छेमा संक्रमण फैलिने, कति मान्छेमा लक्षण देखिने सबै कुराहरुमा फरक पार्छ । त्यसैले काठमाडौंको जनसंख्याअनुसार ढाल्यौं ।
अनि रोकथामका उपायहरु लकडाउन, सामाजिक दुरी र परीक्षण गर्दा कतिको प्रभावकारी हुँदोरहेछ भनेर बाहिर पाएका वैज्ञानिक आधारहरुलाई हाम्रो परिप्रेक्ष्यमा ढाल्यौ । र, हाम्रो म्याथम्याटिकल मोडलमा हाल्यौं । त्यहाँबाट हामीले विशेषगरि तीनवटा कुरा हेर्न चाहृयौं ।
पहिलो, एक महिना लकडाउन गर्दा के भयो ? यसलाई दुई महिना बनाउँदा के हुन्छ ?
दोस्रो, लकडाउन बन्द गरेर एक वर्षसम्म सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, हात धुने जस्ता सुरक्षा उपाय अपनाउँदा के हुन्छ ?
र तेस्रो, व्यापक रुपमा टेस्ट सँगसँगै आइसोलेसन र कन्ट्याक ट्रेसिङ गर्दा के हुन्छ ?
हाम्रो अध्ययनले के देखायो भने कुनै एक उपायले सम्भावित महामारी टार्न सकिँदो रहेनछ । महामारी टार्न तीनवटै उपायको महत्वपूर्ण भूमिका हुन्छ ।
सुरुमा लकडाउनको कुरा गरौं । हाम्रो अध्ययनले के देखायो भने सीमा र हवाई उडान पनि बन्द भएका कारण लकडाउनले संक्रमणको संख्या बढ्न दिएको छैन । हामीले अध्ययनका क्रममा लकडाउन अगाडि एउटा निश्चित संख्यामा संक्रमित छ भन्ने मानेर हेर्दा अहिले त्यो संख्या घटेको देखिन्छ । लकडाउनका कारण सुपर स्पेडिङ अर्थात कुनै एउटा ठाउँमा एउटा संक्रमितबाट धेरैमा सर्न पाएको छैन । यसका साथसाथै सम्भावित माहामारीको उत्कर्षलाई पनि पछाडि धलेकेको छ ।
यदि हामीले एक महिना -३० दिन) लकडाउन गर्यौं भने महामारी ३६ दिन जति पछाडि धकेलिने रहेछ । लकडाउनलाई ६० दिन बनाउने हो भने महामारी ७४ दिन पछाडि धकेल्दो रहेछ । तर एक वर्ष पछाडि गएर हेर्ने हो भने खासै फरक नपर्ने रहेछ संक्रमितहरु त्यति नै बढ्ने रहेछन् । सम्भावित मृत्यु त्यति नै हुने रहेछन् । अस्पताल भर्ना हुनेहरुको संख्या उत्तिकै हुने रहेछ ।
त्यसपछि हामीले एक महिनापछि लकडाउन कायम नराख्ने तर वर्षभरी फिजिकल डिस्ट्यान्स (सामाजिक दुरी) कायम राख्दा के हुन्छ भनेर हेर्यौं । त्यसो गर्दा सम्भावित मृत्यु एक तिहाइ घट्दो रहेछ । अस्पतालमा भर्ना गर्नुपर्ने, आईसीयू र भेन्टिलेटर चाहिने विरामीहरुमको सख्या दुई तिहाइले घट्दो रहेछ । यसका बाबजुद महामारीमा मानिसहरु मृत्यु हुने सम्भावना रहन्छ ।
यदि एक महिनाको लकडाउनसँगै द्रुत गतिमा एक्टिभ केस खोज्यौं, घरघरमा गएर परीक्षण गर्यौं भने सम्भावित मृत्युलाई २५ प्रतिशत घटाउन सकिँदो रहेछ ।
