Friday 31 July 2020

साइनो–सम्बोधनको सामाजिक अधोगति

गण्डकी क्षेत्रको एक गाउँका नवयुवक दाह्रीजुँगा पलाउँदा नपलाउँदै बिए पास गरेर शिक्षण पेसा सुरु गर्छ । त्यही क्रममा ऊ आईएमा एक पिरियड अंग्रेजी पढाउने ‘केटो सर’ पनि बन्न पुग्छ ।

त्यो केटाले शिक्षण पेसा आफैँले रोजेर गरेको हो तर उसलाई शिक्षणभन्दा शिक्षा प्रशासन बढी आकर्षक लाग्छ । तदनुरूप ऊ २०५१ सालमा लोकसेवा उत्तीर्ण गरेर विद्यालय निरीक्षकको रूपमा रुपन्देही झर्छ । त्यसरी सरकारी सेवा सुरु गरेका खगराज अधिकारी कालान्तरमा सचिव बनेर लामै समय शिक्षा मन्त्रालय कार्यरत रहे ।

यो पेसागत सफलतासँगै बरालमा लेखन कलाको समेत बिस्तारै विकास हुन थाल्यो । प्रशासनमा आफ्नो कुशलता पोखेका उनलाई राम्रो लेखकको कोटीमा समेत उभ्याएको छ, सिकाइ र सहयोगले । उनको यो दोस्रो कृति हो ।

कोरोना भाइरस रोकथामका लागि देशव्यापी बन्दाबन्दी हुनुभन्दा ठीक अगाडि चैतमा सार्वजनिक भएको ‘सिकाइ र सहयोग’मा लेखकको २०५१ देखि २०६९ साल (पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक हुँदा) सम्मका भोगाइ र सिकाइ समेटिएका छन् । आफ्नो दैनन्दिनका टिपोट मात्र नभई मन छोएका स–साना घटना र पात्रहरूका बारेमा पनि लेखेर राख्ने बरालको बानीले यो रसिलो पुस्तकलाई थप खँदिलो बनाएको देखिन्छ ।

२४२ पृष्ठको किताबमा विविध क्षेत्र र विषयका २५ वटा संस्मरणात्मक आलेख छन् । सलल बगेको भाषा र संवाद शैलीले शिक्षा, संस्कार, धर्म, आचार–व्यवहार, मर्यादा, अधिकार, संगत, लैङ्गिकतालगायत विषयलाई सरस बनाएको छ ।

लेखकले बाल अधिकारदेखि बाख्रा पालनसम्मका विषयलाई पुस्तकमा समेटेका छन् । इजिप्टदेखि जापानसम्मका सम्झनालाई कोरा प्रवचनको नभई सीधै घटनाको साक्षी बनाउने गरी प्रस्तुत गरिएका लेखहरू आफैँमा पठनीय छन् ।

मान्छेको व्यक्तिगत बानी–व्यहोरा र सामाजिक चालचलनमाथि टिप्पणी गर्नु बडा गाह्रो काम हो । तर लेखकले नाम–ठाम् तोकेरै सीधा टिप्पणी गरेका मात्र छैनन्, ‘यु सुड माइण्ड’ पनि भनेका छन् । मांस र मदिराप्रति अरूचि र हिन्दु परम्पराप्रतिको पुस्तकमा गहिरो आस्था जाहेर गरिएको छ ।

साइनो र सम्बन्धमा नेपालीजति धनी संसारमा सायदै अरू कोही होलान् । नेपालीको घर, मावली, ससुराल सबै ठाउँका एक–एक व्यक्तिलाई सम्बोधन गर्ने साइनोकोे शब्द भण्डारै छ भन्दा फरक पर्दैन । तर पछिल्लो समय नेपाली समाजलाई ‘अंकल–आन्टी’को फेसनले लपेटेको छ ।

खासमा अंग्रेजहरूसँग मामा–माइजु, काका–काकी, फुपु–फुपाजु, बडाबा–बडीआमा इत्यादि नभएर अंकल–आन्टी भनेका हुन् । माइजु भन्दाको मिठास, माया, स्नेह र आफ्नोपन आन्टीमा हुँदैन । तर पनि नेपालीको मुखमा माइजुलाई आन्टीले मारिरहेको छ ।

