Thursday, 25 June 2020

गण्डकीका चार जिल्लामा थपिए २५ संक्रमित, ९ जना डिस्चार्ज

१२ असार, काठमाडौं । गण्डकी प्रदेशका चार जिल्लामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नवलपुरमा २१ जना, तनहुँमा २ जना तथा बाग्लुङ र स्याङ्जामा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ सय ९२ पुगेको छ ।

कोरोना नियन्त्रण तथा रोकथाम गण्डकी प्रदेशका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माले विहीबार बिहान जारी गरेको विज्ञप्तिअनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको व्यास नगरपालिकाका ४९ र ३० वर्ष उमेरका दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय एकजना पुरुष र बाग्लुङको बरेङ गाउँपालिकाका २३ वर्षीय एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिकाका सात जना पुरुष तथा कावासोती नगरपालिकाका १२ जना पुरुष तथा दुईजना महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।

संक्रमितहरु सम्बन्धित जिल्लाका क्वारेनटाइनमा छन् । उनीहरूलाई आइसोलेसनमा सार्ने तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

९ जना डिस्चार्ज

यसैबीच गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको भएर नौ जना डिस्चार्ज भएका छन् । गोरखाको गण्डकी गाउँपालिकाका ५ जना पुरुष तथा गोरखा नगरपालिकाका ३ जना पुरुष र एक जना महिला डिस्चार्ज भएका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या १०१ पुगेको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2020/06/876479

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More