Monday, 4 May 2020

‘जनसेवाको नाममा सीमाबाट नेपाली नभित्राऔं’

२३ वैशाख, बुटवल । स्थानीय तहका जनप्रतिनिधिकै सहयोगमा भारतबाट नेपालीहरु भित्रिन थालेको गुनासो आएपछि प्रदेशसभा सांसद र सुरक्षा निकायका प्रमुखहरुले रुपन्देहीको सीमा क्षेत्र अनुगमन गरेका छन् । उनीहरुले जनप्रतिनिधिहरुसँग भेटघाट गरी आफूखुसी कसैलाई पनि भारतबाट नेपाल नभित्राउन आग्रह गरेका छन् ।

सीमा क्षेत्रमा कडाइ गर्दा पनि भारतबाट नेपालीहरु आउने क्रम नरोकिएको सूचना पाएपछि प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापा र सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलसहितको टोली अनुगमनमा निस्किएको छ । सो टोलीले रुपन्देहीको सम्मरीमाई गाउँपालिका-३ स्थित तरैनी नाका र मर्चवारी गाउँपालिका-१ स्थित खैराघाट नाका पुगेर स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीलाई भेटेर जनताको सेवामा लागेको नाममा भारतमा रहेका नागरिकलाई नेपाल नभित्र्याउन आग्रह गर्‍यो ।

‘कोटहीमाई गाउँपालिका-१ पुर्निहवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्ति क्वारेन्टाइनमा पुगेर इमान्दारिता देखाएकाले महामारीबाट बचेका छौं,’ सांसद पाण्डेयले भने, ‘त्यस्तै इमान्दारी गाउँपालिका अध्यक्ष, वडाअध्यक्ष, वडा सदस्यहरुले देखाउनुपर्छ । जनताको सेवा गर्ने नाममा सीमाबाट आउ-जाउ गर्न रोक्नुपर्छ ।’

कोरोना भाइरसले नातेदार, जात वा धर्म नचिन्ने भएकाले नाकाबाट आउ-जाउ रोक्न नागरिकले नै स्वयंसेवकको भूमिका खेल्नुपर्ने उनले बताए । आफ्ना नातेदार, इष्टमित्रलाई भित्र्याए त्यसबाट झन् डरलाग्दो परिस्थिति उत्पन्न हुन सक्ने भएकाले जनप्रतिनिधि, स्थानीयबासी तथा प्रशासनिक निकाय मिलेर कोरोना भाइरसविरुद्ध लड्नुपर्ने सांसद पाण्डेयले बताए । ‘जनप्रतिनिधि र नागरिकको सहयोगविना महामारी नियन्त्रण हुन सक्दैन,’ उनले भने, ‘भारतमा रहेका नेपाली नागरिकलाई २/४ दिन उतै बस्न दिँदा पहाड खस्दैन, तर संक्रमित भित्रिएर महामारी फैलिएमा पहाड खस्नुभन्दा खतरनाक हुन्छ ।’

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हेमकुमार थापाले सुरक्षा संयन्त्रलेमात्र कोरोना नियन्त्रण गर्न नसक्ने भएकाले त्यसमा समुदायको सक्रिय साथ आवश्यक रहेको बताए ।

जिल्लावासीको सुरक्षाप्रति प्रहरी अझ बढी चिन्तित भइ सतर्कता बढाएको बताउँदै उनले भने, ‘नागरिकको सुरक्षाको लागि प्रहरी चिन्तित छ, यो समस्यालाई सबै मिलेर समाधान गरौं ।’

सशस्त्र प्रहरी २७ नम्बर गण रुपन्देहीका प्रमुख तेज पोखरेलले प्रहरीलाई दुश्मनको रुपमा नबुझी सहयोगीको रुपमा बुझ्न आग्रह गरे । उनले चिनी सस्तो पाइन्छ भन्ने लोभमा भारतीय सीमा बजारमा आउ-जाउ नगर्न र स्वास्थ्यमाथि खेलवाड नगर्न सुझाव दिए ।
सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु)ले परिवार, गाउँ र समाज बचाउन केही समयका लागि कष्ट सहनुपर्ने बताए ।

सम्मरीमाई गाउँपालिका र मर्चवार गाउँपालिकाका वडाअध्यक्षहरुले कोरोनाविरुद्ध लड्न अब थप जिम्मेवारी भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।



source https://www.onlinekhabar.com/2020/05/861010

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More