Monday, 24 August 2020

अझै पत्ता लागेन पुजारीको हत्यारा

९ भदौ, रौतहट । रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारीको हत्या भएको एक हप्ता पुगिसक्दा पनि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन । यद्यपि प्रहरीले अनुसन्धान तीव्र बनाएको जनाएको छ ।

यही भदौ ३ गते राति खाना खान बसेका बेला पुजारी श्रीराम साहलाई अज्ञात व्यक्तिले कन्चटमा गोली हानेर हत्या गरेको थियो ।

पुजारी हत्याकाण्डको विषयमा छानबिन गर्न प्रदेश २ को प्रहरी टोलीसमेत खटिएको छ । तर पनि प्रहरीले अनुसन्धानलाई अझै निष्कर्षमा पु¥याउन सकेको छैन ।

प्रदेश २ प्रहरी कार्यालयका तर्फबाट अनुसन्धानका लागि रौतहट आएका एसएसपी यज्ञ विनोद पोखरेलले घटनाको विविध पक्षबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए । ‘हत्या गरिएका पुजारी शान्त स्वभावका थिए,’ एसएसपी पोखरेलले भने, ‘अनुसन्धान जारी रहेको छ । केही ढिलो भए पनि हत्याको रहस्य अवश्य खुल्नेछ ।’

अन्य हत्याकाण्डभन्दा यो केही फरक रहेकाले प्रहरीको अनुसन्धानले समय लिएको उनको दाबी छ । घटनाका दोषीहरु उम्कन नपाउने बताउँदै उनले प्रहरीको विभिन्न टिमले दोषी पत्ता लगाउन दिनरात काम गरिरहेको पोखरेलले बताए ।

आफ्नै खर्चले हनुमान मन्दिर स्थापना गरेर पूजापाठ गर्दै आएका साहको हत्यापछि विश्व हिन्दु परिषद लगायतका विभिन्न संघ संस्था तथा व्यक्तिहरुले घटना छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै आएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा सांसद प्रभु साहले पनि पुजारी श्रीराम साहको हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने, साहलाई शहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने, साहको सालिकसहित भव्य हनुमान मन्दिरको निर्माण शुरु गर्नुपर्ने र शान्ति सुरक्षाको लागि खेसरहिया बजारमा प्रहरी चौकी स्थापना गर्नुपर्ने माग गृह प्रशासनसमक्ष राखेका छन् ।

‘यस्ता जघन्य अपराधका दोषीलाई तत्काल कानुनी दायरामा ल्याउनु पर्छ,’ सांसद साहले अनलाइनखबरसँग भने, ‘पुजारीको हत्या गर्नेलाई पक्राउ गर्न प्रशासनले ठोस पहल गर्नुपर्छ ।’



source https://www.onlinekhabar.com/2020/08/891809

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More