Friday 27 November 2020

संसद अधिवेशन चाँडै आह्वान गरियोस् : कांग्रेस नेता सिंह

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन् । संसद बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्याउन नसकेको उनको भनाइ छ ।

काठमाडौंको नागार्जुन नगरपालिकाले सुरु गरेको अग्नि समन यन्त्र वितरण कार्यक्रमलाई शनिबार बिहान सम्बोधन गर्दै नेता सिंहलेसुन्न चाँडै संसद अधिवेशन आह्वान गर्न सरकारसँग माग गरे ।

‘बजेट सेसन अपर्झट, विधि प्रक्रिया पूरा नगरिकन स्थगित गरियो,’ नेता सिंहले भने, ‘अब संसदको सेसन यो सरकारले चाँडै नै आह्वान गर्नेतिर लाग्नुपर्छ ।’

जनप्रतिनिधिहरुले जनताका दुःख दर्दहरु र सरकारले गर्न नसकेका कामहरु संसदमा उठाएर सरकारलाई काम गर्न बाध्य बनाउनतिर लाग्नुपर्ने उनले बताए । नेता सिंहले तत्काल उपसभामुख चयन गर्नुपर्ने र संवैधानिक आयोगहरुलाई पूर्णता दिनुपर्ने पनि बताए ।

ट्रान्सपरेन्सी इन्टनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी रिपोर्टको चर्चा गर्दै नेता सिंहले वर्तमान सरकार भ्रष्ट भएको बताए । ‘बसमा, घरमा, पार्कमा, सार्वजनिक स्थानमा जनताले भन्दै आएको कुरालाई ट्रान्सपरेन्सी इन्टनेशनलले त पुष्टि गरिदिएको छ । प्रधानमन्त्री नै भ्रष्टाचारमा संलग्न भएको र भ्रष्टाचारलाई संरक्षण गरेको भनेर रिपोर्ट आएको छ,’ उनले भने ।

‘यो कुरा ट्रान्सपरेन्सी इन्टनेशनलले मात्र होइन, जनताले मात्र होइन, प्रमुख प्रतिपक्षी दल कांग्रेसले मात्र बोलिरहेको होइन, नेकपाको एउटा अध्यक्षले अर्को अध्यक्षलाई भ्रष्टाचार गरेको चार्ज लगाउनु भएको छ,’ नेता सिंहले भने, ‘त्यसबाट के देखिन्छ त भन्दा उहाँहरुकै पार्टीकै नेताहरुले सरकारमा करप्सन बढिरहेको भनिरहेकाले यो सरकारले होइन, भनेर हुन्छ ?’

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले आपसी खिचातानीमा अल्झिने र देशलाई दुर्गतितिर धकेल्ने काम नगर्न पार्टीका नेताहरुलाई आग्रह गरे ।

कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतले छिटो नेपाली कांग्रेसको महाधिवेशन गरी योग्य र सक्षम नेतृत्व चयन गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठले पनि मन्तव्य राखेका थिए ।



source https://www.onlinekhabar.com/2020/11/912060

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More