Wednesday, 11 January 2023

हेराबहादुर, जसले पञ्चायतकालीन प्रधानमन्त्रीदेखि प्रचण्डसम्मका दौरा सुरुवाल सिलाए

उहिले-उहिले बाजेको पालामा । लत्ताकपडा सिलाउने इलम अहिलेजस्तो छ्यापछ्याप्ती नहुँदो हो । त्यही बखत हेराबहादुर शाक्यका बाजे हर्षमान शाक्य दरबार धाउथे, जुद्धशमशेर राणाका लुगाको नाप लिन ।

त्यसबेला राणाको दरबारमा कस्तो लुगा सिलाइन्थ्यो ? कपडा कहाँबाट मगाइन्थ्यो ? ज्याला कति दिइन्थ्यो ?

हेराबहादुरलाई पटक्कै हेक्का छैन । किनभने उनी बालक थिए । उमेरको हिसाब–किताब गर्दा आज उनी ठ्याक्कै ७४ बर्षका भए । र, यत्तिका उमेर हेराबहादुरले त्यही काममा आफ्नो जीवनको लय मिलाए, जुन बाजेले गर्दै आएका थिए ।

चाखलाग्दो कुरा के छ भने हेराबहादुरले प्रधानमन्त्रीदेखि दरबारका कर्मचारीसम्मलाई दौरा–सुरुवाल सिलाइदिए । उनलाई याद छ, पञ्चायती कालका प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ उनीकहाँ लुगा सिलाउन आएको । भर्खरैको कुरा, पुष्पकमल दाहालको दौरा सुरुवाल सिलाउने जिम्मा पनि उनलाई आइलाग्यो ।

‘म त सबैलाई चिन्दिन पनि । यहाँ आएर लुगा नपाएर जान्छन् । पछि पत्रिकामा फोटो हेरेपछि मात्र मैले सिलाएको दौरा सुरुवाल लगाउने फलानो मन्त्री, नेता रहेछन् भनेर थाहा पाउँछु’ हेराबहादुर सुनाउँछन्, ‘को आयो, कसले सिलायो भन्ने कुरा मतलब पनि गर्दिन । मेरो लागि सबै उस्तै ग्राहक हुन् ।’

कति प्रधानमन्त्री आए, गए । कति मन्त्री आए, गए । कति कर्मचारी आए, गए । सम्झेर साध्य भए पो ?

संभवत केपी शर्मा ओलीले पनि उनीकहाँ बाट नै दौरा सुरुवाल लगे । ‘उनको श्रीमती पनि शाक्य नै हो’ हेराबहादुरलाई लाग्छ, ‘त्यही भएर यहीँबाट उनले दौरा सुरुवाल सिलाएका हुन् ।’ पहिले पहिले उनी नेता-मन्त्री ठिम्याउन सक्थे ।  उनले राम्ररी चिनेका भनेको गणेशमान सिंह हो । उनी एउटा बडीगार्ड लिएर लुखुर लुखुर हिँड्दै उनैकहाँ दौरा सुरुवाल सिलाउन आउथे । ‘अहिले उनको छोरो प्रकाशमान पनि सिलाउन आउँछ’ उनी भन्छन् ।

‘म लुगा सिलाउन भनेर अरुको घर–घर जाँदिन, यहीँ आए सिलाइदिन्छु’ हेराबहादुर सुनाउँछन्, ‘अहिले छोरोले सबै काम हेर्न थालेको छ । बेलाबखत ऊ चाहिँ लुगाको नाप लिन घरमै जान्छन् ।’

न नातागोता, न कुनै ठेकदारी । न परे उनी पार्टीका मान्छे, न चल्तापूर्जा व्यापारी । तैपनि खोजी–खोजी हेराबहादुरकै हातबाट किन दौरा–सुरुवाल सिलाउन हत्ते गर्छन्, नेता-मन्त्रीहरु ?

यसको जवाफ हेराबहादुरसँग छैन । उनलाई त के मात्र लाग्छ भने, उहिलेदेखि नेता-मन्त्रीले यहीँ आएर दौरा सुरुवाल सिलाए । त्यही भएर अरुले पनि सोध्दै-खोज्दै हेराबहादुरलाई सम्झिए ।

जतिबेला उनका बाजे राणको दरबारमा लुगा सिलाउन जान्थे, त्यसबेला काठमाडौंभरीमा जम्माजम्मी तीन ठाउँ मात्र लुगा सिलाइन्थ्यो । उबेला जुद्धशमशेरको दरबारमा बाजेसँगै बुवा लक्ष्मीज्योति शाक्य पनि लुगा सिलाउन जान्थे । त्यहाँ धेरैजसो जंगी पोशाक सिलाइन्थे । बुवा र बाजेलाई भने दौरा सुरुवाल सिलाउनकै लागि डाकिन्थ्यो । ‘राणाहरुले त बेलायतबाट कपडा मगाउथे होला’ हेराबहादुर अनुमान गर्छन्, ‘अरुले चाहिँ यहीँ बनेको घरेलु लुगा लगाउँथे ।’

त्यसबेला न्यूरोडको कुनै चोकमा उनीहरुको दोकान थियो, कपडा सिलाउने । दोकानको नाम राख्ने चलन थिएन । न त जरुरी नै थियो । काठमाडौंको कहाँ के छ ? सर्वत्र थाहा हुन्थ्यो । हेराबहादुरको पालामा आइपुग्दा भने शहरको घनत्व बढ्यो । पाइलैपिच्छे दोकान थापिए । घरमा घर जोडिए । माकुराको जालो जस्तै गल्ली र चोकहरु जेलिए । अनि आफ्नो दोकान चिनाउने नाम नराखी भो त ?

