१७ साउन, तनहुँ । प्रहरीको साइबर ब्यूरोले अश्लिल फोटो बनाएर सामाजिक सञ्जालमा पठाउने एक जनालाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर आफन्तलाई पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले १३ वर्षीया एक बालिकाको फोटो प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लिल फोटो तथा सन्देश बालिकाको दिदी तथा आफन्तलाई पठाउने कार्यमा संलग्न रहेकाले मिश्रलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका मिश्र यसअघि पनि विद्युतीय कारोवार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट रु एक लाख तिरेर धरौटीमा छुटेका व्यक्ति भएको ब्यूरोले जनाएको छ ।
पक्राउ परेका मिश्रलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।
१७ साउन, घोराही । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उपाध्यायलाई १ लाख २४ हजार ७५० रुपैयाँ नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिटसहित १३ लाख २४ हजार ४६ गरी कूल १४ लाख ४८ हजार ७९६ रुपैयाँ बराबरको रकमसहित पक्राउ गरेको हो ।
उपाध्याय स्रोत नखुलेको अस्वाभाविक रकम साथमा लिएर हिँडेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले काठमाडौंको नागढुंगाबाट नियन्त्रणमा लिएको हो । उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
लकडाउनअघि कवि शैलेन्द्र साकारले एक अन्तर्वार्तामा भनेका थिए– ‘कविता लेख्नु नाङ्गो तार समात्नुजस्तै हो ।’
कविता लेख्दा र पढ्दा नाङ्गो तार समाएजस्तै झट्का लाग्नुपर्छ भन्ने आशयमा उनले यो वाक्य बोलेका थिए । साकार स्वयंले २०४६ सालपछिका राजनीतिक विसंगतिमाथि ‘नाङ्गो तार’ शीर्षकको लामो कविता लेखे । ‘बौद्धिक जगतले नाङ्गो–तार निकै रुचायो’ साकार भन्छन् ‘कविता राजनीति त होइन तर यसले समाजलाई सधैं प्रभाव पारिरहेको हुन्छ ।’
साकारका पाँच कवितासंग्रह प्रकाशित छन् । दुईवटाको नाम राजनीतिसँग जोडिएको छ । ‘सर्पहरू गीत सुन्दैनन्’ र ‘नाङ्गो तार’ उनका चर्चित कवितासंग्रह हुन् । यसबाहेक ‘शैलेन्द्र साकारका कविता’, ‘अमेरिका’ र ‘कवितामा अमेरिका’ उनका कवितासंग्रह हुन् । दुई कथासंग्रह ‘रामायण र अरू कथाहरू’ तथा ‘कालपात्र र अरू कथाहरू’ पनि प्रकाशित छन् ।
****
२०३० को दशकको मध्यमा बागबजारस्थित रामदाइको नेवारी खाजाघर नामी थियो । ६२ पैसामा एक गिलास रक्सी पाइन्थ्यो । आधा खान चाहनेले ३१ पैसा तिर्नुपथ्र्यो ।
एक साँझ सिंहदरबारस्थित कृषि विकास बैंकबाट निस्केर शैलेन्द्र साकार कवि समूहसँग खाजाघर पुगे । हरिभक्त कटुवाल दिउँसैदेखि त्यहीँ जमेका रहेछन् । साकारलाई देखेपछि उनको जोश बढ्यो ।
‘ल साकार भाइ, ६२ पैसा हानौं !’
मत्थु भइसकेका कटुवालको आग्रह टार्न नसकेर साकार पिउन बसे । एक गिलास थप्नेबित्तिकै कटुवाल लगातार हाछ्युँ गर्न थाले । केहीबेर त कसैले वास्ता गरेनन् तर दर्जनौं पटक हाछ्युँ गरेपछि भने साकारलाई दोधार भयो ।
यता हाछु्युँले उग्र रूप लिएपछि हरिभक्त केहीबेरमै ढले । फसाद साकारलाई पर्यो । साकार र साथी दीपक जोशी मिलेर कटुवाललाई होटलबाट बाहिर निकालेर ट्याक्सीमा वीर अस्पताल लगे ।
‘त्यो रात के हुने भन्नेमै बित्यो’ चार दशकअघिको त्यो घट्ना सम्झिँदै साकार भन्छन् ‘तर भोलिपल्ट बिहान हामीलाई थाहै नदिई कटुवाल अस्पतालबाट गायब भए ।’
कटुवालले बिहान एक बोतल पानी पिएछन् अनि नर्सलाई धन्यवाद भनेर हिँडेछन् । त्यो थाहा पाएपछि साकारको मनको डर हट्यो ।
कवि साकारसँग साहित्यका कुरा गर्दा अनेकौं प्रसङ्गमा रक्सी जोडेर आइहाल्छ । रक्सी खाने क्रममा अन्य साहित्यकारसँग भएका राम्रा–नराम्रा घटना उनी चाहेर पनि बिर्सन सक्दैनन् ।
****
भोजपुर बजारमा म्याट्रिक (अहिलेको एसएलसी) पढ्दासम्म साकारलाई आफ्नो नाम र जीवनले ‘युटर्न’ लेला भन्ने कुनै छनक थिएन । फाट्टफुट्ट कविता लेख्थे । घरमा भएका साहित्यिक किताबहरू पढ्थे । अरू समय साथीहरूसँग डुल्नेमै बित्थ्यो ।
‘म्याट्रिक पास गरेपछि काठमाडौं जान्छु भन्न्ने थियो’ किशोरकाल सम्झिँदै साकार भन्छन् ‘तर काठमाडौं कहाँ पर्छ, कसरी जाने केही थाहापत्तो थिएन ।’
काठमाडौं जाने नै सुर कसेर उनी विराटनगर झरे । जोगबनीबाट रेल चढेर बिहार हुँदै वीरगञ्ज आइपुगे । वीरगञ्जमा चढेको गाडीले सुनधारानिर ल्याएर ओराल्यो ।
नजिकैको गगनचुम्बी धरहरालाई उनले चिनिहाले । जीवनमा पहिलोचोटि त्यति अग्लो धरहरा हेरेर उनी छक्क पनि परे ।
साँझ पर्यो तर बासको टुङ्गो थिएन । भेटिएका मान्छेलाई आफू भोजपुरको हुँ भनेर बताए । तीमध्ये कसैले भोजपुरेहरू नक्सालमा बस्छन् भनेपछि हिँड्दै त्यहाँ पुगे ।
काठमाडौं आएको पहिलो रात उनको बास भोजपुरका हरिप्रसाद नेपालको डेरामा भयो । पहिलो रातमा नै भाग्यले साथ दिएजस्तो लाग्यो । ‘कवि–लेखकहरू चिन्ने बाटो पनि खुल्यो’, उनी भन्छन्, ‘भोजपुरमा नै चिनेका केबी श्रेष्ठ त्यहीँ मुरली बजाइरहेका थिए ।’
केबीले त्यही टोलकी चनमति भन्ने केटीलाई प्रभाव पार्न मुरली बजाएका रहेछन् । साकारसँग केहीबेर बोलेर उनी मुरलीमै मग्न भए ।
केही बेरमा पल्लो घरबाट एक अधबैंसे पुरुष आएर केबीलाई हकारे, ‘आधा रातमा किन बाँसुरीको हल्ला, भाइ ?’
रिसाउँदै केबीले प्रतिप्रश्न गरे, ‘तपाईं को हो मलाई मुरली नबजा भन्ने ?’
‘म रामेश्वर शर्मा चालिसे भन्ने रमेश विकल हुँ !’
त्यो सुनेर साकारको दिमागमा टिङ्टिङ् घन्टी बज्यो । उनलाई खोजेकै ठूलो मान्छे भेटेजस्तो भयो । विकललाई उनले विद्यालय जीवनमै पढेका थिए । अप्रत्याशित रूपमा ती कथाकार भेटिँदा उनलाई अपार खुसीसँगै भयङ्कर संकोच लाग्यो ।
‘यसपछिका दिनमा त नक्सालमै बस्ने भैरव अर्याल, पारिजात, भूपी शेरचन, पुष्कर लोहनी, रोचक घिमिरे सबैसँग चिनजान भयो’ साकार भन्छन् ‘आफूले किताबमा मात्र पढेका लेखकसँग बसउठ गर्न पाउँदा भुइँमा खुट्टा थिएन ।’
काठमाडौं आएकै महिना उनले ‘एक उद्वेग’ शीर्षकको कविता लेखेर ‘रचना’मा पठाए । कविको नाममा साकार लेखेका थिए । ‘रचना’ को अंक–२ मा ‘एक उद्वेग’ छापिएर आयो । कविको नाम शैलेन्द्र साकार थियो ।
सम्पादक रोचक घिमिरेले ‘शैलेन्द्र साकार’ लेखिदिएछन् । त्यही दिनदेखि शंकरप्रसाद श्रेष्ठ शैलेन्द्र साकार भए । तर सरकारी कागजमा शैलेन्द्र साकार नचल्ने भएकाले कति ठाउँमा ‘म शंकरप्रसाद श्रेष्ठ नै हुँ’ भन्नु परेको उनी सुनाउँछन् ।
आइए पढ्न काठमाडौं आएका साकारले दुईचोटि ‘आइए’ पढ्न पुग्ने समय व्यर्थमा बिताए । सुरुका चार वर्ष न कुनै जागिर खाए न त क्याम्पस भर्ना भए । जो भेटिन्छ उसकै पछि लाग्ने, कविता लेख्ने, गीत सुन्नेमै समय बिताए ।
‘दुब्लाएर बुख्याँचाजस्तो भइसकेछु’, उनी भन्छन्, ‘घर गएर आमाको स्याहार पाएर मात्र फेरिएँ ।’ गाउँ फर्केका साकारले एक वर्ष त्यतै पढाए । पढाउँदै गर्दा एकदिन उनको चेत खुल्यो– अहो ! हेडमास्टर बन्न बिए गर्नुपर्छ । नत्र यिनै केटाकेटी पढाएर बस्नुपर्छ ।’
त्यसलगत्तै हान्निएर धरान झरेर महेन्द्र कलेजमा आइए पढे । परीक्षा दिनेबित्तिकै दोस्रोचोटि काठमाडौं आए ।
त्यसपछि आजसम्म काठमाडौं नै साकारको आधार थलो बनेको छ । बीचमा केही वर्ष अमेरिका र एक वर्षजति पोखरा बसे । त्यसबाहेकका सबै हिउँद–बर्खा नयाँ सडक, सिंहदरबार, पुतलीसडक र वानेश्वरमा बिताए, बिताउँदैछन् ।
वानेश्वरमा घर, सिंहदरबारमा कार्यालय र नयाँ सडकमा साहित्यिक जमघट भयो । मदिराले पुतलीसडक निम्त्याउँथ्यो । उनी भन्छन्, ‘हिसाब गर्यो भने काठमाडौंको सडकमा एक लाख फन्को लगाइसकेको हुँला !’
****
साकारले कृषि विकास बैङ्कमा बिताएको २५ वर्ष कहिल्यै बिर्सने कुरै भएन । उनलाई त्यो बैङ्कमा छिर्न एसएससी दिँदाको साथी ज्ञानेन्द्रराज कोइरालाले उक्साएका थिए ।
एक भेटमा उनले भने– ‘ए शंकर, हाम्रो बैङ्कमा अफिसरको भ्याकेन्सी खुल्दैछ । तिमी पनि आउ, जागिर खानुपर्छ ।’
‘हैट ! त्यो त सबै असिस्टेन्टले गरिहाल्छ नि, तिमीले टिप्पणी लेख्ने, सुपरीवेक्षण गर्ने हो’ कोइरालाले सम्झाए ।
अन्ततः उनले परीक्षा दिए । नाम दोस्रो नम्बरमा निस्कियो । त्यो देखेर साकार तीन छक परे अनि एकाध दिनमा आफैं चित्त बुझाए ।
‘कर्जा शीर्षकमा निबन्ध लेख्न भनिएको थियो’, उनी सम्झन्छन्, ‘अरू कुरा त्यस्तैउस्तै हो, मेरो लेखन शैलीले जाँचकीलाई खुब प्रभावित पारेछ भन्ने लाग्यो ।’
सलल बगेको त्यो निबन्धको सार ‘आवश्यक परेकालाई ऋण दिनुपर्छ, लोभीलाई होइन’ भन्ने रहेको साकारले बिर्सेका छैनन् ।
त्यतिबेलासम्म साकारले दर्जनौं कथा लेखिसकेका र उम्दा कविमा दरिइसकेका थिए ।
****
अधिकांश तस्वीरमा टाईसुट र चस्मामा सजिएका देखिन्छन्, कवि साकार । जाडो याममा स्वेटर, ओभरकोट पनि थपिन्छ उनको ज्यानमा ।
उनी भन्छन्, ‘जीवनमा मैले जतिचोटि भूपी शेरचनलाई भेटेँ, सधैं टाइसुटमा ठाँटिएको देखें । त्यही प्रभाव पर्यो । पछि बैङ्कमा अधिकृत हुँदा कोट लगाउनैपर्ने भएकाले मलाई पनि सहज लाग्दै गयो ।’
अग्रज साहित्यकारहरूको लेखन र विचारले समेत प्रभाव पारेको उनी स्वीकार गर्छन् । ती कोको कवि–लेखक थिए, जसले साकारलाई प्रभावमा पारे ?
