१४ साउन, काठमाडौं । मान्छेले आफ्नो शक्ति विस्तार गर्न युद्ध गरेको धेरै इतिहास छ । एक इन्च भूमिको लागि भयानक युद्धमा होमिने गर्छ मान्छे । त्यही निहुँमा धेरैको रगत र पसिना बग्ने गर्छ ।
आफ्नो अधिकार क्षेत्र निर्धारण गरेर त्यसको रक्षाका लागि मर्न र मार्न वन्यजस्तु समेत पछि पर्दैनन् । तीमध्ये पनि बाघ बढी लडाकु स्वभाव भएको वन्यजन्तु हो । बाघको आफ्नो क्षेत्र पहिचान र त्यसको रक्षाका लागि गर्ने युद्ध वास्तवमै रोचक छ ।
सन् २०११ मा चितवन राष्ट्रिय निकुञ्जको क्षेत्र बाहिर एउटा घाइते बाघ भेटेर स्थानीयले निकुञ्जका अधिकारीलाई खबर गरे । त्यो बाघ आफ्नो क्षेत्र विस्तारको क्रममा अर्काे बाघसँग भएको लडाइँमा घाइते भएको थियो । त्यसलाई लागेको घाउचोटले अर्काे बाघसँग कति भयानक लडाइँ गरेको थियो भन्ने देखाउँथ्यो । झण्डै एक महिना त त्यो बाघलाई उपचार गर्न नै लागेको निकुञ्जका कर्मचारीहरू बताउँछन् ।
त्यतिबेला राष्ट्रिय निकुञ्ज विभागमा रहेका वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख महेश्वर ढकालका अनुसार आफ्नो ‘टेरिटोरी मेन्टेन’ गर्न नसकेर बाहिरिएको त्यो बाघलाई उपचारपछि बर्दिया लगिएको थियो । तर त्यसको साढे ३ महिनापछि नै त्यो मृत भेटियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सन् २०१८ मा गरेको एक अध्ययनले सन् २०१४ देखि १८ सम्म मात्र आफ्नो क्षेत्रको रक्षा वा अतिक्रमण (नयाँ क्षेत्र विस्तार) गर्ने युद्धमा ८ वटा बाघ मरेको देखाएको थियो । तीमध्ये लडाइँमा हारेर खानेकुराको खोजीमा बस्ती पसेका दुईवटा बाघ मान्छेको प्रतिकारमा मारिएका थिए ।
बाघ विज्ञ झमकबहादुर कार्की सामान्यतया कमजोर भएर जंगलमा आहारा नपाएपछि बाघ बस्ती पस्ने बताउँछन् । ‘जंगलमा शिकार गर्न नसकेपछि या अर्काेले आक्रमण गरेर आफ्नो क्षेत्रबाट निकालेपछि बाघ बस्ती पस्ने गर्छ,’ कार्की भन्छन्, ‘बाघहरूबीच बढीजसो बघिनीको लागि र आहाराको विषयमा झगडा हुने गर्छ ।’
ग्लोबल टाइगर फोरमका अनुसार १९८८ देखि २००५ को बीचमा ९ वटा बाघ आपसमा जुधेर मारिएका थिए । तर यसको यकिन जानकारी राष्ट्रिय निकुञ्जहरूसँग नहुने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अणनाथ बराल बताउँछन् । उनी भन्छन्, ‘बाघको युद्ध आफैँमा जोखिमयुक्त र जंगलमा हुने भएकाले त्यसको तथ्यांक लिन र त्यसलाई फोटोमा कैद गर्न गाह्रो छ ।’
सन् २०१३ र २०१८ मा विभिन्न निकुञ्जले क्यामेरा ट्र्यापिङबाट बाघको गतिविधि नियाल्ने काम गरेका थिए । बाघ आएपछि आफैं तस्वीर खिच्ने क्यामेरा जडान गरेर लिइएको तस्वीरमा बाघको लडाइँको फोटोसमेत खिचिएको छ ।
मन्त्रालयका महाशाखा प्रमुख ढकाल बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा समेत बाघ–बाघबीचको युद्धको छोटो भिडियो हुन सक्ने बताउँछन् । घना जंगलमा हुने यस्ता युद्ध खिच्न निकै गाह्रो हुने उनी बताउँछन् ।
बाघ युद्धको कारण
पारिस्थितिक पद्धतिअनुसार मृगले घाँस खान्छ, बाघले मृग खान्छ । तर बाघलाई खाने जनावर जंगलमा भेटिँदैन । त्यसैले बाघलाई पारिस्थितिक पद्धतिको सबैभन्दा उच्च बिन्दूमा रहेको (टप कार्निभोरस) प्राणी मानिन्छ ।
एउटा पुरानो कथन छ ‘एउटै वनमा दुईटा बाघ रहन सक्दैन ।’ तर एउटै वनमा धेरै बाघ रहे पनि एउटै क्षेत्रमा भने दुईवटा बाघ रहन नसक्ने वन्यजन्तुका जानकारहरू बताउँछन् ।
