Monday, 4 May 2020

पोखरामा खुकुलो लकडाउन (फोटो फिचर )

२३ वैशाख, पोखरा । कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउन लम्बिँदो क्रममा छ । लामो समयसम्म लकडाउन जारी राख्दा अत्यावश्यक सेवाबाहेक अन्य क्रियाकलाप ठप्प छन् । एकातिर लकडाउनले दैनिक जीवन नै कष्टकर बनाइरहेको छ भने अर्कातर्फ कोरोनाका नयाँ बिरामी थपिँदै गएका छन् ।

लकडाउनको स्वरुप परिवर्तन गर्दै लैजाने चर्चासँगै केही दिनअघि गण्डकी प्रदेश सरकारले आफ्नो क्षेत्रलाई ‘ग्रिन जोन’ दाबी गर्दै लकडाउन खुकुलो बनाउन मापदण्ड नै तयार पार्‍यो । त्यसको केही दिनमा पोखरा महानगरले समेत कमजोर आर्थिक स्थिति भएका श्रमिक वर्गलाई राहत दिनुको सट्टा काममै फर्काउने योजना सुनायोे ।

महानगरले मजदुर राहतको सट्टा काममै फर्काउने योजना ल्याएसँगै पोखराका सडकमा चहलपहल सुरु भएको छ । शनिबारदेखि मजदुरहरु बिस्तारै काममा फर्किन थालेका छन् भने मुख्य बजार क्षेत्रका पसलसमेत खुल्न थालेका छन् ।

पोखरा महानगरले प्राथमिकताका आधारमा कामलाई वर्गीकरण गरेर बर्खा अगावै सक्नुपर्ने अत्यावश्यक कामलाई मात्रै अनुमति दिने बताएको थियो । जसमा भवन, सडक, पुल लगायत पूर्वाधार विकासका कामलाई पहिलो प्राथमिकतामा राखिएको छ । यसअघि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले मजदुर र विपन्नलाई राहत वितरण बन्द गरेर काम दिने घोषणा गरेका थिए ।

महानगरले आधिकारिक रुपमा लकडाउनलाई सहज बनाएको घोषणा नगर्दै सडकमा मानिसहरुको चहल पहल बढेको छ । सवारी साधन चलाउन छुट नभए पनि दुई पाङ्ग्रे र चार पाङ्ग्रे गाडिहरु गुडिरहेका छन् । आइतबारदेखि पोखराका केही फेन्सी, मोबाइल, मोटरसाइकल मर्मत लगायतका पसल खुल्न थालेका छन् । जसका कारण पसल अगाडि मानिसहरुको भिड बढेको छ ।

 

        



source https://www.onlinekhabar.com/2020/05/860970

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More