एकथरीले जोडतोडका साथ सासूआमा, सालोभाइ, सालीबहिनी जस्ता नेपालीपनको अभ्यास थालेका छन् । यो अभ्यास ‘घरतिरको बुबा, माइतीतिरका सहोदर बुबा’ सम्म पुगेको छ ।

नेपालीपनका पक्षपाती लेखक बराल पनि साइनो–सम्बोधनको यो सामाजिक अधोगतिबाट पीडित नहुने कुरै भएन । ‘नाता र सम्बोधन ः अनुभव र अनुभूति’ शीर्षकको आलेखमा उनले यस्तो विकृत भाषिक–सांस्कृतिक अभ्यासको दृश्य चित्र उतारेका छन् । पढ्दा रमाइलो लाग्ने यो आलेखले पढिसकेपछि पाठकलाई पक्कै झस्काउँछ ।

किताबमा भएकामध्ये ‘आनुवंशिकताको प्रभाव’ सबैभन्दा लामो आलेख हो । यसले लेखकमा रहेको कृषि र पशुपालनप्रतिको गहिरो मोह देखाउनुका साथै पाठकलाई नेपालका पुराना केही फार्मको भ्रमण गराउँछ । त्यसक्रममा सम्बन्धित विषयका देशी–विदेशी विज्ञसँग चाखलाग्दो संंवाद गराउँछ ।

पश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय प्रशासक रहँदा बरालले कृषि तथा पशु प्रजनन् फार्महरूको अवलोकन भ्रमण गरेर प्राविधिक ज्ञान लिएका थिए । संस्कृतदेखि सांकेतिक भाषासम्मका विषयमा कलम चलाएका बरालको यो आलेखले विशेषतः किसानका लागि महत्वपूर्ण खुराकहरू पस्केको छ ।

‘सिकाउने आफ्नै काइदा’ शीर्षकको लेखमा जाइका (जापानको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी)का एक स्वयंसेवी प्रशिक्षकको सिकाउने काइदा समेटिएको छ । ‘मानिस शाकाहारी जीव हो’ भनेर बुझाउन ती प्रशिक्षकले अपनाएको सुरूचिपूर्ण तरिकाबाट प्रभावित बरालले यही तरिका विद्यालयमा लागू गरेर सिकाइमा फड्को मार्न सकिने उल्लेख गरेका छन् ।

बरालले किताबमा थुप्रै प्रेरक प्रसंग र ज्ञानगुनका सन्दर्भलाई समेटेको छन् । सँगै सदाचार पालना गर्दाका दुःखलाई समेत प्रस्तुत गरेका छन् । ‘बानी त कस्तो राम्रो !’ शीर्षकको लेखको थुप्रै प्रसंगमा आएका पात्रहरूले लेखकलाई ‘सरको बानी त कस्तो राम्रो !’ भन्छन् । तर जे देखेर राम्रो भनेको हो, आफू त्यो पालना गर्दैनन् । बरु सरलाई एकलकाँटे ठान्छन् ।

अर्को लेख छ– ‘क्षतिपूर्ति दावीमा अनौठो प्रवृत्ति ।’ यसमा चौपायालाई ठक्कर दिएको दुईवटा सडक दुर्घटनाको वर्णन छ । पछिल्लो समय मौलाएको क्षतिपूर्ति दाबी गर्दा लोकलाज नै बिर्सेने प्रवृत्ति देखाइएको छ । सडकमा छाडा पाठीलाई गाडीले ठक्कर दिएर मार्दा ‘यो त पहिलो बेतबाटै बोकैबोका पाउने जातको हो’ भन्दै ५० हजार रुपैयाँ दाबी गर्ने, चालक विदेशी रहेछ भने त अझ उत्पात मचाउने दयनीय परिदृश्यको वर्णन यसमा छ ।

‘संस्कृत, संस्कार र संस्कृति’ शीर्षकको आलेखमा लेखक बरालले हिन्दु दर्शनका कारण नेपालीहरू संसारमा सबैभन्दा खुसी रहेको उल्लेख गरेका छन् । यो दाबी गर्दा उनले समाजशास्त्रीय अध्ययनको पक्षलाई पूरै बेवास्ता गरेका छन् ।