‘मोहन कोइरालाको कवित्वले मलाई मेहनत गर्न सिकायो’ उनी भन्छन् ‘प्रयोगवादी कविहरूले छन्दमा नबाँधिन प्रेरित गरे । कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठ, ईश्वरवल्लभको कविता गहिरोगरि मन पराएँ ।’
****
शैलेन्द्र साकार भन्नेबित्तिकै साहित्यिक आन्दोलन जोडिन्छ । आधा दर्जन साहित्यिक आन्दोलनमा प्रत्यक्ष संलग्न यी कवि आन्दोलनलाई चेतना प्रसार मान्छन् । त्यसैले उनी ‘अस्वीकृत जमात’, ‘बुट पालिस’, ‘सडक कविता क्रान्ति’, ‘अमलेख’ लगायतका बहुचर्चित साहित्यिक आन्दोलनहरूमा सरिक भए ।
५० को दशकमा आफैंले ‘कथ्यः कायाकल्प’ सुरु गरे ।
राजनीतिक स्पष्टता नभएका साहित्यिक आन्दोलन सफल नहुने साकारको मत छ । नयाँ पुस्ताले विभिन्न साहित्यिक आन्दोलन सुरु गरेकोमा उनी खुसी छन् । तर बलियो वैचारिक जग नभएर ती आन्दोलनहरू ओइलाएकोमा दुःखी पनि उत्तिकै छन्, उनी ।
‘स्वतन्त्र र सृजनात्मक उत्कर्षतर्फ गयो भने आन्दोलनको प्रभाव दीर्घकालसम्म रहन्छ’ साहित्यिक आन्दोलनका अनुभवी साकार भन्छन्, ‘कुनै राजनीतिक समूह वा अभियानलाई साथ दिने साहित्यिक आन्दोलनले पनि अर्थहीन मृत्युवरण गर्छ ।’
आफू संलग्न साहित्यिक आन्दोलनमध्ये ‘सडक कविता क्रान्ति’लाई उनी नेपाली साहित्यकै सार्थक अभियान मान्छन् । त्यो कविता आन्दोलन अभिव्यक्ति स्वतन्त्रताको लागि थियो ।
****
२०४६ पछि भने साकार निष्कृय भए । जागिरको परिबन्ध त छँदै थियो, त्यसमाथि बहुदलको आडमा छेलोखेलो गर्नेहरूको दबदबाले उनी किनारतिर धकेलिए जस्ता भए ।
दल निकटस्थहरूको तमासा हेर्दाहेर्दै २०५५ साल आयो । त्योसँगै जागिरबाट अवकास पाएर उनी अमेरिकातिर लागे ।
साकार फर्कदा देशमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन थियो । उनी भन्छन्, ‘साथीहरूले जोडबल गरेर मलाई पनि पाँच महिनाका लागि साझा प्रकाशनको अध्यक्ष बनाइदिए ।’
शाही शासन भए पनि नेपाली साहित्यमा केही गर्छु भनेर उनी साझामा बस्न राजी भएका थिए । भन्छन्, ‘कम्तीमा पनि साहित्यको अभिलेखीकरण गर्छु भन्ने पवित्र भावना लिएर गएको थिएँ ।’
यता बजारमा कतिपयले साकार राजावादी भयो, पश्चगामी निस्क्यो भनिरहेका थिए, उता उनी विद्रोही कविता लेखिरहेका थिए । त्यो पाँच महिना त्यसरी नै बित्यो ।
१० वर्षयता साकार नेपाल–अमेरिका गरिरहन्छन् । काठमाडौं छँदा युवा कविहरूको हुलमा भेटिन्छन् । यदकदा मित्र–मण्डलीसँग ‘दारु महल’ पनि पुग्छन् । लकडाउन सुरु भएपछि घरमै थुनिएका उनी अहिले जीवनलाई रसिलो पार्न कता निस्कुँ, कता घुमुँको मुडमा छन् ।
****
शैलेन्द्र साकारलाई धेरैले सोध्छन्, ‘एकाघरका दाजुभाइ कसरी नामी साहित्यकार हुन पुगे ?’
परशु प्रधान शैलेन्द्रका सहोदर दाजु हुन् । प्रधान कविता र निबन्धमा पढिएका छन् । साकार कविता र कथामा ।
दाजुभाइ नै साहित्यमा भएको कुरा चल्दा साकार भन्ने गर्छन्– ‘हजुरबुबा नै लेख्नुहुन्थो । उहाँका दर्जनौं कविता रहेछन् । ती बटुलेर सानो पुस्तक निकालेका छौं ।’
उमेरमा साढे तीन वर्ष फरक हरेका यी दाजुभाइमा समालोचकीय सम्बन्ध पनि छ । दाइले केही लेख्दा भाइले पढेर सुझाव दिन्छन् । भाइको कवितामाथि दाइ टिप्पणी गर्छन् ।
‘अमेरिका बस्दा पनि फोनमा कविता सुनाउँछु’, साकार भन्छन्, ‘लेखनसँग ठट्टा गरेको परशु दाइ मन पराउनुहुन्न ।’
आफ्नो व्यावहारिक जीवनमा पनि दाजुको ठूलो हात रहेको उनी सुनाउँछन् ।
‘म व्यवस्थित हुन जान्दिनँ । दाइले नै जग्गा हेरेर किनिदिनुभयो । मेरै बुद्धिले त काठमाडौंमा कसरी घर बन्थ्यो !’
आफूले जीवनका उर्जाशील दुई दशक कार्यालय र साथीभाइसँग बिताएको साकार बताउँछन् । ‘परिवारसँग त सँगै छु भनेजस्तो मात्र भयो’, ३० र ४० को दशकको आफ्नो दिनचर्या सुनाउँदा उनले भने ।
****
कविता लेखेर के पाउनुभयो ?
साकारलाई यो प्रश्न वाइयात लाग्छ । ‘केही पाउन लेखेको होइन । अस्तित्व र आवाजका लागि लेखेको हुँ’, उनी आफ्नो मान्यता सुनाउँछन् ।
कविता लेखेकै कारण जब्बर प्रशंसकहरू पाएका छन्, उनले । आत्मीय साथीभाइ र पाठक पाएका छन् । युवा कवि विश्व सिग्देल साकार दाइको स्वर कहिल्यै सानो नसुनिएको बताउँछन् ।
समकालीन साथी विमल निभा साकारलाई कलासचेत अग्रणी आधुनिक कवि मान्छन् । ‘सामान्य बन्नु र सामान्य जीवन बिताउनु साकारको परिचय हो’ निभा भन्छन् ‘उनको कविता भने विद्रोही र अराजक छन्, त्यसैले कविले कहिल्यै घुँडा टेक्नु परेको छैन ।’
चन्द्रमाको चहकमा पृथ्वी लोलाएको छ । पुलको ठीक बीचमा बसेर म आफ्नो महत्त्वाकांक्षालाई अन्तिम दृढता दिन उभिरहेको छु ।
निकै वर्ष पहिले, एउटी अधबैंसे महिलाले यही पुलबाट खोलाको छातीमा आफ्नो जिन्दगी सुम्पिदिएकी थिई । उसको अस्थिपञ्जरलाई कहिल्यै पनि छालले किरानामा छोडिदिएन । हुन सक्छ, ऊ जलजीवको आहारा भई । ऊ पूर्ण प्रकृतिको चक्रसँगै माटोमा सम्मिलित भइसकी ।
उसको यस प्रकारको मृत्युसँग म कहिलेकाहीँ तर्कना गरिदिन्छु र सोच्छु– जुन प्रथाले उनको हत्या गर्यो, त्यसको संवेदनाले उसको लास देख्न पाएन । उसले मृत्युबाट आफ्नो शालीन विद्रोहको दृष्टान्त दिएकी हो ।
समयको बहावमा त्यो घटना १३ वर्ष पुरानो भए पनि स्मृतिसँग निकै समीप छ । हो, उनी मेरी आमा थिइन् । त्यस रात उनीछेउ मस्त निदाइरहेको थिएँ म ।
सम्झनाको सिलोटमा त्यसदिन (आत्महत्याअघि) प्रस्फुटित भएका उनका भावहरू यति स्पष्ट छन् कि म अझै पनि आफूलाई ती सन्त्रासयुक्त खैरा आँखामा अल्झिरहेको पाउँछु ।
ती आँखा– जुन केहीबेरअघि मानिसहरूबाट बोक्सीको परिचयसँग साक्षात् भएका थिए । ती आँखा– पूर्णिमामय आकाशबीच टोलाइरहन्थे । ती परिवर्तनका माग गर्थे । ती सहनशीलताप्रति प्रश्न उठाउँथे ।
म मान्छु कि मान्छेले आफूभित्र सिङ्गो युग बोकेर हिँडेको हुन्छ । वर्तमानसम्म मैले स्थापित नैतिकताको पालना गरिरहेँ । अब आफ्नो आधा युगमा मैले नवीन मान्यतालाई समर्थन गर्नुपर्छ, भविष्यको हिस्सेदार बन्नुपर्छ ।
१३ वर्षअघिको त्यो क्रूर रातमा मलाई एक कठोर विवशताले समातेको थियो । म विकल्पहीन भई त्यसलाई महसुस मात्र गरिरहन्थेँ । मसँग त्यति साहस थिएन कि म परम्परामा गढेको अवैधानिक पक्षलाई मेरा आवाजहरूले खण्डित तुल्याइदिऊँ । आखिर क्रान्तिका केही विध्वंशित प्रहार आवश्यक छन्, जसले मानिसका संरचित विश्वासलाई चुनौती दिन सकोस् ।
(आमा– जीवन बाँच्ने रहरबीच मर्ने प्यास र मर्ने प्यासबीच बाँच्ने रहरको सिँगौरी मात्र होइन ।)
मेरी मामाघरको बहिनीलाई पनि ‘बोक्सी’को अप्रमाणित आरोपहरू आउन थालेपछि नै पितृसत्तात्मक प्रथाप्रति सुस्त रहेको आक्रोश एकाएक जुर्मुराउन थालेको हो, ममा । आजको पूर्णिमाको चहकले मलाई कताकता संकेत गर्छ– आज फेरि मृत्युको रात दोहोरिएको छ ।
ज्याकेटभित्र लुकिरहेको एउटा खुकुरी छ । यो झनै भारी लाग्न थालिरहेछ मलाई ।
स्मरणको एक चित्र
पहाडको अँगालोमा बेरिएको एक अविकसित गाउँ थियो, त्यो । जहाँ शिक्षा र सुविधाहरू अपरिपक्व भएर आइदिन्छन् । जहाँ आधुनिकतालाई प्राचीन मान्यताहरूले परास्त गरिदिन्छ । जहाँ शासक र शोषित दुवै आफ्नो परिभाषामा राम्ररी अटाएका छन् । जहाँ अन्धविश्वासले समानतालाई कैद गरिदिन्छ । जहाँ सामन्ती संस्कृतिअघि सामाजिक संवेदना घुँडा टेकिदिन्छ ।
जहाँको मानिसलाई बन्धक बनाइदिन्छ देवलछेउको ढुङ्गाले पनि । क्षितिजको असीमिततालाई पनि त्यहाँको आँखाले सीमित देख्छ ।
यही गाउँको पधेँरो, वन, खेतबारी, मैदान, गोरेटो इत्यादि गर्दै बितेका दिनहरूले मेरी आमाको हत्केलामा ठेला उमारेर गइदिन्थे । मलाई योसम्म थाहा छैन, घाँस काट्दै विरह गीत गुनगुनाउनु, ठेकीमा मोही तयार पार्नु, आदि क्रियाबाट जीवनलाई कस्तो आश्वासन दिइरहेकी थिइन् उनले ? के साँच्चै उनी घर नफर्किएको एक लाहुरेको तस्वीरमा जीवनसाथीको आभास पाउँथिन् ?
अहो ! ती पर्खाइले गम्भीर बनेका आँखामा कसरी छचल्किन्थे जिन्दगीका गतिहीन गतिशीलताहरू ।
कामज्वरोले ठूलोबुबाको अकाल मृत्यु भएपछि घरमा एक प्रकारको असन्तुष्टि व्याप्त थियो । मेरी आमा, घरका बाँकी सदस्यअघि एकदमै लाचार देखिनुहुन्थ्यो । कति राम्ररी बुझेकी थिइन् उनले जीवनको रीतिलाई ।
त्यसैबीच, एकदिन जब मुर्दाको खप्परअघि रुद्राक्षको माला लगाएर ढ्याङ्ग्रो ठोक्दै एउटा झाँक्रीले घोषणा गरिदिन्छ– मेरी आमा बोक्सी हुन् । उनले ठूलोबुबालाई बिगार गरेको कारण उनको ज्यान गयो । मेरो सानो मस्तिष्कमा त्यस कुराप्रति विश्वस्त हुने केही आधार थिएन र अहिले पनि छैन ।
तर त्यहाँ उपस्थित भिडको आँखामा अनौंठोपन छ्याङ्गिसकेको थियो । त्यस झाँक्री एउटा लामो चाबुकले बारम्बार आमाको पिठ्युँमा हिर्काइरहेको थियो र उनी बारम्बार आफू निर्दोष रहेको कुरा अवरूद्ध कण्ठमा भनिरहेकी थिइन् । उनको याचना र चित्कारमा मानिसहरू मौनदर्शक बनिरहे । सबैजना एउटा विषम धैर्यमा नियालिरहेका थिए– ‘अब के हुन्छ ? गाउँ निकाला गरिन्छ वा दिसा खुवाइन्छ ?’