कुनै पनि बाघले वयस्क भएपछि युद्ध गरेर आफ्नो क्षेत्र विस्तार गर्न खोज्छ । बाघ जन्मिएको दुई वर्षमा वयस्क बन्ने गर्छ । वयस्क भएपछि डमरुलाई बघिनीले पनि आफ्नो क्षेत्रबाट बाहिर निकाल्छे । त्यसपछि वयस्क बाघ आफ्नो क्षेत्र खोज्दै अर्काेसँग युद्ध गर्न निस्कन्छ । बाघको जनसंख्या वृद्धि भएसँगै यस्ता लडाइँहरू बढ्ने गर्छन् ।
वयस्क बघिनीभन्दा बाघहरूको बढी लडाइँ हुन्छ । एउटा बाघको क्षेत्रभित्र तीनदेखि चारवटासम्म बघिनीहरू रहन्छन् । त्यही बघिनीसँग सम्भोग गर्नका लागि बाघले आफ्नो क्षेत्र विस्तार गर्दै जान्छ । यो पनि झगडाको एउटा कारण हो ।
बाघले ठाउँ–ठाउँमा दिसापिसाब गर्नेदेखि रुखमा कोतरेर आफ्नो सीमा निर्धारण गर्छ । पराजित भएको बाघको क्षेत्रका बघिनीहरू पनि विजेता बाघको नै हुन्छन् । वयस्क नभइसकेका डमरुको साथमा रहेकी बघिनीमा यौन उत्तेजना कम हुने भएकाले विजेता बाघले बच्चालाई मारेर खान्छ । कतिपय बघिनी नयाँ भालेसँगको लडाइँमा हारेपछि आफ्नो बच्चाको सुरक्षाको लागि सो क्षेत्र छाडेर पनि जान्छन् ।
विज्ञहरूका अनुसार उमेर पुगेर, भवितव्य र प्राकृतिक विपत्तिमा परेर भन्दा एकआपसमा लडेर धेरै माघ मर्ने गर्छन् ।
बुढो भएर शिकार गर्न नसकेपछि बाघले मानवबस्तीमा पस्ने वा जंगलमा आएको मान्छेलाई आक्रमण गर्ने गर्र्छ । यो पनि आफूले आर्जेको क्षेत्रमा अर्कैले आक्रमण गरी उसलाई निकालेपछि ऊ खानाको खोजीमा जाँदै गर्दा मान्छेमाथि आक्रमणमा उत्रिन्छ ।
यस्ता घाइते बाघ भेटिँदा अर्काे ठाउँमा लगेर छाड्ने गरिन्छ । ढकालकै अनुसार दुईपटक चितवनको माडीमा फेला परेको घाइते बाघलाई उपचार गरेर पर्सामा छाडिएको थियो । तर भरसक बाघले अर्काे क्षेत्रमा गएर बस्न नरुचाउने गरेको उनी बताउँछन् ।
बघिनीहरूको युद्ध
राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु व्यवस्थापन विभागका पूर्व महानिर्देशक मेघबहादुर पाण्डेका अनुसार बाघको मात्र नभएर बघिनीको युद्धसमेत रोचक हुन्छ । बाघ र बघिनीको युद्धको कारण भने केही भिन्न हुन्छ । बाघ बघिनीको लागि अर्काेसँग युद्ध गर्छ, तर बघिनीहरू खानेकुरा र बच्चाको सुरक्षाको लागि ।
बघिनीको पनि बाघको जस्तै छुट्टै क्षेत्र हुन्छ । त्यसमा अर्की बघिनीको प्रवेश नै झगडाको एउटा कारण बन्ने गर्छ । यस्तो झगडामा कि मर्ने, कि मार्ने गरी नै भयानक युद्ध हुन्छ । पूर्व महानिर्देशक पाण्डेका अनुसार बाघ र बघिनीबीच खासै युद्ध हुँदैन ।
‘मान्छेका लागि घातक हुँदैन बाघ’
पूर्व महानिर्देशक पाण्डे मान्छेका लागि सबै बाघ घातक नहुने बताउँछन् । जंगलमा भेटिँदा पनि करिब ५० मिटरसम्मको दुरीमा रहेको मान्छेलाई बाघले आक्रमण नगर्ने उनी बताउँछन् । यो दुरी बच्चा साथमा रहेको बघिनीको भने केही बढी हुनसक्छ । ‘बाघले हत्तपत्त मान्छेलाई आक्रमण गर्दैन । तर यसलाई नजिकै गएर जिस्काउनु भने जोखिमयुक्त रहेको उनी बताउँछन् ।
कस्तो अवस्थामा बाघले मान्छेलाई आक्रमण गर्छ त ? भन्ने प्रश्नमा पाण्डे भन्छन्, ‘घाइते बाघले आहारा नभेटेर हिँडिरहेको छ र अरू जनावरको शिकार गर्न नसक्ने अवस्था छ भने त्यस्तो बेलामा मान्छेमाथि आक्रमण गर्ने गर्छ । अन्यथा बाघले अरू शिकार गर्न सकेसम्म मान्छेलाई आक्रमण गर्ने गर्दैन ।’
बच्चा साथमा लिएर हिँडेकी बघिनीले पनि मान्छेलाई सकेसम्म आक्रमण गर्दिन । आफ्नो बच्चामाथि असुरक्षा बढ्दै गएको अनुभूति भएको खण्डमा मात्रै बघिनीले मान्छेमाथि आक्रमण गर्ने पाण्डे बताउँछन् ।
source https://www.onlinekhabar.com/2020/07/885416
0 comments:
Post a Comment