अझ उनी लेख्छन्– ‘…भाग्यलाई विश्वास गर्ने कारण पूर्वीय दर्शनमा विश्वास गर्नेहरूमा विसंगति छैन । …पश्चिमा दर्शनमा यसको अभाव छ । त्यसले गर्दा पश्चिमाहरू दुःखी छन्, विसंगत छन् ।’

यसमा पनि विवाद हुन सक्छ । हिन्दु धर्म–दर्शनप्रति अधिक श्रद्धा भएका कारण लेखकले अन्य धर्मावलम्बीलाई दुःखी र विसंगत भन्न पुगेको अनुमान गर्न सकिन्छ । यद्यपि, आद्योपान्त पढेर मनन् गर्दा किताबभरि ‘…सर्वे भद्राणि पश्यन्तु…’ कै भाव भरिएको पाइन्छ ।

पढ्न थालेपछि एकपछि अर्को लेखको मेलो सर्दै जाने यो किताबको आवरणले भने धेरै पाठकलाई तर्साउने खतरा छ । त्यसै पनि सिकाइलाई कक्षा कोठाको तनावको रूपमा लिने चलन छ ।

त्यसमाथि बिजुलीको बल्बभित्रका रसायनशास्त्र र भूगोलदेखि परमाणु विज्ञानसम्मको संकेत चिह्नले यो किताबलाई पाठ्यपुस्तक वा गाइड जस्तो चित्रण गरेको छ ।

होम भट्टराईले सम्पादन गरेका ‘सिकाइ र सहयोग’मा सम्भवतः प्रकाशनको हतारोले हुन सक्छ, अलि अनौंठो लाग्ने भाषिक प्रयोग पनि भएका छन् । जस्तो– नाक खुम्च्याएको प्रत्यक्ष अवलोकन गरेको थिएँ, चिसो हुने उच्च उचाइमा, …मास, भटमास, मस्याम, पिँडालुजस्ता लहरे तरकारी, कुखुराका बुबाआमा, विशेषज्ञ वैज्ञानिक, नवयुवक बालक, भर्खरका युवाहरू आदि ।

‘पहाडी एवं हिमाली हावापानी भएको मुलुक भुटान’, ‘रातिको समयमा ट्रेकिङमा नजानुहोस् र जोर्नीहरूमा लगाउने पट्टिहरू बोक्नुहोस्’, ‘कुकुरलाई घरभित्र पस्ने अनुमति थिएन’, निम्ता नगर्नु पर्नेको सूची ‘तिनमा (तरकारीहरूमा) मानव शरीरका लागि आवश्यक पर्ने महत्वपूर्ण तत्वहरू पाइँदो रहेछ’, ‘सुन्न नसकेका कारण बोल्न नसक्ने भएकाले उनीहरूको श्रवण शक्ति हुँदैन’ जस्ता वाक्यहरू पढेर पचाउन पाठकलाई पाचक पाए पनि हुन्थ्यो भने जस्तो लाग्छ ।

लेखक बरालले बनाउनु, चलाउनु, दिनु, हेर्नु, सक्नु, पाउनु, जन्मनु जस्ता क्रियापदलाई करिब–करिब निषेधै गरेका छन् । कितावमा मकै फल्दैन, उत्पादन हुन्छ । सन्तान जन्मँदैन, उत्पादन हुन्छ । लेखक सर्प आउन सक्ने प्वाल हेर्दैनन्, अवलोकन गर्छन् । व्यक्तित्व चम्काउँदैनन्, निखार ल्याउँछन् । पुस्तिका बनाउँदैनन्, निर्माण गर्छन् । तालिम दिँदैनन्, कि प्रदान गर्छन् कि त उपलब्ध गराउँछन् । भाषाको यस्तो प्रयोगले सलल बगेका लेखहरूको मीठो नेपालीमा भाँजो हालेझैं लाग्छ ।

समग्रमा पुस्तक एकदमै पठनीय र संग्रहणीय छ । सांग्रिला बुक्सले बजारमा ल्याएको यो पुस्तक कुनै लक्षित समूहमा सीमित छैन । पठन र ज्ञान आर्जनमा रूचि भएका सबैलाई चित्त बुझाउन सक्छ, खगराज बरालको विद्यार्थी, ‘सिकाइ र सहयोग’ ले ।



source https://www.onlinekhabar.com/2020/08/886236

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More