त्यहाँका मानिस यति क्षुब्ध थिए कि कसैले पनि उनको सरल व्यवहारलाई त्यस दोष विपरीतको प्रमाण बनाउन सकेनन् । उनको तातो आँसुलाई सबै गाउँलेले स्वाद मानेर निलिदिए । अन्ततः उनलाई गाउँबाट बहिस्कार गरियो ।
अवचेतन मनमा ठूलो पीडा बोकी म पनि आमाको पछि लागेको थिए । रात छिप्पिन थालिसकेको थियो । हामी एउटा सानो चौतारोमा बसेका थियौं । आमाको शरीरभरि चोटैचोट थियो । ममताले विह्वल उनी शब्दविहीन थिइन् । म पनि केही बोल्न सकिरहेको थिइनँ । उनी आफ्नो अपमानित अवस्थामा निकै अप्ठ्यारो मानिरहेकी थिइन् । त्यसैले उनी पछ्यौराले अनुहार पन्छाएर चुपचाप बसिरहिन् । बिस्तारै उनी केही सजक भएजस्तो देखिन थालिन् ।
त्यसैबेला उनको हातले मेरो टाउको मुसारिरहेका थिए । एकोहोरो मेरो अनुहारमा हेर्दै भनेकी थिइन्–
‘तिमी यो दिन कहिल्यै नबिर्सिनू’
म विस्मित भएर उनलाई हेरिरहेँ । एउटा अव्यक्त सम्बन्धको आभास हामीले पाइरहेका थियौं । त्यस्तो सम्बन्ध जुन नवीन अध्यायको सुरूवात र पुरानो संगतिको विराम बीचको खालीपनमा स्थापित हुन्छ ।
उनले अड्कँदै फेरि भनिन्–
‘तिम्रो बुबा आउँदैनन् । तिमी अब मामाघरमा गएर बस्नू ।’
(साँच्चै, बुबा आएनन् पनि ।)
अबेरसम्म उनी सुस्केरा हाल्दै बसिरहिन् र म उनको छेउमै निदाएँ । बिहान उठ्दा, पाखाहरूमा विरह गीत गाउँदै जंगली फूल बटुलिरहने एउटा निस्कपट जिन्दगी सधैंका लागि समाप्त भइसकेको थियो ।
*****
मलाई लाग्न थाल्छ– अब यस विचलित भावनालाई ठोस घटनामा परिणत गरिदिनुपर्छ । जतिजति म अगाडि बढिरहन्छु, त्यति नै म भ्रमको संघार छेउ पुगिरहेको आभास हुन्छ ।
झाँक्रीको घर अब आधा किलोमिटरको दुरीमा छ । आसपासका घरहरू सबै निद्रालाई थुनेर बन्द छन् । नजिकैको खोल्सामा रमाइरहेका झ्याउँकिरीको स्वर मेरो कानमा परिरहन्छ ।
केही परको झाँक्रीको घर पनि अन्धकारमय देखिन्छ । सम्भवतः ऊ निदाइसक्यो । आफ्नो चाललाई स्वाभाविक बनाउने चेष्टा गर्दै म जोड–जोडले उसको ढोका ढक्ढकाउँछु । ऊ एक्लै बस्छ, यो मलाई थाहा थियो । म परिवेशसँग सावधान रहन टाढा–टाढासम्म नियाल्छु । कतै पनि मानव आकृतिको भान पाउँदिन ।
यद्यपि हृदय कुनै निश्चित गति समात्दैन । शरीरको बढ्दो तापक्रममा म भिज्न थालिसक्छु । बुढो झाँक्री जबर्जस्ती निद्रालाई धपाउँदै ढोका खोलिदिन्छ । मलाई देखेर ऊ कति पनि सन्दिग्ध हुँदैन, आँखाभरि प्रश्न झुण्डाएर मेरो उपस्थितिको कारण सोध्छ । म ज्याकेटभित्रको खुकुरी छाम्दै याचना भावमा बोल्छु–
‘मेरो मामाकी छोरी एकदम साह्रो भई । तपाईं तुरुन्तै गइदिनु पर्यो ।’
ऊ मलाई सजिलै पत्याइदिन्छ । ‘एकछिन है’ भन्दै ऊ फेरि आफ्नो सामान लिन कोठाभित्र पस्छ । मेरो मनोबल अब भत्किन थाल्छ । ‘के म यत्रो अपराध गर्न सक्छु ?’ तर यो त मेरो आत्माकै पुकार थियो । ‘बाल्यकालदेखि हृदयमा सल्केको आगो मत्थर पार्न मैले यो मनोवृत्तिलाई साकार पार्नै पर्छ’, मनले यस्तै सोचिरह्यो ।
घर भित्रबाट झाँक्री हत्पताउँदै बाहिर आउँछ । मलाई लाग्छ– ‘उसको बाँच्नुको सार्थकता अब एकैछिनमा नष्ट हुनेछ । यो समयमा टाढा कतै कराइरहेको स्यालको आवाज पनि पातलिँदै गएको छ । यो ठीक समय हो ।’
बुढो झाँक्री मछेउ आएर उही साधारण तरिकाले भन्छ–
‘जाऔं… !’
कताकता मलाई आफ्नो स्थिति शंकास्पद लाग्छ । मभन्दा तीन कदम अगाडि हिँडरहेको झाँक्रीको चालमा कुनै सन्देह देख्दिनँ । डरले यति दबाइरहेको छ कि म आफूलाई पनि कतैबाट छल्न सक्दिनँ । हो, उसको अनुहार जति नै साधारण देखिए तापनि त्यसले नजानिँदो तरिकाले मेरो संकल्पलाई ठूलो चुनौती दिएको छ ।
म आफ्नो सचेतनालाई इन्द्रियको बोधसँग थाम्न खोजिरहन्छु । बिस्तारै ज्याकेटभित्रबाट चम्किलो खुकुरी निकाल्छु । त्यसको दाप पनि हटाएर नाङ्गो पार्छु । ऊ यहीबेला पछाडि फर्कियो भने यहाँ स्थिति अनियन्त्रित भइदिन सक्छ वा उल्टिन सक्छ सबै रहस्य !
अहिले ऊ एकोहोरो बाटो पहिल्याइरहेको छ । म खुकुरी जोडले समात्छु । त्यसपछि निकै कम अन्तर रहन्छ, ऊ पछाडि फर्कनु, खुकुरीको टुप्पोले उसको घाँटीका नसा काटिनु, उसको आँखा एकचोटि निकै भयभित हुनु, चोटको आघातमा ऊ लड्नु ।
जति म उसको घाँटीमा खुकुरी रेट्दै जान्छु, उति ऊ एक मुठ्ठी विद्रोहको श्वास जम्मा गर्न खोजिरहन्छ । म चाहन्छु– ऊ अझै तड्पियोस्, जसरी मेरी आमा तड्पिएकी थिइन् । ऊ कराओस्, चिच्याओस्, बिलौना गरोस्, जीवनको पुकारा गरोस् र उसले यस विकृतिमा कतैबाट कुनै सहयोग नपाओस् । ऊ आशारहित भई पूर्णरूपमा टुक्रियोस् । मृत्यु भोग्नुअघि उसले जीवनको सबैभन्दा कठोर अनुभूति पाओस् र उसको दिव्य निष्कर्षमा आफू एक संकुचित परम्पराको कुरूप पात्र भएको ज्ञात होस् ।
म चाहन्छु– झाँक्रीको हत्याको सन्त्रासबाट अन्धविश्वासलाई चेतावनीको धक्का परोस् ।
उसको देहमा खुकरीको अन्तिम प्रहार गरेर म लासलाई लावारिस छोडिदिन्छु । सन्तुष्टिजस्तो केही मभित्र टाँसिन आउँछ । आफ्नो भर्खरको क्रिया एकदम विचित्र लागे पनि मेरो निम्ति यो पश्चातापको विषय होइन ।
यो गाउँप्रति मेरो दायित्व सकिसकेको छ । अन्यायविरुद्ध एउटा विद्रोह घटित् भइसकेको छ ।
हो, नवयुगको द्वार मैले रगतले पोतिदिएको छु । मैले यस अपराधमा आफूलाई पिल्साउनु हुँदैन ।
मेरा दुवै आँखा ढाकेर
मुटु सिरिङ्ग–सिरिङ्ग हुने गरी
मस्तिष्कमा तुफान आएजस्तै
मेरो आँगनमा ठिङ्ग उभिन आइपुग्ने तिमी को हौ ?
मैले लेखिरहेको कविता देखेर हाँस्ने
मेरो चालढाल र नृत्यको उपहास गर्ने
शरीरका रौं ठाडा–ठाडा हुने गरी
अविच्छिन्न अँध्यारो आलाप गर्दै
मेरो दैलोमा उपस्थित तिमी को हौ ?
टिठलाग्दो आँखाले हेर्दै
मुटुको कुना छोएर बग्न
कुन वेदनाको धुन बजाइरहेछौ ?
वर्षौं पुरानो घाउ बोकेर
‘मलम छ ?’ भन्न आइपुग्ने तिमीलाई चिनिनँ
म, तिमीले लेख्दालेख्दै छाडेको आधा कथा
आमाको शरीर छोप्दाछोप्दै च्यातिएकी गुन्यूँ
तिमीले भुलेको एउटा गन्तव्य
छातीमाथि बुटको वर्षातले निथ्रुक्क भएकी
म आँसुकाली
म खुम्चियाधुरा
बाँकी छ कि संवेदना
बाँकी छ कि राष्ट्रियता
बाँकी छ कि इमान सोच्दै
तिम्रो मझेरीमा झरेकी
गिद्दे आँखाको शिकार बनाइएकी
म कलियुगकी द्रौपदी
घरि वारिबाट, घरि पारिबाट बलात्कृत
म लिपुलेक, लिम्पियाधुरा, कालापानी
सुस्त–सुस्त खिया लागिरहेकी ‘सुस्ता’ !
प्रत्येक रात मेरो चीरहरण हुँदा
तिमीलाई ऐंठन हुन्छ कि हुँदैन ? हेर्न आएको थिएँ
तिम्रो छाती कत्तिको फराकिलो छ, छाम्न आएको थिएँ
तिम्रो शिर कत्तिको उँचो छ, नाप्न आएको थिएँ
के थाहा हामीलाई ?
शिर छुट्टिएको गिँड हेरेर फर्कनुपर्छ !
२. युगको जालो
– प्रभाती किरण
झोसेर आगो घर पोल्छ सत्ता
बुझ्दै छ न्यायालयबाट भत्ता
सन्त्रास बढ्दो छ कि न्याय ढल्छ
चिम्लेर आँखा जब शक्ति चल्छ ।
पिएर आगो जल पोख्छ कल्ले ?
खित्का उसैको बल जोख्छ कल्ले ?
बिर्सन्छ आफ्नो जब मूल थान
फुत्किन्छ सिङ्गो युगको कमान ।
यूवा लघारी परदेश पोस्छ
उन्मत्त भै शासक नीति खोस्छ
उघ्रन्छ कैले नभ फाट्छ कालो
देखिन्छ आँखाभरि नित्य जालो ।
मर्दै छ आशा अझ लोकतन्त्र
थूनेर घाँटी छ भन्यो स्वतन्त्र
बर्सेर आँखा सपना बिलायो
रुँदै छ आत्मा सरकार लाग्यो ।
गोली निलेका उरबाहु हाम्रा
तिमी हिँडेका पथ आङ हाम्रा
हौं शक्ति हामी झुपडी कटेरो
उधार्न सक्ने जगको अँध्यारो
थियौं कतै भित्र र योजनामा ?
मान्छे बनी बाँच्नु छ कल्पनामा
पोलेर आफ्नो गुँड भोज खाँदा
जाँदैन जाडो पुष एक जाँदा ।
लिस्नो बनायौ उधिनेर हाड
लौरो भुल्यौ पारि पुगेर आज
पोतेर कालो मनभित्र बाज
चल्दैन यस्तो असुरी निसाफ ।
(छन्द : उपजाति)
३. यात्राको झोला
– विश्व सिग्देल
राखेर थपक्क
रातको ऐंठनलाई पिँधमा
दिनको रस्साकसीलाई बीचमा
बिहानीको बैजनी सपनालाई
झोलाको सबभन्दा माथिल्लो भागमा
हामीले सँगै यात्राको झोला कसेका थियौं ।
अझै,
यात्रामा समेट्नुपर्ने धेरै सामान
भुईंमा असरल्ल थिए
मैले दिएको पस्मिनाको गलबन्दी
तिमीले दिएको नीलो स्वेटर
बाटाको खाजा
रहरको पुतली
भित्री वस्त्रको चाङ
स्याम्पु, आइलाइनर, मस्करा, हाइलाइटर
रङ्गीबिरङ्गी मोजाहरू
अझै बाँकी थिए
महत्त्वपूर्ण कागजातका सङ्कलन
केही आवश्यक औषधिहरू
झोलामा सिङ्गै घर अटाउने तिम्रो अड्डी
तिमी जहाँ, घर त्यहीँ हुने मेरो रुमानी स्वभाव
र यात्राको हतारो
अब तिम्रा सामान–अब मेरा सामान
हाम्रा सामान भएर
भरिन थाले झोलाहरू
डिसेम्बरको चिसो साँझ
हाम्रा हातहरू मायाको न्यानोमा घुल्दै थिए
र निस्केका थियौं हामी यात्रामा
चुलीमाथि चुली
डाँडामाथि अर्को डाँडा
त्यसमाथिको अनन्त क्षितिज
थकान र नयाँ बिसौनीको आकर्षण
हामीले
गर्नुपर्ने त पहिला
मनदेखि मनसम्मको यात्रा रहेछ
यसरी बीच बाटोबाट
आ–आफ्ना कसिएका झोलाहरू बोकेर
पुनः फर्कनु
वा रूमलिनु कतै
मानिसको नियति हुनु नौलो नभएपनि
मायाको नियति हुनु
कुनै पनि कोणबाट सुन्दर थिएन
अब तिमी छैनौ
यात्रा छैन
फुर्सदमा
म खोतल्दै छु यात्राको झोला
र झोलामा
मेरा सामानभन्दा बढी
तिम्रा सामान भेट्छु
तिम्रो गन्ध, तिम्रो बास्ना
जो खोपिएको छ मेरो झोलामा
जो पखालिएको छैन
कैयन झरी र हिउँदका हिमपातले
गण्डकी क्षेत्रको एक गाउँका नवयुवक दाह्रीजुँगा पलाउँदा नपलाउँदै बिए पास गरेर शिक्षण पेसा सुरु गर्छ । त्यही क्रममा ऊ आईएमा एक पिरियड अंग्रेजी पढाउने ‘केटो सर’ पनि बन्न पुग्छ ।
त्यो केटाले शिक्षण पेसा आफैँले रोजेर गरेको हो तर उसलाई शिक्षणभन्दा शिक्षा प्रशासन बढी आकर्षक लाग्छ । तदनुरूप ऊ २०५१ सालमा लोकसेवा उत्तीर्ण गरेर विद्यालय निरीक्षकको रूपमा रुपन्देही झर्छ । त्यसरी सरकारी सेवा सुरु गरेका खगराज अधिकारी कालान्तरमा सचिव बनेर लामै समय शिक्षा मन्त्रालय कार्यरत रहे ।
यो पेसागत सफलतासँगै बरालमा लेखन कलाको समेत बिस्तारै विकास हुन थाल्यो । प्रशासनमा आफ्नो कुशलता पोखेका उनलाई राम्रो लेखकको कोटीमा समेत उभ्याएको छ, सिकाइ र सहयोगले । उनको यो दोस्रो कृति हो ।
कोरोना भाइरस रोकथामका लागि देशव्यापी बन्दाबन्दी हुनुभन्दा ठीक अगाडि चैतमा सार्वजनिक भएको ‘सिकाइ र सहयोग’मा लेखकको २०५१ देखि २०६९ साल (पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक हुँदा) सम्मका भोगाइ र सिकाइ समेटिएका छन् । आफ्नो दैनन्दिनका टिपोट मात्र नभई मन छोएका स–साना घटना र पात्रहरूका बारेमा पनि लेखेर राख्ने बरालको बानीले यो रसिलो पुस्तकलाई थप खँदिलो बनाएको देखिन्छ ।
२४२ पृष्ठको किताबमा विविध क्षेत्र र विषयका २५ वटा संस्मरणात्मक आलेख छन् । सलल बगेको भाषा र संवाद शैलीले शिक्षा, संस्कार, धर्म, आचार–व्यवहार, मर्यादा, अधिकार, संगत, लैङ्गिकतालगायत विषयलाई सरस बनाएको छ ।
लेखकले बाल अधिकारदेखि बाख्रा पालनसम्मका विषयलाई पुस्तकमा समेटेका छन् । इजिप्टदेखि जापानसम्मका सम्झनालाई कोरा प्रवचनको नभई सीधै घटनाको साक्षी बनाउने गरी प्रस्तुत गरिएका लेखहरू आफैँमा पठनीय छन् ।
मान्छेको व्यक्तिगत बानी–व्यहोरा र सामाजिक चालचलनमाथि टिप्पणी गर्नु बडा गाह्रो काम हो । तर लेखकले नाम–ठाम् तोकेरै सीधा टिप्पणी गरेका मात्र छैनन्, ‘यु सुड माइण्ड’ पनि भनेका छन् । मांस र मदिराप्रति अरूचि र हिन्दु परम्पराप्रतिको पुस्तकमा गहिरो आस्था जाहेर गरिएको छ ।