नाम के राख्ने ? यसमा कुनै टाउको दुखाउनु परेन । फ्याट्टै नाम जुराईयो, राष्ट्रिय दौरा सुरुवाल टेलर्स ।

बाह्रैमास व्यस्त रहने भेडासिंह चोकबाट थोरै अगाडि बढेपछि आसपासमा करिब यस्तै नामका अनगिन्ती टेलरिङ छन् । मोटरसाइकल मात्र छिर्ने साँघुरो गल्ली पार गरेपछि भने सम्मुखमै देखिन्छ, राष्ट्रिय दौरा सुरुवाल टेलर्स ।

‘पहिले हाम्रो पसल पनि बाहिर बाटोकै छेउमा थियो’ हेराबहादुर भन्छन्, ‘पछि भाडा तिर्न नसकेपछि भित्र सारियो ।’

अहिले त्यही घर आफ्नो बनाए । र, घरमै आफ्नो उद्यम विस्तार गरे । पहिलो तलामा लुगाको नाप लिने, काटिङ गर्ने । दोस्रो तलामा तयारी दौरा सुरुवालको भण्डार । तेस्रो तलामा नयाँ लुत्ताकपडा सिलाउने कारखाना । कोरानो महाव्याधि अघिसम्म त्यहाँ २५ जना जति कालिगड दौरा सुरुवाल सिलाउन यन्त्रवत् खटिन्थे । अहिले भने त्यो संख्या घटेर आधा दर्जनमा झरेको छ ।

यद्यपि हेराबहादुरको जिन्दगीमा यो कुनै ठूलो उतार–चढाव होइन । किनभने बाल्यकालदेखि नै कति उकाली–ओराली उनले हिँडिसकेका छन्, भोगिसकेका छन् ।

‘हामी गरिब थियौं, जग्गा जमिन थिएन’ हेराबहादुर भन्छन्, ‘त्यही भएर बाजेले यस्तो पेशा गरे । अहिले मेरो छोरो दिनेश पनि यही काम गर्छन् ।’ जीवनको उत्तराद्र्धमा पनि पनि हेराबहादुरको दैनिकी उस्तै छ, जो बर्षौंअघि हुने गथ्र्यो । बिहान उठेपछि उनी पसलमा आउँछन् र पूर्ववत् काम गर्छन् । न अल्छी, न थकान, न हैरानी, न उदासी । थाहा छैन, उनले आफ्नो कर्मको हिसाब–किताब कसरी राखेका छन् । यद्यपि उनले आफ्नो इलममा इमान र आनन्द घुलेका छन् ।

‘म पाँच सालमा जन्में, १७ सालदेखि लुगा सिलाउन थालें’ यसो भनिरहँदा पनि हेराबहादुर एक थान कपडामा कैची चलाइरहेका थिए, ‘बाजेले अक्षर पढ्नु पर्दैन भन्थे । पढेर के हुन्छ, गरिखान जान्नुपर्छ भन्थे । म स्कुल गइन ।’

बाजे पौरखी थिए । अनि इमानी पनि ।

नब्बे सालको भूकम्पले घरबार सोत्तर बनाएपछि जेनतेन बस्ने बन्दोबस्ती मिलाए । जुद्धशमशेरले भनेछन्, ‘तिमीले पनि घर बनाउन ऋण लिनु ।’
बाजेले अस्विकार गरेछन्, ‘होइन, म लिन्न । सरकारी ऋण लाग्छ ।’

जसै बाजेको ज्यान बुढ्यौलीले गल्दै गयो, बुवासँगै हेराबहादुरले उनको पेशालाई भरथेग गरे । बुवा वित्यो । हेराबहादुरको काँधमा सबै काम आइलाग्यो । बाबु–बाजेको इमानलाई उनले पटक्कै गुम्न दिएनन् । त्यसैले त दरबारबाट उनलाई पनि लुगा सिलाउनका लागि बोलावट भइरह्यो । राजा महेन्द्रका पालामा दरबारमै गएर कर्मचारीका लागि दौरा सुरुवाल सिलाउने जिम्मा उनले पाए । ‘त्यसबेला बर्षमा तीन तीन जोर लुगा दिइन्थ्यो’ हेराबहादुर सुनाउँछन्, ‘हामी त्यहीँ काममा व्यस्त हुन्थ्यौं ।’

राजा महेन्द्रका पालामा उच्च तहका कर्मचारीदेखि पालेसम्मलाई लुगा दिइन्थ्यो । बीरेन्द्रका पालामा पनि सुरु सुरुमा त्यो कायम रह्यो । २०३५–०३६ सालदेखि भने यस्तो सुविधा कम हुँदै गयो ।

पछि वीरेन्द्रको राज्यभिषेकमा भने यो काम अरु थपियो । उच्च तहका अधिकांश कर्मचारीको दौरा सुरुवाल उनैले सिलाउनुपर्ने । ‘त्यसबेला त कति सिलाइयो कति’ उनले सुनाए, ‘हिसाब राखेर कसरी साध्य गर्नु ?’

त्यसबेला एउटा दौरा सुरुवाल सिलाएको १२ रुपैयाँ ज्याला पाइन्थ्यो । कपडा भने ग्राहकले नै ल्याएका हुन्थे । अहिले एक जोर दौरा सुरुवालको तीन हजार रुपैयाँदेखि ३५ सयसम्म लाग्छ । जमाना बद्लियो । बद्लियो धेरै कुरा । तर, बद्लिएको छैन हेराबहादुरको दिनचर्या ।



source https://www.onlinekhabar.com/2023/01/1246359

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More