Wednesday, 26 August 2020

पुल हेर्न सिक्री बेचेर सय किलोमिटरको यात्रा

११ भदौ, गलकोट । मानिसको सोच, इच्छा पनि अनेक हुन्छन् । र, त्यो इच्छाशक्ति दृढ भए जबर्जस्त पनि पूरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तीजको दिन घर छोडेका उनीहरु हराएको खबर भाइरल भयो ।

निसीखोलाको वडा नं. ७ स्थित पर्यटकीय स्थल नर्सिङकोट घुम्न निस्केका आठ जनामध्ये चार जना साँझ घरमा फर्के । १७ वर्षीया अस्मिता सुनार, १५ वर्षीय रामप्रसाद सुनार, १६ वर्षीय श्यामु सिर्पाली र १५ वर्षीया सम्झना सिर्पाली भने सम्पर्कविहीन भए । परिवारले खोजी गर्न झिवाखोला प्रहरीमा निवेदनसमेत दियो । हराएको भनिएको पाँच दिनपछि बागलुङ बजारबाट ती किशोर–किशोरी फेला परे ।

यद्यपि, उनीहरु हराएको नभई विश्वकै लामो दाबी गरिएको बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल हेर्नका लागि बागलुङ आएको खुलेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार नर्सिङकोट घुम्न गएका आठमध्ये चार जना बागलुङका लागि निसीखोलाबाट हिँडेर बुर्तिवाङ आएका थिए ।

बुर्तिवाङको सुन पसलमा सोही दिन तीन किशोरीमध्ये दुई किशोरीले आफूले लगाएको चाँदीको सिक्री बेचेर ट्याक्सी चढेर बागलुङ आएको रेग्मीको भनाइ छ । ‘घाटीमा लगाएको दुई वटा सिक्री बेचेर ट्याक्सी चढेर बागलुङ आएको पाइयो’, रेग्मीले भने, ‘बागलुङ बजारको चिप्लेटी बसपार्कमा बास बसेका उनीहरुले लामो पुल अवलोकनसमेत गरेका रहेछन् ।’

कालिका मन्दिरसमेत घुम्न गएका उनीहरुलाई प्रहरीले फर्काएको थियो । पैसा र बासको अभावमा घर फर्कन नसकेका उनीहरुलाई प्रहरीले भदौ १० गते बागलुङ बजारमा फेला पारेको थियो ।

बागलुङ बजारमा निषेधाज्ञा भएका कारण घर फर्कन समस्या भएका कारण परिवारको सम्पर्कमा नआएको हुन सक्ने परिवारका सदस्य बताउँछन् । घरबाट घुम्न भनेर निस्केका चारै जना सम्पर्कविहीन भएपछि चिन्तामा रहेको र घुम्ने क्रममै भेटिएको खबरले खुसी दिलाएको श्यामु सिर्पालीका बुबा कोकबहादुर विकले बताए । ‘हामी त तनावमा थियौं, कसैले अपहरण, केही गर्यो कि भनेर डराएका पनि थियौं,’ विकले भने, ‘रामप्रसाद सुनार, अस्मिता सुनारले घरबाट एक हजार र श्यामु सिर्पालीले ६०० लगेर निस्केका रहेछन् ।’

सिर्पालीका बुबाका अनुसार बागलुङ बजारमा प्रहरीले फेला पारेर बुर्तिवाङ लगेर परिवारको जिम्मामा लगाइदिएको छ ।

उनीहरुले दुई वटा चाँदीको सिक्री बुर्तिवाङ बजारमा रु तीन हजार रुपैयाँमा बिक्री गरी ट्याक्सी चढेर लामो पुल हेर्न बागलुङ बजार १० किलोमिटर पैदल र ९० किलोमिटर सवारी यात्रा गरी बागलुङ बजार आएका थिए ।

सामाजिक सञ्जालमा निकै चर्चा कमाएको रामरेखा अदुवाबारी पुलका विषयमा उनीहरुले जानकारी पाएपछि परिवारलाई खबर नगरी बागलुङ बजारमा आएका थिए ।



source https://www.onlinekhabar.com/2020/08/892130

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More