साइनो र सम्बन्धमा नेपालीजति धनी संसारमा सायदै अरू कोही होलान् । नेपालीको घर, मावली, ससुराल सबै ठाउँका एक–एक व्यक्तिलाई सम्बोधन गर्ने साइनोकोे शब्द भण्डारै छ भन्दा फरक पर्दैन । तर पछिल्लो समय नेपाली समाजलाई ‘अंकल–आन्टी’को फेसनले लपेटेको छ ।
खासमा अंग्रेजहरूसँग मामा–माइजु, काका–काकी, फुपु–फुपाजु, बडाबा–बडीआमा इत्यादि नभएर अंकल–आन्टी भनेका हुन् । माइजु भन्दाको मिठास, माया, स्नेह र आफ्नोपन आन्टीमा हुँदैन । तर पनि नेपालीको मुखमा माइजुलाई आन्टीले मारिरहेको छ ।
एकथरीले जोडतोडका साथ सासूआमा, सालोभाइ, सालीबहिनी जस्ता नेपालीपनको अभ्यास थालेका छन् । यो अभ्यास ‘घरतिरको बुबा, माइतीतिरका सहोदर बुबा’ सम्म पुगेको छ ।
नेपालीपनका पक्षपाती लेखक बराल पनि साइनो–सम्बोधनको यो सामाजिक अधोगतिबाट पीडित नहुने कुरै भएन । ‘नाता र सम्बोधन ः अनुभव र अनुभूति’ शीर्षकको आलेखमा उनले यस्तो विकृत भाषिक–सांस्कृतिक अभ्यासको दृश्य चित्र उतारेका छन् । पढ्दा रमाइलो लाग्ने यो आलेखले पढिसकेपछि पाठकलाई पक्कै झस्काउँछ ।
किताबमा भएकामध्ये ‘आनुवंशिकताको प्रभाव’ सबैभन्दा लामो आलेख हो । यसले लेखकमा रहेको कृषि र पशुपालनप्रतिको गहिरो मोह देखाउनुका साथै पाठकलाई नेपालका पुराना केही फार्मको भ्रमण गराउँछ । त्यसक्रममा सम्बन्धित विषयका देशी–विदेशी विज्ञसँग चाखलाग्दो संंवाद गराउँछ ।
पश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय प्रशासक रहँदा बरालले कृषि तथा पशु प्रजनन् फार्महरूको अवलोकन भ्रमण गरेर प्राविधिक ज्ञान लिएका थिए । संस्कृतदेखि सांकेतिक भाषासम्मका विषयमा कलम चलाएका बरालको यो आलेखले विशेषतः किसानका लागि महत्वपूर्ण खुराकहरू पस्केको छ ।
‘सिकाउने आफ्नै काइदा’ शीर्षकको लेखमा जाइका (जापानको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी)का एक स्वयंसेवी प्रशिक्षकको सिकाउने काइदा समेटिएको छ । ‘मानिस शाकाहारी जीव हो’ भनेर बुझाउन ती प्रशिक्षकले अपनाएको सुरूचिपूर्ण तरिकाबाट प्रभावित बरालले यही तरिका विद्यालयमा लागू गरेर सिकाइमा फड्को मार्न सकिने उल्लेख गरेका छन् ।
बरालले किताबमा थुप्रै प्रेरक प्रसंग र ज्ञानगुनका सन्दर्भलाई समेटेको छन् । सँगै सदाचार पालना गर्दाका दुःखलाई समेत प्रस्तुत गरेका छन् । ‘बानी त कस्तो राम्रो !’ शीर्षकको लेखको थुप्रै प्रसंगमा आएका पात्रहरूले लेखकलाई ‘सरको बानी त कस्तो राम्रो !’ भन्छन् । तर जे देखेर राम्रो भनेको हो, आफू त्यो पालना गर्दैनन् । बरु सरलाई एकलकाँटे ठान्छन् ।
अर्को लेख छ– ‘क्षतिपूर्ति दावीमा अनौठो प्रवृत्ति ।’ यसमा चौपायालाई ठक्कर दिएको दुईवटा सडक दुर्घटनाको वर्णन छ । पछिल्लो समय मौलाएको क्षतिपूर्ति दाबी गर्दा लोकलाज नै बिर्सेने प्रवृत्ति देखाइएको छ । सडकमा छाडा पाठीलाई गाडीले ठक्कर दिएर मार्दा ‘यो त पहिलो बेतबाटै बोकैबोका पाउने जातको हो’ भन्दै ५० हजार रुपैयाँ दाबी गर्ने, चालक विदेशी रहेछ भने त अझ उत्पात मचाउने दयनीय परिदृश्यको वर्णन यसमा छ ।
‘संस्कृत, संस्कार र संस्कृति’ शीर्षकको आलेखमा लेखक बरालले हिन्दु दर्शनका कारण नेपालीहरू संसारमा सबैभन्दा खुसी रहेको उल्लेख गरेका छन् । यो दाबी गर्दा उनले समाजशास्त्रीय अध्ययनको पक्षलाई पूरै बेवास्ता गरेका छन् ।
अझ उनी लेख्छन्– ‘…भाग्यलाई विश्वास गर्ने कारण पूर्वीय दर्शनमा विश्वास गर्नेहरूमा विसंगति छैन । …पश्चिमा दर्शनमा यसको अभाव छ । त्यसले गर्दा पश्चिमाहरू दुःखी छन्, विसंगत छन् ।’
यसमा पनि विवाद हुन सक्छ । हिन्दु धर्म–दर्शनप्रति अधिक श्रद्धा भएका कारण लेखकले अन्य धर्मावलम्बीलाई दुःखी र विसंगत भन्न पुगेको अनुमान गर्न सकिन्छ । यद्यपि, आद्योपान्त पढेर मनन् गर्दा किताबभरि ‘…सर्वे भद्राणि पश्यन्तु…’ कै भाव भरिएको पाइन्छ ।
पढ्न थालेपछि एकपछि अर्को लेखको मेलो सर्दै जाने यो किताबको आवरणले भने धेरै पाठकलाई तर्साउने खतरा छ । त्यसै पनि सिकाइलाई कक्षा कोठाको तनावको रूपमा लिने चलन छ ।
त्यसमाथि बिजुलीको बल्बभित्रका रसायनशास्त्र र भूगोलदेखि परमाणु विज्ञानसम्मको संकेत चिह्नले यो किताबलाई पाठ्यपुस्तक वा गाइड जस्तो चित्रण गरेको छ ।
होम भट्टराईले सम्पादन गरेका ‘सिकाइ र सहयोग’मा सम्भवतः प्रकाशनको हतारोले हुन सक्छ, अलि अनौंठो लाग्ने भाषिक प्रयोग पनि भएका छन् । जस्तो– नाक खुम्च्याएको प्रत्यक्ष अवलोकन गरेको थिएँ, चिसो हुने उच्च उचाइमा, …मास, भटमास, मस्याम, पिँडालुजस्ता लहरे तरकारी, कुखुराका बुबाआमा, विशेषज्ञ वैज्ञानिक, नवयुवक बालक, भर्खरका युवाहरू आदि ।
‘पहाडी एवं हिमाली हावापानी भएको मुलुक भुटान’, ‘रातिको समयमा ट्रेकिङमा नजानुहोस् र जोर्नीहरूमा लगाउने पट्टिहरू बोक्नुहोस्’, ‘कुकुरलाई घरभित्र पस्ने अनुमति थिएन’, निम्ता नगर्नु पर्नेको सूची ‘तिनमा (तरकारीहरूमा) मानव शरीरका लागि आवश्यक पर्ने महत्वपूर्ण तत्वहरू पाइँदो रहेछ’, ‘सुन्न नसकेका कारण बोल्न नसक्ने भएकाले उनीहरूको श्रवण शक्ति हुँदैन’ जस्ता वाक्यहरू पढेर पचाउन पाठकलाई पाचक पाए पनि हुन्थ्यो भने जस्तो लाग्छ ।
लेखक बरालले बनाउनु, चलाउनु, दिनु, हेर्नु, सक्नु, पाउनु, जन्मनु जस्ता क्रियापदलाई करिब–करिब निषेधै गरेका छन् । कितावमा मकै फल्दैन, उत्पादन हुन्छ । सन्तान जन्मँदैन, उत्पादन हुन्छ । लेखक सर्प आउन सक्ने प्वाल हेर्दैनन्, अवलोकन गर्छन् । व्यक्तित्व चम्काउँदैनन्, निखार ल्याउँछन् । पुस्तिका बनाउँदैनन्, निर्माण गर्छन् । तालिम दिँदैनन्, कि प्रदान गर्छन् कि त उपलब्ध गराउँछन् । भाषाको यस्तो प्रयोगले सलल बगेका लेखहरूको मीठो नेपालीमा भाँजो हालेझैं लाग्छ ।
समग्रमा पुस्तक एकदमै पठनीय र संग्रहणीय छ । सांग्रिला बुक्सले बजारमा ल्याएको यो पुस्तक कुनै लक्षित समूहमा सीमित छैन । पठन र ज्ञान आर्जनमा रूचि भएका सबैलाई चित्त बुझाउन सक्छ, खगराज बरालको विद्यार्थी, ‘सिकाइ र सहयोग’ ले ।
१७ साउन, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कपको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा लियोनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पीएसजीले लिग कपको उपाधि जितेको हो ।
यस सिजन पीएसजीको यो तेस्रो उपाधि हो । पीएसजीले फ्रेन्च लिग वान र फ्रेन्च कपको उपाधि जितिसकेको छ ।
पीएसजीका गोलकिपर केलर नाभासले लियोनका बेट्रान ट्राओरको पेनाल्टी प्रहार रोकेपछि पीएसजीले नवौं पटक लिग कपको उपाधि जितेको हो । लिग कप सर्वाधिक जित्ने टिम पनि पीएसजी नै हो । एक पटक उपाधि जितेको लियोन भने फाइनलमा पराजित भएको यो पाँचौ पटक हो ।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेलमा दुवै तर्फबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।
खेलको अन्तिम मिनेटमा लियोनका डिफेन्डर राफेल रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । उनले डिबक्सभित्र पीएसजीका एन्जल डी मारियलाई फाउल गरेका थिए ।
पाब्लो साराबियाले गरेको पेनाल्टी प्रहार नै पीएसजीलाई जिताउन निर्णायक बन्यो ।
पेनाल्टी सुटआउटमा पीएसजीका लागि एन्जल डि मारिया, मार्को भेराट्टी, लिएनड्रो ड्यानिएल परेडेस, एन्डर हेरेरा, नेमार र पाब्लो साराबियाले गोल गरे । यस्तै लियोनका लागि जोचिम एन्डरसन, कार्ल टोको एकाम्बी, म्याक्सेन्स काकेरेट, थियागो मेन्डेस र हाउसेन आउरले गोल गरे । बर्ट्रान्ड ट्राओर गोल गर्न असफल रहे ।
फाइनल खेल हेरनका लागि करिब ५ हजार दर्शक उपस्थित थिए । कोरोना महामारीपछि गत अप्रिलमा फ्रान्समा फुटबल गतिविधि बन्द गरिएको थियो । जुलाई पहिलो साता देखि दर्शकक सहितको फुटबल खेल्ने अनुमति प्राप्त भएपछि दर्शक उपस्थित भएको यो दवस्रो खेल हो ।
यसअघि फ्रेन्च कपको फाइनलमा पीएसजीले सेन्ट एटिएनलाई १-० ले पराजित गर्दै उपाधि जित्दा पनि दर्शक उपस्थित भएका थिए ।
१७ साउन, काठमाडौं । पर्यटन सँस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बर्द्धन गर्ने बताएका छन् ।
उनले व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको अतिक्रमणलाई भने स्वीकार नगर्ने स्पष्ट पारेका छन् ।
सामाजिक सन्जाल ट्वीटरमार्फत् मन्त्री भट्टराईले यी धारणा सार्वजनिक गरेका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बद्र्धन गरिने छ । स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने छ । व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई भने स्वीकार गरिने छैन । कुरा यही हो ।’
उनले सरकारले सबैसँग छलफल गरेर यसबारेमा सहमति बनाउने पनि बताएका छन् ।
पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनामा पश्चिम ढोका भत्काउने, ब्रह्मनाल स्थानान्तरण गर्नेलगायतका विषय समेटिएको सार्वजनिक भएपछि सम्पदाविद जनप्रतिनिधिले विरोध गर्दै आएका छन् ।
१७ साउन, काठमाडौं । त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्न लागिएको भन्ने समाचारमा सत्यता नभएको सो क्याम्पसले जनाएको छ ।
रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघर अगाडि (पहिले त्रिविको परीक्षा नियन्त्रण कार्यालय रहेको स्थानमा) सार्ने समाचारहरु सार्वजनिक भएका थिए ।
ती समाचारहरु गलत र भ्रामक भएको त्रिचन्द्र क्याम्पसका प्रमुख प्रा.डा. सुनिल अधिकारीले बताएका छन् । अधिकारीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘त्रिचन्द्र क्याम्पसको स्थानान्तरण सम्बन्धी हालै बाहिरिएका समाचारहरु गलत एवम् भ्रामक भएको र यस सम्बन्धी कुनै पनि सम्झौता सम्बन्धित निकायसँग त्रिचन्द्र क्याम्पसको तर्फबाट नगरिएको जानकारी गराउँदै सो समाचारप्रति क्याम्पस परिवार पूर्णरुपमा असहमति व्यक्त गर्दछ ।’
क्याम्पस प्रमुख अधिकारीले एक सय वर्षभन्दा बढी पुराना ऐतिहासिक पुरातात्विक एवम् शैक्षिक भवन तथा अन्य भवनका प्रयोगशाला र कक्षा कोठाहरु २०७२ सालको भूकम्पले क्षति भएकाले पुनर्निर्माणका लागि अपिल समेत गरेका छन् ।
१७ साउन, महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको । ती महिलाका श्रीमान आक्रमणबाट घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले गएराति अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको जानकारी दिए । यस्तै उनका श्रीमान ६२ वर्षीय घनश्याम धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते भएका घनश्यामलाई उपचारका लागि धनगढी पठाइएको छ ।
प्रहरीका अनुसार घटना खाती परिवारको घरमै मध्यरातमा भएको थियो । हत्यामा संलग्नको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ ।
१७ साउन, बुटवल । रुपन्देही प्रहरीले विप्लव समूहका नेताहरुको बैठकस्थलबाट एक थान रिभल्वर, ६ थान गोली र डेढ लाख बढी नगद बरामद गरेको जनाएको छ ।
शुक्रबार दिउसो बुटवल–१७ रानीगञ्जस्थित गमबहादुर थारुको एकतले टिनले छाएको घरमा विप्लव समूहको वैठक बस्दै गरेको सूचनाका आधारमा जिल्ला इन्चार्ज संगम भनिने ४७ वर्षीय टेक बहादुर पुनमगरसहित १० जना पक्राउ परेका थिए ।