तर, ३० दिनको लकडाउनपछि वर्षभरि फिजिकल डिस्ट्याण्स कायम राख्ने, सिनेमा हल, विद्यालय र अन्य भिडभाड हुने क्षेत्रहरु नखोल्ने र व्यापक टेस्ट गर्ने गर्यौं भने संक्रमितको संख्यासँगै स्वास्थ्य सेवाको आवश्यकता पनि ९९ प्रतिशत घटाउन सकिने रहेछ । तर त्यो गर्नलाई प्रत्येक दिन संक्रमितको संख्या ५ प्रतिशत पत्ता लगाउनुपर्छ । अर्थात यदि काठमाडौंमा १०० संक्रमित छन् भने प्रत्येक दिन ८ जना पत्ता लगाउनुपर्छ । ५ प्रतिशतभन्दा धेरैलाई यो ठूलो संख्या नलाग्ला । तर, पब्लिक हेल्थका हिसाबले यो ठूलो संख्या हो ।
यसलाई यसरी पनि भन्न सकिन्छ हामीले १० हजारमा टेस्ट गर्दा ५० जना संक्रमित भेटायौं भने सरदर २०० जनामा टेस्ट गर्दा एक जना संक्रमित भेटिने भए । र, दैनिक ५ जना संक्रमित भेटाउन दैनिक एक हजार जनाको टेस्ट गर्नु पर्ने रहेछ ।
तर दुःखका साथ भन्नुपर्छ, पछिल्लो दिनमा हाम्रो टेस्ट घटेको छ । अझै पनि हामीले लत नछाडेर काम गर्यौं भने कोरोना नियन्त्रणका लागि अवसर छ । यो धेरै टेस्ट गर्न सकिन्न भनेर बस्ने बेला होइन । किनकि कोरोना नियन्त्रणका लागि प्रभावकारी र सजिलो उपाय व्यापक टेस्ट नै हो । र, यदि यो हाम्रो नियन्त्रण बाहिर गयो भने महामारीलाई कुनै हालतमा नियन्त्रण गर्न सक्दैनौं ।
हामीले भनेको टेष्ट पीसीआर नै हो । र्यापिड डायग्नोस्टिक टेष्टको काम डाइग्नोसिसका लागि होइन, सर्भे गर्न मात्र काम लाग्ने हो । र्यापिड टेस्टमा मात्र भर पर्दा दुर्घटना निम्तिन सक्छ । अहिले आरडीटी र पीसीआर गरेर लगभग ६० हजार टेस्ट भएको छ । तर पीसीआर १२ हजार मात्र छ, आरडीटी टेष्ट धेरै छ । जबकी हामीले अहिलेसम्म ६० हजार पीसीआर टेष्ट गर्न पाएको भए ढुक्क हुन सकिन्थ्यो । किनकी यदि समुदायमा संक्रमित भएको भए भेट्टाउथ्यौं र थप सतर्कता अपनाउथ्यौं । ६० हजार पीसीआर टेष्ट गर्दा पनि अवस्था अहिलेको जस्तै भएको भए विश्वसामू भन्न सक्थ्यौं, यत्रो टेस्ट गर्दा पनि संक्रमण देखिएन । एक जनाको पनि मृत्यु भएको छैन ।
मेरो विचारमा हामी कहाँ अहिले हरेक दिन हजारदेखि दुई हजार टेस्ट गर्नुपर्छ । चीनमा पनि सुरुवाती अवस्थामा दुई सयदेखि तीन सय जाँच गर्दा एक जनामा संक्रमण देखिएको हो । तर संक्रमण बढ्दै जाँदा यसको अनुपात बढ्छ । अहिले हाम्रो अवस्था के देख्छु भने पुग्नु पर्ने ठाउँ कलिकति माथि छ, थोरै जम्प हान्ने हो भने भेट्टाउँछौं, तर हामीले जम्प हान्ने जमर्को गरिरहेका छैनौं ।
यो त भयो अहिलेसम्मको अवस्था । २५ वैशाखपछि लकडाउन खोल्ने वा खुकुलो बनाउने बहस भइरहेको छ । लकडाउन खुकुलो बनाउँदा यही जोखिम हुन्छ भजेर म किटान गर्न सक्दिनँ । किनकि, टेस्टको दायरा बढेर संक्रमण यहाँ यति छ भन्ने थाहा पाएको भए मात्र महामारीले कस्तो रुप लिन्छ भनेर भन्न सकिन्छ । यति थोरै टेस्टका आधारमा भन्नु वैज्ञानिक हुँदैन ।
