१५ मंसिर, बिराटनगर । बिराटनगरमा एम्बुलेन्स दुर्घटना हुँदा एकजना विरामीको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।
बिराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित कोसी राजमार्गमा रोकेर राखेको भारतीय लहरीमा गएराति करिब १ बजे एम्बुलेन्स ठोक्किँदा सप्तरीको तिलाठी कोइलाडी–२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको हो ।
एम्बुलेन्स ठोक्किँदा गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा ज्यान गएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
सप्तरीबाट बिरामी बोकेर बिराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स सडकमा रोकेर राखेको एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा पछाडिबाट ठोक्किएको थियो ।
एक्कासि दमले च्यापेपछि मण्डललाई बीपी विचार समाज राजविराजको एम्बुलेन्समा राखेर उपचारका लागि बिराटनगरको गोल्डेन अस्पतालतर्फ ल्याइँदै थियो । मृतक मण्डल दमका पुराना रोगी रहेको खुलेको छ ।
दुर्घटनामा एम्बुलेन्समा सवार तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन् । तीनै जना घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
एम्बुलेन्स चालक हरिनारायण यादव फरार छन् । लहरीका चालक पनि फरार भएका कारण खोजी थालिएको प्रहरीले जनाएको छ ।
source https://www.onlinekhabar.com/2020/11/912469
0 comments:
Post a Comment