उनीहरुबाट जापानमा बनेको लेखिएको रिभल्वरसहित बिभिन्न कम्पनीका मोबाइल सेट ६ थान, नगद एक लाख ६७ हजार ४०५ रुपैयाँ नगद र पार्टीका बिभिन्न दस्तावेजहरु बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतित सिंह राठौरले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा सचिवालय सदस्य ४५ वर्षीय विष्णु भट्टराई (विश्वास), जिल्ला सेक्रेटरी तथा पूर्व जनसरकार प्रमुख ४८ वर्षीय नवीन चौधरी, अनेरास्ववियु क्रान्तिकारीका जिल्ला सदस्य २१ वर्षीय पारस राहाडी मगर छन् ।
यस्तै जिल्ला सदस्यहरु माधव न्यौपाने, सरिता बराह, तुल्सीराम भण्डारी, अजअहमद मिया, बल बहादुर दर्जी र रोशन रिजाल पनि पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिने राठौरले बताए ।
१७ साउन, वीरगञ्ज । प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणकामा १५ देखि ६८ वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ जना महिला छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार सांसद यादवसहित उनीसँगै स्वाब दिएका अरु २ जना, नारायणी अस्पतालका चिकिसक र कर्मचारी गरी २ जना, मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका ४३ जना, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना र नारायणी बयोधा अस्पतालका २ जनामा कोरोना संक्रमण देखिएको छ ।
वीरगञ्ज–१३ राधेमाई बस्ने ४० वर्षीय सांसद यादवसँगै उनको सवारी चालक र पीएसओ पनि संक्रमित भएका हुन् ।
रौतहटको चपुर घर भई नारायणी अस्पतालमा कार्यरत ३४ वर्षीय डाक्टर र अस्पतालमै कार्यरत एक जना पारामेडिक्समा पनि कोरोना संक्रमण देखिएको छ ।
वीरगञ्ज– ६ माईस्थान मिना बजार क्षेत्रमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । मास टेष्टिङका क्रममा माईस्थान मिना बजारमा संकलन गरिएको स्वाबको नमूना परीक्षणका क्रममा ३३ जनामा संक्रमण देखिएको छ । १० जना संक्रमित वीरगञ्ज–२५ ड्राईपोर्ट सिर्सिया क्षेत्रका छन् ।
नारायणी बयोधा अस्पतालबाट पठाइएको स्वाब परीक्षण गर्दा वीरगञ्ज–१६ नगवा बस्ने ६८ र ५० वर्षीया महिला, एपोलो अर्थोमा भेटिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका ५१ र ४२ वर्षीय पुरुष, सिर्सिया सुख्खा बन्दरगाहमा कार्यरत एक संक्रमित र आदर्शनगरका एक संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका क्रमशः १५ वर्षीय किशोर र ६० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै आफैं पीसीआर परीक्षण गराउन आएका वीरगञ्ज–१६ नगवाका ३३ वर्ष, महाविरस्थानका ४२ वर्षीय पुरुष, वीरगञ्ज–१२ मुर्लीका २५ र ४३ वर्षका पुरुष, वीरगञ्ज–२३ सबैठवाका २३ वर्षीय पुरुष, पर्सागढी नगरपालिका–४ का २३ वर्षका पुरुष, पकाहामैनपुर गाउँपलिकाका ३० वर्षका पुरुष, परवानीपुरका ५५ वर्षका पुरुष, रौतहटको जयनगरका २५ वर्षका पुरुष र वीरगञ्ज–१० रानीघाटका ३२ वर्षका पुरुषको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।
पर्सामा यसअघि नै आइसोलेसनको अभावमा १ सय २६ जना संक्रमित घरमै छन् । सबैभन्दा बढी वीरगञ्जमा १ सय १८ जना अस्पताल बाहिर छन् । वीरगञ्ज स्थित अस्थायी कोरोना अस्पतालमा भर्ना भएका अधिकांश संक्रमितमा लक्षण छ ।
१७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता भएको बताएका छन् ।
मुस्लिम समुदायको महान् पर्व बकर ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्, ‘पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो ।’
नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेको प्रचण्डले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
‘जनताको यही आशा र भरोसाको सम्मान भनेको विचार अनुरुपको नेतृत्व निर्माण नै हो,’ प्रचण्डले भनेका छन्, ‘यसको पक्षमा दृढतापूर्वक अघि बढ्न आग्रह गर्दै बकर इद् पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु ।’
१७ साउन, वीरगञ्ज । पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले पुनः अवरोध गरेका छन् । अवरोधकैबीच संक्रमितको शव व्यवस्थापन गरिएको छ ।
वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले आधा दर्जन सेल अश्रु ग्यास प्रहार गरेको थियो ।
शव व्यवस्थापन गाउँ नजिकैको जगंलमा गर्न नदिने भन्दै मिलन चोक, नौकाटोल र पसरामपुरका बासिन्दा प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीले प्रहार गरेको ढुंगा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तलाई समेत लागेको छ । प्रहरीतर्फ ७ जना सामान्य घाइते छन् । स्थानीय घाइते भए/नभएको जानकारी आउन सकेको छैन ।
शव व्यवस्थापनका लागि जंगल क्षेत्रमा जाने क्रममा नेपाल प्रहरी र नेपाली सेनाको टोलीलाई मिलन चोकमा स्थानीयले ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । भिडलाई नियन्त्रणमा लिन आधा दर्जन सेल अश्रु ग्यास प्रहार गर्नु परेको एसपी पन्तले जानकारी दिइन् । उनले भनिन्, ‘सम्झाइ बुझाइ गर्दा पनि नमानेर उल्टै प्रहरीलाई नै ढुंगा हान्न थाले । आधा दर्जन जति अश्रुग्यास हानेर भिडलाई तितर वितर पारेर शव व्यवस्थापनका लागि जंगल पठायौं ।’
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी गौतम थापाले शव राति नै व्यवस्थापन गरिएको जानकारी दिए ।
गाउँ नजिकै जंगलमा शव गाड्दा आफूहरुलाई हानी गर्न सक्ने डरले स्थानीयले विरोध गरेको मिलन चोकका प्रकाश अर्याल बताउँछन् । ‘पहिलो पटक संक्रमितको शव ल्याउँदा पनि प्रदर्शन भएको थियो, अर्को पटक नल्याउने भनेपछि प्रदर्शन रोकिएको हो । दोस्रो पटक टेडाका बासिन्दाले बाटैमा रोकेर फर्काइदिए,’ उनले भने, ‘तेस्रो पटक शव ल्याउँदा मिलन चोकमा झडप नै भयो ।’
१५ साउन बिहीबार वीरगञ्जमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीन जनाको मृत्यु भएको थियो । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय, वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय र वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषको शव व्यवस्थापन गरिएको छ ।
१७ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बकर ईद सद्भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड भएको बताएकी छन् ।
आज सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुलाई शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सामूहिकरूपमा नमाज पढ्दै एक आपसमा शुभकामना साटासाट गर्ने हुँदा यस परम्पराले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएकी छन् ।
बकर ईदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा राष्ट्रपति भण्डारीले सुख, शान्ति, समृद्धि, दीर्घायु तथा प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बकर ईद पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताएका छन् ।
बकर ईदको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले मुलुकमा स्थायित्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने राष्ट्रिय आकांक्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्नेसमेत शुभेच्छा व्यक्त गरेका छन् ।
यसैगरी सभामुख अग्नि सापकोटाले पनि बकर ईदको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा सभामुख सापकोटाले बकर ईद जस्ता पर्वले नेपालीहरुबीच मजबुत एकता, दिगो शान्ति र आपसी सद्भाव बढाउन मद्दत मिल्ने विश्वास लिएका छन् ।
उनले यस पर्वमार्फत् राष्ट्रिय एकता र धार्मिक तथा साँस्कृतिक सद्भाव कायम राख्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
१७ साउन, काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद आज मनाइँदै छ ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।
हिजरी संवत् अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिक धार्मिक अगुवाहरु बताउँछन् ।
आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । तर कोरोना भाइरस संक्रमणको जोखिम भएकाले घरमै बसेर नमाज पढ्न राष्ट्रिय मुस्लिम आयोगले सबैलाई आग्रह गरेको छ ।
नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले विभिन्न जनावरको बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ ।
१७ साउन, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताएका छन् ।
दुई देशबीचको ६५ औं वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले सो कुरा बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
चिनियाँ राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धको ६५ औं वर्षगाँठको अवसरमा समकक्षी विद्यादेवी भण्डारीसँग बधाइ सन्देश साटासाट गरेका छन् ।
सो क्रममा राष्ट्रपति सीले नेपाली समकक्षी भण्डारीसँग काम गर्न गर्न इच्छुक रहेको बताएका छन्, ताकि द्विपक्षीय सम्बन्धलाई निरन्तर प्रगति पथमा अगाडि बढाउन सकियोस् ।
चिनियाँ राष्ट्रपति सीले यस कारण पनि नेपालसँग मिलेर अघि बढ्ने इच्छा व्यक्त गरेका छन् ताकि दुवै देशका नागरिकहरुले अधिक लाभ लिन सकुन् र क्षेत्रीय स्थिरता तथा विकासमा सकारात्मक योगदान दिन सकियोस् ।
१७ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भनेको छ, शुक्रबार एकैदिन विश्वभर २ लाख ९२ हजार ५ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संगठनका अनुसार एकैदिन यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो ।
यसअघि २४ जुलाईमा २ लाख ८४ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको थियो ।
शुक्रबार सबैभन्दा धेरै संक्रमित फेला परेका देशहरुमा ब्राजिल, अमेरिका, भारत, दक्षिण अफ्रिका र कोलम्बिया छन् ।
ब्राजिलमा ६९ हजार ७४, अमेरिकामा ६५ हजार ४ सय ६, भारतमा ५५ हजार ७८, दक्षिण अफ्रिकामा ११ हजार ४६ र कोलम्बियामा ८ हजार ६ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको डब्ल्यूएचओले जनाएको छ ।
डब्ल्यूएचओका अनुसार शुक्रबार एकैदिन विश्वभर ६ हजार ८ सय १२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
१७ साउन, काठमाडौं । नेपाली कांग्रेसले पदावधि समाप्त भएका पार्टीका नौ भ्रातृ संघको म्याद छ महिनाका लागि थप गरेको छ ।
कांग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका मितिबाट छ महिनाका लागि भ्रातृ संघहरुको म्याद शुक्रबार थप गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको म्याद थप गरेको हो ।
१७ साउन, गुल्मी । गुल्मीमा अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए ।
घटना शुक्रबार राति करिब साढे सात बजेको हो ।
उनीहरुको पाँच जनाको परिवार रहेकोमा एक जना भने रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ ।
घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ करिव ४० किलोमिटर टाढा पर्दछ ।
घटना शुक्रबार राति करिब साढे सात बजेको हो । सबैको शव राति नै स्थानीय र प्रहरी मिलेर निकालेका थिए । घटनास्थलमा इलाका प्रहरी चौकी रिडी र इलाका प्रहरी चौकी जोहाङ्गको टोली परिचालन गरिएको थियो ।