तर हामीले के बिर्सनु हुँदैन भने एउटा अवस्थामा कोभिड-१९ ले पुर्याउन सक्ने क्षतिभन्दा अरु आर्थिक सामाजिक क्षति बढी हुन सक्छ । किनकी हामी कहाँ धेरै मानिसलाई बिहान बेलुका के खाने भन्ने समस्या छ । अरु जोखिमपूर्ण रोग लागेका मानिसलाई अस्पताल पुग्न समस्या छ । त्यसैले लकडाउन नै सबथोक हो भनेर बस्नु हुँदैन । विस्तारै लकडाउन खोल्दै गर्नुपर्छ । परीक्षण व्यापक बनाउनुपर्छ । त्यसो गर्दा कुनै समुदाय वा क्लस्टरमा संक्रमण देखियो भने त्यो ठाउँमा सिल गर्नुपर्छ ।
धेरै मानिसको जमघट हुने सिनेमा हल एक वर्षसम्म नखोल्दा हुन्छ विद्यालयहरु तत्काल खुला गर्न हुन्न । किनकी बच्चाहरु एक आपसमा नजिकमा खेल्छन् । उनीहरुमा लक्षण नदेखिए पनि घरमा गएर वृद्धवृद्धालाई सर्न सम्भावना बढी हुन्छ । धेरै मानिसको जमघट हुने, मन्दिर, चर्च वा मस्जिदहरु खोलिहाल्नुहुन्न । तर सुरक्षाका उपायहरु अपनाएर उद्योगधन्दा खोल्नुपर्छ होला । कार्यालयहरुमा भौतिक दुरी कायम राखेर खोल्नुपर्छ ।
तर हामीले गर्नुपर्ने काम यो-यो हो भनेर जान्दाजान्दै त्यो काम गर्ने जमर्को नगरेको देखिएको छ । सरकारले लकडाउन खोल्न गर्नुपर्ने सबै तयारीहरु गरेको छ भनेर मचाहिँ त्यति विश्वस्त छैन । किनकि हामीले चाहिने जति परीक्षण नै गरेका छैनौ । यति थोरै परीक्षण गरेर कसरी संक्रमण छैन भनेर ढुक्क हुने ?
परीक्षण बढाउनुपर्छ भन्दा सरोकारवाला निकायहरु त्यति धेरै कसरी सम्भव छ र भन्ने गर्नुहुन्छ । तर हाम्रो जस्तै आर्थिक सामाजिक अवस्था भएका थुप्रै देशहरुले गरेका छन् ।
भियतनाम र हाम्रो देशमा एउटै समयमा संक्रमण देखिएको हो । केरलामा पनि त्यही समयमा देखिएको हो । भाग्यबस हामीकहाँ पहिचान भएको संक्रमितको संख्या भियतनाम र केरलाको संख्या कम छ । तर संक्रमितको संख्या साँच्चै कम भएर नै कम देखिएको हो भन्न सक्ने अवस्था छैन । किनकी भियतनाम र केरालाको पब्लिक हेल्थ रेस्पोन्स हाम्रोभन्दा धेरै सबल छ ।
भियतनामले ठाउँठाउँमा मोबाइल भ्यान पठाएर परीक्षण गराउँछ । कुनै ठाउँमा संक्रमित भेटियो भने उसको कन्ट्याक्ट ट्रेसिङ गरेर तीव्र परीक्षण गर्ने गरेको छ । भियतनाममा नेपालको भन्दा १० गुणा बढी जनसंख्या छ । त्यहाँ पीसीआर टेष्ट नै नेपालले भन्दा ७-८ गुणा बढी भएको छ ।
केरालामा विशेष गरी त्यहाँको स्वास्थ्यमन्त्रीको सक्रियता एकदमै राम्रो छ । त्यसले धेरै फरक पारेको छ ।
