Sunday, 2 August 2020

रुपन्देहीको शरन खोलामा पक्की पुल : पञ्चायतकालदेखिको नारा, अझै भएन पूरा

१९ साउन, बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको शरनटाँडी गाउँका बासिन्दा खोलामा पक्की पुल नबन्दा वर्षौंदेखि वर्षायाममा समस्या झेल्न वाध्य छन् । देवदह–६ को शरनटाँडी गाउँ पुग्ने बाटोमा पर्ने शरन खोलामा पक्की पुल नहुँदा वर्षायाममा आवतजावत नै ठप्प हुने गरेको छ ।

वर्षा याम शुरु भएसँगै उक्त खोला हुँदै सवारी साधनहरु चल्न नसक्दा गाउँबाट विरामी हुँदा उपचार गर्न वा बजारमा सामान किनमेलका लागि आवतजावत गर्नै समस्या हुने गरेको छ । राजमार्गबाट उत्तरतर्फ डेढ किलोमिटर दूरीमा शरन खोला बग्छ ।

खोलादेखि उत्तरतर्फ चुरे वन क्षेत्रमा २०२८ सालभन्दा अगाडिदेखि वस्ती बसेको शरनटाँडी गाउँ छ । वर्षा नहुँदा खोला तरेर आवत जावत गर्ने गाउँलेहरु खोला बढेका बेला जस्तोसुकै आपत र समस्या आइपरे पनि अस्पताल वा बजारसम्म आउन सक्दैनन् ।

गाउँमा केही प्राकृतिक विपत्ति भइहाल्यो भने प्रहरी–प्रशासन पनि जान सक्ने अवस्था छैन । गाउँमा प्रावि तहको विद्यालय मात्र भएकाले माथिल्लो कक्षा पढ्न अन्यत्र जानुपर्ने विद्यार्थीहरु वर्षायाममा टाढा र अपायक ठाउँमा रहेको झोलुंगे पुलको बाटो हुँदै जानुपर्ने वाध्यता छ ।

देवदहको घोडाहादेखि उत्तरमा पूर्व–पश्चिम राजमार्गबाट करिब तीन किलोमिटर दुरीमा शरनटाँडीमा डेढ सय बढी घरधुरी छन् । एक घर दलितबाहेक सबै मगरहरुको बसोबास छ । गाउँमा ६ देखि ७ सय जनसंख्या छ ।

‘पञ्चायतकालदेखि चुनावमा सबैले खोलामा पक्की पुल बनाइदिन्छु भन्दै भोट माग्दै आए अहिलेसम्म कसैले बनाएनन्,’ शरनटाँडीका पुराना बासिन्दा पदमबहादुर जर्घा मगरले भने, ‘ठूलो पानी परेका बेला कोही विरामी भयो, दुर्घटना भयो भने अस्पताल पुर्याउने बाटो छैन, खोला तर्न पनि सकिन्न ।’

पञ्चायतकालदेखि बहुदल र गणतन्त्रको पनि डेढ दशक पुग्नलाग्दासम्म सबै पार्टीका उम्मेदवारले शरन खोलामा पक्की पुल बनाउने कुरालाई पहिलो चुनावी नारा बनाउने गरे पनि कसैले पूरा नगरेको स्थानीय धनबहादुर राना दुखेसो पोख्छन् । ‘चुनावका बेला सबैले पुल बनाउने कुरालाई एक नम्बरमा राख्छन्,’ रानाले भने, ‘चुनाव जितेर गएपछि कसैले फर्केर हेरेनन् ।’

पक्की पुल नभएकै कारण खोला तर्ने क्रममा चार वर्षअघि गाउँकी एक महिलाको खोलाले बगाएर ज्यान गएको स्थानीय युवा अगुवा लोकेन्द्र जर्घा मगरले स्मरण गरे । उक्त घटनापछि नगरपालिका र संघीय सांसद तथा प्रदेश सांसदहरुलाई खोलामा पक्की पुलको योजना पार्न पटकपटक आग्रह गरे पनि सफल हुन नसकेको उनको गुनासो छ ।

शरनटाँडी गाउँलाई देवदह नगरपालिकाले अर्गानिक तरकारी उत्पादनको पकेट क्षेत्र घोषणा गरेको छ । यहाँबाट वार्षिक चार करोड रुपैयाँको तरकारी बिक्री हुने शरनकाली कृषि सहकारी संस्थाका अध्यक्ष मानबहादुर गाहा बताउँछन् ।

तर पुल नहुँदा वर्षायाममा उत्पादन हुने तरकारी बिक्री गर्न कठीन हुने गरेको उनको गुनासो छ । ‘बाटोको समस्याले गर्दा यसपटक मात्रै गाउँलेले चार पांच क्वीन्टल कटहर र अरु तरकारी बिक्री गर्न नसकेर बंगुरलाई खुवाए,’ गाहाले भने, ‘पक्की पुल बन्ने हो भने उत्पादन बढाउन र सिंगो देवदहलाई पुग्ने तरकारी उत्पादन गर्न सकिन्छ ।’

शरनटाँडी मगर समुदायको नमुना वस्ती हो । यहाँ होमस्टे सञ्चालन गरी पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने राम्रो सम्भावना हुँदाहुँदै पनि पक्की पुल नबन्दा विकासमा पछाडि परेको स्थानीय युवा लोकेन्द्र जर्घा बताउँछन् ।

देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले चालु आर्थिक वर्षमा प्रदेश सरकारले शरन खोला र वडा नं. ११ को महाउ खोलामा गरी दुई वटा पक्की पुल बनाउन सर्भे, डिजाइन र डीपीआर बनाउने प्रकृयामा रहेको बताए ।



source https://www.onlinekhabar.com/2020/08/886583

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More