सोही स्थानमै अन्य केही घर जोखिममा रहेकाले तत्काल सुरक्षित स्थानमा बस्न आग्रह गरिएको वडा अध्यक्ष ज्ञवालीले बताए ।
क्लोथिङ्ग ब्रान्ड ‘डक्टर डेनिम’ले चलचित्रमा लगानी गर्ने भएको छ । यो ब्राण्डले नयाँ चलचित्र निर्माण गर्ने घोषणा गरेको छ जुन अर्को बर्ष रिलिज गर्ने योजना गरिएको छ । प्रेमकथामा बन्ने चलचित्रका लागि कलाकार मनिष राउत फाइनल भएका छन् ।
नायिकाको छनोट भने अहिलेसम्म गरिएको छैन । निलुस गौतमको लगानीमा बन्ने चलचित्रका लेखक र अन्य टिमको जानकारी गराइएको छैन ।
मनिषको अहिलेसम्म कुनै पनि चलचित्र रिलिज भएको छैन । उनले चलचित्र ‘प्रेमगीत ३’मा अभिनय गरेका छन् । निर्माता गौतमले भने–‘हामीले मनिषको राम्रो संभावना देखेर नै ब्राण्ड एम्बेसडर बनाएका थियौं । उनको अभिनय क्षमताबाट पनि प्रभावित भएर चलचित्रको मुख्य नायकमा अनुवन्धित गरेका हौं ।’
चलचित्रको लागि कथा फाइनल भैसकेको छ । चलचित्रको छायांकन नेपाल, जर्मनी र भारतमा हुनेछ । मनिषको जोडीको रुपमा नयाँ नायिकाको खोजी भैरहेको बताइएको छ ।
१६ साउन, काठमाडौं । काठमाडौंमा थप एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको छ ।
साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणको अनुसन्धानका क्रममा थप एक किलो धातु बरामद भएको हो ।
बरामद धातु सुन हो वा सुन जस्तो देखिने धातु मात्र भन्ने परीक्षण हुन बाँकी छ ।
दरबारमार्ग प्रहरीका तत्कालीन डीएसपी रञ्जन दाहाललाई गलत सूचना दिएको अभियोग लागेका सादा पोशाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा हान्दा सुन जस्तो देखिने धातु बरामद भएको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।
प्रहरीले मंगलबार कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको पत्रकार सम्मेलन गरेर बताएको थियो । तर, परीक्षणका क्रममा साढे १४ किलो धातु चाँदी भएको पुष्टि भएको थियो ।
प्रकरणमा दरबारमार्ग प्रहरी प्रमुख डीएसपी रञ्जनकुमार दाहालको अपरेशनल नेतृत्व कमजोर देखिएको भन्दै उनलाई जिम्मेवारीबाट हटाइएको छ । उनी हाल प्रहरी एकडेमीमा काज सरुवा गरिएका छन् ।
दाहाललाई प्रहरी जवान बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठले गुमराहमा राखेको पाइएको एसएसपी शुशीलकुमार यादव नेतृत्वको छानविन समितिले जनाएको छ ।
१६ साउन, काठमाडौं । सुनको भाउ अघिल्लो दिनको भन्दा तोलामा तीन सय रुपैयाँले बृद्धि भएको छ ।
बढ्दो मूल्यमा हरेक दिन नयाँ कीर्तिमान बनाएको सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारको सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो ।
यस्तै शुक्रबारका लागि तेजावी सुनको कारोबार मूल्य ९८ हजार ८६५ रुपैयाँ कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ । चाँदीको प्रतितोला कारोबार मूल्य १२ सय रुपैयाँ छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै सुनको भाउ नेपाली बजारमा पनि उच्च बनेको व्यवसायीहरुले जनाएका छन् ।
अफसिजनमै मूल्य आकासिएका कारण कारोबार अत्यन्तै कम भएको र सुन फिर्ता गर्न ग्राहकहरु आउन थालेको सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।
१६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामू निकास दिने तत्परतासहित गम्भीर छलफलमा बस्न प्रस्ताव राखेका छन् ।
मंगलबार बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रुपमा स्थगित गरेपछि प्रचण्डको अध्यक्षमा बहुमत स्थायी कमिटीको बैठक बसेको थियो र, यसरी बैठक स्थगित गर्नु अनुचित भएको ठहर गरेको थियो ।
साथै पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखेर ओलीसँग छलफल गरी बैठक सुचारु गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो । तर दुई अध्यक्षबीच सम्वाद भएको छैन ।
स्रोतका अनुसार अध्यक्ष प्रचण्डले बिहीबार महासचिव विष्णु पौडेललाई बोलाएर कुराकानी गरेका थिए । स्रोतका अनुसार प्रचण्डले महासचिव पौडेललाई निकास दिने तत्परतासहित गम्भीर छलफलका लागि पहल गर्न आग्रह गरेका छन् ।
‘म केही पनि गर्दिनँ, पार्टी र सरकार यसरी नै चल्छ भन्ने ठाउँबाट निकास दिन अर्का अध्यक्ष (केपी ओली) तयार हुनुपर्छ’ प्रचण्डले महासचिव पौडेललाई भनेको थिए, ‘त्यस अनुसार भेटघाट र छलफलका लागि समय मिलाउनुस् ।’
प्रचण्ड महासचिव पौडेलको जवाफको पर्खाइमा रहेको उनी निकट एक नेताले बताएका छन् ।
नायक सुशान्त सिंह राजपुतको निधनको बिषय अब नयाँ मोडमा प्रवेश गरेको छ । मुम्बई प्रहरीले सुशान्तको निधनको बिषयमा बलिउडकर्मी तथा उनको आफन्तसँग सोधपुछ गरिरहेको छ । यसैविच, सुशान्तका पिताले पटना प्रहरीमा रिया चक्रवर्तीविरुद्ध एफआइआर दर्ता गरेपछि पटना प्रहरीले पनि यसको छानबिन गरिरहेको छ । पटनाबाट ४ प्रहरी अफिसर्स मुम्बई पुगेका छन् ।
सुशान्तका पिताले रिहाले सुशान्तको बैंक एकाउन्टबाट १५ करोड रुपैयाँ ट्रान्सफर गरेको भन्दै उजुरी दिएका थिए । मुम्बई र बिहार प्रहरीपछि अब यो केसमा प्रवर्तन निर्देशालयले पनि अनुसन्धान अगाडि बढाएको छ । रियाले १५ करोड रुपैयाँ सुशान्तको बैंकबाट निकालेको बिषयमा निर्देशालयले अनुसन्धान गरिरहेको छ ।
सुशान्तका पिताले दर्ता गरेको एफआइआरमा सुशान्तको बैंक खाताबाट रियाले आफ्नी आमा, भाई र आफ्नो खातामा रकम ट्रान्सफर गरेको आरोप लगाइएको छ । नायिका रिया चक्रवर्तीले सुशान्तसँग आफू लिभिङ टूगेदरमा रहेको जानकारी भारतको सर्वोच्च अदालतलाई दिएकी छिन् ।
रियाले रकम ट्रान्सफर गरेको बैंक खाता उनी र उनका भाई प्रमुख रहेको कम्पनीको भएको मुम्बई प्रहरीले भारतीय मिडियालाई बताएको छ ।
१५ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वस्तुको प्रत्यक्ष बिक्री गर्ने नाममा नेटवर्किङ व्यवसाय सञ्चालन गर्न सक्ने गरी इजाजत दिन थालेको छ । विगतमा विभिन्न कम्पनीले गरेको अवैध नेटवर्किङ व्यवसायलाई पुनर्जिवित गर्ने गरी नयाँ इजाजत दिन थालिएको भन्दै सांसदहरुले विरोध गरेका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत सबै दलका सांसदहरुले बिहिबार एकस्वरले यस विषयमा आवाज उठाए । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिमा उजुरी परेपछि छलफल भएको थियो ।
जनता समाजवादी पार्टीका सांसद अमृतादेवी अग्रहरीले कमिसन लिएर उद्योग मन्त्रालयले नेटवर्किङ व्यवसाय ब्युँत्याउन खोजेको जिकिर गरिन् । जवाफमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कमिसन लिएको प्रमाण देखाउन चुनौती दिए । प्रमाण देखाए ठाउँको ठाउँ कारबाही गर्ने उनले उल्लेख गरे ।
छलफलमा सहभागी सबै सांसदले विगतमा नेटवर्किङ व्यापारबारे नबुझुदा आफुहरु नै ठगिएको अनुभव सुनाए । कतिपयले आफ्नो पैसा फसेको सुनाए भने, केहीले फाइदा पनि भएको उल्लेख गरे । सारमा सबैले नेटवर्किङ व्यापारलाई ठगीधन्दाको संज्ञा दिए ।
सत्तारुढ दल नेकपाका सांसद देवेन्द्र पौडेलले प्रमाणबिनाका, टेस्टबिनाका सामानहरु बेचिने गरेको भन्दै नेटवर्किङ व्यवसाय गर्न दिन नहुनेमा जोड दिए ।
नेकपा सांसद कृष्णकुमार श्रेष्ठले विगतमा ‘गोल्ड क्वेस्ट नाम गरेको नेटवर्किङ व्यापारमा आफूले ५० हजार गुमाएको सुनाए । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानलाई भने गोल्ड क्वेस्टबाटै ५० हजार फाइदा भएको रहेछ ।
कांग्रेसकी सांसद सुजाता परियारले विगतमा भारतको मेडिकेयर भन्ने नेटवर्किङङि कम्पनीबाट डेढ लाख रुपैयाँ ठगिनु परेको बताइन् । नेकपा सांसद सोमप्रसाद पाण्डेले गोल्ड क्वेस्टको ‘प्रधानमन्त्री’ (प्राइममिनिष्टर) पदका लागि अफर आएको सुनाए । उनले एउटा पुरानो प्रसंग पनि कोट्याए ।
‘२०२९ सालको कुरा हो, १८ रुपैयाँ पर्ने पाइन्ट ९ रुपैयाँमा पाउने अफर आयो । तर त्यसका लागि ९ जनालाई पाइन्ट किन्न लगाउनुपर्ने सर्त थियो । त्यसबेलादेखि नै मलाई नेटवर्किङ व्यापार मन परेन,’ उनले भने ।
सांसद पाण्डेले अहिले पनि पहिलेको युनिटी, हर्बो जस्तै नेटवर्किङ व्यवसाय गर्न इजाजत दिन थालिएको आशंका व्यक्त गरे ।
‘एक-एक जोडे दुई, आखिर कुरा उही, भने जस्तै हो । विगतमा ठगी गरेका नेटवर्किङ व्यवसायको रुप फेरेर आएको छ भन्ने आशंका छ’ पाण्डेले भने ।
मन्त्री भट्टले भने मिडियाले विगतलाई हेरेर प्रश्न गरिरहेको बताए । अहिलेको नियममा के छ भनेर अध्ययन गर्न उनले सुझाव दिए ।
‘मिडियाले हिजोका भूतलाई समातेर प्रश्न गरिरहनुभएको छ, लेखिरहनुभएको छ है’ उनले भने ।
अहिले प्रत्यक्ष विक्रीको इजाजत किन दिन पर्यो भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘सम्माननीय सदनले पास गरेर ऐन हामीलाई जिम्मा दियो । प्रमाणित गरेर हाम्रो मन्त्रालयमा आइसकेपछि कार्यान्वयनमा लैजानु हाम्रो दायित्व कर्तव्य हो । त्यो कर्तव्य पालना गरेका छौं ।’
उनका अनुसार गत असारयता उद्योग मन्त्रालयमा प्रत्यक्ष वस्तु बिक्री व्यवसायका लागि ७ वटा कम्पनी दर्ता भएका छन् । बाँकी ५/६ वटा प्रतिक्षामा छन् ।
विगतमा नेटवर्किङ व्यावसायबाट धेरै ठगिएको आफ्नो जानकारीमा रहको उनले बताए ।
‘हिजो हामी ठगियौं । यहाँ पनि ठगिएका कुरा आए । तर, अहिलेको कानुनकोसारवस्तुमा जान जरुरी छ,’ भट्टले भने ।
कहिँ पनि ऐन विपरीत काम-कारबाही गर्दा छुट नपाउने उनको भनाइ छ ।
‘अहिले दर्ता भएका कम्पनीहरूलाई नेटवर्किङ गर्ने छुट कतै देख्दिनँ,’ उनले भने, ‘आवश्यक पर्यो भने संशोधन गरौंला । कहिँ त्रुटी हुन्छ भने छोड्ने कुरो आउँदैन ।’
अध्ययनका लागि उपसमिति गठन
छलफलपछि उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिले नेपालमा नेटवर्किङ व्यवसाय र प्रत्यक्ष वस्तु बिक्रीका विषयमा अध्ययन गर्न ५ सदस्यीय उपसमिति गठन गरेको छ ।
वस्तुको प्रत्यक्ष बिक्री ऐन २०७४ अनुसार अनुमति पाएका कम्पनीले नेपालमा नेटवर्किङ व्यवसाय फेरि सुरु गरेको प्रश्न उठेपछि समितिले अध्ययन गर्न नेकपा सांसद सोमप्रसाद पाण्डे संयोजकमा उपसमिति गठन गरेको हो ।
उपसमितिमा सांसदहरु प्रकाश रसाइली, अमृता अग्रहरि, कृष्णकुमार श्रेष्ठ र सरिताकुमारी गिरी सदस्य छन् । उपसमितिलाई प्रत्यक्ष बिक्रीसम्बन्धी कानून र नेटवर्किङ ठगीको विषयमा सार्वजनिक भएका विषय अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन दिने जिम्मेवारी दिइएको छ ।
१६ साउन, काठमाडौं । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले औलोको उपचारको लागि प्रयोग हुने औषधि हाइड्रोक्सिक्लोरोक्विनले आफूलाई कोरोना भाइरस (कोभिड-१९) ठीक भएको दाबी गरेका छन् । यसअघि पनि उनले यो औषधिको प्रयोग गर्न मानिसहरुलाई सुझाउँदै आएका थिए ।
यद्यपि विपक्षीहरुले भने बोल्सोनारोलाई कोरोना भाइरसको संक्रमण नै नभएको आरोप लगाएका छन् । बोल्सोनारो गत जुलाई ७ मा कोरोना भाइरसको कारण संक्रमित बनेका थिए । त्यसपछि उनी तीन साता क्वारेन्टिनमा बसेका थिए ।
बिहीबार उनी क्वारेन्टिनमा बसेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखापरेका थिए । साथै बिहीबार नै ब्राजिलको सरकारले बोल्सोनारोकी पत्नी मिशेल बोल्सोनारोको कोरोना परीक्षणको नतिजा पनि पोजेटिभ पाइएको बताएको थियो ।