भियतनाम र केरलालाई के फाइदा भयो भने उनीहरु यसअघि यस्तै प्रकारको संक्रमणको जोखिमबाट गुज्रिएका थिए । भियतनाम सार्सका संक्रमणबाट गुजि्रएको थियो भने केरला निपाबाट । त्यही कारण उनीहरुकोमा राम्रो पब्लिक हेल्थ टिम छ । तर हाम्रो ठूलो कमजोरी यही भयो । हाम्रो चुनौती र रेस्पोन्सको बीचमा जुन सामनजस्य हुनुपर्ने हो, त्यो नै भएन । हामीले कम्तिमा पनि सयौं जनस्वास्थ्यकर्मी परिचालन गर्नसक्ने टिम बनाउनुपर्थ्यो । मोबाइल भ्यानहरु तयार गर्नुपर्थ्यो । त्यो गर्न सकेनौं । स्वास्थ्य सेवा विभागले सुरुवाती दिनमा १८/१० जना जनस्वास्थ्यकर्मी परिचालन गर्ने नीति लियो नि, त्यो पटक्कै काफी थिएन । अहिले समुदाय स्तरमा तीन-तीन जनाको टोली बनाउने भन्ने कुरा आएको छ । यसलाई परिचालन गर्न सक्यौं भने बढी प्रभावकारी हुन्छ । तर उनीहरुले पनि यहाँ मान्छेहरु यसरी संक्रमित होलान् भनेर हेर्ने तर परीक्षण बढाउन नसक्ने हो भने हुन्न ।
टेष्ट-टेष्ट भनिरहँदा के सबै मान्छेलाई टेष्ट गर्दै हिँड्ने भनेको पनि सुनिन्छ । तर लक्षण हेरेर मात्र गरिने टेष्ट पर्याप्त हुन्न । किनकि पछिल्लो एक-दुई महिनामा हामीले के जान्यौं भने ४० देखि ५० प्रतिशत संक्रमण लक्षण नभएका मानिसहरुबाट फैलिएको छ । त्यसैले हामीले सुझाएका पनि थियौं कि लकडाउन गर्नुभन्दा १/२ महिनामा जे जति मानिसहरु विदेशबाट आएका छन्, उनीहरु सबैलाई खोजौं । सकेसम्म सबैको टेष्ट गरौं । यदि सकिँदैन भने र्यान्डम स्याम्पल लिउँ उनीहरुको सम्पर्कमा आएकाहरु खोजौं । यसबाट हामीलाई १०औं हजार सम्भावित मानिस उपलब्ध हुन्छन् । त्यसो गर्दा केस फाइन्डिङको दर बढ्न सक्छ ।
यसो भन्दा २०/३० हजार टेष्ट त हामी कहाँ गर्न सक्छौं र भनियो । यही मेन्टल ब्लकले नै हामीलाई अप्ठ्यारोमा पारिरहेको छ । यदि यसलाई तोड्न सक्ने हो भने मचाहिँ व्यक्तिगत रुपमा केमा विश्वस्त छु भने कम्तिमा दक्षिण एसियामा सबैभन्दा राम्रो कोरोना रोकथाम र नियन्त्रण कार्यक्रम नेपालमा छ भनेर देखाउन सकिने अवसर छ । यो गुमाउने हो कि भन्ने शंका छ ।
हुन त अहिले पनि नेपालमा कोरोना नियन्त्रणका लागि राम्रो काम भइरहेको छ भनेर सन्देश दिन खोजिएको छ । यसको कारण के हो भने हामीकहाँ लगभग ६० हजार टेष्ट भयो, ५५/६० जना मात्र संक्रमित भेटायौं । कसैको पनि मृत्यु भएको छैन भनिएको छ । यो पूर्ण सत्य होइन । हामीले आरडीटीलाई टेष्टको संख्यामा गनेका छौं । तर त्यसमा पोजेटिभ देखिएकाहरुलाई संक्रमितमा गनेका छैनौं । त्यहीकारण प्रति १० लाख १८००/२००० टेष्ट देखिएको छ । पीसीआर टेष्टमात्र हेर्ने हो भने यो दर ३००/३५० मात्र हो । र, यो भ्रमले कुनै पनि बेला दुर्घटना निम्त्याउँछ ।
(हृयाम्स अस्पतालमा कार्यरत डा. पाण्डेसँग अनलाइनखबरका लागि राजकुमार श्रेष्ठ र सागर बुढाथोकीले गरेको कुुराकानीमा आधारित)
source https://www.onlinekhabar.com/2020/05/860202
0 comments:
Post a Comment