Saturday 28 November 2020

बैठक बस्न हुँदैन भन्नेलाई महासचिवले साथ दिनु हुँदैन : वामदेव गौतम

१४ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी बाहिर छरिएका विचारहरु पार्टीमा भित्रिएको भन्दै अब चाहेमा समस्या पनि समाधान गर्न सकिने बताएका छन् ।

एक जना सदस्यले बैठक बसाल्न माग गर्दा पनि महासचिवले अध्यक्षसँग परामर्श गरेर बैठक बोलाउनुपर्ने बताउँदै गौतमले बैठक बस्न हुँदैन भन्ने विचारलाई पार्टी महासचिवले साथ दिन नहुनेसमेत बताएका छन् ।

नेकपाको शनिबार बसेको सचिवालय बैठकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै गौतमले सो कुरा बताएका हुन् । पार्टीको जीवन कमिटीका बैठकहरुमा र बैठकहरुको जीवन छलफलमा हुने बताउँदै गौतमले भनेका छन्, ‘यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ । बैठक बस्न छलफल गर्न शुरु गर्नासाथ पार्टीको पुनर्जीवन शुरु भइहाल्छ ।’ गौतमले बैठक बस्ने वातावरण बनाउन मेहनत गर्नेहरुलाई धन्यवाद दिएका छन् ।

शनिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लागेका आरोपहरुको लिखित जवाफ दिएका थिए । त्यसअघिको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठसमेतको सहमति रहेको प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावमा ओली र उनले नेतृत्व गरेको वर्तमान सरकारको कार्यशैलीमा प्रश्न उठाउँदै बिभिन्न आरोपहरु लगाइएका थिए ।

सुरुमा ओली पक्षले प्रचण्डले पेस गरेको सो प्रस्ताव ‘आरोप पत्र’ मात्र भएको भन्दै बैठक नबस्ने अडान लिएको थियो । तर १० दिनको समय लिएर तयार पारिएको जवाफ ओलीले शनिबारको बैठकमा पेश गरेका थिए ।

यो पनि पढ्नुहोस अहिल्यै हट्दिनँ, अन्तरिम कमिटीमा बहुमत देखाउन मिल्दैन

शनिबारको बैठक बस्ने वातावरण बनाउन मिहेनत गर्नेहरुलाई गौतमले धन्यवाद दिएका छन् । ‘यो बैठक बस्ने जो–जसले मिहेनत गर्नुभयो उहाँहरुलाई धन्यवाद छ । बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, विनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु,’ गौतमले भनेका छन् ।

एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँंग परामर्श गरी बैठक बोलाउनुपर्ने बताउँदै गौतमले यति व्यवस्था मिलाउन नसक्दा पार्टीमा ठूलो समस्या पैदा भएको बताएका छन् । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिन नहुने गौतमको धारणा छ ।

गौतमले भनेका छन्, ‘बैठक बस्दा दुवै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक बस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्न । पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्छ । यस्ता व्यवस्थापनसित सम्वन्धित विषयमा पनि विवेक पुर्याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न ।’

यो पनि पढ्नुहोस बालुवाटारमा ओली र प्रचण्डवीच घोचपेच

 



source https://www.onlinekhabar.com/2020/11/912238

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More