बिहीबार राष्ट्रपतिले हाइड्रोक्सिक्लोरोक्विन औषधिले आफूलाई कोरोना संक्रमण यो औषधिको कारण ठीक भएको दाबी गरेपनि आफ्नी पत्नीले भने यो औषधि लिएको वा नलिएको भन्ने विषयमा भने कुनै जानकारी दिएनन् ।
बोल्सोनारोका प्रतिस्पर्धी तथा ब्राजिलका पूर्वराष्ट्रपति लुला डिसिल्भाले बोल्सोनारोलाई कोरोना संक्रमण भएको कुरामा नै आशंका उत्पन्न भएको बताएका छन् । बोल्सोनारोले आफूले बताउँदै आएको उपचारको भ्रम फैलाउन आफूलाई संक्रमण भएको बताएको उनको आरोप छ ।
अहिलेसम्म ब्राजिलको सरकारका पाँच मन्त्री पनि कोरोना भाइरसको कारण संक्रमित बनिसकेका छन् । बिहीबार ब्राजिलका विज्ञान तथा प्रविधिमन्त्री पनि संक्रमित भएको पुष्टि भएको थियो ।
नायिका आँचल शर्माले आफू बिहेपछि झनै विन्दास भएको बताएकी छिन् । लकडाउनको समयमा जीम जाने, मन परेका परिकार खाने र परिवारसँगै समय बिताएको बताउने आँचल अहिले भने म्यूजिक भिडियोको छायांकनमा व्यस्त छिन् ।
आँचललाई उनका शुभचिन्तक तथा आफन्तले बिहेपछि झनै सुन्दर देखिएको भनेर प्रतिक्रिया दिने गरेका छन् । आँचल भन्छिन्–‘मलाई त धेरै फ्यानहरुले बिहेपछि अनुहारमा झनै चमक कसरी आयो भनेर प्रश्न सोध्नुहुन्छ । म आफूलाई भने उस्तै छु जस्तो लाग्छ ।’
आँचल मन खुशी भयो भने अनुहारमा चमकता आउने कुरामा विश्वास गर्छिन् । उनले भनिन्–‘सायद, बिहेपछि मेरो मन झनै खुशी भएको छ । उदिपजीको साथले मनमा उमंग ल्याएको छ । सायद, यही भएर नै मेरो अनुहारमा फ्यानहरुले चमकता देख्नुभएको हुनसक्छ ।’
नायिका शर्माले बिहेपछि आफू विन्दास पनि भएको बताइन् । भनिन्–‘पहिले पहिले भिडियो बनाउँदा पनि पहिरनमा म खुबै ख्याल गर्थेँ । अहिले, मन लागेको पहिरन लगाएर टिकटक बनाउँछु । कसैले केही भन्छ कि भन्ने डर नै छैन ।’
लकडाउनपछि २ वटा म्यूजिक भिडियोमा काम गरेकी आँचलले गीत छनोट गरेर मात्र भिडियोमा काम गर्ने बताइन् ।
१६ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अधानम गेब्रेयेससले अब विश्वभरका मानिसले कोरोना भाइरस (कोभिड-१९)सँग नै बाँच्न सिक्नुपर्ने बताएका छन् ।
डब्ल्यूएचओको दैनिक प्रेस ब्रिफिङको क्रममा उनले भने, ‘हामी सबैले कोरोना भाइरससँग जीवनयापन गर्न सिक्नुपर्छ र हामीले आफ्नो र अन्य मानिसको पनि जीवनको सुरक्षा गर्दै आवश्यक सावधानी पनि अपनाउनु जरुरी छ ।’
गेब्रेयेससले साउदी अरेबियाले हजयात्रामा लगाएको कडा नियमको प्रशंसा गरेका छन् । उनले साउदी अरेबियाले हजयात्राको लागि ल्याएको कडा किसिमको नियमले अहिले फेरिएको विश्वको वास्तविकतासँगै अघि बढ्न कस्ता योजना ल्याउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताए ।
गेब्रेयेससले कोरोना भाइरसको कारण युवाहरुमा जोखिम हुन सक्ने बताएका छन् । उनले भने, ‘हामीले यसअघि नै चेतावनी दिइसकेका छौँ र फेरि पनि भनिरहेका छौँ कि युवाहरु पनि कोरोनाको संक्रमणबाट अछुत छैनन्, उनीहरु पनि जोखिममा छन् ।’
गेब्रेयेससले युवाहरु पनि कोरोना भाइरसबाट संक्रमित हुन सक्ने, अरुलाई संक्रमण पनि सार्न र यसको कारण उनीहरुको पनि मृत्यु हुन सक्ने भन्दै युवाहरुले आफ्ना साथै अन्य मानिसको पनि सुरक्षाको उपाय पालना गर्नुपर्ने बताए ।
१६ साउन कैलाली । अविरल वर्षासँगै आएको बाढीमा बगेर कैलालीमा दुईजनाको मृत्यु भएको छ । एकजना अझै बेपत्ता छन् । काँडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढी बस्तीमा पस्दा बुधबार भजनी नगरपालिका-८ का ३ जना बेपत्ता भएका थिए ।
भजनी नगरपालिका-८ सोनाफाटाका ११ वर्षीय स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ वर्षीय चक्र बिक बेपत्ता भएकोमा चौधरी र शाहीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।
चौधरीको बिहीबार र शाहीको शुक्रबार बिहान शव फेला परेको उनले बताए । बाढीको भेलमा बेपत्ता भएका ३२ वर्षीय चक्र विकको अवस्था भने अझै अज्ञात रहेको उनले जानकारी दिए ।
‘दुईजनाको शव भेटियो एकजनाको खोजी हुँदै छ,’ उनले भने, ‘अहिले नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयवासी बेपत्ता भएका युवकको खोजीमा छन् ।’
ठूलो क्षति
लगातार परेको झरीले जानकी गाउँपालिकाका वडा नम्बर ३, ७, ८, ९ का सयौँ घर डुबानमा पर्यो । कान्द्रा र काँडा नदी सतहभन्दा माथि पुगेपछि जोशीपुर-१, ३, ५, ७ का अधिकांश बस्ती डुबानमा परे । कैलालीको भजनी नगरपालिका- ८ को पुरै बस्ती बाढीले विस्थापित भएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा ठूलो क्षति भएको जनाएको छ ।
कैलालीमा ६ हजारभन्दा बढी घर डुबानमा परेका थिए सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले भने अहिले अवस्था सामान्य बन्दै गइरहेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार ६ हजार ३२० घर डुबानमा परेको छ ।
जोशीपुरमा २ हजार ३१५, भजनी नगरपालिकामा २ हजार १८०, टीकपुरमा नगरपालिकामा ८२५ र जानकी गाउँपालिकामा १ हजार घर डुबानमा परेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जानकारी दिए ।
अहिले टीकापुर जोशीपुर र जानकी गाउँपालिकाको अवस्था सामान्य भए पनि भजनी गाउँपालिकामा भने अझै अधिकांश नागरिक घर फर्किन सकेका छैनन् । बाढीले विस्थापित भएका उनीहरु अहिले हुलाकी सडकमा त्रिपाल टाँगेर बसिरहेका छन् ।
‘अहिले पनि उद्धार कार्य जारी छ,’ उनले भने, ‘डुबानका कारण विस्थापित भएकाहरू सडक तथा विद्यालयमा बसेका छन् ।’
पानीको बहाव घट्दो क्रममा रहेकाले केही व्यक्तिहरू भने घर फर्किसकेको उनले बताए ।
भोकै छन् बाढी पीडित
कैलालीको भजनी नगरपालिका- ८ को पुरै बस्ती बाढीले विस्थापित भएको छ । सयौँ परिवार अहिले पनि हुलाकी सडकमा त्रिपाल टाँगेर बसिरहेका छन् ।
तर त्यहाँ बसेकाहरू अधिकांशले ३ दिनदेखि खान नपाएको गुनासो गरेका छन् । चाउचाउ र चिउराले भोक मेटिरहे पनि अहिले त्यसको पनि अभाव सुरु भएको स्थानीय आस्मा चौधरीले बताइन् । उनले पिउने पानीको पनि समस्या सिर्जना भएको बताइन् । ‘घरमा पानी जमेको र अन्नपात सबै लग्यो,’ उनले भनिन्, ‘हामीलाई त खाना र पानीकै पनि समस्या हुन थाल्यो ।’
घरबाट विस्थापित भएकाहरूलाई खाद्य सङ्कट सुरु हुन थालेको छ । उनीहरूलाई खानासँगै पिउने पानीको पनि समस्या सुरु भएको भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले बताए ।
‘सयौँ परिवार अहिले पनि सडकमा छन् । घर फर्किन नसक्नेहरू भनेकै छन्,’ उनले भने, ‘अहिले हामीले चाउचाउ चिउराको व्यवस्था गरेका छौँ । त्यसले मात्रै भोक मार्न सक्ने अवस्था छैन ।’
१६ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।
सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।
बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा गरेर संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले अनलाइनखबरलाई बताए ।
हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने देशभर २५० जना संक्रमित छन् ।
१६ साउन, काठमाडौं । आधा किलो सुन र साढे १४ किलो चाँदी बरामद प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले पछ्याउँदै गएपछि गाडीबाट सुन फ्याकेको नभई प्रहरी जवानको हातमा दिएको पाइएको छ ।
दरबारमार्ग प्रहरी प्रमुख डीएसपी रञ्जनकुमार दाहाललाई समेत गलत सूचना दिएर प्रहरी जवान बहादुरसिंह कडायतले सुन्धारामा सुन लिएको पाइएको एसएसपी सुशीलकुमार यादव नेतृत्वको छानविन समितिका एक अधिकृतले अनलाइनखबरलाई बताए । उनले अनलाइनखबरसँग भने, ‘दरबारमार्ग प्रहरीको सीआरभी टोलीका चालक कडायतलाई हातमा सुन पोको दिइएको रहेछ ।’
घटनामा पक्राउ परेका तीन अभियुक्तले कडायतलाई सुन दिएको बयान दिएका थिए । घटनास्थल वरपरको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजले यसलाई पुष्टि गरिसकेको छ ।
जवान कडायत लामो समय लाजिम्पाट विटमा काम गरेका थिए । त्यहीँ उनको जेम एण्ड ज्वलरी पसलका सञ्चालक कौशल पटेलसँग चिनजान भएको थियो । पटेल तिनै हुन्, जसले अवैध १५ किलो सुन आउँदैछ भन्ने सूचना कडायतलाई दिएका थिए ।
कडायतले यो सूचना दरबारमार्ग प्रहरीका घुमुवा प्रसन श्रेष्ठलाई दिएका थिए । र, श्रेष्ठले डीएसपी दाहालसम्म याे सूचना पुर्याएका थिए ।
उनलाई प्रहरीले मंगलबारै पक्राउ गरिसकेको छ । घटनामा संलग्न भएका आरोपमा पूर्वी नवलपरासीबाट पक्राउ परेका देवान पटेलका उनी भाइ समेत हुन् ।
उनले सोमबार राति अवेर दरबारमार्ग प्रहरी प्रमुख डीएसपी रञ्जनकुमार दाहाललाई सुन आउँदै गरेको सूचना दिएका थिए । मंगलबार बिहान ७ बजे पुनः सुन आउँदैछ भनेर दाहाललाई जानकारी गराइएको पाइएको समितिका एक अधिकृतले बताए ।
‘यो सूचना सादा पोशाकका श्रेष्ठले डीएसपीलाई दिएको पाइएको छ, यतिञ्जेल जवान कडायतको सूचना हो भन्ने दाहाललाई पनि थाहा नभएको देखिन्छ’, समिति स्रोतले भन्यो ।
डीएसपी दाहाललाई मारियट होटल छेउको अपार्टमेन्टबाट सुन र हात्तिसारको भिसा स्टेसनतिरबाट गाडी आउने भनिएको थियो । त्यही सूचनाका आधारमा डीएसपी दाहालको टोली सिद्धार्थ बैंक छेउ एम्बुस थापेर बसेको थियो ।
तर गाडी त्यो बाटोबाटै नआएको पाइएको छ । अपार्टमेन्टबाट सुन भएको गाडी कमलपोखरी हुँदै कटेको सीसी टीभी फुटेजबाट पनि देखिएको स्रोतले बतायो । गाडी भद्रकाली, सुन्धारा, त्रिपुरेश्वर, सुन्धारा हुँदै फेरि भद्रकालीको बाटो फर्किएको पाइएको छ ।
त्यही वेला जवान श्रेष्ठले गाडी उम्किएको भन्दै डीएसपी दाहाललाई खबर गरेको भेटिएको छ । ‘प्रहरीलाई देखेर एउटा सुनको पोको गाडीबाट फ्यालिएको उनले बताएको पाइएको छ’, छानविन समिति स्रोतले अनलाइनखबरलाई भन्यो, ‘लगत्तै डीएसपी दाहाल सुन्धारामा पुगेको देखिन्छ, त्यहीँ जवान कडायतले श्रेष्ठसम्म याे सूचना लगेकाे उनले थाहा पाएका छन् ।’
त्यतिञ्जेल जवान श्रेष्ठले सुनसम्बन्धी सूचना आफ्नो मात्र भएको बताएका थिए । कडायत पनि यसबारे घुमुवा प्रहरी श्रेष्ठले डीएसपी दाहाललाई रिपोर्टिङ गरेको पनि त्यसवेलै थाहा पाएको छानविन समितिका अधिकृतहरु बताउँछन् ।
घटनाको अपरेशनल पाटोमा कमजोरी देखिएपछि हाल दाहाल दरबारमार्ग प्रहरीबाट हटाइएका छन् । उनको बिहीबार प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सरुवा भइसकेको छ ।
छानविन समितिले जवान कडायतलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको छ ।
तस्कर समूहसँग निरन्तर मोबाइल सम्पर्कमा रहेका देखिएका जवान कडायतले ट्याक्सीमा सवार भरियासँग मिलेर सुन लुकाउन खोजेको हुनसक्ने समितिको आशंका छ । कडायतले त्यसका लागि सादा पोशाकका जवान श्रेष्ठलाई प्रयोग गरिएको हुनसक्ने अधिकृतहरु बताउँछन् ।
‘वृत्त प्रमुखलाई ढिलो सूचना दिएर तस्कर समूहको मुभमेन्ट हुने बाटो समेत उल्टो बताउनुले जवान कडायतमाथि शंका छ’, छानविन समितिका एक अधिकृत भन्छन्, ‘राति अवेर दिएको सूचनाकै कारण डीएसपीले पनि अपरेशनको पूर्ण तयारी गर्न नसकेको देखिएको छ ।’
दुई जवानले गाडी कटेको भनेर ढिलो गरी दिएको जानकारीकै कारण पनि सीमामा गाडी नम्बर टिपाउन ढिला भएको पाइएको समितिका अधिकृतहरु बताउँछन् । उनीहरुका अनुसार डीएसपी दाहालले सुन्धारा पुग्ने वित्तिकै प्रहरी कन्ट्रोलमा गाडी नम्बर बा ६ च ५५१९ नम्बर गाडी भागेको भनेर टिपाएका छन् । उक्त गाडी बिहीबार ललितपुरको नख्खिपोटमा बरामद भएको छ ।
तर उक्त स्पर्कोपियो गाडी बुधबार राति मात्र अमरबहादुर राईको घरमा राखिएको पाइएको छ । त्यसैले घटनालगत्तै गाडी कता लगिएको थियो भन्ने पनि खोजी भइरहेको छ ।
अझ रोचक त के छ भने सीसीटीभी फुटेजमा भएको गाडी र बरामद गाडीको स्वरुपमा भिन्नता देखिएको छ । प्रहरीसँग भएको गाडीको पछाडि भर्याङ र ऐना छ भने बरामद गाडीमा दुवै देखिन्न । त्यसैले १५ किलो पहेँलो धातु बरामद प्रकरण थप रहस्यमय बनेको छानविनमा संलग्न अधिकृतहरु बताउँछन् ।
१६ साउन, काठमाडौं । राष्ट्रिय गौरवका आयोजना निर्माणमा यसै पनि ढिलाइ भइरहेको छ । अन्तिम चरणमा पुगेका आयोजनाहरुको काममा भएका गम्भीर त्रुटि र लापरवाही परीक्षणका क्रममा उदांगो हुन थालेको छ ।
सिक्टा सिँचाइदेखि मेलम्ची खानेपानी आयोजनासम्म एकै खालको नियति दोहोरिएपछि नेपालमा ठूलो लगानीका आयोजनाको भविष्यमाथि प्रश्न उठिरहेको छ ।
मध्यम लगानीका सडक, भवन, पुल लगायतका आयोजनाहरुमा पनि प्राविधिक त्रुटि र लापरवाहीले निम्त्याएको क्षति सानो छैन । डिजाइन र निर्माणमा पर्याप्त सजगता र गुणस्तर नअपनाउँदा सडक र पुलहरु बन्दाबन्दै बगेका छन् । बनेका कति पुल जोखिमपूर्ण देखिएपछि सरकारले बन्द गरेर राखेको उदाहरणहरु छन् ।
कतिपय आयोजना भने परीक्षणमै असफल भएका छन् । लापरवाहीले हुने त्रुटि सच्याउँदा थप समय र लगानी लाग्छ । यसको पछिल्लो उदाहरण हो, मेलम्ची खानेपानी आयोजना । वर्षौंदेखि काठमाडौंमा पानी खसाल्ने भाका सार्दै आएको यो आयोजनाको पनि निर्माण गुणस्तरमाथि परीक्षणकै क्रममा प्रश्न उठेको छ ।
गत असार २९ गते पूजाआजाका साथ मेलम्चीको पानी अस्थायी बाँध बनाएर सुरुङमा हाल्न सुरु गरिएको थियो । सुरुङ परीक्षण गर्न हालिएको त्यो पानी १० देखि १५ दिनमा सुन्दरीजलमा झर्नुपर्थ्यो ।
तर, त्यो पानी सुन्दरीजलमा होइन, भोलिपल्टै ‘अडिट टनेल’को ढोका फुटाएर अम्बाथानमा निस्कियो । त्यो घटनामा एक इन्जिनियरको ज्यान गयो भने एक जना सवारी चालक बेपत्ता छन् ।
यो घटना हुनासाथ आयोजनाका अधिकारीहरुले भनेका थिए, ‘पानी भरिँदा सुरुङको ढोका कसरी फुस्कियो, हामी अचम्ममा छौं ।’
खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी नेतृत्वको समितिले घटनास्थलको अध्ययन गरेर मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा यसको जवाफ छ । प्रतिवेदनले अडिट सुरुङको पानी थुन्न बनाइएको ढोकाको डिजाइन र जडानमा भएको त्रुटि भएको औंल्याएको छ ।
सुरुङभित्र पानीको चाप मापन गर्ने भरपर्दो प्रणाली नराखिएको, ढोका जोड्दा डिजाइन विपरीत काम गरेको र यसमा आयोजना, ठेकेदार कम्पनी, परमर्शदाता कम्पनी सबै दोषी रहेको प्रतिवेदनको निष्कर्ष छ ।
आयोजना प्रमुख तिरेशकुमार खत्री अडिट सुरुङको गेटमा गम्भीर त्रुटि भएको स्वीकार्छन् । डिजाइन र ढोका जडानमा त्रुटि भएको कुरा परामर्शदाता र आपूर्तिकर्ता कम्पनीले पनि स्वीकार गरिसकेको उनी बताउँछन् ।
यो गेट (ढोका) जोड्दा परामर्शदाता कम्पनी इप्टिसाका प्रतिनिधि आयोजनास्थलमै थिए । दुर्घटना भएपछि भारतीय आपूर्तिकर्ता कम्पनी प्रेसिसनका प्रतिनिधि पनि नेपाल आएका थिए ।
खत्रीका अनुसार, अडिट सुरुङ बन्द गर्ने ढोकाहरु भित्रबाट खुल्ने गरी जोेड्नुपर्ने थियो । त्यो अवस्थामा पानीको जतिसुकै दबाव परे पनि फ्रेमले थाम्थ्यो । तर, भित्रबाट जडान गर्दा प्राविधिक निस्कन समस्या पर्ने भन्दै बाहिरैबाट जोडिएको थियो ।
सुरुङमा पानीको चाप पर्न थालेपछि बाहिरबाट टाँसिएको ढोकाको नट–बोल्टले नथामेर पानी बाहरिएको थियो ।
भित्रको पानीको चाप थाम्न बलियो फ्रेम बनाएर ढोकालाई भित्रैबाट जडान गर्नुपर्नेमा त्यो नहुँदा कमजोरी देखिएको आयोजना प्रमुख खत्री बताउँछन् ।
उनका अनुसार, मेलम्ची खानेपानी सुरुङको अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजलमा यस्ता ढोका जोडिएका छन् । अब यी सबैलाई सुधार गरेर मात्र सुरुङमा पानी हाल्नुपर्ने भएको छ । धमाधम काम गरे यसमा डेढ महिना समय लाग्छ ।
सुरुङको ढोका फुटेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गर्ने भएको छ । यो घटनासँगै मेलम्चीको पानी काठमाडौंमा खस्ने भाका पनि सरेको छ ।
सिक्टाको त्यो घटना…
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मुख्य नहर २०७३ असारमा परीक्षणको लागि पानी छाड्दा चर्चरी चिरिएर फुटेको थियो । २०७५ साउनमा पनि ठाउँ–ठाउँमा नहरको स्लोप र सर्भिस रोड भत्किएर क्षतविक्षत भयो ।
सिँचाइ मन्त्रालयले त्यसबारे अनुसन्धान गर्न बनाएको विज्ञ समितिले प्राविधिक र व्यवस्थापकीय कमजोरीका कारण नहरले पानी नथेगेको निश्कर्ष निकालेको थियो । इन्जिनियरिङ र व्यवस्थापन दुवै पाटोमा सिक्टा सिँचाइ आयोजना र ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सन चुकेको समितिको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले माटो परीक्षण नै नगरी नहर निर्माण गरेको औंल्याएको छ । आधारभूत कुरामै चुकेको यो परियोजनाको परामर्शदाता कम्पनी ईआरएमसी थियो । परामर्शदाता र ठेकेदार कम्पनीले हेलचेक्र्याइँ गर्दा आयोजनाले पनि पर्याप्त ध्यान नदिँदा सिक्टाको नहर परीक्षणकै क्रममा क्षतविक्षत भएको थियो ।
अख्तियारले सिक्टामा भ्रष्टाचार भएको ठहर गर्दै २०७५ मंसिरमा कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा ८ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ बिगो दाबीका साथ भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
निर्माणमा भन्दा बढी मर्मत खर्च लाग्ने गरी कमजोर नहर बनाएको, गुणस्तरीय निर्माणका प्रावधानहरू कार्यान्वयन नगरेर कामै नलाग्ने नहर बनाएको, विगतका अध्ययन प्रतिवेदन र सुझावलाई बेवास्ता गरेको अख्तियारले ठहर थियो । अहिले पनि याे मुद्धा अदालतमै विचाराधीन छ ।
०६१ सालमा शुरु भएको सिक्टा आयोजनाको मूल नहर परीक्षणमै भत्किएपछि आजसम्म पनि थलापरेको पर्यै छ ।
साना परियोजनामा पनि उस्तै समस्या
यस्ता लापरवाहीका घटना ठूला परियोजना मात्रै हुँदैनन् । साना तर, महत्वपूर्ण अन्य आयोजनामा पनि व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीको लापरवाहीले बन्दाबन्दै वा परीक्षणका क्रममा दुर्घटनामा परेका छन् ।
गत १५ फागुनमा तनहुँको भानु नगरपालिकाको तुरतुरे र गोरखाको पालुङटार जोड्ने निर्माणाधीन पुल भत्कियो । ठेकेदार गौरी पार्वती निर्माण सेवा प्रालिले ढलान गर्न नपाउँदै पुल मर्स्याङ्दी नदीमा खसेको थियो ।
मुसिकोट नगरपालिकामा निर्माणाधीन पुल वैशाख ४ गते बाढीले बगायो । मुसिकोट नगरपालिकालाई इस्मा गाउँपालिकासँग जोड्न निस्तेखोलामा बन्दै गरेको पक्की पुल बग्दा एक करोडको क्षति भएको श्रेष्ठ निर्माण कम्पनीले बताएको छ ।
त्यसको भोलिपल्ट कञ्चनपुरको लालझाडी गाउँपालिका– ३, बल्मीको दोदा नदीमा हिमसगरमाथा कन्सट्रक्सनले निर्माण गरिरहेको पुल बाढीले बगायो ।
यता, रुपन्देहीमा साढे ८ करोडको लागतमा बनिरहेको पुल गत असार ६ गते भाँच्चियो । सियारी गाउँपालिका र मायादेवी गाउँपालिका जोड्न दानव नदीमा बन्दै गरेको ६० मिटर लामो उक्त पुल ढलान गरेको १४ दिनमा भाँच्चिएर खोलामै खस्यो ।
बर्सेसनि यसैगरी निर्माणाधीन र भर्खरै बनेका पुलहरु भाँचिन्छन् र खोलासँगै बग्छन् । पुलको निर्माण निकै संवेदनशील हुने भएपनि यसमा इन्जिनियर, ठेकेदार, आयोजना र कामदारले हेलचेक्र्याइँ गर्दा यस्ता घटना बारम्बार दोहोरिने गरेका छन् ।
ठेकेदार कम्पनीले लापरवाही गरेको पाइएपछि काठमाडौंको टेकुमा तयार भएको नयाँ पुल बन्द गरेर राखिएको छ । यो पुल बनाउँदा सडक विभागले दिएको निर्देशन अटेर गरी गुणस्तरहीन तार प्रयोग गरिएको पाइएको छ । विभागका उपमहानिर्देशक शिवहरि सापकोटा गाडी चलाउन जोखिमपूर्ण देखिएपछि पुल बन्द गरेर राख्नुपरेको बताउँछन् ।
ठेकेदार तथा परामर्शदाता कम्पनीले तोकिएका मापदण्ड पूरा नगर्ने, निर्देशनहरु अवज्ञा गर्ने, प्रविधि अनुसार निर्माणको काम नगर्ने लगायतका कारण कतिपय सडक तथा पुलमा निर्माणाधीन अवस्थामै समस्या देखिने गरेको उनको भनाइ छ ।
विज्ञ भन्छन्– हतार र लापरवाहीको परिणाम
आयोजनाहरुले नयाँ प्रविधि प्रयोग नगर्ने र प्रयोग गर्दा पनि आवश्यक सावधानी नअपनाउने परिपाटीले समस्या ल्याएको पूर्वाधारविदहरु बताउँछन् ।
माटोदेखि निर्माणाधीन तथा निर्माण सम्पन्न भएका संरचनाहरुको गम्भीरतापूर्वक वैज्ञानिक तथ्यमा आधारित भएर परीक्षण नगर्ने प्रचलन समस्याका रुपमा देखिएको बताउँछन् पूर्वसचिव किशोर थापा ।
‘मेलम्चीमा भने विभागीय मन्त्री पानी हाल्न हतारिएको जस्तो पनि देखियो,’ मेलम्ची खानेपानी विकास समितिका पूर्व अध्यक्षसमेत रहेका थापा भन्छन्, ‘आयोजनामा जोडिएका र बनेका संरचनाहरुको विज्ञमार्फत छड्के सुपरीवेक्षण र अनुगमन नभएकाले पनि दुर्घटना भएको हुनसक्छ ।’
उनका अनुसार, नेपालजस्तो कमजोर सुपरिवेक्षण क्षमता भएका मुलुकमा ठूला संरचनाहरु बनाउँदा त्रुटिहरु हुनसक्ने बढी सम्भावना हुन्छ । लापरवाही हुन नदिन जिम्मेवार व्यक्तिले पटक–पटक अनुगमन गरेर निर्देशन दिनुपर्ने, क्षति कम हुने पूर्वसावधानीहरु अपनाउनुपर्ने थापाले बताए ।
कतिपय अवस्थामा डिजाइनमै हुने त्रुटि पनि क्षतिको कारण बन्ने गरेको उनको भनाइ छ । सही डिजाइन भएका आयोजना निर्माणमा पनि ठेकेदारको लापरवाही प्रशस्तै भेटिन्छन् ।
निर्माणको क्रममा हुने ढिलाइ र कमजोर गुणस्तरका सामग्री प्रयोगले पनि संरचनाहरु भत्किने क्रम बढेर गएको विज्ञहरुको मत छ ।
निर्माणको समयमा सुपरीवेक्षण नगर्ने र ठेकेदारसँग कमिसन लिएर कमजोर निर्माणलाई पनि स्वीकृति दिने साइट इन्जिनियर र आयोजना प्रमुख पनि दोषी रहेको अर्का एक पूर्वसचिव बताउँछन् ।
‘बनिरहेका बेला पर्याप्त अनुगमन नगर्ने अनि भत्किएपछि सबै दोष ठेकेदारमाथि लगाएर उम्कने प्रवृत्ति सरकारी निकायमा छ,’ उनी भन्छन्, ‘ठेकेदारलाई दुहुनो गाई बनाउने आयोजनासम्बद्ध अधिकारीहरु पनि गुणस्तरहीन विकासका कारक हुन् ।’
ठेकेदारहरुले जिम्मेवारीपूर्वक दक्ष जनशक्ति लगाएर काम नगर्दा पनि यस्तो समस्या दोहोरिरहेको उनको बुझाइ छ ।
ठेकेदार र सरकारी अधिकारीले आफ्नो प्राविधिक तथा व्यवसायिक क्षमता बढाउन अन्तर्राष्ट्रियस्तरमै पुगेर तालिम लिने व्यवस्थासमेत गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।
उनीहरुका अनुसार, पूर्वाधार निर्माणका त्रुटि घटाउन कानुनी र नीतिगत रुपमा अनेक व्यवस्था छन्, जसलाई जिम्मेवार ढंगले कार्यान्वयन गराउन सक्ने हो भने दुर्घटना कम हुन्छ ।
निर्माण व्यवसायीहरु भने गलत डिजाइन र अनावश्यक रुपमा छिटो काम सक्न दिइने दबावका कारण विकासे संरचनामा समस्या आउने गरेको बताउँछन् ।
‘मुलतः डिजाइनमा हुने त्रुटीका कारण नै बन्दाबन्दैका संरचनामा क्षति पुग्छन्,’ नेपाल निर्माण व्यवसायी महासंघका प्रवक्ता टंकप्रसाद चौलागाइँ भन्छन्, ‘वर्षाको समयमा छिटो काम गर्न दबाव दिँदा पनि यस्तो दुर्घटना निम्तिन्छ ।’